+
+
सलमानको 'द ब्याङ टुर रिलोडेड'को पत्रकार सम्मेलन :

सोहेल खानको आग्रह : सलमानको कार्यक्रममा सुरक्षा व्यवस्था चुस्त बनाइयोस्  

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १५:३६

काठमाडौं । आगामी जेठ १४ गते बलिउड अभिनेता सलमान खानको कार्यक्रम काठमाडौंको दशरथ रंगशालामा हुँदैछ । कार्यक्रममा २५ देखि ३५ हजार दर्शक उपस्थित हुने अपेक्षा रहेको आयोजक ओडीसी इन्टरटेनमेन्टले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बलिउड अभिनेता तथा सलमान खानका भाइ सोहेल खान पनि उपस्थित थिए । उनको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनीले कार्यक्रमका लागि ओडीसी इन्टरटेनमेन्टसँग सहकार्य गरेको छ ।

सोहेलले ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन आग्रह गरे । कार्यक्रममा बालबालिका र महिलाहरु पनि उपस्थित हुने भएकाले उनीहरुको सुविधाका लागि स्थानीय प्रशासनले विशेष ध्यान दिनुपर्ने खानले बताए । नेपालको पर्यटन प्रवर्द्धनका लागि पनि कार्यक्रमले सहयोग पुर्‍याओस् भन्ने आफ्नो चाहना रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सीमान्त गुरुङले सलमानको ‘द ब्याङ टुर रिलोडेड’का लागि तीन प्रकारको टिकट दर कायम गरिएको जानकारी दिए । कार्यक्रमका लागि ५ हजार, १० हजार र २५ हजार रुपैयाँको टिकट दर तोकिएको उनले बताए ।

कार्यक्रमका लागि बिहान ११ बजेदेखि रंगशालाको गेट खुला गरिनेछ । दिउँसो १२ बजेदेखि डीजे सेसन सुरु गरिने र त्यसपछि नेपाली कलाकारहरुले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ । कार्यक्रममा को को कलाकारले प्रस्तुति दिने भन्ने विषय भने पछि सार्वजनिक गरिने गुरुङले बताए ।

सलमानलाई महँगो पारिश्रमिक किन दिएको भन्ने प्रश्नमा गुरुङले उनको स्टारडम अनुसार ठिकै भएको बताए । ‘सलमान खानको आफ्नै खालको स्टारडम छ, ४-५ करोड लिनु भनेको त सामान्य हो जस्तो लाग्छ । उहाँको पारिश्रमिकको कुरा गर्ने हो भने बिग बोसमा एउटै शोमा १२ करोड भारु लिनुहुन्छ । उहाँले नेपालको कार्यक्रमको लागि लिनुभएको रकम त ठिकै हो ।’ सलमानले ‘द ब्याङ टुर रिलोडेड’का लागि ४ करोड ८० लाख रुपैयाँ लिएको जनाइएको छ ।

कार्यक्रमको खर्च प्रायोजक र टिकट बिक्रीबाट व्यवस्थापन हुने आयोजकको अपेक्षा छ । कोरोना महामारीले थला पारेको नेपालको पर्यटनलाई उकास्न सलमान खानको उपस्थितिले सघाउने गुरुङले बताए ।

जेठ १४ गते हुने कार्यक्रमका लागि सलमानसहितको टिम तीन दिन नेपालमा बस्नेछ । कार्यक्रममा भारतीय कलाकारहरु ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्माको पनि सहभागिता रहनेछ ।

नेपालमा रहँदा सलमानलाई सगरमाथा क्षेत्र र लुम्बिनीको पनि भ्रमण गराउने तयारी छ । बलिउड अभिनेता खानसँग केही समयअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले भिडियो संवाद समेत गरेका थिए ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?