Comments Add Comment

प्रधानमन्त्रीले बालुवाटारबाट भोलि माथिल्लो तामाकोशी आयोजनाको उद्घाटन गर्ने

भोलिबाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा

२० असार, काठमाडौं । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भोलि सोमबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्न स्विच थिचेर आयोजनाको उद्घाटन गर्न लागेका हुन् ।

माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठका अनुसार भोलिदेखि नै तामाकोशीको ७६ मेगावाट बिजुली रष्ट्रिय प्रशारणमा जोडिनेछ । अबको १५ दिन परीक्षण उत्पादन अवधिको रुपमा रहनेछ । त्यसपछि तामाकोशीबाट व्यवसायिक उत्पादन सुरु हुनेछ र प्राधिकरणले कम्पनीलाई बिजुलीबापत पैसा तिर्न सुरु गर्नेछ ।

७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिका तय गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश : विद्युत उत्पादन हुनेछ । श्रेष्ठका अनुसार असारभित्र २ वटा युनिटबाट बिजुली उत्पादन थाल्ने लक्ष्य छ ।

आयोजनामा जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रो/इलेक्ट्रोमेकानिकल उपकरणहरुको सबै प्रकारका परीक्षणहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

आयोजनाबाट उत्पादित विद्युत गोंगर-खिम्ती-ढल्केबर २२० केभी प्रसारणलाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । यसका लागि प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ भने लाइनको सफल परीक्षण भएको छ ।

माथिल्लो तामाकोसीको विद्युतगृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइन बनेको छ । खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण सकिएको छ ।

हाललाई भने वैकल्पिक व्यवस्था गरी आयोजनाको विद्युत न्यू खिम्ती सबस्टेसनमा नलगी सिधै ढल्केबर सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।

सबस्टेसनको निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती-लामोसाँघु-भक्तपुर प्रसारण लाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिने छ ।

आयोजनाको साइट कार्यालय, आयोजनास्थलसम्मको पुहँच सडक, पुललगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२/६३मा र मुख्य संरचनाहरुको निर्माण आर्थिक वर्ष २०६७/६८मा सुरु भएको थियो । २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवम् बाढीपहिरोले पुर्‍याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा  आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।

भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रुपमा विश्वभर फैलिएको कोभिड-१९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो ।

लट २ को  ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment