Comments Add Comment

मन्टुको धन्दा : अढाईलाख ऋण दिएर २९ लाख असुली

मिटर व्याजमा लगानी, धनीपुर्जा लिँदै धम्क्याउँदै

३० मंसिर, विराटनगर । विराटनगर महानगरपालिका– ८ प्रगति टोलका ५२ वर्षीय महानन्द राय यतिबेला दुःखले जोडेको घरजग्गा खोसिने हो कि भन्ने चिन्तामा छन् । दश वर्षअघि ऋण तिर्नका लागि लिएको ऋणले उनलाई चिन्तित बनाएको हो ।

ट्याक्टर चलाउँदै आएका उनले २०६७ साल फागुन ३ गते उनले विराटनगर– ९ घोगापुल चोकका ४२ वर्षीय सञ्जय रौनियार ‘मन्टु’बाट घर भएको एक कट्ठा जग्गा बन्धकी राखेर दुई लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए ।

२०७६ फागुनसम्म उनले साँवा र व्याज गरी २९ लाख रुपैयाँ बुझाइसकेका छन् । तर, पैसा नतिरेको भन्दै मन्टुले बारम्बार घर खाली गर्न धम्की दिइरहेका छन् । महानन्दलाई धम्की दिन मन्टुले खेताला पनि प्रयोग गरेको उनी बताउँछन् । ‘जग्गा धनीपुर्जा उसलाई दिएपछि विश्वासको भरमा किस्ता बुझाइरहें,’ उनले भने, ‘मैले २९ लाखजति पैसा बुझाएको छु । तर, उसले तिरेको छैन भन्छ, पैसा तिर्दा मैले काजग खोजिनँ ।’

प्रहरी र अदालत आफ्नो पहुँचमा रहेको बताउने मन्टुले घरजग्गाको पूर्जा चाहिए एक करोड रुपयाँ माग्न थालेको महानन्दले बताए । ‘यो मान्छे त धेरै फटाहा रहेछ,’ उनले भने, ‘पटक–पटक गरी २९ लाख रुपैयाँ त तिरिसकें । तर, धनीपुर्जा दिँदैन । धनीपुर्जा चाहिए एक करोड दे भन्दैछ ।’

उनले मन्टुसँग पटक–पटक हिसाब गर्न आग्रह गरे । तर, सधैं धम्काउँदै पठाए । ‘हिसाब देखा भन्दा देखाउँदैन हाम्रो घर मेरो हो, खाली गर बन्दै धम्की दिइरहेको छ,’ उनले भने, ‘घर नछाडे डोजर लगाएर भत्काउने धम्की दिँदैछन् ।’

घरबार उठ्ने अवस्था आएपछि उजुरी गर्न प्रहरी कार्यालय पुगेको उनले बताए ।

मोरङ धनपालथान गाउँपालिका– ७ का ३६ वर्षीय बिनोदकुमार सिंह खेती किसानी गर्छन् । उनले खेती गर्न भन्दै ९ कट्ठा जग्गा धितो राखेर २०६९ साल फागुन १ गते मन्टुसँग तीनलाख रुपैयाँ लिएका थिए । मन्टुलाई उनले पटक–पटक गरी १२ लाख रुपैयाँ बुझाएका छन् । तर, अहिले ३५ लाख मागिरहेको छ ।

खेती किसानी गरेर गुजारा गरिरहेका उनीसँग ३५ लाख तिर्न हैसियत छैन । उनका अनुसार धितो राखेको जग्गा पनि ३५ लाख बिक्री हुँदैन । १२ लाख रुपैयाँ बुझाएका उनलाई थप ३५ लाख नदिए जग्गा आफ्नो नाममा ल्याउने र मुद्दा हाल्ने धम्की दिइरहेका छन् । ‘म पढेलेखेको मान्छे, मलाई पनि झुक्याएर तमुसक गराएको छ,’ उनले भने, ‘मजस्ता धेरै छन् ठगिएका ।’

मिटर व्याज मार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले बिराटनगर महानगरपालिका– ९ घोघापुल चोक बस्ने ४२ वर्षीय सञ्जयप्रसाद रौनियार ‘मन्टु’लाई सोमबार पक्राउ गरेको छ ।

मंगलबार उनी विरुद्ध चारवटा छुट्टा छुट्टै जाहेरी परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । उनका अनुसार पीडितहरुको उजुरी आउने क्रम जारी छ । मंगलबारसम्म मन्टुबाट ठगिएका १६ जना जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा पुगेका छन् ।

भित्रभित्रै र्‍याकेट

प्रहरीका अनुसार मन्टुले मिटर व्याज धन्धा चलाउनका लागि र्‍याकेट बनाएका छन् । उनको धन्दामा श्रीमती ज्योति पनि छिन् । उनले गाउँका चिनेजानेका मान्छेमार्फत पैसा अभाव भएकाहरुलाई धनीपुर्जा राखेर महंगो व्याजमा पैसा दिने, सकुञ्जेल धम्काएर पैसा असुल्ने र पैसा तिर्न सक्ने अवस्था नभएपछि जग्गा आफ्नो नाममा पार्दै आएका थिए ।

प्रहरी स्रोतका अनुसार पछिल्लो एक दशकमा मन्टुले आफ्नो नाममा मात्रै ७५ भन्दा बढी कित्ता जग्गा पास गराएका छन् । श्रीमती र सन्तानका नाममा पनि जग्गा पास गरेका कारण थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीले अनुसन्धान जारी रहेकाले ठगीको विवरण खुल्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताए । प्रहरी स्रोतका अनुसार मिटर व्याजको धन्दा चलाउँदा मन्टुले कानुन अनुसार देखिने गरी ऋण लिएको तमशुक बनाउने गरेका थिए । ऋणीले तिरेको रेकर्ड भने राखेका छैनन् ।

सोमबार पक्राउपछि रौनियारको घरमा खानतलासी गर्दा मिटर व्याजमा प्रयोग भएका केही कागजात बरामद गरिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment