+
+
Shares
कथा :

पहेंलो खाम

रेस्टुराँहरूमा रक्सी पिउने, तास खेल्ने र तरुनीसँग रमाइलो गर्ने चिरलको लत बाक्लिंदै गयो । घरमा भन्दा बाहिर बढी समय व्यतीत हुन थाल्यो ।

लक्ष्मीविलास कोइराला लक्ष्मीविलास कोइराला
२०८२ असार ७ गते १०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दराज खोतल्दा झरेको पहेंलो खाम प्रहरीहरूले खोजी गरे।
  • चिरलले भ्रष्टाचारबाट कमाएको पैसा लुकाउन प्रयास गर्यो।
  • अख्तियारको छापापछि चिरल पक्राउ परे र उसको जीवन तहसनहस भयो।

दराज खोतल्दा झरेको पहेंलो खाम उड्दै उड्दै गएर नोट पुरेको ठाउँमा खस्यो । प्रहरीहरूले त्यहीं खन्न थाले । चिरल प्रहरीले खनेको हेर्दा हेर्दै बेहोस भयो ।

उहिल्यै, मिटिङ सकेर चिरल कार्यकक्षमा छिर्दा पहिले नै दुई जना व्यक्तिहरू उसलाई कुरेर बसिरहेका थिए । उसले पिएलाई बोलायो र सोध्यो-उहाँहरूको काम के हो ? बुझ्नुस् त । तपाईंहरू बाहिर जानुस् । के काम हो, उहाँलाई भन्नुस् । चिरलले कुर्सीमा बस्दै भन्यो ।

सर, उहाँहरू हाम्रै कर्मचारी हो । हजुरसँगै काम छ रे ! भित्र पठाइदिऊँ । पिएले ढोका अलिकति खोलेर सोध्यो ।

के रहेछ ? हुन्छ, पठाइदिनुस् ।

धक माने झैं दुई जना लुसुक्क भित्र पसे ।

बस्नुस् । चेम्बर अगाडि रहेको कुर्सी देखाउँदै चिरलले इशारा गर्‍यो ।

‘सर, सरकारी जागिरे जीवनमा कहिल्यै राम्रो ठाउँमा सरुवा भएन । सधैं फालियौं । यसपालि हाम्रो सरुवा राम्रो ठाउँमा भए हुन्थ्यो’, दुवै जनाले हात जोड्दै भने ।
हेरौं के गर्न सकिन्छ । बाहिर पिएलाई नाम टिपाएर जानुस् ।

हस् । उनीहरू निस्किए ।

भोलिपल्ट चिरल कोठामा पस्दा उनीहरू कोठाभित्रै थिए । जुरुक्क उठे । नमस्कार गरे । सर, हजुरलाई केही उपहार ल्याएका थियौं । हाम्रो सरुवा हुने अफिसको नाम पनि यै पहेंलो खामभित्र छ । उनीहरू एउटा ठूलो पहेंलो खाम टेबुलमा राखेर फटाफट बाहिर निस्किए ।

चिरलले खाम खोल्यो । हजार हजारका नोटको गड्डी रहेछन् । आगोले पोले झैं खाम फ्यात्त हातबाट भुईंमा खस्यो । सारा शरीर लगलग काम्न थाल्यो । ए ! ए ! चिरल दौडेर ढोका खोल्न पुग्यो । उनीहरू गइसकेका थिए । पिएलाई खोज्यो । पिए पनि कुर्सीमा थिएन । झ्यालबाट बाहिर हेर्‍यो । पिए उनीहरूसँग हाँस्दै कुरा गरिरहेको थियो ।

खामलाई के गर्ने ? फाल्ने कि राख्ने ? फाल्न सकेन । टिपेर खामलाई लुकाउन थाल्यो । कोठाको कुनामा फोहोर फ्याँके झैं फ्याँक्यो । टेबुलको घर्रामा राख्यो र कागज पत्रले छोप्यो । घर्राबाट निकाल्यो । दराज खोलेर फाइलहरूको बीचमा राख्यो । दराजबाट निकालेर कोठाको सोफा मुनि राख्यो । कतै पनि सुरक्षित देखेन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छापा पर्‍यो भने— बिरालोले छाउरा सारे जस्तो सार्दासार्दै बेचैन भयो । कतै फालिदिऊँ जस्तो । मन भत्भती पोल्न थाल्यो । थचक्क बस्यो ।

शरीर पसिनाले निथ्रुक्क भिज्यो । एसी खोल्यो । चिसो हावाले पनि शीतल भएन । छटपटी बढेर मन अत्तालियो । भित्ताको घडी हेर्‍यो । एक बजेको रहेछ । कोठा छोडेर हिंड्न पनि सकेन । बस्न पनि निकै कठिन भइरह्यो ।

चिया लिएर कार्यालय सहयोगी भित्र छिरिन् । चिरल उनीसँग नै डरायो । पहेंलो खाम जिस्क्याउँदै भनिरहेको थियो-डरछेरुवा । पाँच बजेपछि खामलाई ब्यागमा राखेर चिरल घर पुग्यो । हतार–हतार कोठामा छिर्‍यो र भित्रबाट चुकुल लगायो । ब्यागबाट खाम झिक्यो र नोट गन्न थाल्यो । …उनान्सय, सय । एक दुई….उनान्सय, सय, एक दुई … । नोट गन्दागन्दै भाउन्न भयो । ओछ्यानमा पल्टियो । यति धेरै पैसा उसले लाइफमा पहिलोपल्ट देखेको थियो ।

नोटलाई पहेंलो खाममा राखेर चिरल टोलायो । मनमा डर मडारियो । यत्रो पैसा कहाँ लुकाउने ? श्रीमतीलाई राख्न दिऊँ भने कताबाट आयो ? भनेर सोध्छिन् । के उत्तर दिऊँ ? बैंकमा राख्न स्रोत खोज्छ, के स्रोत बताउने ? पैसा दिनेहरूले अख्तियारसँग पो साँठगाँठ गरेका छन् कि ? अख्तियारले थाहा पायो भने ? पत्रिकामा, सामाजिक सञ्जालमा छताछुल्ल भएर समाचार आयो भने ? आमा–बा, श्रीमती, छोराछोरीको नजरमा गिर्नेछु । नातेदार, साथीभाइ र छिमेकीहरूले खिसीटिउरी गर्नेछन् । भ्रष्टाचारको दाग लाग्नेछ । जीवन वृत्ति विकास रोकिन्छ । शरीर लगलग काम्यो । पसिनाले कपडा लछरप्पै भिजे ।

जागिर खाएको वर्ष बा–आमा औधी खुशी हुनुहुन्थ्यो । देश र जनताको निस्वार्थ सेवा गरेस् । नैतिकवान, चरित्रवान बनेस् । कसैको दुई पैसा नखाएस् । कसैलाई दुःख नदिएस् । चिरलले दशैंमा टीका लगाउँदै बा–आमाले दिनुभएको आशीर्वाद सम्झियो । मन हच्कियो । तनावले निलुँला झैं गर्‍यो ।

धत् के डराएको ? पैसा विना कसले के गर्न सक्छ ? घरमा आएकी लक्ष्मीको सम्मान गर । छोराछोरीलाई राम्रो स्कूलमा पढाउन पैसा चाहिन्छ । छोराछोरी जन्मँदा लागेको ऋण अझ तिर्न सकेको छैन । छोराछोरी पनि आफ्नो जस्तै दाल–भात खाने अभाव र गरिबीको चक्रमा होमिन्छन् । ठूलो रोग लाग्यो भने उपचार गर्न कहाँबाट पैसा ल्याउने । मर्नुभन्दा अर्को क्यै उपाय छैन ? बसउठ, खानपान, लवाई–खवाई मनोरञ्जनको लागि पनि त पैसा चाहिन्छ । महिनाको १० दिन नपुग्ने तलब छ । समाज अनुसार चल्नु पनि पर्‍यो । चिरल पैसाको आवश्यकतालाई जस्टिफाई गर्न थाल्यो । पहेंलो खाम चिरललाई हेरेर मुसुक्क मुस्कुरायो । चिरलले चुप्प म्वार्इं खायो ।

समाज जसले धन कमायो उसैको सम्मान गर्छ । म किन हच्कन पर्‍यो र ? बडेमानको घर बनाउँला । महङ्गो कारमा श्रीमती छोराछोरीलाई घुमाउँला । बा–आमा सासू–ससुरालाई चारधाम गराऔंला । महङ्गा ब्रान्डेड सामान, कपडा, जुत्ता लगाऔंला । छोराछोरीलाई महङ्गा महङ्गा स्कूलमा पढाउँला । देश–देशावर घुमौंला । चिरलको मन रङ्गीन सपना देख्न थाल्यो । लच्छिनको पहेंलो खाम, भगवानको रङ्ग, खामलाई पटक–पटक ढोग्यो । दराजको कुनामा राख्यो । ताल्चा लगायो । चाबी जनैमा झुन्ड्यायो । कुखुरे छातीलाई फुलाउँदै ३६ इन्चको बनायो ।

माई डियर । “पैसाको दुःख छैन मायालु, चैन गरौंला !” गीत गुनगुनाउँदै चिरल श्रीमतीलाई अँगाल्न पुग्यो ।
पिएर आउनुभएको हो कि क्या हो आज, श्रीमती झर्किइन् ।

पिउने हो, रमाउने हो, मस्तीको जीवन जिउनी हो । चिरल धनाढ्यहरूको संसारमा पुगेको थियो । टेलिभिजनमा समाचार बज्न थाल्यो । भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमनका प्रमुख कर्मचारी पक्राउ । अरब तथा युरोपेली देश काम गर्न जाने कामदारहरूसँग दैनिक ठूलो रकम संकलन गरी बाँडफाँड गरेको आशंका ।

समाचार सोसल मिडियामा छताछुल्ल भयो । कमेन्ट पढ्दा कर्मचारीको कुनै इज्जत रहेको थिएन । सचिव, मन्त्री, प्रधानमन्त्रीको नाम पनि जोडिएको थियो । पहेंलो खामको पैसा श्रीमती, छोराछोरीले देखे भने के सोच्लान् ? चिरलको मुटु ढक्क फुल्यो । लुत्रुक्क भिजेको बिरालो झैं दोब्रियो ।

मनभित्र गैरकानूनी पैसा कमाउने र नकमाउने बीच द्वन्द्व चल्यो । पैसा कमाउने मनले जित्यो । चिरलले दराज खोल्यो । पहेंलो खामलाई चुप्प चुप्प म्वाईं खायो र अफिस हिंड्यो । ऊ पनि गैरकानूनी काम गर्नेहरूको टीममा सामेल भयो । संकलित पैसा बाँड्ने गर्दा राजनीति तथा कर्मचारीतन्त्रमा माथिसम्म पहुँच पुग्यो । पैसा पहेंलो खाममा राख्ने गर्दथ्यो । पैसा, पहुँच र व्यस्ततासँगै धाक–रवाफ पनि बढेर गयो । पैसा कमाउँदै गएपछि खानपान, भेटघाट माथिल्लो तहमा हुन थाल्यो । दराजमा नोटका गड्डीका गड्डी थुप्रिंदै गए । घरको खर्च बढ्दै गयो । घर–बगैँचा पूरै रिनोभेट भयो । घरका फर्निचर, भाँडाकुँडा ल्यापटप, टिभी, मोबाइल बदलिए । महङ्गा रेस्टुराँमा खान र भनेको टाउँमा घुम्न पाएपछि श्रीमती छोराछोरी पनि रमाए । पैसाले घरमा रमाइलो र खुशी दुवै ल्यायो ।

के हो हजुरको चालामाला ? बोलीचाली, रहनसहन बदलिएको छ । घर पनि अबेर आउनुहुन्छ । हाम्रो छेउछाउमा पनि पर्नुहुन्न । परिवार बिर्सेको हो कि ? खर्चालु पनि बन्नुभएको छ । पैसा कहाँबाट आएको छ ? भ्रष्टाचार गर्न थाल्नु भएको हो कि ? कोटको खल्तीमा चुरोटको ठुटो भेटेथें, अस्ति । हनी ट्रयापमा पर्नुहोला नि ! श्रीमतीले चिरललाई सम्झाउँदै भनिन् ।

धत्, के भनेकी त्यस्तो, पाप लाग्ला । अफिसमा एउटा विदेशी प्रोजेक्ट आएको छ । त्यै भएर आजकल व्यस्त पनि भइएको छ । तलब बाहेक थप आम्दानी पनि भएको छ । उसले श्रीमतीको चित्त बुझाउने प्रयास गर्‍यो ।

मामु ! बाबासँग यत्रो खर्च गर्ने पैसा कताबाट आइरहेको छ ? घरमा पनि आजकल जताततै पहेंलो खाम मात्रै भेटिन्छन् । एकदिन छोराले मामुसँग सोध्यो ।

खै; नयाँ प्रोजेक्ट आ’को छ रे ! श्रीमतीले चिरलको भनाइ नपत्याए झैं गरिन् ।

रेस्टुराँहरूमा रक्सी पिउने, तास खेल्ने र तरुनीसँग रमाइलो गर्ने चिरलको लत बाक्लिंदै गयो । घरमा भन्दा बाहिर बढी समय व्यतीत हुन थाल्यो । संगत नै ठूलाबडासँग भएपछि रमाइलो पनि ठूलै भयो । चिरल प्रफुल्ल थियो । दराज खोलेर नोटका चाङ देख्दा आफूलाई संसारको सबैभन्दा धनी मान्छे सम्झन्थ्यो । पहेंलो खाम, लच्छिनको खाम जतनसँग राखेर बिहान–बेलुका सधैं ढोग्ने गर्दथ्यो ।

छोराछोरीले बाबालाई पैसा कताबाट आएको छ भनेर सोध्दै थिए । श्रीमान्, इमानदारिता दाउमा नलगाउनुहोला । भ्रष्टाचार गरेर पैसा कमाउनुपर्दैन । अनैतिक गरेर कमाएको धन हो भने म त एक–दुई–तीन सँगै बस्दिनँ । जान्छु, गाउँको घर, छोराछोरी च्यापेर । श्रीमतीले घुर्की र धम्की एकसाथ दिइन् ।

मलाई विश्वास गर न । म त्यस्तो गरुँला ? तिमी आफ्नो शेयर किन्ने–बेच्ने काम राम्ररी गर । बरु लगानी गर्न पैसा चाहिए म खोजुँला । चिरलले श्रीमतीलाई शान्त पार्ने कोशिश गर्‍यो ।

परेन । म आफैं कमाउँछु, आफैं लगानी गर्छु । श्रीमतीसँग आत्मविश्वास थियो । श्रीमतीको घुर्की र धम्कीले तर्सियो । बाटो विराए जस्तो लाग्यो । तर, चिरललाई कोही आउला र समाउला भन्ने डर रत्तिभर थिएन । ऊभित्र पैसाको मोह उर्लेको थियो । पहिलोपल्ट घरमा लक्ष्मी ल्याउने पहेंलो खाम । प्यारो खाम । चिरलले दराज खोल्यो । खामलाई ढोगेर अफिसतिर लाग्यो

अफिसबाट घर फर्केर कोठामा पुग्दा पैसा राखेको दराज ह्वाङ्गै थियो । जनै समेतको साँचो दराजको ढोकामा झुण्डिरहेको थियो । नोटहरू मालिक आएको देखेर हाँसिरहेका थिए । उसले जनै छाम्यो । शरीरमा थिएन । श्रीमती खाटको छेउमा रीसले गुत्थ परेर बसेकी थिइन् ।

यत्रो पैसा कहाँबाट आयो ? कसरी आयो ? ढोकाबाट छिर्न नपाउँदै श्रीमतीका प्रश्नहरू अरिङ्गालले झैं टोक्न जाइलागे ।

पैसा कहाँबाट आयो ? कसरी आयो ? तिमीले चासो राख्नुपर्ने कुरा होइन । चुप लाग । बरु दराज बन्द गर छिटो । स्वाभिमान स्खलन हुँदै गएको झोंकमा चिरल श्रीमतीसँग झर्कियो ।

किन झर्कनुहुन्छ ? नैतिकवान काम गर्नु भा’छ र ? यो पैसा घरमा नराख्नुस् । म यत्रो पैसा भएको घरमा बस्न सक्दिनँ । श्रीमती रिसाउन थालिन् ।
अहिले राति कता लैजाने त । भोलि लैजाउँला नि ! चिरलले श्रीमतीलाई सम्झाउने प्रयास गर्‍यो ।

हजुर बेइमान हो । लोक सेवा आयोग पास भएर राष्ट्रसेवक बन्नुभएको होइन ? राष्ट्रसेवक बनेको कि राष्ट्रघाती ? देश र लाखौं नागरिकको विश्वासमाथि ठगी होइन, यो ? यो अनैतिक पैसा घरमा एकछिन पनि नराख्नुस् । लैजानुस्, जता लगे पनि । श्रीमतीले अड्डी लिइन् ।

जग्गा किन्दा, घरमा खर्च गर्दा, रेस्टुराँमा खाँदा, ब्रान्डेड जुत्ता–कपडा किन्दा, गरगहना झरिझप्पै लगाउँदा, कारमा सयर गर्दा, देश–देशावर घुम्दा कताबाट पैसा आयो भनेर कहिल्यै सोध्यौ ? रमाएकै थियौ । अहिले किन नखरा पाछ्र्यौ ! चिरल च्याँट्ठियो ।

प्रोजेक्ट आएको छ भन्नुभएको होइन, मैले सोध्दा ? हजुरको चालढालमाथि मलाई पहिल्यै शंका लागेको थियो । पटक–पटक सोधिराखेकी थिएँ । मेरो विश्वासमाथि खेलबाड गर्नुभयो । श्रीमती बोल्दाबोल्दै रुन थालिन् ।
के भयो मामु ? छोराछोरी दौडेर आए ।
हेर त पैसा दराजमा । रुँदै श्रीमतीले दराजतिर इशारा गरिन् ।
वाफ रे ! हामीसँग यत्रो पैसा छ ? छोराछोरीले आश्चर्य प्रकट गरे ।
छ नि, कहाँ पढ्ने तिमीहरू ? जहाँ भन्छौ त्यहीं पढाउँछु, चिरलले छोराछोरीलाई अंकमाल गर्‍यो ।
‘बाबा ! ईज इट लिगल ?’ छोराले शंका प्रकट गर्‍यो ।

‘इल्लिगल पैसा भए त रेड होला नि बाबा ! रेड भयो भने त हाम्रो घरमा धेरै पुलिस आउँछन् । मोबाइल खोस्छन् । घरबाट बाहिर जान दिंदैनन् । नेभरहरूले घरको छत–छतमा बसेर हेर्छन् । जर्नालिष्ट आउँछन् । सोसल मिडियामा लेख्छन् । हाम्रो घोर बेइज्जत हुन्छ’, छोरीले शंका प्रकट गरिन् ।

श्रीमती छोराछोरी लिएर अर्को कोठामा गइन् । छोराले कस्तोसँग शंका गरेको मेरो नैतिकता माथि ? छोरीले भने झैं रेड पर्‍यो भने ? चिरल झस्क्यो । हुरुर्र मनमा डर पस्यो । शंकाहरूले फँणा उठाउन खोजे । अत्तालिंदै दराज अगाडि उभियो । नोटहरू मुसुक्क मुस्कुराए । पहेंलो खामले आत्मीयता देखायो । पैसाको पावर सम्झायो ।

बल्लतल्ल कमाएको पैसा, आ.. होस् दराजमै । भोलि सम्झाउँला तीनै जनालाई । खाटमा पल्टियो । सुत्न सकेन । कता जाउँ ? कता लुकाउँ ? छट्पटियो । बाहिर पानी पर्न थाल्यो । झ्यालबाट चिसो हावा पस्यो । सीआईबी, अख्तियार छिरेको झल्को आयो । ढक्क आङ फुल्यो । जसका लागि पैसा कमाउन नैतिकतालाई दाउ लगाएँ उनीहरू निश्चिन्त निदाइरहेका छन् । मलाई मात्रै पीर ? मैले के गरें यस्तो अपराध ? हे भगवान ! मलाई बचाऊ ! चिरल बच्ने उपाय खोज्न थाल्यो ।

पैसा कमाएको अफिसको कोर टीम मिलेर हो । भ्रष्टाचार संगठित कार्य भएकाले गर्ने त सबै पर्छन् । तर, टीमको कुनै सदस्यले पैसाको बाँडफाँड गर्दा चित्त दुःखायो भने उजुरी गर्न पनि सक्छ । मन्त्री, सचिव माथि निगरानी बढ्यो भने साखुल्ले हुँदै उनैले अख्तियारलाई अनुसन्धान गर्न बोलाउन सक्छन् । पैसा लिए पनि मन्त्री, मन्त्रीको पिए, सचिवले कतै सहीछाप गरेका छैनन् । सही गर्ने त म र कर्मचारी साथीहरू मात्रै हौं । आफू जोगिन जो–कसैले पनि जो–कसैलाई पोल्न खाल्डोमा हाल्न सक्छ ।

दुःख परेको बेला काँध थाप्न कोही आउँदैन । अख्तियारले छापा मार्‍यो भने दराजभरिका नोटहरू प्रमाण हुन्छन् । पैसा कहाँ कसरी लुकाउने ? तनाव बढेर गयो । पैसा कमाएर पनि सुख हुँदोरहेनछ । आँखा अगाडि गैरकानूनी कामका दृश्यहरू नाच्न थाले । चिन्ताले निदाउन नसकेका रातहरू सम्झियो । चिरललाई पहिलो पटक अपराधको अनुभूति भयो । आफूले आफैंलाई अपराधी देख्न थाल्यो ।

बच्ने उपाय के त ? पैसा लुकाउने कसरी ? उपायहरू सोच्दै चिरल बाहिर निस्कियो । रात छिप्पिंदै गएको थियो । पानी रोकिएको थिएन् । चिं चिं गर्दै एउटा मुसा दौड्दै चिरलको अगाडि आएर टक्क अडियो । म्याउँम्याउँ गर्दै मुसाको पछि पछि बिरालो आइपुग्यो । मुसा फुत्त दुलो भित्र छिर्‍यो । बिरालो हेरेको हेर्‍यै भयो । चिरल बिरालाको चालमा श्रीमती सुतेको कोठाको छेउमा गयो । भित्रबाट घुरेको मधुरो आवाज आइरहेको थियो । बोरा खोज्यो । नोटलाई बोरामा हाल्यो । बोरालाई प्लास्टिकले बेर्‍यो ।
झिलिक्क श्रीमती सुतेको कोठामा बत्ती बल्यो र निभ्यो । बिजुली चम्कियो । हातमा गैंती लियो । बर्सादी ओढ्यो र नगिचै रहेको खाली बारीमा खाल्डो खन्यो । बोरालाई खाल्डोमा पुर्‍यो र ओछ्यानमा गएर पल्टियो ।

बिहान चिरल उठ्दा श्रीमती उठिसकेकी थिइन् । दराज त खाली भएछ । जे होस् जम्मा गर्नेले लुकाउन पनि सक्नु हुँदोरहेछ । पैसा नदेखेपछि श्रीमती शान्त थिइन् ।

पहेंलो खाम दराज बाहिर खसेको रहेछ । खाम टिप्यो । ढोगेर दराजभित्र राख्यो । थाहा नपाउने गरी पैसा पुरेको ठाउँ हेर्‍यो । खने जस्तो थिएन । ढुक्क भएर अफिस हिंड्यो । अफिसमा अख्तियारको छापा पर्छ भन्ने हल्ला थियो । सबै कर्मचारीहरू डराइरहेका थिए । चिरल अफिसमा बस्न सकेन, निस्कियो । पीरको भारी बोकेर घर जान पनि सकेन । पार्कमा छोराछोरी लिएर रमाइरहेका जोडीहरू देख्यो । उनीहरूको निश्चल हाँसो देखेर लोभ लाग्यो । थुक्क, मेरो पैसा मोह ? पश्चात्तापका सोचहरू दुलोबाट कमिला ताँती निस्के झैं निस्किरहे । लडाईं हारेर भागेको निहत्था सिपाही झैं चिरल लुरु–लुरु घर फर्कियो ।

श्रीमती बैठक कोठामा चिया पिउँदै थिइन् । तिमीहरूका लागि पैसा कमाउन कमिसनखोर र माफियाको संगतमा लागें । अनैतिक भएँ । देश र जनतालाई ठगेर पैसा जम्मा गरें । तिमीले पैसा चाहिंदैन भनेपछि सबै सडाइदिएँ । अब अनैतिक काम कहिल्यै गर्दिनँ । मलाई क्षमा देऊ प्रिय । चिरल श्रीमतीको अगाडि हात जोडेर उभियो ।
म को हो र हजुरलाई माफी दिने । श्रीमतीको रिस रत्तिभर घटेको थिएन ।

चिरलले दराजबाट पहेंलो खाम झिक्यो । श्रीमतीको अगाडि भुईंमा राख्यो र लात्तै लात्ताले गोद्यो- अलच्छिना तँ ।

हजुर हो, आफ्नो उद्देश्यबाट भड्किनुभएको । पहेंलो खामको त के दोष छ र ? उसको धर्म छोप्ने हो, छोपेकै छ । बुद्धि आफ्नो बिग्रेको । सत्य चिन्न ढिलो गर्नुभयो, श्रीमान् । मैले त अख्तियारमा उजुरी गर्दिसकेकी छु । खाम टिपेर राख्दै श्रीमतीले भनिन् ।

अख्तियारमा उजुरी गर्दिएँ रे ? के गरेकी त्यस्तो ? मेरो इज्जत, वृत्ति सबै जान्छ त ! चिरलले श्रीमतीसँग रिसाउँदै भन्यो । हजुरले देश, जनता र मलाई दिएको धोकाभन्दा तपाईंको इज्जत, वृत्ति ठूलो हो र ? अब कानूनले जे भन्छ त्यही हुन्छ । श्रीमती निष्ठुरी बनेकी थिइन् ।
चिरल निःशब्द टोलाइरह्यो । बा–आमाको आशीर्वाद सम्झिरह्यो ।

अर्को दिन, घर र अफिसमा अख्तियारले छापा मार्‍यो । छिमेकीहरू घर वरिपरि घेरा लागे । अफिसका कर्मचारीहरूसँगै चिरल पनि पक्राउ पर्‍यो । अख्तियारले केरकार गर्‍यो । परिवारसँग बयान लियो । खानतलासी गर्‍यो । प्रमाण संकलन गर्‍यो । सामाजिक मिडियामा समाचारसँगै बगे्रल्ती गालीहरू पोखिए । वर्षौं कमाएको इज्जत गैरकानूनी पैसाको लोभले चुट्कीको भरमा खरानी भयो । छापा सकिने वेलातिर चिरलको होस आयो । ऊ होसमा आउँदा टिभीमा “हरेक राष्ट्रसेवकको घरपरिवारमा कुन पैसा कताबाट आयो भनेर सोधखोज गर्ने निर्भीक निर्लोभी गृहिणी हुने हो भने देशबाट भ्रष्टाचार आफैं हराएर जान्छ” भन्ने समाचार बजिरहेको थियो ।

लेखक
लक्ष्मीविलास कोइराला

कोइराला पूर्वसहसचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?