+
+

‘माता’को भर पर्दा राजधानीमै बालिकाको ज्यान गयो

कर्तव्य ज्यानको कसुरमा झारफुक गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते २१:४८

२५ पुस, काठमाडौं । काठमाडौंमा झारफुक गर्ने ‘माता’को विश्वासमा पर्दा एक बालिकाको ज्यान गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ कि १४ वर्षीय बालिकाको शनिबार मृत्यु  भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी)  दिनेश मैनालीले बताए ।

एसपी मैनालीका अनुसार केही महिनादेखि बिरामी रहेकी बालिकालाई उनकी आमाले २२ दिनअघि आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन-१ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी थिइन् । तर, टाउको दुख्ने समस्या लिएर ‘माता’कहाँ पुर्‍याएकी बालिकाको स्वास्थ्यमा कुनै सुधार भएन, बरू झन् समस्या बढ्दै गयो ।

‘शनिबार बिहान एक्कासी बालिका गम्भीर बिरामी भएपछि मनमोहन अस्पताल पुर्‍याइएको थियो,’ प्रहरी उपरीक्षक मैनालीले भने,’त्यतिन्जेल ढिला भइसकेको थियो । चिकित्सकले मृत घोषणा गरे ।’

बालिकाको मृत्यु भएपछि उनकी आमाले झारफुक गर्ने ठकुरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा उजुरी दिएकी छन् । त्यही आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

प्रहरी उपरीक्षक मैनालीका अनुसार ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ भने बालिकाको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?