+
+

मोरङ, काठमाडौं र कास्कीमा चार बलात्कार मुद्दा, पीडित एउटै

४० वर्षीया एक महिला पीडित भएको चारवटा बलात्कार सम्बन्धी मुद्दा तीन भिन्दाभिन्दै अदालतमा छन् । अनुसन्धान स्रोतहरु महिला पीडित हुन् वा उनले कानुनको दुरुपयोग गरेकी हुन् यसै भन्न नसकिने बताउँछन् ।

हरि अधिकारी हरि अधिकारी
२०७९ असोज ९ गते १३:३७

९ असोज, विराटनगर । जिल्ला अदालत मोरङमा दर्ता भएको मुद्दा नम्बर ०७६-सी १-००२२, ०७७-सी १-००५३, काठमाडौं जिल्ला अदालतमा दर्ता भएको ०७८-सी १–०५५१ र जिल्ला अदालत कास्कीमा दर्ता भएको ०७९–सी १–००३० नम्बरका मुद्दा बलात्कार सम्बन्धी हुन् । पछिल्ला चार वर्षमा यी अदालतमा छुट्टाछुट्टै दर्ता भएका मुद्दाको पीडित भने एकै महिला हुन् ।

विराटनगर महानगरपालिका घर भएकी ४० वर्षीया महिलाले आफू पीडित भएको भनेर दर्ता गरेका मुद्दाका प्रतिवादीहरु अर्थात् पीडकहरु सार्वजनिक वृत्तमा धेरथोर नाम बनाएका व्यक्तिहरु छन् । यी चारवटा मुद्दाका प्रतिवादीहरुमा बैंकका म्यानेजर, पूर्व प्रहरी, व्यवसायी छन् । मुद्दामा संलग्न कागजातबाट पीडित महिलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् भन्ने देखिन्छ ।

त्यस्तै जिल्ला अदालत मोरङमा अर्काे एउटा मुद्दा जबरजस्ती करणी उद्योगको छ । यो मुद्दामा चाहिं माथि उल्लेखित चार वटा बलात्कार मुद्दा दायर गर्ने महिलालाई विपक्षी बनाइएको छ । जबरजस्ती करणी उद्योगको यो मुद्दामा उनले सफाइ पाइसकेकी छन् । कानुनमा कुनै कसुर भइनसकेको तर त्यस्तो कसुर गर्न प्रयास गरेको मामिलालाई ‘उद्योग’ भनिन्छ ।

अब यी पीडित वादी भएका अर्थात् उनले दर्ता गरेका मुद्दाहरुको विवरण हेरौं :

जिल्ला अदालत मोरङमा पहिलो मुद्दा अमित बास्तोला विरुद्ध जबरजस्ती करणीको थियो । मुद्दा नम्बर ०७६–सी १–००२२ मा पीडितको सांकेतिक नाम ‘जहदा त’ हो । अदालतको फैसला पछि एक वर्ष ८ महिना कारागार बसेर २० हजार क्षतिपूर्ति तिरेर बास्तोला छुटिसकेका छन् । उनी विरुद्ध १० साउन २०७६ मा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।

जबरजस्ती करणी मुद्दा लाग्दा बास्तोला नेपाल बंगलादेश बैंकको कर्सिया शाखाका म्यानेजर थिए । ११ फागुन २०७७ मा जिल्ला अदालत मोरङले एक वर्ष आठ महिना कैद सजाय हुने फैसला गरेको थियो । बैंकमा ऋण दिने बहानामा पटक-पटक करणी गरेको देखिएको फैसलामा उल्लेख छ ।

बास्तोला विरुद्धको करणी मुद्दाको यी पीडित महिला, पूर्व प्रहरी अधिकृत (सई) नयन श्रेष्ठ प्रतिवादी रहेको शरीर बन्धक र जबरजस्ती करणी मुद्दाको पनि पीडित हुन् । उनले श्रेष्ठ विरुद्ध दायर गरेको शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दा जिल्ला अदालत मोरङमा अहिले पनि विचाराधीन छ ।

उनले जबरजस्ती करणीको जाहेरी दिएपछि प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले २३ साउन २०७७ मा श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि आरोपी पाँच लाख धरौटीमा छुटेका छन् । श्रेष्ठमाथि जागिरको प्रलोभन देखाएर करणी गरेको आरोप छ ।

जिल्ला अदालत मोरङमा दुई बलात्कार मुद्दाकी पीडित यी महिला नै पीडित भएको अर्काे एउटा मुद्दा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ । ४ कात्तिक २०७८ मा निरज शर्मा र उनकी श्रीमती नितुलाई प्रतिवादी बनाइएको ‘शरीर बन्धक बनाई जबरजस्ती करणी’ गरेको मुद्दामा निरज शर्मा अहिले पुर्पक्षका लागि थुनामा छन् ।

