+
+

५ वर्षपछि प्रहरीले फेरि खोल्दैछ ‘हाइप्रोफाइल मर्डर’ को फाइल

पूर्वराजदूत झाका हत्या आरोपी अदालतबाट छुटेपछि अलमलमा प्रहरी

गौरव पोखरेल गौरव पोखरेल
२०८० माघ १८ गते २०:५०
झाको शव निकाल्दै प्रहरी । अनलाइनखबर अर्काइभ ।

१८ माघ, काठमाडौं । थापाथलीमा भएको पूर्वराजदूत केशवराज झा हत्याको फाइल प्रहरीले पाँच वर्षपछि फेरि खोलेको छ ।

हत्या आरोपमा पक्राउ गरिएका भान्छे सानुकान्छा तामाङलाई जिल्ला अदालत, काठमाडौं र उच्च अदालत पाटनले सफाइ दिएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले यो प्रकरणको अनुसन्धान फेरि थालेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भुपेन्द्र खत्रीले प्रहरीले पुरानो फाइल अध्ययन गरिरहेको अनलाइनखबरसँग बताए । उनले भने, ‘अदालतबाट आरोपीले सफाइ पाएपछि फेरि पुरानो फाइलको अध्ययन थालेका छौं ।’

थापाथलीस्थित घरमा ४ भदौ २०७५ मा झा आफ्नो कोठामा मृत अवस्थामा फेला परेका थिए । त्यसबेला प्रहरीले भान्छे सानुकान्छा र दुई जना मालीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । तर, प्रमाण फेला नपरेको भन्दै तिनै जना धरौटीमा छुटेका थिए ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले एक वर्षपछि फेरि सानुकान्छालाई पक्राउ गरेको थियो । झाकी छोरी राजश्रीले सानुकान्छाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई ३१ साउन २०७६ मा पक्राउ गरेर फेरि अनुसन्धान गरेको थियो ।

त्यसबेला प्रहरीले गरेको अनुसन्धानको रायसहितको प्रतिवेदनका आधारमा झालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

तर, जिल्ला अदालत काठमाडौंले २३ चैत २०७७ मा सानुकान्छालाई हत्यामा संलग्न रहेको भन्न सकिने प्रमाणको अभाव रहेको ठहर गर्दै सफाइ दियो । जिल्लाको यो आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालत, पाटनमा पुनरावेदन निवेदन गएको थियो ।

उच्चले पनि जिल्लाकै आदेश सदर गरेको छ । जिल्ला अदालत, काठमाडौंले व्यक्ति हत्या जस्तो गम्भीर फौजदारी कसूरमा ‘शंका र अनुमान’का भरमा तामाङलाई दोषी ठहर गर्न फौजदारी न्यायको सिद्धान्तबाट मिल्ने नदेखिएको भनेको छ ।

झाको घर आसपासको सीसी क्यामरा फुटेजको विश्लेषण गर्दा नयाँ व्यक्तिहरु नदेखिएको समेत प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको छ । पोलिग्राफ जाँचमा समेत सानुकान्छाले झुट बोलेको देखिएको थियो

‘कर्तव्य गर्ने व्यक्तिको पहिचान एक वर्षसम्म हुन नसकेको र यी प्रतिवादीबाहेक अन्य व्यक्ति मृतकको घरमा प्रवेश गर्न सक्ने अवस्था नै नरहेको भन्ने आधारमा शंका र अनुमान गरी ज्यान जस्तो गम्भीर फौजदारी कसूरमा दोषी ठहर गर्नु फौजदारी न्यायको मान्य सिद्धान्त समेतबाट मिल्ने देखिएन’, न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले भनेको छ ।

घटनालगत्तै पक्राउ परेका बेला प्रहरीले उनलाई अभद्र व्यवहारको कसूरमा मुद्दा चलाएको थियो । त्यसबेला पोलिग्राफ, नार्को जाँच, सीसी टीभी फुटेज संकलन, छरछिमेकसँग बुझ्ने काम लगायत गर्दा समेत तामाङको घटनामा प्रत्यक्ष संलग्नता भेट्न नसकेका कारण उनी छुटेको प्रहरीको भनाइ छ ।

एक वर्षपछि मृतककी श्रीमती ज्ञानुले घरको चाबी सानुकान्छासँग मात्र भएको, उनीबाहेक अरु घरमा प्रवेश गर्दा कुकुर भुक्नुपर्ने, मृतकलाई मार्न प्रयोग गरिएको चक्कु पनि उनले नै प्रयोग गर्ने गरेको लगायतका अनुमान व्यक्त गर्दै दिएको जाहेरीका आधारमा मात्र अभियोग दाबी पेश भएको देखिएको भनिएको छ ।

त्यसमाथि आरोपी तामाङले सुरुदेखि नै अनुसन्धान अधिकृतसँग बयान गर्दा अभियोग इन्कार गरेको र घटनास्थलबाट संकलित भौतिक सबुत प्रमाणबाट पनि झा हत्यामा तामाङको प्रत्यक्ष संलग्नता नदेखिएको भनिएको छ । ‘हत्यालगत्तै मौकाको कागज गर्दा तामाङमाथि शंका गरेको देखिन्न’, अदालतले भनेको छ ।

परिस्थितिजन्य प्रमाणको मात्र भर पर्दा चुक

४ भदौ २०७५ मा झाको घरमा श्रीमान् केशवराज र उनकी श्रीमती ज्ञानु मात्र थिए । घर प्रवेश गर्ने गेटको छेऊमा टायलले छाएको सानुकान्छा बस्ने घर थियो ।

ज्ञानुले प्रहरीसमक्ष बताएअनुसार, केशव सुत्ने कोठामा जान मिल्ने भान्सातिरको बाटोबारे उनी राम्रोसँग जानकार थिए भने मूल ढोकाको चाबी समेत उनीसँग थियो ।

त्यो दिन बिहान श्रीमानको चालचुल नभएपछि ज्ञानुले सानुकान्छालाई बोलाउन भनेको प्रहरी प्रतिवेदनमा उल्लिखित बयानमा छ । तर, सानुकान्छा एक्लै जान मान्दैनन् र उनलाई पनि लिएर झाको कोठामा जाँदा सिरानीले छोपेको अवस्थामा केशव झाको शव भेटिएको थियो ।

लगत्तै अनुसन्धानका लागि खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले यो हत्यामा रिसइबी, पारिवारिक खटपटदेखि अन्तर्राष्ट्रिय गिरोहको संलग्नता लगायतका कोणबाट अनुसन्धान अघि बढाएको थियो ।

तर, कुनैमा बलियो आधार भेटिएन । छोरा किरणराज दुई दिनअघि मात्रै आयरल्याण्ड गएका थिए । श्रीमती ज्ञानु बिरामी अवस्थामा थिइन्, त्यसबेला उनको तौल जम्मा ४० किलो थियो ।

‘त्यो उमेरको व्यक्तिले केही गर्न सम्भव हुने अवस्था नै थिएन’, अनुसन्धानमा संलग्न एक अधिकृत भने, ‘त्यो समयमा घरमा अन्यको प्रवेश भएको पनि देखिन्न ।’

झाको घर ।

४ भदौ २०७५ मा राति नै झाको हत्या भएपनि कसैले चाल पाएका थिएनन् । कोठामा झासँगै कुकुर रहे पनि त्यसले समेत कुनै संकेत दिएको थिएन । त्यसबाट घरभित्रकै व्यक्ति संलग्न भएका कारण कुकुर नभुकेको हुनसक्ने आशंका गरिएको थियो ।

घटनाबारे थाहा पाएपछि प्रहरीको सिन अफ क्राइम ‘सोको अफिसर’को टोली कोठामा पुग्दा कुकुर खाटमुनि बसिरहेको थियो ।

‘प्रहरी टोली गएपछि कुकुर एकदमै भुकेको थियो, त्यसपछि सानुकान्छालाई नै त्यहाँ लगेर कुकर बाँध्न लगाएका थियौं’, त्यसबेला अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ‘त्यतिबेला कुकरले खाने बिस्कुट त्यो कोठाभरि छरिएको थियो ।’

मृतक केशवराज झाका छोरी राजश्रीले प्रहरीसमक्ष गरेको बयान कागज अनुसार, घटनास्थलमा फेला परेको ‘क्याट फुड’ पनि केहीअघि सानुकान्छालाई नै राख्न दिइएको थियो । ‘त्यो कहाँ थियो भन्ने उनीबाहेक अरुलाई थाहा थिएन’, उनले भनेकी छन्, ‘बुबाको मुख छोपिएको तकिया पनि सानुकान्छाले नै पोको पारेर स्टोर रुममा राखेका थिए ।’

घटनास्थलमा प्रहरीको केनाइन महाशाखाबाट लगिएको तालिम प्राप्त कुकुरका ह्याण्डलर कुमार थापाले अदालतमा गरेको बकपत्र अनुसार, हत्यामा प्रयोग भएको चक्कुको गन्ध सुँघाएर कुकुरलाई छाड्दा कुकुर माथिल्लो तलाको छतमा गएर बसेको थियो ।

‘त्यहाँबाट आरोपी आँपको बोट प्रयोग गरेर भाग्नसक्ने संकेत गरेकाले त्यसमुनि लगेर फेरि चक्कु सुँघाएका थियौं’, उनले भनेका छन्, ‘त्यसपछि गन्ध सुँघेर परिचालन गर्दा घरभित्रकै कम्पाउण्डमा रहेको केराको घारीमा रहेको एकजोर कालो पञ्जामा संकेत गरेको थियो ।’ त्यसपछि कुकुर सानुकान्छाको कोठासम्म पुगेको उनले बयान दिएका थिए ।

अनुसन्धान अधिकृतहरुका अनुसार, त्यसबेला कुकुरले पर्याप्त संकेत गरेपनि थप प्रमाण फेला नपर्दा सानुकान्छालाई त्यत्तिकै छाडिएको थियो । तर, एकवर्षपछि प्रहरीले फेरि झा पत्नीको जाहेरी लिएर परिस्थितिजन्य प्रमाणका आधारमा पनौती–१०, खोपासीबाट सानुकान्छालाई पक्राउ गरेर ल्याएको थियो ।

घटना भएका बेला झाको घर आसपासको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको विश्लेषण गर्दा नयाँ व्यक्तिहरु नदेखिएको समेत प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको छ । पोलिग्राफ जाँचमा समेत सानुकान्छाले झुट बोलेको देखिएको थियो ।

छोरी राजश्री झाले कोठा सफा गर्दा पछि एकजोर फरकफरक साइजको पन्जा फेला पारेकी थिइन् । ‘त्यसबारे प्रहरीलाई खबर गर्दा उक्त पन्जा र केराघारीमा पाइएको पन्जा करिब मिल्दोजुल्दो देखिएको थियो’, उनले भनेकी छन् ।

प्रहरीले यो घटनामा तामाङविरुद्ध यो घटनामा प्रत्यक्ष प्रमाण जुटाउन सकेको देखिन्न ।

‘घटनाभित्रका व्यक्ति संलग्न भएको घटनामा फिंगर प्रिन्टले पनि काम गर्दैन, किनभने जताजतै सम्बन्धितको फिंगर प्रिन्ट भेटिनसक्छ । अर्को कुरा बाहिरतिरको सीसी टीभी क्यामेराले पनि काम गर्ने अवस्था छैन । लोकेसन र कल डिटेल रेकर्ड (सीडीआर) ले पनि काम गर्ने विषय भएन’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘घरभित्रकै मान्छे संलग्न भएको घटनामा प्रमाण फेला पार्न मुस्किल नै पर्छ ।’

प्रहरी भन्छ – उनीबाहेकमा अनुसन्धान नै जाँदैन

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, सानुकान्छा केशवराज झाले दिने तलबबाट असन्तुष्ट थिए । उनको तलब बल्लतल्ल बढेर १६ हजार रुपैयाँ पुगेको थियो भने ५० हजार रुपैयाँ ऋण लिएका थिए ।

‘त्यो पनि कहिले दिन्छस् भनेर वाक्कदिक्क पारेको भनेका छन्’, एक अधिकृतले भने, ‘तलब पनि बढाइदिनुपर्‍यो भनेर उनले धेरै पटकदेखि भनिरहेका रहेछन् ।’

सानुकान्छाले पनि प्रहरीसँग बयान दिंदै झाले आफूलाई भूकम्पका कारण घर भत्किएपछि ५० हजार रुपैयाँ सापटी लिएको भनेका छन् ।

‘पछि महिना महिनामा कटाउनु भनी दिएका हुन्, मैले त्यो रकम फिर्ता गरेको छैन’, उनले भनेका थिए । मृतक झाले आफ्नो डायरीमा पनि त्यसको विवरण लेखेका थिए ।

प्रहरीका अनुसार, नार्को जाँचमा पनि उनले झुट बोलेको खुलेको थियो । बयानका क्रममा पनि उनले कहिल्यै बलियो गरी प्रतिवाद नगरेको अधिकृतहरु बताउँछन् ।

पुर्पक्षका लागि थुनामा गइसकेका बेलासमेत एक प्रहरी अधिकृत उनलाई भेट्न केन्द्रीय कारागार, सुन्धारा पुगेका थिए । त्यसबेला समेत उनले ‘मैले मारेको होइन, तर तपाईंहरु सबैले भन्नुहुन्छ भने ठीकै छ’ भनेको ती अधिकृत बताउँछन् ।

‘उनले कहिल्यै स्ट्रङ डिफेन्ड गरेनन्, सफ्ट इन्कारी मात्र गरे’, उनी भन्छन्, ‘यसमा उनीबाहेक अरु किन संलग्न छैनन् भन्ने विषयमा लामै सूची बन्छ, अनुसन्धान अरु कोणतिर पनि अघि बढ्दैन ।’ यद्यपि, परिस्थितिजन्य प्रमाणबाहेक अरु आधार नभेटिँदा अदालतमा कसूर स्थापित हुन नसकेको त्यसबेला अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी भने परिस्थितिजन्य प्रमाणको आधारमा मात्र पनि अभियोग अदालतमा स्थापित भएको थुप्रै उदाहरण रहेको बताउँछन् ।

‘त्यो घटना अनुसार फरकफरक छ, यो केशमा के भएको हो भन्ने मैले अध्ययन गरेको छैन’, उनी भन्छन्, ‘तर, यसमा जिल्ला र उच्चको आदेशविरुद्ध सर्वोच्च अदालतसम्म जानसक्ने बाटो रहन्छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?