Comments Add Comment
नेकपा अन्तरविरोध :

जब प्रधानमन्त्री ओलीले प्रचण्डलाई झुक्याए…

छापामार शैलीमा संसद स्थगन, बैठकमा बोलाउँदा आएनन्

फाइल तस्वीर

१८ असार, काठमाडौं । बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक डाकिएको थियो । बीचैमा प्रधानमन्त्री ओलीले १२ बजे मन्त्रिपरिषद् बैठक बोलाए ।

प्रधानमन्त्रीले हतार–हतार मन्त्रिपरिषद् (क्याबिनेट) राखेर संसद अधिवेशन अन्त्य गराउन लागेको सुनेपछि अर्का अध्यक्ष प्रचण्डले ओलीसँग चासो राखे, ‘यता ११ बजे पार्टीको बैठक चल्दैछ, १२ बजे नै किन क्याबिनेट राख्नुपर्‍यो ?’

प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गर्ने एउटा मात्रै एजेण्डामा एकैछिन बैठक गर्न लागिएको जानकारी दिए । ‘यसरी हतार–हतार संसद अधिवेशन किन अन्त्य गर्ने ? जे गर्ने हो, पार्टीमा सल्लाह गरौंला अनि निर्णय गरौंला,’ प्रचण्डले यसो भनेपछि प्रधानमन्त्री ओलीले ‘विचार गरौंला’ भन्ने जवाफ दिए ।

प्रचण्डले अहिले हतारमा यस्तो निर्णय नलिन प्रधानमन्त्री ओलीलाई विशेष अनुरोध गरे । त्यसपछि प्रधानमन्त्रीले ‘हुन्छ नि त उसोभए आजको क्याबिनेट बैठक स्थगित गर्छु’ भन्ने वचन दिए ।

तर पछि सुटुक्कै कतिपय मन्त्रीहरूसमेत बैठकमा आउन नभ्याउँदै प्रधानमन्त्री ओलीले हतार-हतार क्याबिनेट बैठक राखे र संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरे ।

पार्टीका नेताहरूले अहिले नगरौं भनेर अनुरोध गर्दागर्दै प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर पार्टी नेताहरूको आग्रहलाई अवज्ञा गरी छाडे ।

बुधबार बेलुका ललितपुरको झम्सीखेलमा सम्पन्न ३० नेताहरूको भेलाले प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्ने प्रतिबद्धता जनाउनुपर्ने निर्णय गरेका थिए । तर प्रधानमन्त्री ओलीले त्यसको ठिक उल्टो व्यवहार देखाएर पार्टी नेताहरूको आग्रहलाई लत्याइदिए ।

प्रधानमन्त्री ओलीले स्थायी कमिटीलाई अटेर गरेर संसद अधिवेशन अन्त्य गरेपछि बिहीबार स्थायी कमिटीका नेताहरू थप सशंकित र आक्रोशित भए । लगत्तै प्रधानमन्त्री ओलीसँग अध्यक्ष प्रचण्डले कुरा बुझ्ने भन्दै केहीबेरका लागि स्थायी कमिटी बैठक स्थगन गरियो ।

नेताहरू बालुवाटारमै टहलिन थाले भने अध्यक्ष प्रचण्डचाहिँ प्रधानमन्त्री ओलीसँग सम्वाद गर्नतिर लागे ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेर सोधे, ‘तपाईंले किन यसो गर्नुभएको ? यो त गल्ती भयो । यहीँनेर मिटिङ चलिरहेको छ, तपाईंले पार्टीलाई थाहासम्म निदिई लुकिछिपी किन यस्तो निर्णय गर्नुभो ?’

नेकपा उच्च स्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री ओलीलाई सोधे, के तपाईंले संसद विघटन गरेर अस्तिको जस्तै पार्टी फुटाउने अध्यादेश फेरि ल्याउन लाग्नुभएको हो ?

जवाफमा प्रधानमन्त्रीले भने, ‘हैन, अहिले एक-दुई दिनलाई आउँदैन ।’

त्यसपछि अध्यक्ष प्रचण्ड बालुवाटारबाट सिधै शीतलनिवासतिर राष्ट्रपतिलाई भेट्न हिँडे ।

राष्ट्रपतिलाई प्रचण्डले भने– पक्षधरता नदेखाउनोस्

बिहीबार बिहान मन्त्रिपरिषद्‍को बैठक बस्नुपूर्व प्रधानमन्त्री ओलीले पनि राष्ट्रपतिलाई भेटेका थिए । राष्ट्रपतिसँग कुरा गरेपछि क्याबिनेट बैठक राखेर संसद बैठक स्थगनको सिफारिस शीतलनिवास पठाइएको थियो । क्याबिनेट बैठकले संसद अधिवेशन अन्त्यको सिफारिस गर्नासाथ राष्ट्रपतिबाट त्यसलाई हतार-हतार सदर गरिएको थियो ।

अब प्रधानमन्त्रीले त्यसैगरी पार्टी फुटाउने अध्यादेश ल्याउनासाथ राष्ट्रपतिबाट स्वीकृत हुने हो कि भन्ने लागेपछि प्रचण्ड बालुवाटारबाट राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास गएको स्रोतको भनाइ छ ।

प्रचण्डले राष्ट्रपतिलाई भेटेर पार्टी एकतालाई नै असर पर्नेखालको अध्यादेश आएमा तत्काल स्वीकृत नगर्न आग्रह गरेको स्रोतले बतायो । त्यस्तो अध्यादेश आफूसमक्ष आइनपुगेको राष्ट्रपतिले प्रचण्डलाई बताएकी थिइन्।

प्रचण्डले राष्ट्रपतिलाई अस्ति पनि हतार-हतार अध्यादेश जारी गरेर अप्ठ्यारो परेको भन्दै देखिने गरी कसैको पक्षधरता नलिने र तटस्थ भूमिकामा बस्न आग्रह गरेको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

भोलि केपी ओलीसँग जवाफ मागिने

शीतल निवासबाट प्रचण्ड बालुवाटारमा फर्किएर स्थायी कमिटीको बैठकमा सहभागी हुँदा अपराह्न चार बजिसकेको थियो । प्रचण्ड आएपछि बैठक सुरु भयो । प्रधानमन्त्री ओलीलाई बैठकमा आउन नेताहरूले आग्रह गरे । तर उनी आउन मानेनन् ।

प्रधानमन्त्री बैठकमा आउन तयार नभएपछि भोलि शुक्रबार प्रचण्ड र अरू नेताहरुको टिमले प्रधानमन्त्रीसँग थप छलफल गर्ने र शनिबार बिहान ११ बजे पुनः बस्नेगरी स्थायी कमिटीको बैठक स्थगन भएको घोषणा भयो।

स्थायी कमिटीका एक सदस्यले अनलाइनखबरसँग भने, ‘अब भोलि प्रधानमन्त्री ओलीसँग पार्टीको अवज्ञा किन गरिएको, बैठकबाट किन भागेको र लुकिछिपी संसदको बैठक किन स्थगन गरेको भनेर जवाफ मागिने छ र पर्सि पुन बैठक बस्नेछ ।’

संसदको पनि अपमान

प्रधानमन्त्री ओलीले बिहीबार पार्टीलाई मात्रै अटेर गरेनन्, संसदीय मूल्य मान्यतामाथि पनि प्रहार गर्ने काम गरे ।

संसद अधिवेशनको अन्त्य गर्नेबेलामा राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधि सभाका सभामुखसँग परामर्श गरेर निर्णय लिने संसदीय परम्परा रहँदै आएको छ । तर प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई थाहै नदिई संसद अधिवेशन अन्त्यको निर्णय गरेका छन् । प्रधानमन्त्रीको यस्तो कदमप्रति विपक्षी नेपाली कांग्रेससमेत असन्तुष्ट बनेको छ ।

प्रधानमन्त्री ओलीले संसदलाई जानकारी नै नदिई संसद अधिवेशेन अन्त्यको निर्णय गरिरहँदा सभामुख सापकोटाचाहिँ निजामती कर्मचारीसम्बन्धी विधेयकबारे कर्मचारीका नेताहरूबाट ज्ञापनपत्र बुझ्न व्यस्त थिए ।

सभामुख सापकोटाले कर्मचारीका मागहरूबारे छलफल गर्न सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई बोलाएका थिए । तर त्यहीबेला सभामुखले समेत पूर्वजानकारी नपाई संसद बैठक स्थगन भएको सूचना बाहिर आयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment