+
+

‘ढिलो विवाह गर्नेले सन्तानको योजना बनाइहाल्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १८:४५

१३ वैशाख, काठमाडौं । अहिले विवाहको उमेर बढेको छ । सामान्यतः ३०-३५ वर्षको उमेरपछि मात्र विवाह गर्ने प्रवृत्ति छ । अर्कोतिर विवाहलगत्तै सन्तानको योजना बनाउँदैनन् । अर्थात् दाम्पत्य जीवन परिपक्क भएपछि मात्र सन्तान जन्माउने गरिएको छ । जबकि गर्भधारणका लागि एउटा निश्चित उमेर सर्वोत्तम मानिन्छ ।

यस्तो अवस्थामा ढिलोगरी गर्भधारण गर्दा बच्चा र आमाको स्वास्थ्यमा कस्तो हानि गर्छ ? साथै सन्तानको योजना बनाउनुपूर्व प्रयोग गरिने गर्भनिरोधक चक्की वा खोपलगायतले कुनै असर गर्छ वा गर्दैन ? यिनै विषयमा केन्द्रित रहेर वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीको सम्पादित अंश :

अहिले धेरै नवजोडी दाम्पत्य जीवनमा बाँधिएका छन् । उनीहरू एउटा निश्चित अवधिपछि मात्र बच्चा जन्माउने तयारी गर्छन् । यसबीचमा के कस्ता गर्भनिरोधक उपाय अपनाउनु राम्रो हुन्छ ?

एउटा निश्चित अवधिपछि मात्र बच्चा जन्माउने तयारी गर्दा पुरुषको लागि कण्डम र महिलाका लागि गर्भनिरोधक चक्की जस्ता गर्भनिरोधक उपाय अपनाउनु सर्वोत्तम हुन्छ । तर अहिले त विवाह गर्ने बित्तिकै पुरुषहरू विदेशिन्छन् त्यसले गर्दा कुनै पनि गर्भनिरोधकको उपाय नै अपनाउनु नपर्ने अवस्था  सिर्जना भएको छ ।

गर्भनिरोधका लागि सबैभन्दा प्रभावकारी विधि के हो ?

गर्भनिरोधका लागि सबैभन्दा प्रभावकारी विधि भनेको महिलालाई गर्भनिरोधक चक्की र पुरुषलाई कण्डम नै हो । पहिलो सन्तान भइसकेको छ र दोस्रोको प्लान गर्दै हुनुहुन्छ भने कपर्टी पनि प्रभावकारी हुन सक्छ ।

सन्तानको योजना बनाउनुपूर्व महिलाले गर्भनिरोधक चक्की, सुई प्रयोग गरेका हुन सक्छन् । यसले उनको प्रजनन् स्वास्थ्यमा र हुनेवाला बच्चामा कुनै असर गरेको हुन्छ ?

गर्भनिरोधकका लागि प्रयोग गरिने साधनहरूले महिलाको स्वास्थ्यमा त्यसको खासै असर गरेको त देखिंदैन । तर तीनमहिने सुई र नरप्लान्ट प्रयोग नगर्नु उपयुक्त हुन्छ । सन्तानको योजना बनाउनुपूर्व महिलाले प्रयोग गर्ने गर्भनिरोधकका साधनमध्ये कण्डम र  गर्भनिरोधक चक्कीले त उनको प्रजनन् स्वास्थ्यमा तथा हुनेवाला बच्चामा नराम्रो असर गर्दैन । तर तीनमहिने सुई, नरप्लान्ट आदिले भने मोटोपना, महिनावारी गडबडी जस्ता समस्या देखिन सक्छन् ।

महिलाहरूले एक वर्षको अन्तरमा स्वास्थ्य जाँच गरिरहनुपर्छ । जसले गर्दा गर्भनिरोधको लागि प्रयोग गरिने चक्की, सुई आदिले स्वास्थ्यमा केही असर गरेको छ भने पत्ता लाग्छ र त्यसलाई परिवर्तन गर्न सकिन्छ ।

अहिले विवाह गर्ने उमेर बढेको छ । अर्थात्, ३०-३५ वर्षपछि मात्र विवाह गर्ने चलन छ । विवाहलगत्तै बच्चा पनि जन्माउँदैनन् । यसरी ढिलो बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा कुनै असर गर्छ ?

३५ वर्षमा विवाह गरेर पाँच वर्ष म बच्चा पाउँदिन भन्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पर्छ । त्यसैले ढिलो विवाह भएको छ भने बच्चा जन्माइहाल्नु उपयुक्त हुन्छ । ढिलो बच्चा जन्माउँदा पहिलो त बच्चा नै नहुने सम्भावना पनि हुन्छ । बच्चा भए पनि विकलाङ्ग हुने, सुस्त हुने सम्भावना हुन्छ भने आमामा मधुमेह, प्रेसर जस्ता समस्या पनि देखा पर्न सक्छ ।

बच्चा जन्माउनका लागि सर्वोत्तम उमेर कुन हो ?  आमा र बुवा दुवैको हकमा ?

बच्चा जन्माउनका लागि सर्वोत्तम उमेर आमाको लागि २५ देखि ३० वर्ष हो भने बुवाको लागि भने उमेरको कुनै अवरोध छैन । जबसम्म पुरुषको यौन इच्छा तथा यौन अंग सबल रहन्छ, तबसम्म बच्चा जन्माउन सक्छन् ।

उमेर ढल्किसकेपछि बच्चा जन्माउँदा के कस्ता समस्या हुनसक्छन् ?

उमेर ढल्किसकेपछि बच्चा जन्माउँदा आमा बच्चा दुवैमा समस्या हुनसक्छ । आमाको मानसिक सन्तुलन बिग्रने, मधुमेह, मुटुरोग र आमाको ज्यानै जान सक्ने सम्भावना पनि हुन्छ । आमाको उमेर बढी भएर बच्चा जन्मियो भने बच्चा पनि शारीरिक तथा मानसिक रूपमा स्वस्थ नहुने सम्भावना हुन्छ । त्यसैले महिलाहरूले ४० कटेपछि त बच्चा नजन्माउनु नै उचित हुन्छ ।

अहिले अण्ड वा वीर्य भण्डारण गरेर पछि सन्तान जन्माउन सकिने प्रविधि पनि अभ्यासमा छ । यो कस्तो हो र यसको प्रभावकारिता कस्तो हुनसक्छ ?

यो प्रविधि त वरदान साबित भएको छ । महिलामा कुनै स्वास्थ्य समस्या छ, उसको पाठेघर वा डिम्बाशय फ्याँक्नुपर्ने अवस्था भयो भने उनीहरूका लागि त यो धेरै प्रभावकारी हुन्छ । पुरुषमा पनि कुनै स्वास्थ्य समस्या देखियो वीर्यमा समस्या देखियो भने यो अण्ड वा वीर्य भण्डारण गरेर सन्तान जन्माउने प्रविधि अपनाउन सक्छन् ।

भारतको गुजरात लगायतका राज्यमा त यो एकदमै बढी प्रयोग भएको छ । वीर्य भण्डारण गरेर पुरुष विदेश जाने र महिलाले केही समयपछि श्रीमानको त्यही वीर्यबाट सन्तान पाउने । तर नेपालमा भने यो प्रभावकारी हुन सकेको छैन ।

ढिलो विवाह गर्दा वा लामो अवधिपछि मात्र सन्तानको योजना बनाउँदा निसन्तान हुने जस्ता जोखिम बढ्छ वा बढ्दैन ?

ढिलो विवाह गर्दा वा लामो अवधिपछि मात्र सन्तानको योजना बनाउँदा निसन्तान हुने जोखिम एकदमै धेरै हुन्छ । ३० वर्षको उमेरपछि महिलाको अण्डको गुणस्तर कम हुन्छ । जसले गर्दा बच्चा नबस्ने वा बसे पनि गर्भपतन हुने सम्भावना पनि हुन्छ । जुन उमेरमा बच्चा हुने अधिक सम्भाव्यता, असर र शक्ति रहन्छ त्यो शक्ति क्षीण भइसकेपछि सन्तान जन्माउँछु भनेर प्लान गर्दा पनि सन्तान हुने सम्भावना कम हुन्छ ।

दम्पतीको उमेर, शारीरिक र मानसिक अवस्था, वातावरण लगायतले गर्भको बच्चामा कस्तो असर पर्छ ?

दम्पतीको उमेर, शारीरिक र मानसिक अवस्था र वातावरण आदिले गर्भमा रहेको बच्चाको विकास राम्ररी हुँदैन । बच्चामा विकलाङ्ग, सुस्त मनस्थिति, डाउन सिन्ड्रोम आदि जस्ता समस्या पनि देखा पर्ने सम्भावना हुन्छ । उमेर बढ्दै जाँदा दम्पतीमा मधुमेह र मुटुरोग लगायता रोगहरूको सम्भावना बढ्छ । जसले गर्दा बच्चा नै नहुने बच्चा भएपनि स्वस्थ नहुने हुनसक्छ ।

अहिले हाम्रो खानपान शैली राम्रो छैन । एकातिर फास्टफुड, जंकफुडको लतमा छौं भने अर्कोतिर विषादीयुक्त खानेकुराको बिगबिगी छ । यसले गर्भधारणमा कुनै समस्या ल्याएको छ ? साथै गर्भको बच्चामा त्यसको असर देखिएको छ ?

हाम्रो खानपानले गर्भधारण तथा गर्भको बच्चामा धेरै असर गरेको छ । फास्टफुड, जंकफुड तथा विषादीयुक्त खानाको सेवनले गर्भमा रहेको बच्चाको वृद्धि विकासमा एकदमै धेरै प्रभाव पारेको हुन्छ । पोषणयुक्त सन्तुलित आहारको सेवन नगर्दा आमा र बच्चा दुवैलाई पोषणको कमी हुन्छ । जसले गर्दा बच्चा जन्मिसकेपछि कुपोषण,  शारीरिक र मानसिक रूपमा स्वस्थ नहुने समस्या निम्ताउँछ । त्यसको साथै गर्भावस्थामा आमाहरूलाई मधुमेह र प्रेसरको समस्या देखिनमा पनि खानपानको महत्वपूर्ण भूमिका रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?