+
+
लघुवित्तको दलदल :

आत्महत्याबाट बाँचेकी सीताले गाउँ छाडिन्

सागर चन्द सागर चन्द
२०७९ फागुन १० गते १७:३६
सीताकै चाहनामा उनको पहिचान खुल्ने तस्वीर प्रकाशन गरिएको छैन ।

१० फागुन, रौतहट । जीवनको लय बिथोलिएको बेला मान्छेलाई परिवारको माया, आफन्तको साथ चाहिन्छ । तर सीता विश्वकर्मालाई यो सुविधा छैन । ८ फागुनमा रौतहटको चन्द्रपुर बजारमा भेटिएकी उनको हातमा टाटा सुमोको टिकट थियो । उनी लघुवित्तको ऋण तिर्ने पैसा कमाउन सकिन्छ कि भन्ने आशामा काठमाडौं जाँदैथिइन् ।

३७ वर्षकी सीताले डिप्रेसनको औषधि खान छाडेको एक हप्ता मात्र भयो । दुई महिना पनि बितेको छैन उनले आत्महत्या प्रयास गरेको । लघुवित्तको ऋणले नै सीतालाई आत्महत्याको प्रयास गर्ने ठाउँमा पुर्‍यायो, ‘मर्छु नै भन्ने सोचेकी थिएँ । छिमेकी र छोरीले बचाए ।’

रौतहट, फतवा विजयपुर नगरपालिका–११, राघीबुटवा टोलकी सीतालाई अहिले पनि १५ वर्षे छोरा, १९ वर्षे छोरी र बुढी सासूलाई गाउँमै छाडेर शहर पस्न मनै छैन ।

लघुवित्तको किस्ता र ब्याजले गाउँमा बस्न सक्ने अवस्था छैन । ‘काठमाडौं गएर लघुवित्तको ऋण तिर्न सकियो भने छोराछोरीसँग आरामले बसौंला’, उनी सुखद कल्पना गरेर काठमाडौं जाने गाडी चढ्दैछिन् ।

लघुवित्तको ऋण लिंदा पनि उनले यस्तै सुखद कल्पना गरेकी थिइन् । तर यथार्थ भने उनको कल्पना विपरित भइदियो ।

लघुवित्त समूहमा १० वर्षदेखि सक्रिय छिन्, सीता । खेतीकिसानी र मलका लागि भनेर सरकारी स्वामित्वको ग्रामीण विकास लघुवित्तबाट पाँच हजार रुपैयाँ लिएसँगै उनको लघुवित्त ऋण यात्रा सुरु भयो । त्यो ऋण चुक्ता गरेपछि उनले पटक–पटक २०/२५ हजार ऋण लिइरहिन् ।

अर्थोपार्जनका सबै बाटा सुक्दै गए । ब्याजको मिटर भने बढ्दै गयो । लघुवित्तले हरेक तीन महिनामा ब्याजलाई पनि सावाँमा जोडेर थप ब्याजका लागि ताकेता गर्न सुरु गर्‍यो ।

गाउँमा नयाँ–नयाँ लघुवित्त छिरेपछि छरछिमेकसँगै उनी पनि लघुवित्त समूहमा बसिन् । समूहमा बसेपछि लघुवित्त कर्मचारीले व्यापार, व्यवसाय र असल ऋणी हुनुपर्छ भन्दै देखाउने लोभमा परिन् सीता ।

परिवारमा दुई छोरी, एक छोरा, श्रीमान् र सासू थिए, तर कमाइ थिएन । ‘घरव्यवहार एक्लै चलाउनुपर्ने’ सीता दुःखेसो गर्छिन्, ‘तीन बच्चा पढाउनुपर्‍यो । घरको खर्च पनि धान्नै पर्‍यो ।’

लघुवित्तबाट लिएको ऋणबाट सबभन्दा पहिला उनले गाईपालन गरिन् । दैनिक १५ देखि २० लिटर दूध बेचिन् । २०७६ को लकडाउनसँगै दूध बिक्री हुन छाड्यो । उनले लघुवित्तलाई समयमै किस्ता र ब्याज तिर्न सकिनन् । दूध नै बिक्री नहुने भएपछि उनले गाईपालन छाडिन् ।

यहीबीचमा उनले ऋण लिएर छोरीको विवाह गरिन् । ऐलानी जमिनमा घर बनाएर बसेकी उनको परिवारसँग खेतीपातीका लागि एक कट्ठा जति ऐलानी जग्गा पनि छ । यतिले नपुग्ने भएपछि घरखर्च चलाउने पैसा जोहो गर्न उनले दालमोट बनाउन सुरु गरिन् । दालमोट बनाउने मेसिन किन्न पनि उनले स्वरोजगार लघुवित्तसँग हात पसारिन् ।

दालमोटको व्यापार चम्कियो । ‘दिनभर दालमोट बनाएर साँझ म र छोरा बेच्न जान्थ्यौं’ सीता सम्झिन्छिन्, ‘कहिलेकाहीं श्रीमानलाई पनि बेच्न पठाउँथें ।’ दालमोटका लागि चाहिने कच्चा पदार्थ उनी भारतबाट ल्याउँथिन् । ‘पारिबाट ल्याउँदा सस्तो पथ्र्यो’, सीता भन्छिन् ।

दोस्रो लकडाउन सुरु भयो । सीमा पारिबाट कच्चा पदार्थ ल्याउन सकिनन् । उनको दालमोट व्यापार सुक्यो । ‘लघुवित्तको ऋण बाँकी नै थियो’ सीतालाई ऋणले च्याप्यो, ‘किस्ता तिर्न सकिनँ ।’

लघुवित्तको किस्ता तिर्न भनेर उनले छरछिमेकमा सापटी मागिन् । ‘मिटर ब्याजमा पनि लिएँ’, सीताले बाध्यता सुनाइन् ।

अर्थोपार्जनका सबै बाटा सुक्दै गए । ब्याजको मिटर भने बढ्दै गयो । लघुवित्तले हरेक तीन महिनामा ब्याजलाई पनि सावाँमा जोडेर थप ब्याजका लागि ताकेता गर्न सुरु गर्‍यो ।

अनि सीताले गाउँमै होटल चलाउने योजना बनाइन् । आशा लघुवित्तबाट ऋण लिएर गएको वैशाखमा उनले होटल सुरु गरिन् । होटल चलाउन थालेपछि उनले परिवार र समाजको लाञ्छना सहनुपर्‍यो । ‘होटल र कारोबार गरेपछि यताउति डुलिरहनुपर्ने’ सीतालाई अहिले सम्झिंदा पनि रिस उठ्छ, ‘गाउँलेले त अनेक भनेर कुरा काट्न थाले ।’

गाउँलेले कुरा काट्दा पनि सहेकै थिइन्, सीताले । तर जब श्रीमानले नै सीताको होटल व्यवसायलाई जोडेर लाञ्छित गर्न थाले सीतालाई असह्य भयो । ‘घरबाट ५० मिटर जति टाढा थियो होटल’ सीता सुनाउँछिन्, ‘कहिलेकाहीं रात पर्दा म र छोरा होटलमै बस्थ्यौं । बुढोले होटलसँग जोडेर कुट्न थाल्यो ।’ परिवार पाल्नुपर्ने बाध्यताबाट गुज्रिरहेकी सीताले श्रीमानबाट लाञ्छना खेपेर पनि होटल चलाइन् । ‘जसले जे भने पनि छोराछोरीलाई खुवाउनै पर्‍यो’ सीताले सबै सहिन्, ‘उनीहरूले भनेर खान दिने होइनन् ।’

सीताका अनुसार होटलमा मुख्य ग्राहक थिए निर्माण मजदुरी गरेर गुजारा गर्नेहरू । ठेकेदारले पैसा दिएको छैन भनेर अलिअलि उधारो खान्थे । उनको होटलमा आउने गाउँघरका ग्राहक पनि लघुवित्तका ऋणी थिए । उनीहरूले पनि सीताले जस्तै किस्ता, ब्याज तिर्न सकेका थिएनन् ।

जब लघुवित्तका कर्मचारी भने दैनिकजसो आएर किस्ता र ब्याज माग्न थाले, गाउँले ग्राहकहरू उनको होटलमा आउनै छाडे । ‘लघुवित्तका सरहरू होटलमा आएर दिनभर बस्न थालेपछि डरले गाउँले ग्राहक पनि आउन छाडे’ उनी बाध्य भइन्, ‘होटलमा नआउनु सर । पैसा भएको बेला म अफिसमै आएर तिर्छु भन्दा पनि मानेनन् ।’ उनका अनुसार लघुवित्तका कर्मचारीले धम्काउँदै थर्काउँदै ऋण उठाउन सुरु गरे । छिमेक र नयाँ सारथिका कर्मचारीले त उनलाई धम्काउँदै भने, ‘तपाईं मर्नुभयो भने हामी यहाँ आउन पर्दैन !’

‘स्वरोजगारका सर आएर एक दिन मलाई तपाईंको बाउको पैसा हो, भोलि पर्सि भनेर हुँदैन, अहिले नै दिनुहोस् भने’ सीताले होटलमा चियाचमेना बेचेर आएको ३०० रुपैयाँ थमाइन् ।

‘पैसा हुँदा त तिरेकै थिएँ, नभएपछि मैले कहाँबाट दिनु ?’ सीता प्रश्न गर्छिन्, ‘पैसा आउने बाटो नै नभएपछि मैले कसरी तिर्नु ?’ निमोनिया र एलर्जीको रोगी उनको छोराको उपचार गर्नुपर्ने बाध्यता पनि छ । छोरालाई लिएर अस्पताल जाँदा कम्तीमा पनि २/३ हजार खर्च हुन थाल्यो । त्यसमाथि होटलको व्यापार सुक्दै गयो, सीताको आम्दानी फेरि रोकियो ।

तर लघुवित्तका कर्मचारीको टर्चर भने रोकिएन । ‘पैसा देऊ भन्दै दिनभर पसलमा आएर बस्न थाले’ सीता सुनाउँछिन्, ‘पसल पनि सुक्यो । किस्ताको तनावले गर्दा प्रेसर पनि हाई भयो ।’

