+
+
कभर स्टोरी :

स्टारडमको आडमा ‘दुराचार’

नेपाली सिने क्षेत्रमा यस्तो आम प्रवृत्ति छ, जहाँ शक्ति र प्रभावको आडमा यौनशोषण हुनेगर्छ । यस्तो शोषणको भागिदार अक्सर नव–प्रवेशी अभिनेत्री एवं महिला कलाकारहरु हुन्छन् । यसको तात्तातो एक दृष्टान्त मात्रै हुन् पल शाह ।

शिव मुखिया शिव मुखिया
२०७८ फागुन २० गते २०:५३

२० फागुन, काठमाडौं । सिने क्षेत्रमा एउटा प्रचलित शब्दावली छ, ‘कास्टिङ काउच ।’ यो शब्दावली भन्दा बढी प्रवृत्ति हो । यसले सिने क्षेत्रमा व्याप्त यस्तो प्रवृत्तिलाई परिभाषित गर्छ, जहाँ शक्ति र प्रभावको आडमा यौनशोषण हुने गर्छ । अतः यस्तो शोषणको भागिदार अक्सर नवप्रवेशी अभिनेत्री एवं महिला कलाकार हुन्छन् ।

निर्देशक तथा फिल्म विश्लेषक मनोज पण्डितका अनुसार, ५०–६० को दशकमा नेपाली सिनेमामा  ‘कास्टिङ काउच’ व्यापक मात्रामा हुनेगर्थ्यो । सिनेमामा करियर बनाउँछु भनेर आएका नवप्रवेशी कलाकारहरु यसका सिकार हुन्थे । ‘त्यसबेला समाज अहिलेको जस्तो खुलिसकेको थिएन, मिडियाको प्रभाव यति धेरै थिएन’ पण्डित भन्छन्, ‘त्यसैले थुप्रै यस्ता घटना दबाइएका छन् ।’

त्यसताका नवप्रवेशी कलाकारलाई ‘यस्तो भूमिका दिन्छु’ भनी प्रलोभनमा पारेर उनीहरुसँग नाजायज फाइदा उठाइन्थ्यो । ‘फिल्ममा आवद्ध गर्नुअघि उनीहरुलाई कुन चरित्र दिने भन्ने एउटा प्रक्रिया हुन्छ । कथावस्तु अनुसार सही पात्र खोज्नका लागि यसो गरिएको हो’ पण्डित सुनाउँछन्, ‘तर यही प्रक्रियालाई दुरुपयोग गर्दै शारीरिक फाइदा लिने प्रवृत्ति नै स्थापित भयो ।’

समयक्रममा यस्ता घटनाहरु सतहमा देखिन थाले । कति नवप्रवेशी कलाकारले यसविरुद्ध विद्रोह गरे । यद्यपि आवरणमा चमकधमक देखिने मनोरञ्जन वृत्तमा यो प्रवृत्ति निमिट्यान्न भने भएन । यसका अवशेषहरु बाँकी रहे । यस्ता घटनाबारे बेलाबेला महिला कलाकारहरुले आवाज उठाउन खोजेका त थिए तर उनीहरुको पक्षमा बोलिदिने कोही भएनन्, यसै हराएर गए । आफूमाथि भएको हिंसाबारे बोले करियर नै समाप्त हुने भयले सिने क्षेत्रका महिला कलाकारहरुलाई थिचिनै रह्यो । त्यही भीडबाट बाहिर निस्किएर यस पटक बोल्ने आँट गरेकी हुन् एक नाबालिग किशोरीले ।

त्यसैले स्टारडमका बलमा दुराचार गर्नेहरुको तात्तातो एक दृष्टान्त मात्रै हुन् पल शाह ।

सिनेमा र म्युजिक भिडियोबाट स्थापित अनुहार हुन्, पूर्णविक्रम शाह अर्थात् पल शाह । सिल्भर स्क्रिनमा उनले रहरलाग्दो छवि बनाएका छन् । त्यसैको प्रभावमा एउटा ठूलो जमात पललाई आफ्नो ‘आइडल’ मान्छन् । उनका ‘डाइहार्ट’ फ्यान सामाजिक सञ्जालदेखि सिनेमा हलसम्म ताँती लाग्छ । तिनै ‘डाइहार्ट’ फ्यानहरु नै अहिले पीडित किशोरीलाई तथानाम भन्न उद्यत छन् । सामाजिक सञ्जालमा पल शाह निर्दाेष हुन् भनेर भिख माग्नेहरुको संख्या बग्रेल्ती छ ।

