Comments Add Comment
अन्तर्वार्ता :

‘श्री ३ महाराजपछि केपी कमरेडलाई अवसर थियो’

प्रधानमन्त्रीले हाम्रो चित्त बुझाउनोस्, नभए निकास दिनोस् : रघुजी पन्त

१५ वैशाख, काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त माधव नेपालसँग निकट नेता हुन् । तथापि उनी भन्छन्, ‘म माधव नेपालको अन्धभक्त होइन । विवेक बन्धक राखेर कुनै पनि नेताको दास बनिँदैन । न प्रचण्डको बनिन्छ, न माधव नेपालको बनिन्छ, न केपी ओलीको बनिन्छ । दास बन्न कम्युनिस्ट भएको होइन ।’

सोमबार माधवकुमार नेपालको घरमा भएको ओली पक्ष र माधव नेपाल पक्षको छलफलमा पूर्वमन्त्री रघुजी पन्त पनि सहभागी थिए । पछिल्लो समय नेकपाभित्र चलिरहेका सघन वार्ता र छलफलमा सहभागी हुँदै आएका पन्तसँग हामीले  नेकपाभित्रको संकट र समाधानका उपायबारे वार्तालाप गरेका छौं ।

नेकपा नेता पन्तसँग अनलाइनखबरले गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ-

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सुदुरपश्चिमका सांसदसँग भन्नुभएछ, कोरोना रोकथाममा सरकारले सफलता पाइरहेका बेला अन्य विषय हुँडलियो । तपाईहरुले यसरी किन हुँडल्नुभएको ?

‘हुँडल्ने’ शब्द तपाईले सापटी लिनुभएको हो । यो हुँडल्ने परिस्थिति कसरी सिर्जना भयो ? के यो अध्यादेश प्रचण्ड, माधव नेपाल वा हामी स्थायी कमिटीका सदस्यहरुले जारी गर्‍या हो ? अथवा, सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीमा गएर गाडीमा हालेर ल्याउन हामीले लगाएको हो ? यो हुँडल्ने परिस्थिति कहाँबाट आयो ? यो बिस्फोट भएको हो । भुँसको आगोजस्तै अन्तरविरोधहरु भित्रभित्रै जेलिँदै आएका थिए । यो घटनापछि चरममा पुग्यो र बिस्फोट भयो ।

मैले योभन्दा अगाडिको स्थायी कमिटीमा पटक-पटक भन्ने गरेको थिएँ, बुद्धिमान र योग्य नेता त्यही हो, जसले प्रतिकुल परिस्थितिलाई अनुकुलतामा परिणत गर्छ । दुरदर्शिता/बुद्धिमत्ता भएन, सबैको सम्मानलाई ध्यानमा राखिएन, साना-साना आत्मतुष्टि/कुण्ठाहरुलाई महत्व दिइयो र अदुरदर्शिता-दुरदर्शिता के हो भन्ने विचार पुर्‍याइएन भने प्रतिकुल परिस्थिति अनुकुल हुनु त परै जाओस्, अनुकुल परिस्थिति पनि प्रतिकुल परिस्थितिमा परिस्थितिमा परिणत हुन्छ । अहिले भएको त्यही हो ।

नेपालमा श्री ३ महाराजहरुपछि, २००७ सालपछि एउटा अनुकुल परिस्थितिमा वीपी कोइरालाले दुईतिहाई बहुमत प्राप्त गरे । तर, वीपी कोइरालाका अगाडि राजा महेन्द्रको तरबार थियो । १६ महिना चलाउँदा नचलाउँदै त्यो तरबारले लोकतन्त्रलाई सिध्याइदियो । प्रधानमन्त्री केपी कामरेडका अगाडि त त्यस्ता केही पनि थिएनन् । झण्डै दुई तिहाई पुग्ने बहुमत थियो । निर्वाध उहाँलाई सहयोग गर्न तयार विशाल पार्टीको पंक्ति थियो ।

उहाँले ठीक काम गरेका बेलामा पार्टीले उहाँलाई साथ पनि दिएको थियो ।  जसरी उहाँले पहिलोपल्ट प्रधानमन्त्री हुँदा नाकाबन्दी विरुद्ध अडान लिनुभयो, त्यो अडान लिने ताकत उहाँलाई पार्टीले दिएको थियो । जनताले दिएका थिए । त्यो उहाँको मात्र अडान थिएन ।

दोस्रोचोटि प्रधानमन्त्री हुनुभन्दा अगाडिको आम निर्वाचनमा हामीले क्यापेनिङ गरेका थियौं । चीन र उत्तरबाट हामी रेल पनि ल्याउँछौं, तेल पनि ल्याउँछौं । यो सरकारले गरेका राम्रा कामहरुलाई राम्रा भन्नुपर्छ । समग्रतामा प्रधानमनत्रीले अंगीकार गरेको परराष्ट्र मामिलामा राजदूत नियुक्तिहरुमा विवाद भए पनि पोलिसी लेवलमा  थोरै भए पनि सकारात्मक नै छ । तर, घरेलु मामिलामा त हामी फेल भयौं । सधैं त्यही नाकाबन्दीको कुरा मात्र गरेर त जनताले मान्दैनन् । रेल र पानीजहाजको मात्रै कुरा गरेर जनताको दैनिक आवश्यकता समाधान हुँदैन ।

सुशासन दिने कुरामा, जनताका दैनिक समस्यालाई सम्वोधन गर्ने कुरामा सरकारले राम्रो काम गर्न सकेन मात्र होइन, कतिपय भ्रष्टाचारका मामिलामा, कतिपय व्यापारिक मामिलामा, विभिन्न नियुक्तिहरुका मामिलामा आफ्नै गतिविधि र व्यवहारले गर्दा प्रधानमन्त्री निरन्तर विवादमा पर्दै आउनुभयो ।

यी सबै कुराले संग्रालिँदै संग्रालिँदै आएर यो अध्यादेश प्रकरण र यो सांसद प्रकरणसम्म आयो । पूर्वआइजीपी र दुईजना सांसदहरुबाट जसरी सुरेन्द्र यादवलाई ल्याउने कम भयो र यसमा प्रधानमन्त्रीलाई जसरी त्यहाँ जाने मान्छेहरुले संलग्न गराए, यसले प्रधानमन्त्रीको मर्याद पनि गिर्‍यो, नेकपाको पनि मर्यादा गिर्‍यो । सरकारको मर्यादा पनि गिर्‍यो । लोकतन्त्रको दृष्टिकोणबाट हेर्ने हो भने यो लज्जास्पद काम हो ।

यी सबै कुराहरुका बारेमा के पार्टीले सधैं चुप लागेर बस्न मिल्छ ? कस्तो अपरिपक्व काम हो ? जुन अध्यादेश तपाईले दुई दिन पनि टिकाउन सक्नुभएन । के आवश्यकता थियो त्यो अध्यादेश ल्याउनुपर्ने ?

संवैधानिक परिषदवाला अध्यादेशका बारेमा मेरो थप कुरा छ । यसलाई देशको विडम्बना भन्नुपर्छ, हाम्रो देशको प्रमुख प्रतिपक्षी दलको नेता पनि अत्यन्त कमजोर र अस्वाभाविक हुनुभो । संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएर आफूले भनेको भाग पाइएन भने संवैधानिक निकायमा नियुक्ति नै गर्न नदिने जुन अशोभनीय काम भयो, त्यो पनि गलत हो । त्यसले प्रधानमन्त्रीलाई योखालको अध्यादेश ल्याउनमा प्रेरित गरेको भए पनि यो उपयुक्त बेला थिएन ।

तर, अहिले दुबै अध्यादेश खारेजै भइसके, प्रधानमन्त्रीले फिर्ता नै लिइसक्नुभयो । तैपनि नेकपाभित्र झगडा मथ्थर नहुनुको कारण के हो  ?

यो हठात् अध्यादेशको मात्रै सन्दर्भ भएको भए त तपाईले भन्याजस्तो हुन्थ्यो । तर, यसमा धेरै विषयहरु गाँसिँदै आए क्या । उहाँले विभिन्न सिनियर नेताहरुसँग गरेको व्यवहार, सचिवालयका नेताहरुलाई गरिएको अपमान, पार्टीमा उहाँले गरेका एकलौटी निर्णयहरु, सारा आफूलाई मन नपर्ने मान्छेलाई दिइएको पेलान,  निरुचोर त्वंशरणम् भन्दै खुट्टामा नपरेसम्म नमान्ने शैलीले गर्दा पार्टीभित्र एकदमै भित्रभित्रै भुँसको आगोजस्तै यो सल्किइरहेको थियो । त्यसैको परिणाम अहिले बिस्फोट भएको हो ।

त्यसैले यो दन्किएको आगोलाई कसरी निभाउने र कसरी यसलाई सहज बनाउने भन्ने कुरा प्रधानमन्त्रीले सोच्नुपर्छ । प्रधानमनत्रीले नै यसको निकास दिनुपर्छ ।

अब प्रधानमन्त्रीले कसरी दिने त निकास ?

