+
+
Shares
अनुभूति :

स्कुल बसका आँखा : सडकका संवेदना र विसंगति

डा. बालकृष्ण साह डा. बालकृष्ण साह
२०८२ असार ७ गते ७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगरको सडक र बिहानको भीडमा सामाजिक संस्कारको प्रतिबिम्ब देख्न सकिन्छ।
  • स्कुल बस र यातायातले सिकाउने संस्कारले बालबालिकाको मनमा नकारात्मक असर पर्छ ।
  • सडक अनुशासन केवल नियम होइन, सहअस्तित्व र संस्कारको अभ्यास हो।

म विराटनगरमा बस्छु । विराटनगरको बिहान एक अनौठो रङले रंगिएको हुन्छ । धुलोको एउटा तह, आवाजहरूको समुन्द्र, अनि मान्छेहरूको हतार । म पनि हरेक बिहान मोरङ सहकारी अस्पतालको बाटो समाउँछु । बिहान ९ बजे केही बिरामी हेरिसकेपछि, गाडी लिएर गोठगाउँस्थित शिक्षण अस्पतालतिर मोडिन्छु ।

अस्पतालको पछाडि बिस्तारै चर्किंदै जाने हर्नहरूको आवाजसँगै म पनि सडकको भीडमा गुम्सिन्छु । यो समय राजधानीदेखि गाउँसम्म अधिकांश नेपालीको दैनिकी सुरू हुने घडी हो । सरकारी होस् या गैरसरकारी, बैंक होस् या विद्यालय, सबैको समय १० बजेदेखि सुरु हुने भएकाले ९ देखि १० बजेसम्मको सडक दृश्य एउटा आपतकालीन परिस्थितिझैँ लाग्छ ।

सडकमा एकाएक जीवनका सबै रूपहरू उत्रिन्छन् । विद्यालयतर्फ लम्किएका अनुशासित अनुहार भएका विद्यार्थीहरू, हेलमेटभित्र गुम्सिएर तीव्र गतिमा अघि बढिरहेका कर्मचारी, हतारिएका मजदुरहरू, अनि मनमौजी दैडिरहेका निर्माण सामग्री बोक्ने ट्याक्टर, रिक्साहरू पनि त्यही भीडमा देखिन्छन् ।

सडक भनेको केवल यात्राका लागि मात्र होइन रहेछ, यो त समाजको एउटा प्रतिबिम्ब पनि हो । हामी को हौं, कस्तो संस्कार बोकेका छौं, हामी कसरी अर्कोलाई हेर्छौं ? यी सबै कुराहरू सडकमा झल्किन्छन् । सडकको अनुशासन भन्नाले केवल लेन परिवर्तन नगर्नु, सिग्नल पालना गर्नु भन्ने मात्र होइन, यो त सहअस्तित्व, धैर्यता र सामाजिक चेतनाको अभ्यास हो ।

तर, दुर्भाग्यवश, यहाँको सडकमा अनुशासन ‘सिर्फ अरूका लागि हो’ भन्ने सोच हावी छ । आफूले नियम तोड्नु सामान्य लाग्छ तर अर्कोले किन नियम मानेन भन्ने गुनासो सडकमै गरिन्छ । सबैभन्दा ठूलो चिन्ता लाग्ने दृश्य के हो भने, स्कुल बस ।

गाडीको झ्यालभित्र झुल्किएका नानीहरूका अनुहार, केही हाँसिरहेका, कोही चुपचाप बाहिरी दुनियाँ नियालिरहेका । ती बालबालिकालाई बोकेको बसका ड्राइभरले कहिले ओभरटेक गर्छन्, कहिले उल्टो साइडबाट विद्यार्थी चढाउँछन्, कहिले मोडमा ब्रेक नलगाई हुइँक्याउँछन् । प्रश्न उठ्छ-ती नानीहरूका मनमा के लाग्दो हो ?

विद्यालयमा पढाइन्छ होला-सडक नियम पालन गरौं, ट्राफिक संकेत चिनौं, ध्वनि प्रदूषण नगरौँ । तर, स्कुल बसमा चढ्दा आफूले देख्ने र भोग्ने कुरा कक्षामा सिकेको भन्दा उल्टो हुन्छ भने त्यो पाठको असर कति टिकाउ होला ? ध्वनि प्रदूषणको पाठ पढाउने शिक्षक स्कुल पुग्दा हर्न बजाउँदै अगाडि बढ्दा त्यो शिक्षा कता जान्छ ?

ट्राफिक सप्ताहमा विद्यार्थीहरूको सहभागिता देख्दा गर्व लाग्छ ।ती सहभागीहरू आफ्नै स्कूल बसको गलत अभ्यासका साक्षी हुन्छन्, तब सिकाइ र व्यवहारबीच कत्ति तालमेल देखिँदैन ।

विद्यालय केवल किताब पढाउने थलो मात्रै होइन। यो त संस्कार सिकाउने प्रमुख स्थान पनि त हो । अनि स्कुल भ्यान, बस संस्कार सिकाउने पहिलो यात्रा । तर यिनले पढेको पाठ र देखेको जीवन बीचको अन्तर जब गहिरो हुन्छ, तब शिक्षा केवल परीक्षामा सीमित हुन्छ ।

यो सत्यलाई शिक्षण संस्थाहरू, प्याब्सन, एनप्याब्सन, विद्यार्थी, शिक्षक, अभिभावक र शिक्षण संस्थाका चालकले किन बुझेका छैनन् ? किन स्कुल बस चलाउनेहरूलाई पनि ‘शिक्षकझैँ’ हुने शिक्षा दिइन्न ?

सडकमा देखिन्छ अर्को खालको त्रास-धेरैजसो समय अति चाप भएका बेला निर्माण सामग्री बोकेका साधनहरू पनि सडकमा हुन्छन् । रिक्सा, ठेला, ट्र्याक्टर सबै एकै रफ्तारमा ।

कहिले बाटो काटिरहेका वृद्ध, अशक्तको अगाडिबाड गाडी कुदाइन्छ, कहिले एम्बुलेन्सका लागि साइड नै खाली हुँदैन । अनि सडकको बीचमै रोकिएर कागजात चेक गर्न थालिन्छ ।

व्यवस्थापनको नाममा अव्यवस्था । अनि त्यसका साक्षी-स्कुल जान लागेका नानीहरू । सडकले तिनीहरूलाई के सिकाउँछन् ? जब उनीहरूले देख्छन् कि नियम बनाउनेहरू नै नियम तोड्छन्, तब उनीहरूको विश्वास कहाँ जान्छ ? शिक्षकले कक्षामा जे सिकाए पनि, झ्याल बाहिरको यथार्थ कति बलियो छ ।

सडक सबैका लागि साझा हो—कुनै एक वर्गको निजी छैन । सवारी चाप अत्यधिक हुने समयमा गिटी, बालुवा, सिमेन्ट बोक्ने ट्रक, रिक्सा, ठेलाहरू, ट्र्याक्टरहरूलाई अनुरोध बन्द गर्न सकिन्न ? यो सानो व्यवस्थापनले धेरैलाई राहत दिन सक्छ । यही बेला सडकमा ट्राफिक चेकिङका नाममा गाडी रोकेर थप जामको गराउन जरुरी हुन्छ ?

सडक अनुशासन केवल ट्राफिक नियमको विषय होइन, यो संस्कार हो । सडक सुधार्न नियम मात्र होइन, संस्कार चाहिन्छ । हामीले परिवर्तन केवल ठूला नीतिमा होइन, साना अभ्यासमा खोज्नुपर्छ ।

स्कुल बसका चालकलाई प्रशिक्षण दिनुपर्छ, विद्यालयले शिक्षक मात्र होइन, गाडी चलाउनेहरूसँग पनि आचारसंहिता बाँड्नुपर्छ । सडकलाई ‘कक्षा’ भनेर बुझ्नुपर्छ, जहाँ सबैले सिक्न सक्ने, सिकाउन सक्ने आधार हो । हामीले सडकमा ‘स्पीड’ मात्र हेर्छौं, ‘सेन्स’ होइन । स्पीलेड हाम्रो हतार देखाउँछ, तर सेन्सले हाम्रो मानवता ।

हामीले ‘हर्न’ बढी सुनाउँछौं, तर ‘हृदय’ कम देखाउँछौं । सडकमा अनुशासन भनेको केवल जरिवाना होइन, यो सह-अस्तित्वको अभ्यास हो । हामी सबैले सँगै बाँडेर हिँड्ने ठाउँ हो । स्कुल बसका झ्यालहरूबाट नियालिरहेका ती आँखाहरूका लागि हामीले अनुशासन देखाउनुपर्छ । नियम पालना गर्नु उनीहरूको विश्वास बनाउनु हो । किनकि सडक तिनीहरूको पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?