Comments Add Comment

किन बस्ने तीजमा व्रत ?

निश्चित अवधिका लागि सबै वा निश्चित खानेकुराहरू नखाएर गरिएको साधनालाई उपवास वा व्रत भनिन्छ । व्रत र उपवास नेपाली संस्कृतिको महत्वपूर्ण आयाम हो । १५ दिनमा एकपल्ट बसिने एकादशीको व्रत, महिनाभरि बसिने स्वस्थानी व्रत, तीज, ऋषि पञ्चमी, नवरात्र, चैतेदशैं, चतुर्मासदेखि हप्ताको एकपल्ट बसिने साप्ताहित व्रत र घाम डुबेपछि नखाने वा एकछाकमात्र खाने आवधिक उपवासको प्रचलन पनि नेपाली संस्कृतिमा छ ।

व्रत र उपवासको नेपाली संस्कृतिमा प्राचीन परम्पराहरू भए पनि बेलाबेलामा यी व्रत प्रणालीहरू आलोचनाको घेरामा पर्दै आएका छन् । हालसालै लोकार्पण गरिएको ‘अबको तीज नो व्रत प्लिज’ बोलको गीतपश्चात व्रत परम्परा नै विवादमा परिरहँदा हामीमध्ये धेरैलाई व्रत र उपवासको वैज्ञानिक कारण नहुन सक्छ ।

व्रत र उपवासको वैज्ञानिक आधार
उपवासको वर्गीकरण
१) उद्देश्यको आधारमा उपवासलाई उपचारात्मक उपवास, धार्मिक उपवास र राजनीतिक उपवास गरेर ३ समूहमा वर्गीकरण गरिएको छ ।

२) उपवास गर्ने तरिकाको आधारमा उपवासलाई सतत् उपवास र आवधिक उपवास गरेर २ समूहमा वर्गीकरण गरिएको छ ।

३) समयावधिको आधारमा उपवासलाई छोटो अवधिको उपवास, मध्यम अवधिको उपवास र लामो अवधिको उपवास गरेर ३ समूहमा वर्गीकरण गरिएको छ ।

४) उपवासमा खाइने खाद्यान्नका आधारमा उपवासलाई निराहार, जलाहार, रसाहार, फलाहार र कल्प (एकाहार) गरेर ५ समूहमा वर्गीकरण गरिएको छ ।

डा. कोइराला

यो वर्गीकरणका आधारमा तीजको व्रतलाई आवधिक उपवास भन्नुपर्ने हुन्छ । आवधिक उपवास पनि उपवासको प्रचलित विधि हो । बस्न सजिलो र स्वास्थ्यमा मनग्गे फाइदा हुने भएकाले आवधिक उपवास संसारभरि नै लोकप्रिय छ ।

हप्ताको एकपल्ट बसिने उपवास, तीजको उपवास, ऋषिपञ्चमीको उपवास, लगायत, फलाहार गरेर बसिने उपवास, एकछाक मात्र खाएर गरिने उपवास आदि सबै आवधिक उपवास हुन् ।

आवधिक उपवास :

आवधिक उपवास भनेको उपवास बस्ने यस्तो तरिका हो जहाँ खाना खाने समयलाई निश्चित अवधिमा सीमित गरेर दिनको अधिकांश समय खाना नखाएर व्यतित गरिन्छ । आवधिक उपवासमा कुन खाना खाने र कुन खाना नखाने भनेर खासै मतलव राखिँदैन तर कुन समयमा खाने विषयमा भने विशेष ख्याल राख्ने गरिन्छ ।

जनसामान्यमा प्रचलित आवधिक उपवास भनेको खानाखाने समय ८ घण्टामा सीमित राखी १६ घण्टा भोकै बस्ने हो । यस विधिलाई १६/८ विधि पनि भनिन्छ । कुनैकुनै आवधिक उपवासमा, उपवास समयमै न्यून क्यालोरीका खानेकुराहरू पनि खान दिइन्छ ।

दिन बिराएर गरिने उपवास : 

दिन बिराएर गरिने उपवास पनि एक किसिमको आवधिक उपवास नै हो । यस प्रकारको उपवास गर्दा एकदिन भोकै बस्ने र एकदिन सामान्य मात्रामा खाना खाने गरिन्छ । तीज र ऋषिपञ्चमी दुवैको ब्रत बस्दा दिन बिराएर गरिने उपवास हुन पुग्छ ।