करिब महिना दिन अगाडि आशा लघुवित्तका कर्मचारी किस्ता उठाउन सीताको होटलमा आइपुगे । डिप्रेसन र प्रेसरको औषधि खाइरहेकी सीतालाई आशा लघुवित्तका कर्मचारीले किस्ता तिर भन्दै र्‍याखर्‍याख्ती पारे । ‘हेड अफिसबाट आएको हाकिम भन्थे । भर्खर अस्पतालबाट आएकी छु, पैसा छैन सर’ सीताले महुलत मागिन्, ‘पैसा हुने बित्तिकै तिर्छु ।’

लघुवित्तका कर्मचारीले सीताको गुहार सुनेनन् । तनाव र डिप्रेसनसँग जुधिरहेकी सीतासँगै जुध्न कस्सिए लघुवित्तका कर्मचारी । ‘जसरी पनि पैसा दे । नभए मेरो बाइकमा बसेर अफिस हिंड् भन्न थाले’ कर्मचारीको घुर्कीले सीतालाई गलायो, ‘मैले पनि जहाँ लानुहुन्छ लानुहोस्, पुलिस लगाए पनि लगाउनुस् । मसँग पैसा छैन भनें ।’ लघुवित्तका कर्मचारीले छाडेनन् । ‘होटलमा रमिता गरे’ सीताले सहन सकिनन्, ‘बहिनीसँग दुई हजार मागेर दिएर पठाएँ ।’ आशा लघुवित्तमा सीताको अझै ८० हजार रुपैयाँ ऋण छ ।

समयमा किस्ता नतिरेको भन्दै हर्जना समेत लिने लघुवित्तले कतिसम्म बद्मासी गर्छन् भने महिलाहरूले मागेको समयमा उनीहरूको बचत गरेको रकम समेत फिर्ता दिंदैनन् । ‘छिमेक लघुवित्तमा मेरो ऋण ४ हजार थियो, ४० हजार बचत’ सीता सुनाउँछिन्, ‘त्यो चार हजार माग्न दिनकै मेरो घरमा आए । तर मैले आफ्नो बचत माग्दा तीन महिनापछि पाएँ ।’

सीताका अनुसार दालमोट उद्योग चलाउँदा सामान डेलिभरीका लागि उनले ३० हजारमा किनेको सेकेण्ड ह्याण्ड स्कुटर २० हजारमा बेचेर लघुवित्तको किस्ता तिरेकी थिइन् । ८ वटा लघुवित्तबाट ऋण लिएकी उनलाई आशा, नयाँ सारथि, समता, घरेलु, विजय, नेशनल र ग्रामीण विकासको मात्र नाम सम्झना छ । सबै लघुवित्त र छरछिमेक गरेर कति ऋण छ भन्ने याद छैन । ‘एकैछिनमा बिर्सन्छु’ सम्झिन खोज्छिन् उनी, ‘८ लाख जति होला कि ?’

लघुवित्तका कर्मचारीले छोराछोरीलाई समेत ‘तिम्री आमाले तिरिनँ भने तिमीले तिर्नुपर्छ’ भनेर धम्क्याएको उनले सुनाइन् । हद भएपछि उनले विवाहको सुन बेचिन् । जायजेथा, व्यापार सबै सकियो तर, सकिएन ऋण । लघुवित्तको ऋणकै कारण सीताकी छिमेकी सावित्री रिजालले ९ महिना अगाडि आत्महत्या गरेकी थिइन् । सबै उपाय सकिएपछि सीताले पनि त्यही बाटो देखिन् । ‘सम्पत्ति सबै उनीहरूलाई तिर्दातिर्दा सकियो । छोराछोरी सबैलाई दिनकै तनाव दिन थालेपछि मर्न निस्किएँ’ सीतालाई उनकी छोरी र बहिनीले बचाए ।

बहिनी र छोरीले लघुवित्तको तनावबाट जोगाउन भनेर माइती पठाए । गएको एक महिनादेखि माइतीमा बसिरहेकी सीता पहिलो पटक काठमाडौंका लागि हिंड्दैछिन् चन्द्रपुरबाट । ‘बहिनीको आफन्तकोमा केही काम छ रे’ अन्योलग्रस्त आगतमा ऋण तिर्ने पैसा कमाउन हिंडेकी सीता भन्छिन्, ‘त्यहीं काम गर्छु ।’

काठमाडौंमा भनेजस्तो काम भएन भने विदेश जाने सोच छ । परिवार छाडेर रोजगारीको खोजीमा अपरिचित शहरतिर जान लागेकी सीता मानसिक आघातबाट गुज्रिएको धेरै भएको छैन । लघुवित्तको ऋण बोकेर अनाम गन्तव्यतिर सोझिएकी सीताले घडी हेरेर आफूलाई हतार भएको संकेत गरिन् । ‘हे दैव के आइलाग्यो यस्तो’, जाँदाजाँदै उनले सुस्केरा काढिन् ।

लघुवित्तको दलदल
लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?