+
+
सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार :

मनोज पाण्डेलाई १४ वर्ष जेल सजाय गर्न प्रहरीको माग दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १९:५९

३० जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले आठ वर्षअघि आयोजित एक सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई शोषण गर्ने उद्देश्यले झुक्याएर जबरजस्ती करणी गरेको निष्कर्ष निकालेको छ ।

करकापमा पारेर नियन्त्रणमा लिएर जबरजस्ती करणी गरेको निष्कर्षसहित प्रहरीले सौन्दर्य प्रतियोगताका सञ्चालक मनोज पाण्डेविरुद्ध अनुसन्धान सकिएको छ ।

जिल्ला प्रहरी कार्यालयको कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले मानवबेचबिखन तथा ओसारपसार र बोल यौन दुर्व्यवहारको कसूरमा अनुसन्धान सकेर प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको अनलाइनखबरलाई बताए ।

उनले भने, ‘प्रतिवेदनमाथि अध्ययन गरिरहेका छौं, भोलि वा पर्सी अदालतमा मुद्दा लैजान्छौं ।’

मानवबेचबिखन सम्बन्धी ऐनको दफा ४ को उपदफा २ (ख) मा ‘शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, जबर्जस्ती गरी, करकापमा पारी, शरीर बन्धक राखी, बेहोस पारी’ आफूसँग राख्ने वा नियन्त्रणमा लिनुलाई मानव बेचबिखन तथा ओसारपसार भनिएको छ ।

यो घटनामा पाण्डेले पीडितलाई नशालु पदार्थ खुवाएर कब्जामा लिएर विभिन्न ठाउँमा जबरजस्ती करणी गरेकाले मानवबेचबिखन तथा ओसारपसार ठहरिने प्रहरी प्रतिवेदनमा उल्लेख छ । यसलाई पुष्टि गर्न प्रहरीले प्रमाणका रुपमा पीडितले सार्वजनिक गरेको भिडियो बयान र केही साक्षीहरुको बयानलाई आधार बनाएको छ ।

जबरजस्ती करणीसम्बन्धी कसूरमा अनुसन्धानका लागि हदम्याद बाधक भएपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको थियो । पछि पाण्डेबाट पीडित भएको भन्दै अर्की एकजना नाबालिगले पनि बाल यौन दुर्व्यवहारको जाहेरी दिएकी थिइन् ।

मानवबेचबिखनको कसूरमा ११ वर्ष र बालयौन दुर्व्यवहारको कसूरमा तीन वर्ष गरेर १४ वर्ष जेल सजाय प्रहरीले आफ्नो प्रतिवेदनमा माग दाबी गरेको छ । पीडित युवतीले सार्वजनिक गरेको भिडियो बयान अनुसार प्रतियोगिता सकिएपछि उनलाई ‘सक्सेस पार्टी’ आयोजना गरेको भन्दै पाण्डेले बानेश्वरस्थित एभरेष्ट होटलमा बोलाएका थिए ।

त्यहाँ उनी पुग्दा कार्यक्रम हुने कुनै सुरसार थिएन, उनले त्यसबारे जिज्ञासा राख्दा पाण्डेले ‘तिमी चाँडै आयौ, ६/७ बजेदेखि कार्यक्रम सुरु हुन्छ’ भनेर बस्दै गर्न भनेको उनको भनाइ छ । केहीबेरपछि होटलका वेटर ‘लेमनेड’ लिएर आएको र त्यो खाएपछि आफू लठ्ठिएको उनले बताएकी छन् ।

‘त्यसपछि मैले त्यो व्यक्ति (पाण्डे) लाई म घर जान चाहन्छु, मलाई असहज महसुस भयो भनेकी थिएँ,’ उनले भनिन्, ‘तर उनले तिमी विजेता भएर यस्तो भन्ने ? मिडिया अनि अरुले के सोच्छ भन्दै बस्न दबाव थिए ।’

पाण्डेले ‘केटीहरुले धेरै पिउन सक्छन्, समस्या हुनसक्छ भनेर राख्नलाई रुम लिएको’ बताएको र त्यहाँ आराम गर्न भनेको उनले भनेकी छन् । ‘गएर रेस्ट गर, सबै आएपछि उठाउन बोलाउँछु भनेको थियो,’ उनले भनेकी छन्, ‘तर म बेहोसीमा थिएँ, मैले उसले जबरजस्ती करणी गरिरहेको थाहा पाएँ । त्यो एकदमै दुःखदायी थियो ।’

उनले बिहान साढे ४–५ बजे होस खुल्दा आफू र ती व्यक्तिलाई नग्न अवस्थामा पाएको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?