परिवर्तित दिन बिराएर गरिने उपवास :
यस प्रकारको उपवास गर्दा एकदिन सामान्य खाना खाइन्छ भने एकदिन ५०० क्यालोरीभन्दा कम मात्रामा खाना खाने गरिन्छ ।

सतत् उपवास : 
उपवासलाई केही दिनसम्म निरन्तर जारी राखेर गरिने उपवासलाई निरन्तर वा सतत् उपवास भनिन्छ ।

उपवासका फाइदा :

१. इन्सुलिन प्रतिरोधकता घटाउने :

आवधिक उपवासको अभ्यासले रक्त ग्लुकोजको मात्रा घटाउने, इन्सुलिन प्रतिरोधकता कम गर्ने र इन्सुलिन संवेदनशीलतालाई बढाउने गर्छ । इन्सुलिन प्रतिरोधकता घटेपछि रक्तधारामा भएको ग्लुकोज कोषभित्र सजिलै प्रवेश गर्छ र प्रत्यक्ष रूपमा मधुमेह नियन्त्रण गर्न यसले मद्धत गर्छ ।

२. प्रदाहात्मक (इन्फ्लामेटरी) क्रिया कम गर्ने : 
शरीरलाई पुगेको चोट वा हानिकारक तत्वविरूद्ध शरीरले थालेको रक्षात्मक एवं प्रतिकारात्मक क्रियालाई इन्फ्लामेटरी रिएक्सन भनिन्छ । इन्फ्लामेटरी रिएक्सन अल्पकालीन र दीर्घकालीन गरेर दुई प्रकारको हुन्छ । अल्पकालीन इन्फ्लामेसन हाम्रा लागि राम्रै भए पनि दीर्घकालीन इन्फ्लामेसनले मुटुरोग, क्यान्सर, मल्टिपल स्क्लेरोसिस, र्‍युमाटोइड आर्थराइटिसजस्ता समस्यालाई जन्माउने गर्छ । उपवासले गर्दा दीर्घकालीन इन्फ्लामेसन कम हुने तथ्य विभिन्न अनुसन्धानहरूले प्रमाणित गरिसकेको छ । दीर्घकालीन आवधिक उपवासका क्रममा इन्टरल्युकिन–६, सी.आर.पी., ई.एस.आर. प्रोक्यालसिटोनिन र अन्य इन्फ्लामेटरी मार्कर कम भएको पाइएको छ ।

३. हृदयको स्वास्थ्यमा सुधार हुने ।
आठ हप्तासम्म दिन बिराएर गर्ने उपवास गर्दा लो डेन्सिटी लिपोप्रोटिन २५%ले र ट्राइग्लिसिरोइड ३२%ले घटेर जाने तथ्य उजागर भएको छ । यसैगरी उपवास गर्दा कोरोनरी आर्टरी रोगको जोखिम कम हुने गर्छ। कोरोनरी आर्टरी रोगका धेरै जोखिम कारक तत्वहरू छन् । तीमध्ये उल्ट्याउन सकिने जोखिमकारक तत्वहरू जस्तै उच्च कोलेस्ट्रोल, उच्च ट्राइग्लिसराइड, उच्च एल.डी.एल कोलेस्ट्रोल, उच्च नन् एच.डी.एल र भी.एल.डी.एल कोलेस्ट्रोल, निम्न एचडीएल कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मद्यपान, श्रम र व्यायाम सम्मिलित नभएको जीवनशैली, मोटोपन, आफ्ना अडान र निर्णयहरूप्रति अडिग रहने टाइप ‘ए’ व्यक्तित्व र मानसिक तनाव आदिबाट छुटकारा पाउन पनि उपवासले मद्दत गर्छ ।

४. स्नायु क्षय हुन दिँदैन :
११ महिनासम्म आवधिक उपवासमा राख्दा मुसाको मस्तिष्कको कार्य क्षमता र बोध क्षमता र मस्तिष्कको रचना विज्ञान नै परिवर्तन भएको तथ्य अनुसन्धानले देखाएको छ । यसैगरी जनावरमा गरिएको अध्ययनअनुसार उपवासले स्नायु स्वास्थ्य राम्रो पार्ने नशा र नाडीको रिजेनेरेसन गराउने र बोध क्षमतालाई बढाउने गर्छ । अल्जाइमर र पार्किन्सनजस्ता स्नायुक्षय गराउने रोग लाग्न नदिन भूमिका खेल्छ ।

५. तौल कम गर्न मद्दत गर्छ : 
उपवास गर्दा शरीरको बी.एम.आर. लाई हाँसिल गर्न पहिले रक्तग्लुकोज त्यसपछि ग्लाइकोजिन र त्यसपछि चिल्लोको दहन हुने हुँदा तौल तुरून्तै घट्छ । उपवास गर्दा नरइपिनेफ्रिन नामक हार्मोनको रक्तस्तर बढ्ने हुँदा तौल घट्छ । तीनदेखि १२ हप्तासम्मको आवधिक उपवास गर्दा १० देखि १६ % सम्म तौल कम हुन्छ ।

६. ग्रोथ हार्माेनको उत्सर्जनलाई बढाउँछ : 
शरीरको वृद्धि–विकास मेटाबोलिज्मको नियन्त्रण एवं तौल घटाउनेदेखि मांशपेशीको बलमा समेत यो हार्माेनले विशेष भूमिका निभाउँछ । विभिन्न अनुन्धानहरूले दर्शाए अनुरूप उपवासको अभ्यासले प्राकृतिक रूपमै मानव ‘ग्रोथ हार्माेन’को स्तरवृद्धि गराउँछ ।

११ जना स्वस्थ व्यक्तिमा गरिएको अनुसन्धानले दर्शाए अनुरूप २४ घण्टासम्म उपवास गर्दा मानव ग्रोथ हार्माेनको रक्तस्तर मनग्गे बढेको पाइएको थियो भने २ दिनसम्म उपवास गर्दा मानव ग्रोथ हार्माेनको रक्तस्तर पाँच गुणा बढेको थियो ।

७. चाँडै बुढो हुन दिँदैन र दीर्घजीवी बनाउँछ :
मुसालाई दिन बिराएर उपवास गराउँदा चाँडै बुढो नभएको र अन्य मुसाभन्दा ८३% ज्यादा उमेर बाँचेकोे भेटिएको छ ।

८. क्यान्सरबाट बचाउने :
दिन बिराएर गरिने उपवास गर्दा ट्युमर फर्मेसन रोक्नेदेखि किमोथेरापीलाई समेत प्रभावकारी बनाएको तथ्य उजागर भएका छन् ।

९. कोषको क्रिया, जिन एक्स्पे्रसन र हार्र्माेनको स्तर परिवर्तन : 
क्षतिग्रस्त कोषहरूको मर्मतमा पनि उपवासले महत्वपूर्र्ण भूमिका खेल्छ र यसका पछि उपवासपश्चात उत्प्रेरित हुने कोषको आटोफेजी प्रक्रियालाई जिम्मेवार ठहराइएको छ । यसैगरी उपवास गर्दा रिजेनेरेटिभ जिन, एन्टी ओल्डेज जिन र लन्जिभिटी जिनको एक्सप्रेसन हुने तथ्य उजागर भएका छन् ।

१०. भिजेरल फ्याट कम गर्न मद्धत गर्ने :
आवधिक उपवास गर्दा हार्र्माेनहरूको रक्तस्तरमा आएको सुधार (न्युन रक्तइन्सुलिन, उच्च ग्रोथ हार्माेन एवं उच्च नरइपिनेफ्रिन) को कारणले पेटमा लागेको बोसो पनि घट्छ ।

११. अक्सिडेटिभ स्ट्रेस कम गर्छ :

धेरै दीर्घ, जीर्ण र क्षयकारक रोगका कारण अक्सिडेटिभ स्ट्रेस हो । उपवासको अभ्यासले अक्सिडेटिभ स्ट्रेस झेल्न सक्ने बनाउँछ । उपवासको अभ्यास गर्दा सबस्ट्रेट ग्लुटाथायन, सुपर अक्साइड डिसम्युटेज, क्याटालेज र ल्याक्टेट डिहाइड्रोजिनेजको रक्तमात्रा बढ्छ ।

प्राकृतिक एन्टिअक्सिडेन्टको मात्रा बढ्दा फ्रिरेडिकल इन्जुरी कम हुने र इन्फ्लामेसन पनि कम हुने गर्छ ।

लेखक भरतपुर–१ चितवनस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment