+
+

धनुषा २ मा गठबन्धनको उम्मेदवार रामचन्द्र कि रामकृष्ण ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते ८:२५

१२ असोज, जनकपुरधाम । सत्ता गठबन्धनभित्र धनुषा क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको भागबन्डा सकसपूर्ण बनेको छ । सो क्षेत्र आफ्नो पोल्टामा पार्न नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच हानथाप चलिरहेको छ ।

प्रतिनिधि सभा सदस्य उम्मेदबारका लागि कांग्रेसबाट रामकृष्ण यादव र एकीकृत समाजवादीबाट रामचन्द्र झा दाबेदार छन् । जसपाले पनि भर्खरै नेकपा एमाले छाडेर आएका गंगाराम यादवलाई धनुषा २ बाटै उठाउने तयारी गरेको छ ।

रामकृष्ण यादव पूर्वमन्त्री र संविधानसभा सदस्य हुन् । शेखर कोइराला पक्षका उनी जसरी पनि यो क्षेत्रबाट उठ्न लागिपरेका छन् । धनुषा २ कांग्रेसको आधार क्षेत्र रहेको र आफू सबभन्दा उपयुक्त उमेदवार भएको उनको दाबी छ ।

गत स्थानीय चुनावमा यो क्षेत्रको ४१ मध्ये १९ वटामा कांग्रेस विजयी भएको थियो । कांग्रेसका यादवले यो परिणामलाई आफूले प्रतिनिधि सभाको टिकट पाउनुपर्ने मुख्य आधार बनाएका छन् ।

पुराना कम्युनिस्ट नेता तथा पूर्वमन्त्री रामचन्द्र झा पनि धनुषा २ मा ‘हेभिवेट’ उमेदवार मानिन्छन् । एकीकृत समाजवादीको जनाधार बलियो भएको क्षेत्र पनि धनुषा २ नै हो । मधेशका ३२ प्रतिनिधि सभा सिटमध्ये रौतहट क्षेत्र नं. १, धनुषा २ र सिरहा ४ गरी ३ वटामा मात्र समाजवादीको दाबी छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल रौतहट-१ बाट उठ्दैछन् । धनुषा-२ रामचन्द्र झाका लागि सुरक्षित गर्न समाजवादी लागेको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ छाडेर धनुषा-२ समाजवादीले लिएको झाले बताए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने झा धनुषा-२ मा पराजित भएका थिए । त्यसबेला वाम गठबन्धनको माओवादी केन्द्रका उम्मेदवार रहेका उनलाई संघीय समाजवादी पार्टीका उमाशंकर अरगरियाले हराएका थिए । अरगरियाले ३२ हजार ४४, झाले १८ हजार ७१५ र तेस्रो भएका कांग्रेसका रामकृष्ण यादवले १५ हजार ४४२ मत पाएका थिए ।

यसपटक अरगरिया एमालेबाट उठ्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?