News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पानी उद्योग महासंघले कच्चापदार्थ आयातमा सहजीकरण र बोतल पानीको मूल्य समायोजन गर्न सरकारसँग माग गरेको छ।
- महासंघले तीन महिनादेखि एलसी नखुल्दा कच्चापदार्थ मौज्दात सकिन लागेको र उद्योग सञ्चालनमा गम्भीर चुनौती थपिएको जनाएको छ।
- महासंघले काठमाडौं उपत्यकामा बोतल पानीको खुद्रा मूल्य २० रुपैयाँ र उपत्यका बाहिर २५ रुपैयाँ कायम गर्न प्रस्ताव गरेको छ।
१० चैत, काठमाडौं । नेपाल पानी उद्योग महासंघले जार तथा बोतलको पानीको मूल्य समायोजन गर्न र कच्चापदार्थ आयातमा सहजीकरण गरिदिन सरकारसँग माग गरेको छ ।
महासंघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीलाई पत्र बुझाउँदै अन्तर्राष्ट्रिय युद्ध र कच्चापदार्थको चरम अभावका कारण उद्योग सञ्चालनमै गम्भीर चुनौती थपिएको जनाएको हो ।
महासंघ अध्यक्ष विक्रम लिम्बू चेम्जोङद्वारा हस्ताक्षरित पत्रमा तीन महिनादेखि प्रतीतपत्र (एलसी) नखुलेको र कच्चापदार्थ मौज्दात सकिन लागेको भन्दै तत्काल एलसी खोली सामान आयातमा सहजीकरण गरिदिन समेत सरकारको ध्यानाकर्षण गराइएको छ ।
पत्रमा उल्लेख भए अनुसार फागुन दोस्रो सातादेखि अमेरिका–इजरायल र इरानबीच चलिरहेको युद्धका कारण पश्चिम एसियामा तनाव जारी छ ।
यसले गर्दा विश्वबजारमा कच्चा तेल (क्रुड पेट्रोलियम) को चरम अभाव भएको छ । विशेषगरी ओमान, इरान र यूएईजस्ता देशहरूसँग जोडिएको रणनीतिक समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ नाका बन्द हुँदा नेपालका पानी उद्योग प्रत्यक्ष मारमा परेका छन् ।
पानी प्याकिङ गर्न प्रयोग हुने बोतल, बिर्को (क्याप), लेभल, प्लास्टिक रोल र दानाको आपूर्ति व्यवस्थापन पूर्णरूपमा प्रभावित भएको छ । कच्चापदार्थ आयातका लागि तीन महिनादेखि एलसी नखुल्दा देशका सात वटै प्रदेशमा कच्चापदार्थ मौज्दात नगण्य मात्रामा रहेको महासंघले जनाएको छ ।
महासंघले विभागलाई बुझाएको विस्तृत लागत विवरण अनुसार हाल काठमाडौं उपत्यकामा एक लिटर प्रशोधित पानीको खुद्रा मूल्य १६ रुपैयाँ कायम रहे पनि उत्पादन लागत नै त्योभन्दा बढी पर्न गएको छ ।
विवरण अनुसार एक लिटर पानीको खाली बोतललाई ६ रुपैयाँ ८० पैसा, बिर्कोलाई ८० पैसा, बिजुली र कर्मचारी खर्च जनही १ रुपैयाँ, सिल तथा लेभललाई १ रुपैयाँ २० पैसा, पानीलाई २० पैसा, प्याकिङ प्लास्टिकलाई १ रुपैयाँ ३० पैसा, मेसिनको मूल्यह्रास १ रुपैयाँ र क्षतिको ५० पैसा गरी जम्मा लागत १३ रुपैयाँ ८० पैसा पर्न आउँछ ।
यसमा प्रतिबोतल १ रुपैयाँ ३८ पैसा नाफा जोड्दा १५ रुपैयाँ १८ पैसा हुन आउँछ भने १३ प्रतिशत भ्याटबापत १ रुपैयाँ ९७ पैसा र आयकर ३० पैसा जोड्दा एक बोतल पानी उत्पादन गरी बेच्दा १७ रुपैयाँ ४५ पैसा सम्पूर्ण लागत पर्न जान्छ ।
लागत नै साढे १७ रुपैयाँ पुग्ने तर बजारमा १६ रुपैयाँमा बेच्नुपर्दा उद्योगहरू घाटामा गई बन्द हुने अवस्थामा पुगेको दाबी गरिएको छ ।
त्यसैगरी २० लिटरको जारको उत्पादनदेखि बजारसम्म पुर्याउँदा ५५ रुपैयाँ ६६ पैसा लागत पर्ने विवरणमा देखाइएको छ । विवरण अनुसार २० लिटर पानीको ४ रुपैयाँ, जारको (ह्रासकट्टी सहित) ६ रुपैयाँ २५ पैसा, बिर्कोको २ रुपैयाँ ५० पैसा, लेभलको १ रुपैयाँ ५० पैसा, कर्मचारी खर्च १ रुपैयाँ ५० पैसा, जग्गा वा टहरा भाडा १ रुपैयाँ ३० पैसा लगायत बिजुली, मेसिन ह्रासकट्टी, ल्याब, मर्मत र अफिस खर्चसमेत जोड्दा उत्पादनमै २१ रुपैयाँ ५५ पैसा खर्च हुन्छ ।
यसमा १० प्रतिशत नाफाबापत २ रुपैयाँ १५ पैसा, बजारसम्मको भारी ढुवानी खर्च २० रुपैयाँ, गाडी ह्रासकट्टी ६ रुपैयाँ र बजारमा विक्रेताको १२ प्रतिशत नाफाबापत ५ रुपैयाँ ९६ पैसा जोड्दा एउटा जारको कुल लागत ५५ रुपैयाँ ६६ पैसा पुग्ने पत्रमा स्पष्ट पारिएको छ ।
आयात हुने कच्चापदार्थ सिधै काठमाडौं आउने र त्यहाँबाट मात्र अन्य प्रदेशमा वितरण गर्दा दोहोरो ढुवानी खर्च लाग्ने भएकाले उपत्यका बाहिरको लागत अझ उच्च हुने उद्योगीहरूको भनाइ छ ।
बढ्दो महँगी, अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा आएको अवरोध तथा इन्धन मूल्यवृद्धि सम्बोधन गर्दै महासंघले एक लिटर बोतलको पानीको खुद्रा मूल्य काठमाडौं उपत्यकाभित्र २० रुपैयाँ र उपत्यका बाहिर २५ रुपैयाँ तोक्न प्रस्ताव गरेको छ ।
त्यसैगरी २० लिटरको जारको मूल्य काठमाडौं उपत्यकाभित्र ६० रुपैयाँ र उपत्यका बाहिर ८० रुपैयाँ कायम गर्न माग गरिएको छ । यस प्रकारको मूल्य समायोजन गर्न सकिएमात्र उद्योगको दिगोपन कायम रहने र उपभोक्तालाई गुणस्तरीय, सुरक्षित र नियमित पिउने पानी आपूर्ति सुनिश्चित गर्न सकिने पानी उद्योग महासंघले जनाएको छ ।
प्रतिक्रिया 4