+
+
Shares
सिनेमा :

ओम-दर-ब-दर : निर्वासनको भय अनि विलाउने इच्छा

ऊ चेपागाँडाहरूलाई आतंकवादी घोषित गर्छ र त्यसकै बारेमा बकबक गरिरहन्छ । ऊसँग एउटा प्रतिभा पनि छ, जसकारण ऊ गाउँमा प्रसिद्ध छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिग्मन्ड फ्रायडले ‘प्रकृति या यथार्थको प्रभावबाट आत्माको मुक्ति’लाई सपना भनिएको बताएका छन्।
  • कमल स्वरूपले ‘ओम-दर-ब-दर’ फिल्मलाई अराजक र प्रयोगात्मक शैलीमा बनाएका थिए, जसले विश्वव्यापी प्रभाव पारे।
  • फिल्मले पात्रहरूको सपना र अराजक जीवनलाई स्वैरकाल्पनिक शैलीमा प्रस्तुत गरी भारतीय सिनेमा परम्परालाई चुनौती दिएको छ।

‘प्रकृति या यथार्थको प्रभावबाट आत्माको मुक्ति, बाह्य पदार्थहरूको बन्धनबाट आत्माको स्वतन्त्रता नै सपना हो ।’

-सिग्मन्ड फ्रायड, द इन्टरप्रेटेसन अफ ड्रिम्स

१.

कमल स्वरुप आफ्नो घरबाट भाग्न चाहन्थे। त्यसबेला भारतीय फिल्म तथा टेलिभिजन संस्थान (एफटीआईआई)मा पढ्न सस्तो थियो। सिनेमा प्रतिको प्रेमले भन्दा पनि यही दुई वटा कारणले उनले १९ वर्षको उमेरमा एफटीआईआईमा भर्ना गरे। त्यहाँबाट स्नातक गरेपछि, सन् १९८० को सुरुवातताका ‘गान्धी’ फिल्म बनाउन भारत आएका रिचर्ड एटनबरोसँग उनी ठोक्किन पुगे। उक्त फिल्ममा कमल स्वरूप क्राउन्ड कट्रोलको युनिटमा थिए।

‘गान्धी’बारे ‘द हिन्दु’ले लिएको एउटा अन्तर्वार्तामा उनी भन्छन्, “भारतीयहरू एकै ठाउँमा बस्न सक्दैनन्। हामीलाई हाम्रो ध्यान खिच्न केही न केही चाहिरहन्छ, केही नभएसम्म हामीलाई हिंडडुल गरिरहनुपर्छ। फिल्मका केही दृश्यहरू हेर्न हजारौं मानिस आएका थिए। एउटा अन्त्येष्टिको दृश्य थियो, त्यसमा भीड झण्डै एक लाख पुगेको थियो। भीडलाई व्यस्त राख्नको निम्ति मैले उनीहरूलाई कथाहरू सुनाउन थालें।”

तिनै उनले सुनाएका कथाहरूमध्ये एउटा कथा थियो, जुन एउटा केटोको बारेमा थियो, जो परीक्षाको नतिजा आउनुअघि नै स्कूल छोडेर घरबाट भाग्छ र त्यसपछि उसले के पत्ता लगाउँछ भने ऊ भ्यागुताहरू जस्तै लामो समयसम्म सास रोकेर आफ्नो जीविकोपार्जन गर्न सक्छ ।

यही कथामा आधारित भएर स्वरुपले सन् १९८८ मा आफ्नो पहिलो फिल्म बनाए– ‘ओम-दर-ब-दर’। जुन फिल्मलाई अहिले इन्डियन प्यारेलल सिनेमाको एउटा ‘कल्ट’ फिल्म मानिन्छ, जुन एक उत्तर-आधुनिक (पोस्ट-मोर्डन) फिल्म थियो र जसलाई समयभन्दा निकै अघि बनेको फिल्मको रूपमा लिइन्छ । यो फिल्म ‘बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल’मा प्रिमियर भएको थियो । आफ्नो प्रयोगात्मक शैलीका कारण यो फिल्मले विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलहरूमा राम्रो प्रतिक्रिया पाए पनि, तत्कालीन समयमा यसलाई भारतमा व्यावसायिक रूपमा रिलिज गर्न भने दिइएन। यो फिल्मलाई भारतीय सेन्सर बोर्डले ‘अपरिचित’ पाएको र फिल्मभित्र ‘गोप्य अर्थहरू हुनसक्ने’ भन्दै यसको प्रदर्शनमा रोक लगाएको थियो ।

त्यसको २६ वर्षपछि, आफ्नो कथा र शैलीमा अज्ञात ठहरिएको ‘ओम दर-ब-दर’लाई सन् २०१४ मा रेस्टोरेसन गरेर भारतमा पहिलोचोटि प्रदर्शन गरिएको थियो।

२.
सम्झिनुहोस्, तपाईं सपना देखिरहनुभएको छ। तपाईंको सपनामा एकपछि अर्का दृश्यहरू खप्टिरहेका छन् । या मानिलिनुहोस्, तपाईं नशामा हुनुहुन्छ, तपाईंलाई ह्यालुसिनेसन भइरहेको छ र अस्तव्यस्त दृश्यहरू तपाईंको मस्तिष्कमा बुर्कुसी खेलिरहेका छन् । त्यसलाई नियन्त्रण गर्न तपाईं अक्षम हुनुहुन्छ ।

तपाईं सपनामा हुनुहुन्छ या नशामा हुनुहुन्छ– ‘ओम-दर-ब-दर’ यही स्थितिको कथा हो, जहाँ टुक्राटाक्री अराजक दृश्यहरू नै भावना बनेका छन् । यो फिल्म हेरिरहँदा तपाईंलाई यस्तो लाग्छ, जस्तो यहाँका पात्रहरू कसैको सपनाभित्र कैद छन् र हतासिंदै एउटा अनौठो काल्पनिक यात्रा गरिरहेका छन् र त्यसको साक्षी तपाईं हुनुहुन्छ।

राजस्थानको एउटा पौराणिक सानो शहरको पृष्ठभूमिमा उभिएको यो फिल्मले, ओम नाम गरेको एउटा किशोरावस्थामा हुर्किरहेको स्कुले केटोको अराजक वास्तविकता र उसको असाधारण परिवारसँग गरिरहेको संघर्षको कथालाई स्वैरकाल्पनिक ढङ्गले प्रस्तुत गरेको छ ।

एउटा ज्योतिषीको छोरो ओम, फिल्मको यस्तो अचम्मको पात्र हो, जो किताब पढिरहँदा उसलाई आफ्नै नाकले आफ्नो दृष्टिमा बाधा पुर्‍याइरहेको पाउँछ। ऊ चेपागाँडाहरूलाई आतंकवादी घोषित गर्छ र त्यसकै बारेमा बकबक गरिरहन्छ । ऊसँग एउटा प्रतिभा पनि छ, जसकारण ऊ गाउँमा प्रसिद्ध छ । ऊ लामो समयसम्म आफ्नो सास रोकेर खजानाको खोजीमा एउटा फोहोर पोखरीभित्र डुबिरहन सक्छ । फिल्ममा यो दृश्य जीवन विरुद्धको विद्रोहको रूपमा बिम्ब बनेर प्रस्तुत भएको छ। तर ओम एउटा अपराधबोधमा पिल्सिरहेको छ। ऊ कामवासनाको दोषी भावना बोकेर हिंड्छ र आफ्नो वरिपरि हुने सबै कुराका लागि आफूलाई नै जिम्मेवार ठहर्‍याउँछ।

यो फिल्मले आफ्नै मिथक, आफ्नै किंवदन्तीहरू सिर्जना गरेको छ। फिल्म टुक्राटाक्री दृश्हरूमा एकोहोरो बोलिरहन्छ । कसैले यो फिल्मको प्लट के हो भनेर सोध्यो भने, यसको उत्तर पनि टुक्राटुक्रीमा नै आउँछ– ज्योतिषशास्त्र, धर्म, राशिफल, मरेका भ्यागुता, राना टिग्रिना, बादल लागेको आकाश, चन्द्रमा, रेडियो कार्यक्रम, जात आरक्षण, साइकल, सगरमाथा, महिला मुक्ति, साम्यवाद, युरी गागारिन, रसाइनशास्त्र, खगोल-विज्ञान, निल आर्मस्ट्रङ, आतंककारी चेपागाँडा, जवाहरलाल नेहरु, टाइपराइटर, पोटासियम साइनेड, कम्प्युटर, जीवविज्ञान, कछुवा, हेमा मालिनी, कामुक म्यागजिनहरू, हाइबरनेसन, गुगली, जेम्स बन्ड, काटिएको जिब्रो, कालो जादु, भूतप्रेत, भ्यागुताका पेटभित्र हीरा, सास रोक्ने कला, एउटा भद्दा थिएटरमा एडल्ट फिल्म हेर्दै गरेकी बोल्ड महिला, तत्कालीन हिन्दी सिनेमालाई व्यंग्य गर्ने संगीत र गीतका दृश्यहरू…।

निर्देशक कमल स्वरूपलाई लाग्छ, उनका विचारहरू कागजमा लेख्न सकिंदैन र उनको दिमागका अमूर्त छविहरू तुरुन्तै सेलुलोइडमा कैद गर्नुपर्छ, यसलाई उनी ‘अनुष्ठान’ भन्छन्। उनले यो फिल्मको कथा भगवान ब्रह्माको बारेमा भएको दाबी गरेका छन्, जुन केवल सपना र छविहरूमा आधारित छ र जसलाई उनी शब्दमा सोच्न सक्दैनन्।

फिल्मका प्राय: अधिकांश दृश्यहरू मेटाफोरिकल छन्, दार्शनिक पनि लाग्छन्। जस्तो, जीवविज्ञान कक्षामा भ्यागुतालाई काटिरहेको दृश्यले ओमको मृत्युको कल्पनालाई दर्शाउँछ भने दिवालीमा जलाइएका पटका वास्तविक विस्फोटमा परिणत हुँदा युद्धको घोषणा हुन्छ। यस फिल्मभित्र पात्रहरूका इन्द्रिय र संवेदनशीलता निकै अराजक छन्, जसले फिल्मको केन्द्र चाहिं के हो भनेर छुट्याउन नै मुश्किल पर्छ। जस कारणले यस्तो प्रयोगात्माक फिल्म र यसको विधासँग परिचित नभएका दर्शकहरूलाई ‘ओम-दर-ब-दर’ पट्यारलाग्दो र बकवास पनि लाग्न सक्छ।

अतियथार्थवाद र बेतुकापनको आफ्नो शैलीले सन् १९७० र ८० का दशकमा बनेका प्रचलित भारतका गम्भीर तथा आत्म-सचेत सिनेमा साथै एकधारे संरचनामा उभिएका फिल्महरू विरुद्ध ‘ओम-दर-ब-दर’ एउटा फरक प्रतिक्रियाको रूपमा उभिएको छ। समयकालसँगै यो फिल्म अनुराग कश्यप, इम्तियाज अली, किरण राव, अमोल गुप्ते जस्ता भारतका वर्तमान फिल्ममेकरहरूको प्रेरणा बनेको छ। निर्देशक अनुराग कश्यपले त ‘ओम-दर-ब-दर’को गीत ‘मेरी जान’बाट प्रेरित हुँदै ‘इमोसनल अत्याचार’ भन्ने गीतलाई सन् २००९ मा आफूले बनाएको फिल्म ‘देव-डी’मा समावेश गरेर यस फिल्म र निर्देशकलाई ट्रिब्युट दिएका छन्।

फिल्मका दृश्यहरू अब्सर्ड छन्, सरियल लाग्छन्। फिल्मका अधिकांश फ्रेमले अमेरिकन भिज्युल आर्टिस्ट मन रेका फोटो तथा स्पेनिस सरियलिस्ट चित्रकार साल्भेडोर डालीका पेन्टिङहरूको याद दिलाउँछ।

यो फिल्म हेरिरहँदा फिल्मको शैलीले अमेरिकाकी प्रयोगात्मक फिल्ममेकर माया डेरेनको ‘मेसेस अफ द आफ्टरनुन’, इटालियन फिल्ममेकर फेडेरिको फेलिनीको ‘8½’ र स्पेनिस-म्याक्सिकन फिल्ममेकर लुई बुनोलको ‘एन एन्डालुसियन डग’ र उनले आफ्नो करियरको अन्त्यतिर बनाएका तीन विचित्रका चलचित्र: ‘द डिस्क्रिट चार्म अफ द बुर्जुवाजी’, ‘द फ्यान्टम अफ लिबर्टी’ र ‘द्याट अब्स्क्यर अब्जेट अफ डिजायर’को पनि सम्झना गराउँछ। यसमानेमा हेर्ने हो भने, युरोपमा प्रथम विश्वयुद्ध ताका आधुनिक पूँजीवाद, आधुनिक युद्ध, परम्परागत कला र स्थापित मूल्य-मान्यताको विरुद्धमा सुरु भएको दादावाद (Dadaism) आन्दोलनको अवशेष पनि यो फिल्ममा भेटिन्छ।

यो फिल्म दृश्यहरूमा मात्र बाँचेको हुनाले यसले पूर्ण एउटा ठोस कथा भने भन्दैन। यो एउटै रेखामा हिंडिरहँदैन, यसको कथावाचन शैली नै नन्लिनियर छ। यस्तो लाग्छ, यसले एउटै पात्रहरूको बेग्लाबेग्लै कथा सुनाइरहेको छ, जस्तो कि एउटा अपरिचित मान्छे एउटा अस्तव्यस्त बजारमा उभिएको छ र उसले हरेक मान्छेको क्रियाकलापलाई एकपछि अर्को गर्दै नियाल्दै गइरहेको छ। यो फिल्म यथार्थको यति गहिराइमा हामफाल्छ कि यो वास्तविकताभन्दा धेरै पर पुग्छ र हामीलाई जादुई र स्वैरकाल्पनिक दुनियाँतिर धकेलिदिन्छ।

‘ओम-दर-ब-दर’को कथाले यसको मुख्य पात्र ओम र उसका वरपरका मानिसहरूको सपना र उनीहरूको अराजक जीवनलाई पछ्याउँछ। यसले ओमको किशोरावस्थामा हुने एन्जाइटीलाई चित्रण गरेको छ। मान्छेका मानसिक चिन्तामा आउने सोचहरू जस्तै फिल्मका दृश्यहरू पनि बुरुक्क-बुरुक्क उफ्रिरहन्छन्, जसले पात्रको अस्तित्व संकट, डर र आफ्नो वरपर बाँचिरहेको भारी वास्तविकताबाट भाग्न चाहने भावनालाई अन्वेषण गर्छ ।

यो फिल्मले तत्कालीन तथा वर्तमान समयका मूलधारे भारतीय सिनेमा निर्माणको परम्परालाई चुनौती दिंदै एकैखाले कथावाचनको शैलीलाई व्यंग्य प्रस्तुत गरेको छ। आफ्नो अनौठो विषयवस्तु र सीमाहीन कल्पनाको स्वतन्त्रता मार्फत यसले फिल्मको कथा भन्ने तरिकालाई वैकल्पिक दृष्टिकोण पनि प्रदान गरेको छ । तर यो फिल्मको हेलुसिनोजेनिक प्रकृति र यसमा तितरबितर भएका अर्थहीन अराजकताले वास्तविकता के हो भन्ने प्रश्न उठाउँछ, जसले लगत्तै अर्को प्रश्न पनि जन्माउँछ– ‘मैले यो कस्तो सिनेमा हेरें ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?