शर्मा विराटनगर–१७ का बासिन्दा हुन् । उनी काठमाडौंमा औषधिको मार्केटिङ गर्छन् । मुद्दामा उल्लिखित विवरण अनुसार, यी पीडित र पीडक टिकटक मार्फत नजिकिएका थिए ।

९ असोज २०७८ मा काठमाडौं महानगरपालिका–३१ कल्याणी चोकमा रहेको डेरामा लगेर शर्माले आफूलाई राति साढे १२ बजे करणी गरेको महिलाले दिएको जाहेरीमा उल्लेख छ । जग्गा बैंकमा राखेर ऋण निकालिदिने बहानामा काठमाडौंको घरमै बोलाएर बन्धक बनाई करणी गरेको पीडितको आरोप छ ।

शर्माले भने काठमाडौंमा अभर परेपछि श्रीमतीलाई भनेर घरमा एक दिन बस्न दिएको बयान दिएका छन् । सो मुद्दामा शर्मा अहिले पुर्पक्षका लागि थुनामा छन् भने उनकी श्रीमती धरौटीमा छुटेकी छन् ।

जिल्ला अदालत कास्कीमा भर्खरै मात्र २२ असार २०७९ मा माथि उल्लेखित तीन वटा मुद्दामा पीडित महिला नै पीडित भएको अर्को सामूहिक जबरजस्ती करणी मुद्दा दर्ता भएको छ ।

काठमाडौं टोखा नगरपालिका–८ बस्ने ४० वर्षीय मधुसूदन पाण्डे, सोही स्थान बस्ने ४४ वर्षीय राजु राउत, चन्द्रागिरि नगरपालिका–१ बस्ने ४४ वर्षीय दिनेशकुमार थापा र सल्यान बागचौर नगरपालिका २ बस्ने ३४ वर्षीय नयन डाँगीले २२ असार २०७९ राति पोखरामा सामूहिक करणी गरेको जाहेरीमा उल्लेख छ । आरोपी चारै जना साथीहरु हुन् । पाण्डे र राउतको काठमाडौं गोंगबु बसपार्क नजिकै होटल छ । राउत इन्जिनियरिङ कन्सल्टेन्सी सञ्चालन गर्छन् ।

जाहेरी अनुसार, राउतलाई भेट्न काठमाडौं पुगेकी पीडित महिला असार २२ गते नारायणगढ आएपछि चितवनमा रहेका चारै जना फेरि ती महिलासँग पोखरा पुगेको देखिन्छ । पोखराको ‘होटल शारा’को कोठा नम्बर ३०५ र ३०६ मा उनीहरु बसेका थिए ।

कोठा नम्बर ३०६ मा आफू बसेको बेला राति राजु राउत र मधुसूदन पाण्डेले करणी गरेको र अन्य दुई जनाले पनि करणी गर्न खोज्दा आफूले नमानेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । सो मुद्दामा राउत र पाण्डे अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन् भने थापा र डाँगी धरौटीमा छुटेका छन् ।

मुद्दाको विवरण अनुसार, पीडित महिला र राजु राउतको टिकटक मार्फत चिनजान भएको थियो । महिलाले विदेश जाने भनेपछि राउतले पठाइदिने आश्वासन दिएका थिए । असार २१ गते महिला काठमाडौं पुगेर सम्पर्क गर्दा राजुले आफू चितवन आएकाले काठमाडौंको भगवती इन होटलमा बस्न भन्दै कोठा बुक गरिदिएका थिए ।

सो दिन होटलमा बसेकी महिला भोलिपल्ट नारायणगढ पुगेकी थिइन् । राजुले आफू आफन्तको विवाहमा सहभागी हुन चितवनमा रहेको र यतै आउनु भनी बोलाएपछि चितवन गएको बयान उनले दिएकी छिन् ।

नारायणगढ पुगेपछि सौराहा जाने भन्दै चार जनाले पोखरा पुर्‍याएर सामूहिक करणी गरेको महिलाको दाबी छ । पोखराबाट उनीहरु असार २३ गते काठमाडौं फर्किएका थिए । काठमाडौं फर्किएर महिला भगवती इन होटलमा नै बसेकी थिइन् ।

उनी असार २४ गते होटलबाट निस्किएकी थिइन् । आरोपी मध्येका एक मधुसूदनले पीडित भनिएकी महिलाले कर गरेपछि नारायणगढबाट पोखरा गएको र भोलिपल्ट फर्किएको बयान दिएका छन् ।

यी चारवटै मुद्दाका प्रतिवादीहरुसँग पीडित महिला सामाजिक सञ्जालबाट नजिकिएको देखिन्छ । कतै जग्गा कारोबारका लागि, कतै ऋण लिनका लागि र कतै जागिरका लागि उनीहरु नजिकिएका देखिन्छन् ।