त्यो निकास दिने ठाउँ भनेको सचिवालयको बैठक हो । स्थायी कमिटीको बैठक हो । केन्द्रीय कमिटीको बैठक हो । गर्ने नै त्यहीँबाट हो । हिजो उहाँलाई प्रधानमन्त्री बनाउने निर्णय कसले गरेको ?

तर, तपाईहरुसँग प्रधानमन्त्रीको पनि त गुनासो छ नि । जस्तो – पार्टीबाट सरकारलाई सहयोगै भएन । सरकारलाई बदनाम गराउन खोजियो । मलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो, आदि….

हिजो उहाँलाई प्रधानमन्त्री कल्ले बनायो ? यही पार्टीले बनाएको हो नि । उहाँलाई प्रधानमन्त्री बनाउने बहुमत उहाँकै ल्याकतले गर्दा मात्रै आएको हो र ? होइन नि । उहाँको लोकपि्रयता पनि एउटा कारण हो, तर सिंगो पार्टी पङ्ती, सिंगो मतदाता र सिंगो नेकपाका कार्यकर्ता पङ्तीको सामुहिक परिश्रमको परिणाम हो नि यो । कुनै व्यक्तिविशेष, केपी ओली, प्रचण्ड वा माधवजीको मात्रै होइन, लाखौंलाखको प्रयत्न मिलेर यो परिणाम आएको हो ।

त्यसर्थ कसैले पनि यो परिणामलाई आफ्नो पर्सनल पौरखमात्र ठान्नुहुँदैन । त्यसैले यो सामुहिक उपलब्धीलाई जोगाउने भूमिका प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओलीले खेल्नुपर्छ । यो भूमिका उहाँबाट निर्वाह भएन ।

हिजो पार्टीले उहाँलाई प्रधानमन्त्री बनाएको हो । अहिलेसम्म यही हो नि । मनमोहनजीलाई कसले प्रधानमन्त्री बनायो ? माधवजीका पालामा भएको त्यही हो । पार्टीले फिर्ता लिनोस् भनेपछि माधवजीले बहुमत हुँदाहुँदै पनि राजीनामा दिनुभयो ।

तर, अहिले प्रधानमन्त्री ओलीले संसदीय दलमा बहुमत पुर्‍याएर देखाइन्छ भन्दै हुनुहुन्छ रे नि ?

अहिले उहाँसँग बहुमत छ कि छैन, मैले हिसाब गरेको छैन ।  उहाँ त्यो हिसाब-किताब गर्ने अवस्थामा पुग्नुहुन्न भन्ने लाग्छ । किनभने, यो पार्टी बनाउनमा, यो पार्टी एकीकरण गर्नमा, पार्टी र आन्दोलनका लागि भनेर उहाँँ १४/१५ वर्ष निरन्तर जेल बसेको मान्छे पनि हो । उहाँलाई यो आन्दोलनको माया ममता छ र पार्टी एकताका लागि उहाँले राम्रो भूमिका खेल्नुहुन्छ ।

म नेगेटिभमात्रै केपी कामरेडका बारेमा सोच्दिनँ । मैले उहाँलाई चिनेको छु । अब, प्रधानमन्त्री भएको मान्छेले अन्तिमसम्म गलत काम नगरी बैधानिक ढंगले प्रतिरक्षा गर्ने कुरालाई म अन्यथा पनि ठान्दिनँ । तर, यो कुरा उहाँले सचिवालयको बैठक, स्थायी कमिटीको बैठकमा राख्नुपर्‍यो । हामी त्यहाँ आफ्ना कुराहरु राख्छौं, उहाँले आफ्ना कुराहरु राख्नोस् ।

छलफल गरौं, हामीलाई चित्त बुझाउनुभयो भने उहाँले प्रधानमन्त्री पनि चलाए भो, पार्टी अध्यक्ष पनि चलाए भो । तर, चित्त बुझेन भने त निकास दिने काम त उहाँको पनि हो नि । जसरी माधव नेपालजीले निकास दिनुभयो ।

छलफल त सोमबार कोटेश्वरमा तपाईहरु र केपी ओली पक्षका नेताहरुवीच भएको सुनियो । प्रधानमन्त्रीको तर्फबाट निकासको प्रस्ताव आएन ?

