News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले २०८२ को प्रतिनिधिसभा चुनावमा ११ जना महिला उम्मेदवार उठाएकोमा दैलेख–१ बाट बासना थापा मात्र निर्वाचित भइन्।
- बासना थापाले १२ हजार ३७२ मत ल्याएर निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रविन्द्रराज शर्मालाई पराजित गरेकी हुन्।
- बासना थापाले भ्रष्टाचारविरुद्ध छानबिन, कर्णाली विकासका मुद्दा उठाउने र पार्टीको निर्णयमा नेता वा प्रमुख सचेतक भएर काम गर्न तयार रहेको बताइन्।
११ चैत, काठमाडौं । नेपाली कांग्रेसले २०८२ को प्रतिनिधिसभा चुनावमा ११ जना महिला उम्मेदवार उठायो । तर दैलेख–१ बाट बासना थापा मात्र निर्वाचित भइन् ।
उनले १२ हजार ३७२ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६, रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१ र नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६ मत ल्याए ।
‘दैलेखका जनता विवेकशील छन् । लोकतन्त्रप्रति आस्था र आशा देख्ने मतदाता हुन् । त्यही कारण मैले जित हासिल गर्न सकेँ,’ थापाले भनिन्, ‘आफूसँगै भिजेको, सँगै हिँडेको, सुख–दुःखमा साथ दिने व्यक्तिलाई यसपटक मतदाताले रोजेका हुन् ।’
२०७४ र २०७९ मा गठबन्धन हुँदा कांग्रेसले यो क्षेत्रमा उम्मेदवार नै पाएको थिएन । दुई पटक प्रतिनिधिसभामा कांग्रेस नपुगेको अवस्थामा यसपटक मतदातामा उत्साह देखिएको बताउँछिन् बासना ।
‘यसपटक रुखमा भोट हाल्न पाइयो भन्ने खुसी देखियो,’ उनले भनिन्, ‘त्यसमा महिला र युवा प्रतिनिधि भएकाले गाउँ–गाउँमा झन् बढी उत्साह देखियो । ५० प्रतिशत मतदातासँग पहिले नै परिचित थिएँ । सामाजिक सेवामा संलग्न भएकाले राम्रो सम्बन्ध थियो । यसले मलाई ठूलो फाइदा पुग्यो ।’
उनले युवा र महिला दुवै समूहबाट राम्रो साथ पाइन् । ‘मैले टिकट पाउँदा पार्टी भित्र पनि विवाद भएन । किनकि, महिला र युवा उम्मेदवारका रूपमा सबैले समर्थन गर्नुभयो,’ उनले भनिन्, ‘उहाँहरूले गरेको विश्वासले नै यहाँसम्म आइपुगेकी हुँ ।’
बासना घरदैलोमा जाँदा मतदाताले गुणस्तरीय शिक्षा, स्वास्थ्य चौकीको स्तर सुधार, बाटोघाटोको स्तरोन्नति र बर्खामा सहज आवागमन खोजेका छन् । ‘छोरीहरूलाई उच्च शिक्षा दिन विशेष कार्यक्रम ल्याउनुपर्ने माग पनि धेरै उठ्यो,’ उनले भनिन् ।
बासनाको राजनीतिक यात्रा घरबाटै सुरु भएको हो । उनका हजुरबुवा नरबहादुर थापा २०१५ सालमा काठमाडौं– २ बाट निर्वाचित भएका थिए । हजुरबुवाको प्रेरणाले नै बासनालाई राजनीतिमा डोहोर्यायो ।
‘उहाँले जनताको सेवा गर्दा पाउने सन्तुष्टि हामीलाई सुनाउनुहुन्थ्यो । पछि काकाले गाउँपालिकाको अध्यक्ष भएर काम गर्नुभएको देख्दा पनि प्रेरणा मिल्यो,’ उनले भनिन् ।
बासनाले विद्यार्थी जीवनबाट नै राजनीति सुरु गरेकी हुन् । ‘स्कुलमा स्काउटमा सक्रिय थिएँ । त्यसपछि नेविसंघमा आबद्ध भएँ,’ उनले भनिन् । २०५९ सालपछि विवाह गरेर दैलेख गएपछि उनको राजनीतिक यात्रा अझ सक्रिय भयो । ‘२०६२ सालमा कांग्रेसको क्रियाशील सदस्य बनेँ,’ उनले भनिन् ।
बासना महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि हुँदै २०७४ मा नारायण नगरपालिकाको उपमेयर उम्मेदवार थिइन् । तर उनी पराजित भइन् ।
‘२०७४ मा झिनो मतान्तरले हार्दा सुरुवातमा नरमाइलो लाग्यो । तर भोलिपल्टदेखि नै सबैले हौसला दिनुभयो । त्यसले झन् ऊर्जा दियो । मानिसहरूसँग नजिकिने, आफूलाई चिनाउने र परीक्षण गर्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘यदि त्यतिबेला हतोत्साहित भएको भए, सायद आज यो स्थानमा पुग्ने थिइनँ ।’
परिवारको सहयोग उनले सधैं पाइन् । ‘ससुरा, श्रीमान्, सासू, नन्द सबैले साथ दिनुभयो । त्यो सहयोग नभएको भए यो सम्भव हुँदैनथ्यो,’ उनले भनिन् ।
चुनावमा बासनाको १४ लाख रुपैयाँ जति खर्च भयो । तर परिवारले नै उनलाई सहयोग गर्यो । ‘केही घरबाट, केही आफ्नै व्यवसाय (होटल व्यवसाय) बाट र केही माइतीबाट सहयोग भयो,’ उनले भनिन् ।
चुनावबाट उनले महिलाहरू राजनीतिमा आउन आर्थिक रूपमा पनि सबल हुनुपर्ने महसुस गरेकी छिन् । ‘गाउँ–गाउँ डुल्न, कार्यकर्ता सम्हाल्न, दैनिक खर्च धान्न आर्थिक आधार चाहिन्छ,’ उनले भनिन्, ‘पहिले महिला उम्मेदवार पाउनै गाह्रो थियो भने अहिले आफैं अगाडि आउने संख्या बढेको छ ।’
महिला सहभागिता कम हुनुमा दुई कारण देख्छिन् बासना । ‘एकातिर अवसर नदिने प्रवृत्ति, अर्कोतिर महिलामा आत्मविश्वास र अवसरको अभाव हो,’ उनले भनिन्, ‘संविधानमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था सुरुवात मात्र हो । तर ५० प्रतिशतसम्म पुग्दा मात्र वास्तविक परिवर्तन देखिन्छ ।’
उनले जित हात पारे पनि यसपकट पार्टी भने कमजोर बन्यो । संसद्मा कांग्रेसको आकार सानो भए पनि आवाज कमजोर हुन नदिने दाबी उनको छ ।

‘सरकारका सकारात्मक काममा समर्थन गर्ने र आवश्यक ठाउँमा कडा प्रतिपक्षको भूमिका निभाउने हाम्रो योजना छ,’ उनले भनिन् ।
भ्रष्टाचारविरुद्ध छानबिन, रोकिएका गौरवका योजना अगाडि बढाउने, कर्णालीका विकासका मुद्दा उठाउने बासनाको एजेन्डा छ । पार्टीले निर्णय गरेमा उनी दलको नेता वा प्रमुख सचेतक भएर काम गर्न पनि तयार छिन् ।
‘यो पार्टीले गर्ने निर्णय हो । पार्टीले जिम्मेवारी दियो भने काम गर्न तयार छु,’ उनले भनिन् । हाल उनी जेन्डर एन्ड इक्वालिटीमा पीचडी पनि गर्दै छिन् ।
प्रतिक्रिया 4