‘उनको लोकप्रियता होला, स्टारडम होला त्यसैको आधारमा कसैलाई चोख्याउनुपर्छ भन्ने लाग्दैन’ अभिनेत्री रेखा थापा भन्छिन्, ‘एउटी नाबालिगमाथि त्यति धेरै दुर्व्यवहार भएको छ, उनी कस्तो पीडाबाट गुज्रिरहेकी होलिन् ? उनको वेदना कसले देखेको छ ?’

कानुनले १८ वर्षभन्दा कम उमेरकालाई नाबालिग भनी परिभाषित गरेको छ, जो मानसिक एवं भावनात्मक रुपले आफ्नो प्रतिरक्षा गर्न सक्ने अवस्थाका हुँदैनन् । अधिवक्ता राधिका खतिवडा भन्छिन्, ‘उनीहरुको संरक्षक राज्य एवं समाज हो । तर, पितृसत्ता मानसिकताले ग्रसित हाम्रो समाज नारीको चरित्रमाथि बढी प्रश्न उठाउने गर्छ । पल प्रकरणमा नाबालिग पीडितमाथि सर्वसाधारण मात्र होइन, कथित अभियन्ता, कलाकर्मी समेतले औंला ठड्याइरहेका छन्, आफूलाई सम्हाल्न नसक्ने, अनि अरुलाई दोष दिने ?’

अभिनेता पलले प्रेमको जालो बिछ्याएर ती नाबालिगको भावना र शरीरसँग खेल्दै आएको सार्वजनिक भएको उनीहरुको फोन संवादमा स्पष्टै सुन्न सकिन्छ । ‘यो कच्चा उमेरमा सजिलै अरुको ललाईफकाईमा लाग्न सक्छन्’ मनोविद् करुणा कुँवर भन्छिन्, ‘आफूले गरेको काम ठीक हो वा होइन भनेर निर्णय गर्ने अवस्थामा हुँदैनन् । त्यसैले यो संवेदनशील उमेरमा उनीहरु अरुको बहकाउमा सजिलै लाग्न सक्छन् ।’

पलले अनेकन् बहाना बनाई आफूमाथि यौनशोषण गरेको पीडितले बताएकी छिन् । त्यति मात्र होइन यात्राका क्रममा पनि उनीमाथि पलले शारीरिक दुर्व्यवहार गरेको उनको भनाइ छ । पल र नाबालिगबीच भएको एक अडियो संवादमा पलले विवाहको प्रस्ताव अस्वीकार गर्दै भनेका छन्, ‘यदि मेरो कारणले प्रेग्नेन्ट भएको भए चाहिं यो कुरा (विवाह) भन्न मिल्थ्यो ।’

नायक कि खलनायक ?

सिनेमामा एक आदर्श पात्रको रुपमा नायकको निर्माण हुने गर्छ । त्यही रुपमै उनलाई धेरैले पत्याएका र पछ्याएका हुन्छन् । तर असली जीवनमा जब यी नायकहरु ‘खलनायक’ बनेर पदार्पण हुन्छन्, त्यसले समग्र सिनेमा क्षेत्रलाई बदनाम गर्छ । ‘सिनेमाको जुन चरित्र निर्वाह गरिरहेका हुन्छन्, त्यसलाई हाम्रा नायकहरुले अनुभूत नै गरिरहेका हुँदैनन्’ निर्देशक पण्डित भन्छन्, ‘त्यही कारण उनीहरु वास्तविक जीवनमा चाहिं भिलेन जस्तो बन्न पुग्छन् ।’

आफ्नो जीवनलाई अनुकरणीय बनाउने भन्दा पनि ‘हिरोइज्म’को आडमा अनेकन् भोग गर्ने चक्करमा पर्छन् । यसैको नतिजा, सिने क्षेत्र सधैं बदनाम छ ।

सप्तरंगी आवरणमा सिनेमाले यति कुरुप रुप लुकाएर राखेको छ, जुन अक्सर नवप्रवेशी अभिनेत्रीहरुले देख्ने/झेल्ने गर्छन् । अभिनेत्री रेखा थापा भन्छिन्, ‘सिने क्षेत्रमा पुरुषसत्ता मानसिकताले यसरी आतंक मच्चाइरहेको हुन्छ, जहाँबाट महिला कलाकारहरु अक्सर शोषित र पीडित हुने गर्छन् ।’ उनी स्वयम् यस्ता घटनाको साक्षी भएको बताउँछिन् ।

‘थुप्रै महिला कलाकारले मलाई यस्तो पीडा सुनाएका छन्’ रेखा भन्छिन्, ‘जुन सुन्दा मलाई नै बाफ रे ! यस्तो पनि हुनसक्छ भन्ने लागेको थियो ।’ फिल्मी क्षेत्रमा महिलामाथि कति धेरै शोषण र ज्यादती भएको छ भन्ने कुरा भनिसाध्य नभएको उनी बताउँछिन् । ‘आफूमाथि भएको ज्यादतीबारे आवाज उठाएमा आफ्नै बदनाम हुने भयले उनीहरुले यी कुरालाई सधैं गुपचुप राखे’ रेखा भन्छिन्, ‘कति सहेरै बसे, कति पलायन भए ।’

एक अभिनेत्री थिइन्, निकै संभावना बोकेकी । ‘उनलाई देख्दा म स्वयम् पनि लोभिन्थें’ रेखा भन्छिन्, ‘तर उनले यति दुर्व्यवहार झेल्नुपर्‍यो कि यस क्षेत्रमा टिकिरहनै सकिनन् ।’ रेखा स्वयम् यस्ता घटना–दुर्घटनाहरुबाट गुज्रँदै आएको बताउँछिन् । ‘यस्तै जीवन–भोगाइ म सिनेमामा आफ्नो महिला पात्रमार्फत अभिव्यक्त गरिरहेको हुन्छु’ रेखा भन्छिन् ।

चलचित्रकर्मीलाई अनुशासन

समग्र चलचित्र क्षेत्रलाई नै धमिल्याउने गरी विभिन्न ‘काण्ड’ भइरहँदा चलचित्र विकास बोर्ड किन मौन छ ? जवाफमा बोर्डका अध्यक्ष दयाराम दाहाल भन्छन्, ‘यस्ता संभावित घटनाहरुको बारेमा हामी बारम्बार छलफल गरिरहेकै हुन्छौं । तर कतिपय घटनाहरु भित्रभित्रै भइरहेका हुन्छन् । त्यसले विकराल रुप लिइसकेपछि मात्र हामीलाई थाहा हुन्छ ।’

चलचित्रकर्मीलाई अनुशासनमा राख्नका लागि बोर्डले छुट्टै आचारसंहिता नै तयार गरेको उनले बताए । चलचित्रकर्मीलाई कसरी अनुशासनमा राख्ने, कसरी यस क्षेत्रमा मौलाएको विकृतिलाई हटाउने भनेर कार्यविधि बनाएको र त्यो मन्त्रालयबाट स्वीकृत भइसकेको उनले बताए । ‘चलचित्र क्षेत्रमा यौनजन्य हिंसाका घटनाहरु बढी सुनिन्छन् । त्यससँगै अन्य किसिमका समस्याहरु पनि छन्’ अध्यक्ष दाहाल भन्छन्, ‘यी सबैलाई नियमन गर्न हामीले तयारी गरेका हौं ।’

कलाकारले आफ्नो स्टारडमको आडमा नवप्रवेशी कलाकारबाट फाइदा उठाउने मात्र नभई पारिश्रमिकमा विभेद गर्ने जस्ता थुप्रै समस्यालाई एकमुष्ठ रुपमा हल गर्नका लागि उक्त आचारसंहिता ल्याइएको उनको भनाइ छ । ‘कलाकार र चलचित्रसँग सम्बन्धित सबै संघ–संस्थालाई बोलाएर हामी यसको जानकारी गराउनेछौं’, दाहाल भन्छन् ।

कभर स्टोरी
लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?