चार मुद्दाकी यी पीडित महिलाले बास्तोलाले बैंकबाट ऋण दिने प्रलोभनमा पटक–पटक करणी गरेको उल्लेख गरेकी छन् । अभियोग पत्रमा उल्लेख भए अनुसार नयन श्रेष्ठसँग जागिरका लागि, शर्मासँग जग्गा धितोमा राखेर ऋण लिनका लागि र काठमाडौंका चार जनासँग विदेश जान भनेर उनको सम्पर्क भएको विवरणहरुबाट देखिन्छ ।

यी पीडित महिला र सुनसरी देवानगञ्ज–६ का ३० वर्षीय सन्तोष मेहतालाई विपक्षी बनाएर १० माघ २०७५ मा जबरजस्ती करणी उद्योगमा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

इटहरीकी एक किशोरीलाई विराटनगरस्थित ती महिलाको घरमा बोलाएर करणी गर्न खोजेको भनेर ती किशोरीले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएकी थिइन् । सो मुद्दामा तत्कालीन जिल्ला न्यायाधीश राजुकुमार खतिवडाको इजलासले दुवै आरोपीलाई सफाइ दिएर घटना यौन दुर्व्यवहारमा परिणत हुने ठहर गरेको थियो ।

अदालतको फैसलामा पीडितलाई फैसला भएको मितिले दुई महिना भित्र यौन दुर्व्यहार मुद्दा सकार गर्न म्याद जारी गर्ने र पीडित उपस्थित भएर मुद्दा सकार (स्वीकार) गरे यौन दुर्व्यवहार मुद्दा चलाउने आदेश भएको थियो । तर पीडित अदालतले दिएको म्याद भित्र मुद्दा सकार गर्न गइनन् ।

अधिकारकर्मी भन्छन्– यो गम्भीर विषय हो

यो मामिला थाहा पाउने महिला अधिकारकर्मी मञ्जिता उपाध्याय लगातार एउटै महिलाले ठाउँ–ठाउँमा जबरजस्ती करणी मुद्दा दायर गर्नु अस्वाभाविक भएको बताउँछिन् । ‘महिला साँच्चिकै पीडित भएको पनि हुनसक्छ, ऊ कुनै न कुनै रुपमा साइको सोसियल प्रोब्लममा पनि हुनसक्छ’ उनले भनिन्, ‘यसमा अर्काे पाटो पनि हेर्नुपर्छ, महिला गलत पनि हुनसक्छ ।’

‘चाँडो–चाँडो विश्वास गरेर, परिबन्द त्यस्तो परेर उनी साँच्चिकै पीडित भएको पनि हुनसक्छ’ उनले भनिन्, ‘चार वटा भनिसकेपछि चाहिं उनको पेशा व्यवसाय नै त्यस्तो थियो कि, जहाँ कुरा नमिलेपछि त्यस्तो ‘एक्सन’ अपनाएको पनि हुन सक्छ ।’

घटना प्रकृतिले पनि यो अस्वाभाविक लाग्छ । चार वटा बलात्कारका उजुरीको प्रकृति उस्तै उस्तै छ । ‘महिलाले आफूलाई ‘रेप’ गर्‍यो भनेर एक्सपोज हुने घटना नै थोरै हुन्छन् समाजमा’ अधिकारकर्मी उपाध्यायले भनिन्, ‘यहाँ त लगातार यस्तो विषय आएको छ । त्यसैले यसमा गहिरिएर विश्लेषण गर्न जरुरी छ ।’

अधिवक्ता नारायण दाहाल एउटै महिला लगातार फरक फरक स्थानमा बलात्कृत हुने विषयले प्रश्न उब्जाउने बताउँछन् । घटनालाई विभिन्न कोणबाट हेर्न सकिने उनको भनाइ छ । ‘लगातार एउटै घटना दोहोरिन्छ भने यो ‘हनी ट्यापिङ’ पनि हुनसक्छ, यौन चाहनाका कारण पनि हुनसक्छ’ उनले भने, ‘र, बलात्कार पनि हुनसक्छ ।’

हामीले पीडित पक्षको प्रतिक्रिया लिन उनलाई सम्पर्क गर्यौं । पीडित महिलाकी दिदी हुँ भन्ने एक महिलाले हामीलाई भनिन्, ‘पीडित नभइकन, घटना केही नभइकन, त्यसै मान्छेलाई आरोप लगाउँदै कोही हिंड्दैन । यी भएकै घटना हुन् ।’

तर एउटै व्यक्तिमाथि चार–चार पटक कसरी यस्तो घटना हुनपुग्यो भन्ने हाम्रो प्रश्नमा उनले भनिन् ‘मान्छेलाई तीन वटा, चार वटा मुद्दा लगायो, १० वटा मुद्दा लगायो भनेर हेर्ने सोच नै परिवर्तन गर्नुपर्छ । पीडितले ‘क्राइम’ गरेको होइन । ऊ त पीडित हो ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?