+
+

व्यक्ति बदलिएर पुग्छ कि संरचना पनि बदलिनुपर्छ ?

चैतन्य मिश्र चैतन्य मिश्र
२०८० कात्तिक २१ गते २१:२२

समयको पालना गर्न सिके, पालो पर्खन सके, फोहोर जथाभावी नफ्याँके, लेन अनुशासन कायम गरेर यात्रा गरे– यस्ता थुप्रै स–साना कुराहरु बदल्न सके देश आफैं बदलिइहाल्छ नि भन्ने कतिलाई लाग्छ।

एक–एक जना व्यक्ति आफ्नो तहमा जिम्मेवार बन्न सके राष्ट्र निर्माणमै योगदान पुग्ने हो भन्न पनि सकिएला।

यही विषयलाई उल्टोपाल्टो पारेर हेर्न पनि सकिन्छ। यी स–साना कुरा भनिएका विषय ठूलो इतिहासका पाटाहरु पनि हुन्। हरेक साना कुरा ठूलाठूला कुराका अंश पनि हुन्। व्यक्तिमा समाजको छाप पर्छ। समाजलाई पनि व्यक्तिले प्रभाव पार्छ।

त्यसैले हामी स–साना कुरा भनेर जेलाई भन्छौं, ती आफैंमा ठूला संरचना र इतिहासका अंश हुन्।

इतिहास भन्नाले यहाँको इतिहास मात्रै होइन, विश्वकै इतिहास पनि हो। विश्वमा सिकिएको, इतिहासमा सिकिएको कुरा नै स–साना कुरामा मिसिएर आउँछ। अंग्रेजीमा भन्छ नि: इट् टेक्स् टु टु ट्यांगो। ट्यांगो नाच्नका लागि दुई जना अर्थात् ऐतिहासिक संरचना र व्यक्ति नै चाहिन्छ।

कार्ल मार्क्सले भनेका छन्: इतिहास आफैं बन्ने होइन। इतिहासका हातखुट्टा छैनन्। बनाउने मान्छेले नै हो। तर यति हुँदाहुँदै पनि मैले खोजेको जस्तो इतिहास मैले बनाउन सक्दिनँ। किनभने म आफैं इतिहासको एउटा टोड्कामा बसेको हुन्छु। पुर्खाहरुले रचना गरेको संरचना, संस्कृति, चलन आदिबाट संरचित हुन्छु। म त्यसबाट केही टाढा जान पनि सक्छु। तर साह्रै टाढा जान पनि सक्दिनँ।

बाजेबज्यै कस्ता थिए, म कस्तो बन्दै गएँ– यसरी म बन्छु। इतिहासको एउटा विन्दुमा बसेको हुन्छु। सिंगो समाज र विश्व नै कसरी प्रवाह भइराखेको हुन्छ, मैले त्यसलाई जीउ, मन, कल्पना, सपना, इच्छा, डरत्रास आदिमा समेटेको हुन्छु। ऐतिहासिक संरचना, समाज, प्रकृति पनि मैले लिएर बसेको हुन्छु। त्यसैले म लेन पालना गर्छु कि गर्दिनँ, म लाइनमा बस्छु कि बस्दिनँ जस्ता आनीबानी विशुद्ध मेरो व्यक्तिगत छनोटको विषय मात्रै पनि होइन।

हामीले जे छनोट गर्यौं भन्छौं, त्यो नितान्त हाम्रो छनोट होइन। म कर्ता त हुँ, तर मेरो कर्तापना त्यो समाजको संरचनाले पनि बनाउँछ। बाहुन भएबापत, दलित भएबापत, महिला भएबापत, मधेशी भएबापत समाजमा हाम्रो अलग–अलग कर्तापना हुन्छ। उनीहरुको बारेमा सोचियो भने यो कुरा आफैं प्रष्ट हुँदै जान्छ।

हामी सबै बाँधिएका छौं, नबाँधिएका कोही छैनौं। काठमाडौंमा बस्दा मधेशी भनेर कसैलाई बाँधिएको बुझाइबाट हेरिरहेका हुन्छौं।

मान्छे कति स्वतन्त्र छ भन्ने प्रश्नमा सोध्दा यसको जवाफ आउँछ। मान्छे एक हदसम्म स्वतन्त्र छ, तर धेरै यता वा उता गर्न अत्यन्त गाह्रो हुन्छ। लेन अनुशासन, चोर्ने या नचोर्ने : हिन्दी सिनेमामा भन्छन् नि– वक्त वक्तकी बात है जोनी। हाम्रो व्यक्तिगत इच्छा छुट्टै छैन। व्यक्ति सार्वभौम सत्ता सम्पन्न छैन। खास सामाजिक संरचनाको उपज हो व्यक्ति।

इतिहासको बहाव अनि एकआपसप्रतिको साझा रुचिले व्यक्तिहरुलाई एकआपसमा जुटाउँछ। परिस्थिति मिल्नुपर्छ भन्छन् नि, हो त्यो भनेको इतिहासको बहाव अनि समान अभिरुचिको परिणाम हो।

त्यसैले सीमालाई सधैं नकारात्मक भावमा हेर्नुपर्दैन। व्यक्तिगत स्वतन्त्रताको दायरा समाज जति चिरा परेको छ, उति धेरै हुन्छ। चिरा परेको समाजमा स्वतन्त्रता धेरै हुन्छ। व्यक्तिलाई एकभन्दा धेरै चिराहरुको आभास हुन्थ्यो र मान्छे त्यस बेलाको स्वार्थ अनुसार कहिले यसमा बस्छ, कहिले उसमा बस्छ। उसँग छनोट धेरै हुन्छ।

बाजेका पालामा भन्दा हाम्रो स्वतन्त्रता बढेको छ। बज्यैको त के स्वतन्त्रता थियो र ? अहिलेका केटीहरु अहिलेका केटाभन्दा बढ्ता बाँधिएकै छन्, तर पहिलेका बज्यैभन्दा कता हो कता फुक्का छन्। युरोप अमेरिकाका महिला पनि नबाँधिएका होइनन्। त्यो समाजमा परिवारले कम, कामले बढी बाँध्छ। कामसँग टाँसिएका हुन्छन्, परिवारबाट फुत्किएका हुन्छन् उनीहरु। यो परिवर्तन इतिहासको यो घडीमा मात्रै सम्भव भएको हो। आजभन्दा सय वर्षअघि यहाँ र त्यहाँ खासै फरक थिएन। अझ चार सय वर्षभन्दा अगाडि उताभन्दा यताका महिला बढ्ता फुक्का थिए।

अनलाइनखबरमा अवैध बाटोबाट अमेरिका छिर्ने रुकुमका मान्छेहरुको समाचार छापिएको थियो। त्यसका आधारमा विचार गरौं, अमेरिका जान खोज्नु स्वतन्त्रता हो कि बन्धन ?

त्यो एक किसिमको स्वतन्त्र छनोट पनि हो, किनभने कोही मान्छे अमेरिका जान, गाउँमा नबस्न स्वतन्त्र भयो। तर उसको स्वतन्त्रताको छनोट यति कठिन छ कि त्यसरी जानेमध्ये कति त अमेरिकै पुग्न नपाउने या नसक्ने भए। कति बाटैमा मर्ने, कोही त्यहाँ पुग्दै नपुगी फर्किने पनि भए। त्यसैले गाउँ छाड्न स्वतन्त्र, तर त्यहाँ पुगेर फेरि पनि बाँधिएकै छन्। यसरी स्वतन्त्रताको बन्धन विचित्रको छ।

अमेरिका पुगेछ भने पनि त्यहाँसम्म पुग्न त स्वतन्त्र हो, तर त्यहाँ पुगेपछि फेरि बाँधिने नै हो।

हामी व्यक्ति–व्यक्तिमा नै धेरै ध्यान दिन्छौं।  अनुशासनमा बस्ने, लाइनमा बस्ने, लेन अनुशासन कायम राख्ने, समय पालना गर्ने जस्ता अनेक कुराहरु व्यक्तिसँग सम्बन्धित छन् पनि। माथि नै भनियो, इतिहासको हातखुट्टा र मुख हुँदैन, इतिहासको प्रवाह हुने चाहिं व्यक्तिमार्फत नै हो। हातखुट्टा मात्रै होइन। विचार, कल्पना व्यक्तिकै हो। इतिहासले म यता जान्छु, उता जान्छु भन्दैन। इतिहासको अग्रभागमा देखिने गरी व्यक्ति नै प्रकट हुन्छ।

तर मेरो ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, कल्पना, आशा, त्रास मबाट मात्रै निःसृत छैन। लाइनमा बस्नु नबस्नु मेरो मात्रै अनुशासनको कुरा होइन। मलाई बस्न केहीले प्रोत्साहित, केहीले हतोत्साहित गरिरहेको छ। मेरो इच्छा, आकांक्षा, व्यवहार, सोच आदिको निर्माणमा म आफैं पनि केही गर्छु, साथै जुन इतिहास र समाजको म अंश हुँ, त्यसले पनि गर्छ। त्यो मार्फत परिवर्तन हुन बल गर्छ।

फेरि समाज परिवर्तनशील पनि त हुन्छ। लाइनमा बस्ने नबस्ने कुरा मेरै जीवनकालमा स्थिर भएन। बसबाट कागज फाल्ने, चकलेटका खोल फाल्ने धेरै हुन्थ्यो। अचेल कम भएको छ। बाटोमा दिसापिसाब धेरै हुन्थे, अचेल कम भएको छ। झाडापखाला, सफा पानीका कुरा होलान्। आम मान्छेका इच्छा अनि परिस्थितिका कुरा पनि रहे। अचेल बाटोमा हिंड्दा पिसाब लागे कुनै बैंक, अफिसको शौचालय वा रेस्टुरेन्टतिर पस्ने पनि भयो। पहिले त्यस्तो विरलै थियो। यस्ता केही पक्षहरु सुधारको बाटोमा छन्।

यही बीचमा प्रेमप्रसाद आचार्य जस्ता मान्छे दलालको चंगुलमा फँसेर जीवन नै त्याग्ने ठाउँसम्म पुगे। उनीहरुको समस्यालाई हाम्रो राजनीतिले छुनसकेको छैन। यस्ता कति कुरा बिग्रेका पनि होलान्।

समाजमा उबडखाबडहरु टन्नै छन्। वर्गीय, जातीय, लैंगिक आदि उबडखाबड छ। कोही धेरै बाँधिएका होलान्। श्रमिक स्वतन्त्र छ कि रोजगारदाता स्वतन्त्र छ ? आफ्नै किसिमले सोच्नलाई को बढी मुक्त छ त ? जग्गादाता, गृहिणी, दलित, मधेशी कोही कति स्वतन्त्र वा बन्धनमा छ ?  पक्कै पनि धेरै असमानता छ।

पहिले त लाइनको कल्पना नै थिएन। बसमा जो बलियो छ, उसैले अरुलाई पाखुराले पन्छाउँदै चढिहाल्थ्यो। अचेल पहिलेभन्दा बढ्ता ध्यान लाइनमा छ। पूरै नहटे पनि बलियो मान्छेको प्रभुत्व अलिकति घटेको छ।

मार्क्सबाट मैले सिकेको कुरा हो : अमूर्त मान्छेको चर्चा व्यर्थ छ। किसान हो कि, शहरी मजदुर हो कि, शिक्षक हो कि, पहाडमा बस्ने, तराईमा बस्ने ? को मान्छे, कस्तो मान्छे ? पुरुष मान्छे कि महिला ? बाहुन हो कि कथित तल्लो जात ? कहाँ बस्छ ? पूँजीपति हो कि मजदुर ? मधेशी हो कि गैरमधेशी ? कुन ऐतिहासिक विन्दुको व्यक्ति हो ? मान्छेको परिभाषा मूर्त हुनुपर्छ, नत्र फजुल चर्चा या वर्णन हुन्छ।

यस्ता सवालहरु मूर्त हुनुपर्छ।

यस्तैमा आउँछ, समयको पालना गर्ने कुरा। समय पालना महत्वपूर्ण छ। तर अमूर्त समय पालनाको कुरा पनि फजुल हो। अमूर्त समयलाई देखाएर गरेको विश्लेषण काम लाग्दैन। या त्यसले भ्रम छर्छ। समय बनाउने भनेकै हाम्रो सामाजिक सम्बन्धले हो। मानिस र समाजभन्दा अगाडि समय नै थिएन। समाजले बनाउने हो समय।

लोकतन्त्रको सम्बन्ध नभएको केही पनि छैन। देउतासँगै एकदमै टड्कारो सम्बन्ध छ। हामी कर्ता हो कि आदेश पालक हो कि के हो भन्ने सबै कुरासँग यो सम्बन्धित छ। स्कुलमा पढाउने कि कलेजमा पढाउने भन्ने पनि होला। तर प्रश्नवाचक चिह्न राखेर बारम्बार छलफल गर्नुपर्ने विषय हो

वर्षायाम हो कि ग्रीष्म ? किसानको जीवनलाई ऋतुको समयले असर पार्छ। सूर्य उदाउने बेला हो कि अस्ताउने बेला हो, उसको लागि त्यो समयले अर्थ राख्छ। हाम्रा लागि घडीले अर्थ राखे जस्तो। बाह्रैमास एउटै समय होइन उसको। आजकालको शहरी चौबिस घन्टे समयको अर्थ उसलाई नहुन सक्छ। कुन बेला धान काट्नुपर्छ, कुन बेला बाली लगाउनुपर्छ, गोडमेलको समय आदि। कुनै बेला ऊ दिनैभरि काम गर्छ, कुनै बेला ऊ सुतेर बस्छ। आफ्नो आवश्यकताको समय उसको समाज, परम्परा लगायत आवश्यकताले गर्छ।

कोही कुराउन जन्मेका हुन्छन्, कोही चाहिं कुर्न जन्मेका हुन्छन्। जोसँग शक्ति धेरै छ, उसले अरुलाई कुराउँछ। कामचोरहरु, कतिपय कर्मचारी, कतिपय शिक्षकहरु अरुलाई कुराइरहन्छन्। शिक्षक ढिलो आउँदै गएपछि विद्यार्थीलाई पनि ढिलो आउनुपर्छ भन्ने हुन्छ। विस्तारै विद्यार्थी आउन छाड्छन्। त्यसपछि विद्यार्थी नआएको कारण देखाएपछि त शिक्षकलाई पढाउने झन्झट नै सकियो। एक किसिमले समय मेटाउन सकियो।

पितृसत्तात्मक समाजमा श्रीमतीहरुले पुरुषलाई कति कुरेका छन् ? भात कुरेर बसेका पत्नीहरुले पतिहरुलाई कुरिरहेका हुन्छन्। पुरुष चाहिं कुराएर बस्छ। मान्छे अनुसारको समयको स्वामित्व हुन्छ त्यहाँ। कहीं पनि कसको शक्ति कति छ भन्ने आधारमा समयको अभ्यास हुन्छ। त्यो भनेको मूर्त मान्छेको, अर्थात् सामाजिक सम्बन्धमा पति वा पत्नीको शक्ति कति भन्ने आधारमा समय निर्धारण भइरहेको हुन्छ।

नेपाली टाइम भन्ने चलेको छ। नेपालमै पनि मिलिट्री टाइम त छ, जो समयमै पालना हुन्छ। हल्लाउन नमिल्ने गरी समय पालना भएको हुन्छ। विमान अपवादबाहेक तोकिएको समयमा चल्नुपर्ने हुन्छ। समय पालनको कुरा गर्दा ‘गभर्नेन्स’ अर्थात् शासन, कानुन, रीतिथिति जस्ता कुरा महत्वपूर्ण हुन आउँछन्।

गभर्नेन्सलाई औपचारिक र अनौपचारिक भनेर दुई प्रकारले विभाजन गर्न सकिन्छ।  अनौपचारिक समय व्यवस्थापन गर्ने कुरा घर, समुदाय, धर्म, जात, लैंगिकता र वर्गले सिकाउला। औपचारिक समयको व्यवस्थापन स्थानीय, प्रादेशिक र संघीय आदि सरकारले व्यवस्थापन गर्नुपर्ने कुरा हो।

त्यसमा जसले लागू गराउँछ त्यो कति वैध छ भन्ने प्रश्न पनि आउँछ। त्यसको वैधता उच्च छ भने अरु मान्छेले समय पालना गर्छन्। नत्र मैले किन गर्ने भन्ने हुन्छ। शिक्षक नै ढिलो आउँछ भने विद्यार्थी किन छिटो आउने भन्ने प्रश्न जन्मिन्छ।

उसको वैधता भए पनि ऊ आफैंले अभ्यास गरिरहेको छ ? भन्छ एउटा, गर्छ अर्को भने त्यो अरु मान्छेले नमान्नु स्वाभाविक हो।

हाम्रो संसद नै एउटा उदाहरण छ। अचम्मको कुरा छ। संसदमा भत्ता नै दिन्छन्, तर सांसदहरु बैठकमा नआइकनै पैसा लिन्छन्। त्यो हाजिर मिलाएर वा गैरकानुनी ढंगले लगिन्छ। आखिर त्यसलाई कसले नियमन गराउने ? आफैं त्यो सांसद जस्तो उच्च पदमा पुगेको छ, उसलाई सचिवले अह्राउने कुरा पनि होइन। कि त सांसदहरुले कमिटी बनाएर लागू गराउनु पर्योत। कि सभामुखले गराउनु पर्यो । त्यो वैधता सभामुखको हुनेहुँदा उनी कडा हुनुपर्योथ। त्यसको मतलब सबैलाई सहमत गराउनु पर्योो। सांसद नै भइसकेपछि सभामुख एक्लैले गर्ने कुरा पनि होइन। त्यसमा सांसदले नै सहमति गरेर व्यवस्थापन गर्ने विषय हो।

अहिलेको शहरिया जीवन पहिलेको तुलनामा समय पालन गर्ने जस्तो देखिन्छ। तर अहिले पनि त्यही पालन हुँदैन। अन्य काममा पनि हाम्रो व्यावसायिक श्रेष्ठता अंगीकार गरेका छैनन्। त्यस कारण हामी समयमा पनि खुला अर्थात् अनुशासनहीन छौं। हामी व्यावसायिक धर्म पालना गर्दैनौं, समयको ख्याल पनि गर्दैनौं। व्यावसायिकताभित्र नै समयको पालना गर्ने पाटो पनि पर्छ।

जबकि किसानलाई त्यो छूट हुँदैन। बाली काट्ने बेलामा पानी पर्ला कि भन्नेमा गम्भीर ध्यान दिनुपर्छ। उसले भोगिरहेको जस्तो संगीन अवस्था हामीलाई आउँदैन। कुनै कुनै बेला होला पनि। तर कामको विषयलाई लिएर हेर्ने हो भने हामी व्यावसायिक छैनौं। काममा पनि हाम्रो विज्ञता हासिल गर्ने भन्ने छैन।

फेरि एकचोटि हामी लाइन बस्ने कुरातिरै फर्कौं। माथि भनिसकियो कि यो विषयमा पनि कोसँग कति शक्ति छ भन्ने कुराले अर्थ राख्छ। मन्त्री जाँदा पासपोर्टको लाइनमा बस्नुपर्दैन भनेर समाचारमा पढ्न पाइन्छ। मोटर चढेर आउने मान्छे लाइन बस्नुपर्छ कि पर्दैन, भरियाले लाइन बस्नुपर्छ कि पर्दैन ?

मोटर चढेर कोही आउँदा अगाडि नै बसोस् न त भन्ने किसिमको मनस्थिति हामीले बोकेका छौं। अझै ठूलो कार चढ्ने र गाडा चलाउने मान्छेले पाउने विशेषाधिकार उस्तै हुने भएन। पानी पर्ने समय आफ्नो नियन्त्रणमा हुँदैन। त्यसले उनीहरु अगाडि बस्ने वा भित्रभित्रै मिलाउने सम्भावना धेरै हुन्छ।

हामीकहाँ कुनै शक्तिमानले सम्भवतः पहिले नै कुनै हाकिमलाई कान फुकिसकेको हुन्छ, बाहिर एउटा मान्छे लिन आउँछ। अनि काम तुरुन्तै फत्ते गरेर निस्किन्छ।

चलन र बानीकै कुरा गर्दा हामी धर्म गर्ने भनेर मन्दिरमा जान्छौँ, तर फूलपाती चाहिं अरु बारी र बोटबाट चोरेर लिन्छौं। यो विरोधाभास हामीमा छ। कोही मन्दिरमा गएर क्षमापूजा गर्छन्, तर अरुको घर अगाडि गाडी पार्क गरेर जान्छन्। देउतालाई पूजा गरेपछि सबै पाप पखालिन्छ भन्ने विश्वास भइसक्यो। आफ्नो लागि गरेको होइन नि भन्ने छ।

कतिपय व्यापारीका हकमा पनि यस्तो भन्न सकिएला। नियमले दिनेभन्दा अकुत नाफा कमाउँछ, तर कुरा चाहिं धर्मको गर्छ । मिति गुज्रेको औषधि वा सामान बेचेर फाइदा लिन्छ। तर धर्मकर्मका क्रियाकलाप उसैका बढी हुन सक्छन्।

सामानको किनबेचमा टन्न पैसा छ। साहुजी, राजनीतिज्ञ, बिचौलिया, उत्पादक र सञ्चारउद्यमी पनि छन्। किनभने, विज्ञापन त्यहींबाट आउँछ। त्यसैले विरलै यिनीहरूको समाचार आउँछ। समाचार आयो भने विज्ञापन नै रोकिन्छ वा कम हुन्छ। त्यसमा उपभोक्ता पनि आउँछन्, कर्मचारी आउँछन्। अर्थात्, पैसा भएको ठाउँमा सबै जना सहभागी हुन्छन्।

लाइन मात्रै मिच्दा पैसा खाने ठाउँ बन्दैन। तर सामानको बेचबिखन पैसा हुने ठाउँ हो।

स–साना कुरामै जाउँ। सार्वजनिक ठाउँमा थुक्ने वा अनुशासन उल्लंघन गर्ने, सार्वजनिक स्रोतलाई निजीकरण गर्ने प्रवृत्ति आखिरमा कहाँबाट सिक्यौं त ?

हाम्रो अहिलेसम्मको हुर्काइ एकदम सीमित आकाशको मुन्तिर भयो। पहिले पनि यस्तो थिएन होला, पछि पनि हुँदैन होला भन्ने अपेक्षा गरौं। हाम्रो उत्पादन र उपभोगको इकाइ पनि एकदमै सानो भयो। पाँच दश रोपनी जमिनमा खाने–पिउने र आफ्नो घर हुन्छ। टोल, समाज, देश अलि ठूला संगठनहरुले मान्छे र संस्कृतिमा ठाउँ ओगटिसकेका छन्।

सार्वजनिक भन्ने अझै छैन। सानो निजी जीवनभित्र रमाएका छौं। केही परिवर्तन त भएको छ। तर परिवर्तन धिमा र यसको दायरा साँघुरो छ। अहिलेसम्मको संस्कृति त्यसैमा आधारित छ। ठूल्ठूलो भोज विशेष अवसरमा छुट्टै हो, नत्र त्यो आयतन भएको उत्पादन पनि छैन र उपभोग पनि भएन। विवाह समेत आफ्नै जातभित्र गर्नुपर्ने हुँदा हाम्रो दायरा बढेन।

यस्तै खालको सोचाइ सार्वजनिक क्षेत्रको बारेमा पनि छ। हामी कि त सरकारी कि निजी भन्छौँ। तर सार्वजनिक भन्ने नै छैन। छ भने पनि कता हो कता छ। मेरो घर अगाडिको सडक मेरो पनि हो भन्ने भावना छैन। त्यसैगरी अर्कोको पनि हो भन्ने सार्वजनिक दृष्टिकोण छैन। कि निजी छ, कि सरकारी छ।

सानो निजी चिजसँग हुर्केका छौं। स्कुल कि निजी हुन्छ कि सरकारी। सार्वजनिक स्वामित्व तथा दायित्व हुन्छ भन्ने धार विकसित भइसकेको छैन। सार्वजनिक क्षेत्रको दायरा बढाउनेहरू लाहुरे भए। पहिले लाहुरे हुँदाको धरानको सडकको उदाहरण हेर्दा हुन्छ। सडक त थोरथोरै गरेर सबैले मिच्ने चलन छ।

५० वर्षअघि बाटोमा दिसा गर्ने, फोहोर फाल्ने, थुक्ने प्रवृत्ति वर्जित नै थिएन। नेपाली सधैं त्यस्तै थिए भन्ने पनि होइन। म कहिलेकाहीं भक्तपुरको उदाहरण दिन्छु। भक्तपुरमा मल्लकालमा दुई वटा छुट्टाछुट्टै ढल थिए। एउटा पानी जाने, अर्को दिसा जाने। यो ७०० वर्षअघिको कुरा हो।