हिजोको छलफलमा म पनि गएको थिएँ । त्यहाँ उहाँहरुले  कुनै ठोस प्रस्ताव राख्नुभएन ।  चित्त दुख्या छ माधव कमरेडलाई भने मुख्यमन्त्रीहरु फेरौं । मन्त्रिमण्डल पुनर्गठन गरौं । माधव कमरेडले इच्छाएका व्यक्तिहरुलाई त्यहाँ सामेल गर्न सकिन्छ । पार्टी पनि कसरी चलाउने, सहमतिमा गरौं । महाधिवशेनपछि तपाई अध्यक्ष बन्नोस्  भन्ने जस्ता प्रस्तावहरु थिए उहाँहरुका ।

हामीले के भन्यौं भने कसैलाई मुख्यमन्त्री बनाउन, कसैलाई मन्त्री बनाउनका लागि त यो गत्यावरोध उत्पन्न भएको जस्तो लाग्दैन । मन्त्री र मुख्यमन्त्रीका कारणले गत्यावरोध उत्पन्न भएको पनि होइन । त्यसैले समस्या जहाँ छ, त्यहाँबाट समस्याको गाँठो फुकाउन हामीले थाल्नुपर्छ । अधिकांश साथीहरुको भावना सरकार पनि राम्ररी चलेन, पार्टी पनि राम्ररी चलेन भन्ने छ, यसलाई कसले मथ्थर पार्ने ?

त्यसैले बैठकमा छलफल गर्नुपर्‍यो । कि त प्रधानमन्त्रीजीले कन्भिन्स गर्नुपर्‍यो, कि त निकास दिनुपर्‍यो । निकास त दिनु परिगो नि ।  विवेक बन्धक राखेर कुनै पनि नेताको दास बनिँदैन क्या । न प्रचण्डको बनिन्छ, न माधव नेपालको बनिन्छ, न केपी ओलीको बनिन्छ । दास बन्न कम्युनिस्ट भएको होइन ।

तपाई त प्रधानमन्त्रीको सल्लाहकार पनि भइसक्नुभएको मान्छे, तपाईको विचारमा प्रधानमन्त्री ओली सरकार र पार्टीको काममा सफल हुन नसक्नुको कारण के हो ?

केपी कामरेडसँग रोका साथीहरु राम्रा साथीहरु हुनुहुन्छ । पार्टी बनाउन योगदान दिएकै हुन् । मजस्तै किशोरावस्थादेखि नै पार्टीमा योगदान दिएका साथीहरु पनि केपी कमरेडको पक्षमा उभिएर आउनुभएको छ । महत्वपूर्ण जिम्मेवारीमा अहिले सबैभन्दा धेरै त उहाँहरु नै हुनुहुन्छ । उहाँहरुलाई पनि यो पार्टीको चिन्ता त होला ।

मैले के भन्ने गरेको छु भने कुनै नेताको पक्षमा लाग्दा काम र भूमिकाका आधारमा गर्नुपर्छ । म माधव नेपालको अन्ध समर्थक होइन । सल्लाकारहरुले, सहयोगीहरुले प्रमुख पदमा बस्ने मान्छेलाई ठीक सुझाव दिन र आलोचना गर्न सकिँदैन भने किन बस्ने ? जागिर खान बस्ने होइन नि ।

कसैले गाली गर्‍यो भन्दैमा मुद्दा लगाएर दुईचार दिन थुन्दैमा आलोचना कम हुन्छ र ? केपी ओलीमा  अलिकति पनि आलोचना गर्नेलाई टेढो आँखाले हेर्ने बानी छ । देखेको कुरा भन्न सक्ने आलोचकहरुलाई नेताहरुले नजिक राख्न सक्नुपर्छ ।  हाम्रा नेताहरुमा प्रशंसा र कतिपय कुराहरुमा प्रलोभनमा पर्ने प्रवृत्ति छ ।

पार्टी र सरकारको प्रमुखमा केपी कमरेड हुनुहुन्छ । उहाँलाई समर्थन गर्ने साथीहरु नै पार्टी छ पनि, छैन पनि भन्ने अवस्थामा पुगेको छ हुनुहुन्छ । यो अवस्थामा पार्टी कसरी पुग्यो, के कारणले पुग्यो, कसका कारणले पुग्यो, यसको समीक्षा र छलफल हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment