+
+
कभर स्टोरी :

बेवारिसे शवको अपमानजनक अन्त्येष्टि 

देशभर वार्षिक ३०० माथि बेवारिसे शवहरू भेटिन्छन् । पछिल्लो चार वर्षयताको तथ्यांक विश्लेषण गर्दा यस्ता शव फेला पर्ने क्रम बढ्दो छ । दुःखद् पक्ष, यस्ता शवहरूले सांस्कृतिक सम्मानका साथ अन्त्येष्टिको न्यूनतम सुविधा पनि पाउँदैनन् ।

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० असार २२ गते २०:४०

२२ असार, काठमाडौं । ढोकाभित्र छिर्ने बित्तिकै ‘ह्वास्स’ गन्हाउँछ । भाँचिएका थोत्रा स्ट्रेचर एक–अर्को माथि खप्टिएका छन् । भुइँ रगतै–रगतले लत्पतिएको छ । प्यासेजमा रहेको स्ट्रेचर माथि एउटा शव राखिएको छ । बेवारिसे अवस्थामा भेटिएको उक्त शव अस्थिपञ्जर मात्रै बाँकी रहेको अवस्थामा छ ।

यो दृश्य महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) मेडिकल इन्ष्टिच्युट अन्तर्गतको ‘फरेन्सिक मेडिसिन’ विभागको हो । यसको ठ्याक्कै पछाडि छ– ‘मर्चरी कोल्डरुम’ । त्यसको छेउमा एउटा ठूलो फ्रिज छ । फ्रिज माइनस टेम्प्रेचरमा चलिरहेको छ । जहाँ, पोस्टमार्टम गर्न ल्याइएका लास (शव) राखिन्छन् । पहिचान भएका लास पोस्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइन्छ ।

तर, पहिचान हुन नसकेका र पहिचान भए पनि कोही आफ्नो मान्छे नभएका बेवारिसे लासलाई ‘कोल्डरुम’ मा राखिन्छ । फरेन्सिक मेडिसिन विभागमा वार्षिक सयौंको संख्यामा बेवारिसे अवस्थाका लासहरू लगिन्छ ।

गएको सोमबार शिक्षण अस्पताल महाराजगञ्ज पुग्दा ‘कोल्डरुम’ भित्र लासमाथि लास थुपारेर राखिएका थिए । यी लासलाई पहिचान गर्न सजिलो होस् भनेर शरीरमा ‘ट्याग’ लगाइएको छ । केही लास टेबलमा राखिएका छन् भने धेरैजसो भुइँमा खप्टिएर राखेको अवस्थामा छन् ।

विज्ञहरूका भनाइमा बेवारिसे हुन् वा अरू लासहरू यसरी राख्न पाइन्न । बेवारिसे वा पहिचान नभएका लास पोस्टमार्टमपछि धोइपखाली गरेर सफा कपडाले बेरेर छुट्टा–छुट्टै ब्यागमा राख्नुपर्छ । यसरी राख्दा एक लासले अर्को लासलाई नछुने गरी कोल्डरुममा व्यवस्थित गरेर राख्नुपर्छ ।

उनीहरूका भनाइमा, बेवारिसे लासको खोजी गर्दा पनि कोही आफन्त फेला नपरे वा आफन्तले खोजी नगरेको अवस्थामा राज्यले नै गाडेर राख्नुपर्छ । किनकि, कुनै पनि समयमा कोही आफन्त लास लिन आएको खण्डमा सनाखत गरेर कुनै अंग दिन सकियोस् । २०७२ सालको भूकम्पपछि शिक्षण अस्पताल परिसरमा गाडेर राखिएका केही लासहरूबाट अंग निकालेर आफन्तलाई दिइएको उदाहरण पनि छ ।

तर, नेपालकै शवभन्दा बढी पोस्टमार्टम हुने तथा बेवारिसे शव आउने त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागको माथिको दृश्य कुरुप थियो । जसले नेपालमा बेवारिसे लास व्यवस्थापनको अवस्था, त्यसले पाउनुपर्ने न्यूनतम सांस्कृतिक सम्मान र यसमा समाज र राज्यको भूमिका माथि प्रशस्तै प्रश्न उठाउँछ ।

बेवारिसे लास अस्पतालसम्म कसरी आइपुग्छन्, केही उदाहरण हेरौं :

(क) करिब ४०–४५ वर्षीय एक पुरुष । मन्दिर, पार्टी, सडकमा बस्ने गर्थे । मागेर गुजारा चलाएका थिए । एक वर्ष अगाडि जाउलाखेल प्रहरी परिसरले उनलाई सडकमा अचेत अवस्थामा भेट्टयो र, उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍यायो ।

चिकित्सकका अनुसार अत्यधिक मदिरा पिउने गरेका कारण शरीरका विभिन्न अंग फेल भएर उनको मृत्यु भएको थियो । चिकित्सकले पोस्टमार्टम गरे । धेरै मदिरा पिउने गरेका कारण ‘कलेजो ड्यामेज’ भइसकेको देखियो ।

अस्पतालको फरेन्सिक विभाग, जाउलाखेल प्रहरी परिसर र ललितपुर महानगरपालिकाले मृतक व्यक्तिको आफन्त खोजी गरे । महिनौंसम्म पनि कोही खोज्न आएनन् । तीन महिनासम्म पनि लास बुझ्न कोही नआएपछि ‘बेवारिसे लास’ को सूचीमा राखेर अस्पतालले जाउलाखेल प्रहरी परिसरलाई जिम्मा लगायो । र, प्रहरीले पशुपति आर्यघाटमा पुर्‍यायो ।

(ख) लकडाउनको समय थियो । सबैतिर व्यापार, व्यवसाय बन्द । मजदुरी गरेर खाने व्यक्तिका लागि विभिन्न संस्थाले बिहान–बेलुका खानाको व्यवस्था गरेका थिए । पशुपति क्षेत्रमा ‘बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र’ ले पनि गरिब, असहायका लागि खाना बाँड्ने काम गर्थ्यो ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा.गोपाल चौधरीका भनाइमा, बेवारिसे लास विभिन्न प्रकृतिका हुन्छन् । पहिलो, मन्दिर, सडकमा मागेर खाने । दोस्रो, तुलनात्मक रूपमा सम्पन्न घरको पहिचान खुले पनि कुनै आफन्तले लिन नआउने । तेस्रो, अस्पतालमा ल्याएर उपचार हुँदाहुँदै व्यक्तिले छोडेर गएका ।

अन्दाजी, ५०/५२ वर्षका एक जना व्यक्ति त्यहाँ बिहान–बेलुका खाना खान आउँथे । एक दिन अचानक राति सुतेको अवस्थामा उनको मृत्यु भयो । गौशाला प्रहरी वृत्तले पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍यायो । उनको मृत्युको कारण ‘नर्मल’ देखियो । समाजसेवी सपना रोक्का मगरका अनुसार ती व्यक्ति लेखन कलामा पोख्त थिए । महिनौंसम्म उनको पहिचान खुल्न नसकेपछि मगरले नै अन्तिम संस्कार गरेर बिदा गरिन् ।

(ग) काठमाडौं महानगरपालिका वडा नम्बर १३ टंकेश्वर (मन्दिर) क्षेत्रमा अन्दाजी ३८ वर्षीय पुरुष मागेर आफ्नो बिहान–बेलुकाको भोक टार्ने गर्थे । गएको चैत १६ मा प्रहरीले उनलाई अचेत अवस्थामा फेला पार्‍यो र उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गर्‍यो । केही दिनपछि उनको मृत्यु भयो ।

कालीमाटी प्रहरी वृत्तले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमको लागि लग्यो । तर, फरेन्सिक विभागले तीन महिनासम्म पनि उक्त शवको सनाखत हुन नसकेको र लास राख्ने स्थानको अभाव भई दुर्गन्ध फैलिएर वातावरण प्रदूषित हुने अवस्था आएको भनेर त्यो लास कालीमाटी प्रहरी वृत्तको जिम्मा लगायो । प्रहरीले आर्यघाट पुर्‍यायो ।

(घ)  ६ फागुन २०७९ मा बूढानीलकण्ठ वडा नं ४ मा रहेको शिवपुरी राष्ट्रिय निकुञ्जमा स्थानीय बासिन्दाले एउटा लास देखे । प्रहरीलाई खबर भयो । प्रहरी गएर हेर्दा लासको अस्थिपञ्जर मात्रै थियो । जंगलको खोल्सामा फेला परेको त्यो लास ४०/४५ वर्षीय महिलाको भएको पोस्टमार्टमको क्रममा पत्ता लाग्यो । सो लासको सनाखत हुन नसकेपछि प्रहरीले नै अन्त्येष्टि गर्‍यो ।

बेवारिसे लासको प्रमुख स्रोत गरिबी

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सा समाजशास्त्री प्रा.डा.मधुसूदन सुवेदीका अनुसार मानिस बेवारिसे हुन पुग्नुको सबैभन्दा प्रमुख कारण गरिबी हो ।

एउटा मानिस बेवारिसे हुनुमा विभिन्न कारण हुन्छन् । चिकित्सा समाजशास्त्री डा.सुवेदीका विचारमा, ‘सडकमा मानिस खान नपाएर भोकभोकै मरिरहेको छ । उपचार नपाएर मरिरहेको छ । के यसमा हाम्रो परिवार, समाज र राज्य जिम्मेवार छैन ?’ डा. सुवेदीका विचारमा कुनै मानिस बेवारिसे हुनु परिवार, समाज र मानव–मानवबीचमा भएको ठूलो खाडलको नतिजा पनि हो ।

कुलतले बेवारिसे हुने अधिकांश सम्पन्न वर्गका हुन्छन् । लागूपदार्थ तथा मादक पदार्थ सेवनकै कारण उनीहरू सडकमा पुग्छन् । जसका कारण पारिवारमा सम्बन्ध राम्रो हुँदैन । नशामा डुबेका मानिसलाई सहजै घरपरिवारले फर्काउन पनि सक्दैनन् ।

यस्ता मानिस आफ्नै दुनियाँमा रमाइरहेका हुन्छन् । यसरी बेवारिसे हुन पुगेका मानिसले आफन्त गुमाइसकेका हुन्छन् । उनीहरू सडक, पार्टी र मठ–मन्दिरमा बसेर जीवन धानिरहेका छन् ।

पछिल्लो समय छोरा–छोरी विदेश बसेको कारण धेरै ज्येष्ठ नागरिक बेवारिसे बन्न पुगेको डा. सुवेदी बताउँछन् । ‘छोरा–छोरी विदेशमा छन् । बुढाबुढी यहाँ एक्लै हुन्छन् । अस्पतालसम्म कोही कसैले लगिदिएको अवस्थामा पनि यस्ता बुढाबुढी बेवारिसे हिसाबले मर्छन्’ डा. सुवेदी भन्छन्, ‘नेपालमै भए पनि घरपरिवारबाट हेला भएर सडकमा पुगेका ज्येष्ठ नागरिक पनि बेवारिसे रूपमै मर्छन् ।’

श्रीमान्–श्रीमती छुट्टिएर बसेका, छोरा–छोरीसँग झगडा परेर सडकपेटी, मन्दिरमा आफ्नो जीवन धान्दै आएकाहरू पनि जीवनका अन्तिम दिनमा बेवारिसे हुने जोखिम रहन्छ । चिकित्सकका अनुसार, यसरी बेवारिसे बन्न पुगेकाहरू मादकपदार्थ तथा लागूपदार्थको लतमा फसिसकेका हुन्छन् । जसको कारण उनीहरूको शरीरका विभिन्न अंग फेल भएर बाटोघाटो र जंगल आसपासमा मृत्यु हुन पुग्छ ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा.गोपाल चौधरीका भनाइमा, बेवारिसे लास विभिन्न प्रकृतिका हुन्छन् । पहिलो, मन्दिर, सडकमा मागेर खाने । दोस्रो, तुलनात्मक रूपमा सम्पन्न घरको पहिचान खुले पनि कुनै आफन्तले लिन नआउने । तेस्रो, अस्पतालमा ल्याएर उपचार हुँदाहुँदै व्यक्तिले छोडेर गएका ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा.गोपाल चौधरी

बेवारिसे शव व्यवस्थापन गर्दै आएकी समाजसेवी सपना रोक्का मगरका भनाइमा कतिपय लास पहिचान भए पनि सम्पन्न वर्गका मानिसले त्यसलाई स्वीकार गर्दैनन् । ‘बेवारिसे लास पहिचान हुन्छ । ऊ वर्षौंदेखि बाटोमै मागेर बसेको हुन्छ । परिवारलाई मेरो सन्तान हो भन्न पनि राम्रो लाग्दैन’ मगर भन्छिन्, ‘बाँच्दासम्म त हाम्रो भएन, मरेपछि किन लासको सोधखोज गर्नु भनेर पनि वास्तै गर्दैनन् ।’

बेवारिसे लास भेट्टाएपछिको कानुनी प्रक्रिया पनि झन्झटिलो छ । यस्ता लास भेटेपछि प्रहरीले नजिकैको पोस्टमार्टम हुने अस्पतालमा लैजान्छ र आफन्तको खोजी गर्छ । ३५ दिनसम्म खोजी गर्दा पनि आफन्त नभेटे त्यो लासलाई प्रहरीले फरेन्सिक मेडिसिन विभागमा बुझाइदिन्छ ।

तीन महिनासम्म पनि कोही बुझ्न नआए कोल्डरुमको स्पेस हेरेर प्रहरीलाई बुझाइने डा. चौधरी बताउँछन् । यसरी त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागमा मात्रै वार्षिक ८० देखि १०० वटा बेवारिसे लास आइपुग्छन् ।

यसरी प्रहरीसमक्ष आएका बेवारिसे लासमध्ये अध्ययनको लागि मेडिकल कलेजले २५/३० वटा लैजान्छन् । उनका अनुसार अध्ययनमा प्रयोग हुने पनि बेवारिसे शव नै हुन् । तर, यसका लागि सग्लो र स्वाभाविक मृत्यु भएको शव चाहिन्छ ।

मेडिकल कलेजमा विद्यार्थीलाई विभिन्न अंग चिरफार (डाइसेक्सन) गर्न लगाइन्छ । यो अभ्यास नगरी डाक्टर बन्न सकिंदैन । यस्तै, अभ्यास गरेर नै  विद्यार्थी दक्ष डाक्टर बन्दछन् । तर, यसमा पनि सम्बन्धित व्यक्ति वा परिवारको सहमति चाहिनेमा बेवारिसे लासका हकमा यो प्रक्रिया पनि पूरा भएको हुन्न ।

अहिलेसम्म हजारमाथि बेवारिसे लासको सद्गत गरिसकेकी मगरले जीवनमा एउटा अनौठो घटना भएको छ । करिब डेढ वर्ष अगाडि मध्यरातमा उनलाई एउटा फोन आयो । अमेरिकाबाट आएको त्यो फोन बुवाको शवलाई दाहसंस्कार गरिदिन छोराले गरेको अनुरोध थियो ।

उनी भन्छिन्, ‘मैतीदेवीको एक घरमा उहाँको बुवाको मृत्यु भएको रहेछ । उहाँ पेशाले सिभिल इन्जिनियर हुनुहुँदोरहेछ । आउन–जान धेरै खर्च लाग्ने र त्यसमाथि पनि नेपाल आउँदा यता आफ्नो जागिर नै जाने भनेर उहाँ नेपाल आउनुभएन ।’

‘उहाँले बुवाको दाहसंस्कारमा लाग्ने खर्च पठाइदिने र शवको व्यवस्थापन गर्न अनुरोध गर्नुभएको थियो’ मगर आफ्नो अनुभव साट्दै भन्छिन्, ‘किन हो मानिस बुबा–आमाको दाहसंस्कार गर्न समेत नभ्याउने अवस्थामा पुग्दैछ ।’ पछिल्लो चार वर्षको अवधिमा मात्रै छोरा–छोरी विदेश भएका यस्ता ५० भन्दा बढी ज्येष्ठ नागरिकको शवको दाहसंस्कार गरिसकेको मगर बताउँछिन् ।

‘वार्षिक ३०० माथि बेवारिसे शव’

नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार देशभर वार्षिक ३०० भन्दा बढी बेवारिसे लास भेटिन्छन् । गत चार वर्षको तथ्यांकलाई हेर्दा बेवारिसे लास भेटिने संख्या बढ्दो छ ।

आर्थिक वर्ष २०७६/७७ मा २९९ बेवारिसे लास भेटिएकोमा आर्थिक वर्ष २०७९/८० (जेठसम्म) मा ३१८ लास भेटिइसकेका छन् । यस्तै, नेपाल प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३४८ र २०७८/७९ मा ३७७ बेवारिसे लास भेटिएका छन् ।

सबैभन्दा बढी बेवारिसे लास बागमती प्रदेशमा भेटिन्छन् । चालु आर्थिक वर्षको तथ्यांकलाई हेर्दा बागमती प्रदेशमा १११, मधेशमा ७०, लुम्बिनीमा ५७, गण्डकीमा ५० बेवारिसे लास भेटिएका छन् । यस्तै, कोशीमा १८, काठमाडौं उपत्यकामा ९ र सुदूरपश्चिम प्रदेशमा ३ बेवारिसे लास भेटिएका छन् ।

सबैभन्दा बढी पुरुषको लास भेटिएको छ । पछिल्ला चार वर्षको तथ्यांक हेर्दा १ हजार ३७ पुरुष, २३४ महिला, २१ बालक, १६ बालिका र ६० वटा कंकाल बेवारिसे अवस्थामा भेटिएका छन् ।

फरेन्सिक चिकित्सकका अनुसार धेरैजसो बेवारिसे मानिसको मृत्युको कारण कलेजो फेल भएर हुन्छ । उनीहरूमध्ये धेरैको फोक्सो, मुटु, मिर्गौला पनि फेल भइसकेको हुन्छ ।

‘प्रायःगरेर ४० देखि ६० वर्षका बेवारिसे लास आउँछन् । अधिकांशको सडकपेटीमै मृत्यु भएको हुन्छ’ डा. चौधरी भन्छन्, ‘अत्यधिक मदिरापान गरेका कारण शरीर सुन्निएको, पहेंलो भएको तथा शरीरमा संक्रमण भइसकेको हुन्छ ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा कार्यरत डा. सिर्जना कुँवरका अनुसार जाडो समयमा बेवारिसे लास धेरै संख्यामा आइपुग्छन् । ‘चिसो मुख्य कारण हो’ डा. कुँवर भन्छिन्, ‘धेरैजसोको निमोनियाको कारण फोक्सोमा संक्रमण भएर मृत्यु भएको हुन्छ । कतिपय, केसमा ठ्याक्कै  कारण पत्ता लाग्दैन ।’

‘लास राख्ने भौतिक पूर्वाधार छैनन्’

नेपालमा लामो समय लास राख्नका लागि ‘कोल्डरुम’ टिचिङ अस्पतालमा मात्रै छ । उक्त कोल्डरुममा सजिलोसँग १०० वटा लास राख्न सकिन्छ । तर, कहिलेकाहीं क्षमताभन्दा बढी राख्नुपर्ने हुन्छ ।

सरकारले पहिचान हुन नसकेका वा बेवारिसे लासको उचित व्यवस्थापनका लागि २०७८ सालमा छुट्टै निर्देशिका जारी गरेको छ । चिकित्सकका अनुसार यो निर्देशिका बनेपछि अहिले धेरै सहज भएको छ । तर, यो निर्देशिकाको उचित कार्यान्वयन हुनसकेको छैन ।

जानकारहरूका अनुसार केही केन्द्रीय, प्रादेशिक अस्पतालमा दुई–चार वटा लास राख्ने फ्रिज छन् । तर, धेरै अस्पतालमा यो सुविधा छैन । जसका कारण दुई–तीन दिनमै बेवारिसे लास दुर्गन्धित हुने भएकाले अन्त्येष्टि गर्नुपर्ने बाध्यता हुन्छ ।

वरिष्ठ फरेन्सिक विशेषज्ञ प्रा.डा. हरिहर वस्तीका अनुसार २०७२ सालको महाभूकम्पपछि थुप्रै लास त्रिवि परिसरमा कुहिएर गए । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा सरकारले राम्रो फ्रिज वा कोल्डरुम बनाउन चासो दिएन । लास सडेर जाने अवस्था आएपछि अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) ले हालको नयाँ कोल्डरुम बनाइदिएको हो ।

‘कुनै बेला एउटा कोठामा बेवारिसे लास राख्दा लासमाथि लास थुपार्नुपर्ने बाध्यता थियो । त्यसबेला मुसाले बेवारिसे लासका कान, आँखा, नाक तथा शरीरका विभिन्न अंग खाइसकेका हुन्थे’ डा. वस्ती  पुराना दिन सम्झँदै भन्छन्, ‘कतिपय शव कुहिएर अस्पताल परिसरमा नै दुर्गन्ध फैलिन्थ्यो ।’

पछिल्ला दिनमा केही अस्पतालमा पाँच–सात वटा लास राख्ने एक–दुई वटा फ्रिज भए पनि गुणस्तरीय भौतिक पूर्वाधार निर्माणमा राज्यले अझै बेवास्ता गरिरहेको उनको भनाइ छ ।

त्रिवि फरेन्सिक विभागको तथ्यांक अनुसार वार्षिक २ हजारभन्दा बढी पोस्टमार्टमका लागि लास आउँछन् । त्यसमध्ये १०० को हाराहारीमा बेवारिसे लास हुन्छन् । विभागका प्रमुख डा. गोपाल चौधरी पर्याप्त मात्रामा फ्रिजको व्यवस्थापन गर्न नसक्दा लासमाथि लास राख्नुपर्ने बाध्यता अहिले पनि रहेको गुनासो गर्छन् ।

‘सय भन्दा बढी त बेवारिसे शव नै हुन्छन्, जसलाई वर्षौंसम्म राख्नुपर्ने हुन्छ । त्यसमाथि कहिलेकाहीं ठूलो दुर्घटना वा विपत् निम्तिंदा लासमाथि लास राख्नुपर्ने हुन्छ’ शव परीक्षणको लामो अनुभव सँगालेका डा.चौधरी भन्छन्, ‘सरकारसँग पटक–पटक गुहार माग्दा पनि उपकरण र जनशक्ति थप गर्न कुनै चासो देखाइएन ।’

दिन–रात नभनी काम गर्दा समेत आधुनिक उपकरणको अभावमा सोचेअनुरूप काम गर्न नसकेको र बेवारिसे लासलाई स–सम्मान अन्तिम सद्गत गर्न नसकिएको उनको दुःखेसो छ । उनका अनुसार लास राख्नलाई र्‍याक, स्ट्रेचर पर्याप्त मात्रामा छैनन्, भुइँमा राख्नुपर्छ ।

उनी भन्छन्, ‘काठमाडौंका सबै बेवारिसे लास प्रहरीले यहाँ ल्याउँछन् । तिनका कोही आफन्त आउँछन् कि भनेर महिनौंसम्म राख्नुपर्छ । कुनै समयमा नयाँ लास थपिने बित्तिकै त्यो कहाँ राख्ने भन्ने चिन्ता थपिन्छ ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन महिनामा १० देखि १५ वटा बेवारिसे लास आइपुग्छन् । तर, फ्रिजको क्षमता अनुसार ८ वटा मात्रै राख्न सकिन्छ । ‘कहिलेकाहीं फ्रिज पर्याप्त नहुँदा दुर्गन्धित हुने अवस्था पनि आउँछ । यस्तो बेलामा महानगर वा प्रहरीसँग समन्वय गरेर दाहसंस्कारका लागि पठाइहाल्छौं’, डा. कुँवर भन्छिन् ।

‘शवहरू सम्मानका हकदार हुन्छन्’  

२०५० सालभन्दा अगाडि नेपाल प्रहरीले नै बेवारिसे लास व्यवस्थापन गर्थ्यो । चलनचल्ती र रीतिरिवाज अनुसार सरकारी खर्चमै अन्त्येष्टि गरिंदै आएको थियो । यदि अनुसन्धान गर्नुपर्ने खालको केस भए मात्रै अनुसन्धान हुन्थ्यो अन्य शवलाई प्रहरी ऐन २०१२ को २२ ‘क’ अन्तर्गतको बेवारिसे लास सम्बन्धी निर्देशिका अन्तर्गत रहेर अन्त्येष्टि गरिंदै आएको थियो ।

२०५० सालपछि मेडिकल कलेज खुल्न थाले । मेडिकल शिक्षाका विद्यार्थीलाई अध्ययन गराउनका लागि शवको माग बढ्न थाल्यो । कुनै नजिकको मेडिकल कलेजले शव माग गरेमा दिन सकिने भन्दै प्रहरी ऐन संशोधन भयो ।

सरकारले पहिचान हुन नसकेका वा बेवारिसे लासको उचित व्यवस्थापनका लागि २०७८ सालमा छुट्टै निर्देशिका जारी गरेको छ । चिकित्सकका अनुसार यो निर्देशिका बनेपछि अहिले धेरै सहज भएको छ । तर, यो निर्देशिकाको उचित कार्यान्वयन हुनसकेको छैन ।

निर्देशिका अनुसार कुनै स्थानमा पहिचान नभएका तथा बेवारिसे अवस्थामा लास रहेको जानकारी प्राप्त हुन आएमा त्यसको उचित व्यवस्थापनका लागि स्थानीय प्रहरी कार्यालयले लासलाई सुरक्षित राखी सम्बन्धित स्थानीय तह र स्थानीय तहका वडा प्रतिनिधिलाई जानकारी गराउनुपर्छ ।

त्यसपछि स्थानीय तहको प्रतिनिधि र सम्भव भएसम्म स्थानीय नागरिकको रोहबरमा मुचुल्का खडा गर्नुपर्छ । र, पोस्टमार्टमका लागि नजिकै रहेको अस्पतालमा लैजानुपर्छ । निर्देशिकाले भनेको छ— ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन सम्भव भएसम्म अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप १२ वर्षसम्म सुरक्षित रहन सक्ने गरी राख्नुपर्छ ।’

निर्देशिका अनुसार, लासलाई सम्बन्धित धर्म, परम्परा वा संस्कृति अनुरूप गाड्ने वा पुर्ने कार्य गर्नुपर्छ । तर, अहिले बेवारिसे लासलाई तुरुन्तै जलाउने काम गरिन्छ । यो निर्देशिका विपरित काम हो ।

वरिष्ठ फरेन्सिक विशेषज्ञ डा.वस्ती भन्छन्, ‘यदि बेवारिसे लासलाई जलाइन्छ भने यो कानुन विपरीतको कार्य हो । पहिचान तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ ले यसमा रोक लगाएको छ । यदि जलाउने गरेको पाइएमा अदालतमा मुद्दा लड्न सकिन्छ ।’

डा. वस्तीका अनुसार बेवारिसे लासलाई गाड्नुपर्ने विषयमा निर्देशिकाले स्पष्ट गरेको छ । उनका भनाइमा, लास परिवारको सम्पत्ति हुन्छ । कोही आफन्तले दाबी गर्न नआएको अवस्थामा त्यो लास राज्यको सम्पत्ति हो । उनी भन्छन्, ‘मृत्यु पछि पनि लासको अधिकार रहिरहन्छ । यदि कोही आफन्त वर्षौंपछि लास लिन आएको अवस्थामा राज्यले उपलब्ध गराउनुपर्छ । त्यही भएर त गाड्नुपर्ने व्यवस्था गरिएको हो ।’

२०७२ सालको महाभूकम्पमा परेका दुई इटाली नागरिक सहित त्रिवि शिक्षण अस्पताल परिसरमा ३३ जनको लास गाडिएको थियो; पछि निकाल्न मिल्ने गरी । एक वर्षपछि ती इटाली नागरिकका आफन्त खोज्दै आएपछि सनाखत गरेर उनीहरूलाई अस्थिपञ्जर भए पनि उपलब्ध गराइएको थियो ।

वरिष्ठ फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्ती

तर हामीकहाँ ‘बेवारिसे’ नाम दिइसकेपछि ती लासहरूले पाउनुपर्ने सम्मान पनि पाउँदैनन् । विशेषज्ञ चिकित्सकका अनुसार, बेवारिसे लासको पोस्टमार्टम पछि सफासँग धोइपखाली गरेर, कपडाले बेरेर बडी ब्यागमा हालेर भण्डारण गरेर राख्नुपर्ने हो । पछि कोही आफन्त लिन नआए बडी ब्यागमा राखेर गाड्नुपर्छ ।

तर, हामीकहाँ बेवारिसे लासलाई नाङ्गै राखिन्छ । एक लासमाथि अर्को लास खप्टिएर राखिन्छ । ‘लास भए पनि त्यो मानिसको लास हो नि ! शवहरू पनि सम्मानका हकदार हुन्छन् । तर, यहाँ बेवारिसे भनेपछि शवलाई न्यूनतम सम्मान पनि छैन । मरेको जनावर जस्तो व्यवहार गरिन्छ’ समाजसेवी मगर भन्छिन्, ‘यो राज्यले शव माथि गरेको अपमानित व्यवहार हो ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी फरेन्सिक विशेषज्ञ डा.कुँवर पनि बेवारिसे लासलाई उचित व्यवस्थापन गर्न राज्य चुकिरहेको बताउँछिन् । ‘त्यो लास पनि कसैको बुवा, आमा वा छोरा–छोरीको हो भनेर संवेदनशील रूपले हेर्न सकिएको छैन । भण्डारणदेखि अन्त्येष्टिसम्मका व्यवहारमा उहाँहरू अन्तिम सम्मान पाउनबाट वञ्चित हुनुहुन्छ ।’

चिकित्सा समाजशास्त्री प्रा.डा. सुवेदीका अनुसार जात, धर्म, परम्परा अनुसार अन्तिम संस्कार पाउनु उसको अधिकार हो । ‘बेवारिसे मानिसको मृत्यु भएपछि सरकारले नै उसको लागि न्यूनतम गर्नुपर्ने व्यवहार गरेर सद्गत गर्नुपर्ने हो । अहिलेसम्म सरकारको यतातिर ध्यानै गएको छैन ।’

कभर स्टोरी
लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?