लोकतन्त्र र जातको के सम्बन्ध छ ? लिंगको के सम्बन्ध छ ? नागरिक त नागरिक हुन्। यिनीहरुलाई बराबरी त हुनुपर्यो । यी कानुनी दृष्टिले मात्रै होइनन्, राजनीतिक, सांस्कृतिक सबै दृष्टिले बराबरी हुन् भन्ने चेतना विकास हुनुपर्छ।

त्यो बेलाको भक्तपुर कृषि सीपयुक्त व्यक्ति र जमात तथा तिब्बतसँगको व्यापारमा आधारित थियो। भक्तपुर आजभन्दा चालीस वर्षअघि छिर्नै सकिन्थेन। दिसा नै दिसा हुन्थ्यो। भक्तपुर जस्तो फोहोर त ठाउँ नै थिएन। त्यस्तो निकृष्ट बिन्दुमा पुगेको भक्तपुर अहिले फेरि अर्कै बनेको छ।

त्यसमा नेमकिपाको धेरै भूमिका छ। समग्र समृद्धिको पनि भूमिका छ। नियमनको प्रणाली राम्रो बनाएको छ। नेमकिपाले आफ्नो दायरालाई बढाएन, तर आफ्नो ठाउँमा शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा काम गर्यो। सार्वजनिक भन्ने दृष्टिकोण ल्यायो।

त्यसैले यो सधैंलाई हराउँछ वा पछि आउँछ भन्ने पनि छैन। यो उतारचढाव भइरहने कुरा हो।

सार्वजनिक भनेको सरकारी हो र पाएसम्म त्यसबाट फाइदा लिने, लुट्ने भन्ने भयो। किनभने, अरुले पनि त्यही गरिरहेका हुन्छन्। सामाजिक नियम नै त्यो बन्छ। हिंडेर जाने सडकपेटीको कुरा गर्दा पनि हुन्छ। यसै त पेटीको आकार सानो छ, त्यसैमा घर जाने बाटो निकालेको छ। त्यसले हिंड्ने मान्छेका लागि होइन अगाडि भएको घरलाई के गर्दा सहज हुन्छ त्यही गर्छ। उसले त्यो सार्वजनिक होइन, सरकारी सम्पत्ति भन्ने ठान्छ र दोहन गर्छ। आफ्नो प्रयोगका लागि जे सहज हुन्छ त्यो गर्छ। त्यसको नियमन छैन। त्यो गर्नुहुँदैन भनेर अर्को घरकोले भन्दैन। किनभने, किन दुश्मनी कमाउने भन्ने एउटा र अर्को आफूले पनि त्यही गर्नुपर्ने हुन्छ।

राजनीतिशास्त्री एलिनोर आस्ट्रमले नेपालको समेत समस्या राख्दै यसै विषयमा नोबेल प्राइज पाइन्। राजनीतिशास्त्री भएर पनि उनले अर्थशास्त्रको नोबेल पुरस्कार पाइन्। उनले कस्तो सांगठनिक व्यवस्था अन्तर्गत जंगल नहर आदि सार्वजनिक स्रोत–साधनको व्यवस्था गरेर  चल्छ ? कस्तो सांगठनिक व्यवस्थामा नहर चल्छ ? पानीको स्रोत चल्छ भनेर लेखेकी छन्।

सार्वजनिक स्वामित्वको स्रोतका प्रकारलाई चार पाँचवटा भागमा विभाजन गर्छिन्। त्यसलाई रोक्न नेपालमा जस्तो सामुदायिक वनको अवधारणा आयो। त्यसले के भन्यो भने यसको स्वामी प्रधानमन्त्री वा काठमाडौंको सरकार होइन, त्यहींको मान्छे हो भनेर भन्यो। ‘तिमीले जंगल चलाउ, तिमी उपभोग गर।’

स्थानीयको अधीनमा रह्यो भने शक्तिलाई पनि सन्तुलन गर्छ। किनभने, त्यहाँ धेरै मान्छे लोकतान्त्रिक प्रणालीबाट चुनिन्छन्। धनीले धेरै काठ लिने, अन्यले थोरै लिने भन्ने हुँदैन। त्यसले नियम वा सार्वजनिकीकरण कायम हुन्छ। त्यसैले हो सार्वजनिक सम्पत्तिको रक्षा गर्ने भनेको।

म दश कक्षामा हुँदा सिभिक पढाइ हुन्थ्यो। त्यो काम लाग्ने त थिएन। लोकतन्त्र आयो। लोकतन्त्र भनेको छुट्टै रेगुलेसन हो। त्यो स्थानीय हिसाबमा कसरी प्रयोग गरिन्छ भन्ने हुनुपर्ने हो। यो लोकतन्त्र भनेको के हो भनेर सानो बस्तीमा वा विद्यालयमा जाँदा थाहा हुनुपर्ने हो।

पहिलेको भन्दा के फरक ल्यायो, यो भनेको के हो भनेर विद्यालयमा पढाउनुपर्ने हो।

जस्तो मालपोतमा जाँदा सेवाग्राही भनिएला, बैंकमा जाँदा ग्राहक भनिएला। उनीहरुलाई कसरी व्यवहार गर्ने भनेर सिकाउनुपर्ने हो।

हाम्रोमा सामाजिक विज्ञान जसले पनि पढाउँछ। अंग्रेजी पढेकोले अंग्रेजी पढाउँछ। विज्ञान पढेकोले विज्ञान पढाउँछ। तर सामाजिक विषय किन जसले पनि पढाउँछ ? यसको अर्थ यो विषयलाई गम्भीरतापूर्वक लिएको छैन, त्यस अनुसार पढाएको छैन।

समाज सबैले भोगेकै छन्, किन पढाउनुपर्यो भन्ने छ। तर समय परिवर्तन हुँदा, समाज परिवर्तन हुँदा हामीले अर्कै बाटो हिंड्नुपर्छ।  स्कुलको पढाइ मार्फत, युवाहरुसँगको छलफल मार्फत हामी कहाँ थियौं, कहाँबाट आयौं, अब कहाँ जाने हो भन्नेबारे विहंगम विमर्श हुनुपर्छ। किनभने अब हिंड्ने बाटोको स्वामित्व उनीहरुले नै लिने हो।

लोकतन्त्रको सम्बन्ध नभएको केही पनि छैन। देउतासँगै एकदमै टड्कारो सम्बन्ध छ। हामी कर्ता हो कि आदेश पालक हो कि के हो भन्ने सबै कुरासँग यो सम्बन्धित छ। स्कुलमा पढाउने कि कलेजमा पढाउने भन्ने पनि होला। तर प्रश्नवाचक चिह्न राखेर बारम्बार छलफल गर्नुपर्ने विषय हो।

लोकतन्त्र र जातको के सम्बन्ध छ ? लिंगको के सम्बन्ध छ ? नागरिक त नागरिक हुन्। यिनीहरुलाई बराबरी त हुनुपर्यो । यी कानुनी दृष्टिले मात्रै होइनन्, राजनीतिक, सांस्कृतिक सबै दृष्टिले बराबरी हुन् भन्ने चेतना विकास हुनुपर्छ।

यो छलफलबाट निस्किने कुरा हो। लोकतन्त्र भन्यो, चुनाव भइरा’छ। अरु सबै कुरा यथावत्। यो ठीक भएन। पहिले राजाले वर्षौँसम्म राज गरे भन्ने अहिले आफू पनि त्यस्तै गर्ने त भएन।

अमेरिकामा एउटा राष्ट्रपतिले दुई कार्यकाल मात्रै चलाउने भनेको छ। उनीहरु पनि पहिले यस्तै गर्थे। पछि प्रणाली बनाएका हुन्। लोकतन्त्रमा तलको माथि र माथिको तल भइरहनुपर्छ। एउटा मान्छे मात्रै एउटा तहमा बसिराखेर त कहाँ हुन्छ र ? जबकि नागरिकको चेतना स्थिर हुनै सक्दैन।

त्यसैले हो हामीले राजा नमानेको जन्मेकै आधारमा दलित कसरी मान्ने ? किनभने हामीले जन्मको आधारमा हैसियत आर्जन गर्ने कुरा छाड्यौं। मेरो लागि राजा नहुनुको महत्व त्यही हो।

 

लेखकको बारेमा
चैतन्य मिश्र

प्राध्यापक चैतन्य मिश्र नेपालमा समाजशास्त्रको पठनपाठन गराउने पहिलो पुस्ताका समाजशास्त्री हुन् । उनका एस्सेज अन द सोसियोलोजी अफ नेपाल, बदलिँदो नेपाली समाज, पुँजीवाद र नेपाल लगायत किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?