+
+
Shares

माधव नेपालको राजनीतिमा सूर्यग्रहण

भ्रष्टाचार मुद्दा अदालतले सदर गरे पनि नगरे पनि माधव नेपालको राजनीतिक जीवनमा लागेको धब्बा भने मेटिन कठिन छ, जुन सूर्यग्रहणजस्तै छ । उनले राजनीतिक जीवनको उत्तरार्धमा नैतिकताको विरासत जोगाउने अवसर पनि गुमाएका छन् ।

बिनु सुवेदी बिनु सुवेदी
२०८२ जेठ २२ गते २३:११

२२ जेठ, काठमाडौं । भ्रष्टाचार विरोधी छवि बनाएका माधवकुमार नेपाल प्रधानमन्त्री भएको सय दिनमा बालुवाटारले रात्रिभोज आयोजना गर्‍यो । तर खानाको व्यवस्था गरिएभन्दा पाहुना धेरै भएपछि केहीलाई खानेकुरा पुगेन ।

निम्ता मान्न गएका नेताहरू बालुवाटार प्रांगणमा पर्खिएर बसेका थिए । माधव नेपाल घुम्दैफिर्दै ती नेताहरू भएकै ठाउँमा पुगे । उनले पाहुनाहरूलाई खाना खानुभयो भनेर सोधे । उनीहरूले जवाफ दिए- खाना सकिएको रहेछ । आउँदैछ, पर्खिरहेका छौं। नेपालको मुखबाट हठात् निस्कियो- धन्न मैले खाइसकेछु ।

०००

माधव नेपाल प्रधानमन्त्री भएपछि भर्खरै सत्ता छोड्नपरेको झोकमा माओवादी सडकमा उत्रिएको थियो । माओवादीको वाईसीएल सडक मोर्चाको अग्रपङ्तिमा थियो । माओवादीको आन्दोलन दबाउनुपर्छ भनेर महेश बस्नेत सहितका नेताहरू प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न गए । उनीहरूले आफूहरूले पनि त्यस्तै युवा दस्ता बनाउनुपर्ने बताए ।

आफूविरूद्धको आन्दोलन गर्नेलाई तह लगाउने  कुरा आएपछि प्रधानमन्त्री नेपाल उत्साहित भए । त्यसपछि महेश बस्नेतले नेपालसँग भने- त्यसका लागि हामीलाई खर्च चाहिन्छ ।

उत्साहित माधव नेपालले तुरून्तै २५ हजार रूपैयाँ बस्नेतलाई दिए र भने- सक्दो खर्च गर्नू ।

तर, त्यो २५ हजार रुपैयाँ आन्दोलन दबाउने रणनीति र कार्यनीतिका लागि एकछेउ पनि थिएन ।

लोभ र किफायतका सन्दर्भमा माधव नेपालबारे यस्ता थुप्रै किस्सा छन् । तर उनलाई चिनेजानेकाहरू भन्ने गर्थे- माधवकुमार नेपाल भ्रष्टाचार चाहिं गर्दैनन् ।

नेपाल ११ जेठ २०६६ मा मुलुकको ३४औं प्रधानमन्त्री बने । २०६४ को संविधानसभा निर्वाचनमा पराजित भएपछि पार्टी महासचिवबाट राजीनामा दिएका नेपाललाई संविधान बनाउन आवश्यक पर्छ भनेर त्यसबेलाका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभामा ल्याएका थिए ।

फाइल तस्वीर

नेपाल संविधानसभाको संवैधानिक समितिको सभापति भएर संविधान निर्माणमा भूमिका खेल्दाखेल्दै प्रचण्डको सरकार ढल्यो । प्रचण्ड सरकारमा नेकपा एमाले पनि थियो । तर रूक्माङ्गत प्रकरणपछि एमालेले सरकार छोड्यो । बहुमत गुमाएपछि माओवादीका अध्यक्ष प्रचण्डले पनि सरकार बनेको ९ महिनामै राजीनामा दिनुपर्ने भयो ।

प्रचण्डले नै संविधानसभामा ल्याएका माधवकुमार नेपाल प्रधानमन्त्री बने ।

त्यसबेला प्रचण्ड सरकार ढालेर नेपाललाई प्रधानमन्त्री बनाएको आरोप माओवादीहरूले खुलेआम भारतलाई लगाउँदै आएका थिए । उनीहरूले गरेको सडक आन्दोलनमा माओवादीका अध्यक्ष प्रचण्डले भारतलाई लक्षित गर्दै सडकबाटै भन्ने गर्थे-  हामी सिधै मालिकहरूसँग संवाद गर्छौं ।

त्यतिबेलैदेखि भारत सरकारको सहयोगमा प्रधानमन्त्री बनेको आरोप लागेका माधव नेपालको राजनीतिक जीवन नै लगभग समाप्त पार्नेगरी बिहीबार खबर सार्वजिनक भयो- माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर ।

भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै उनको सांसद पदसमेत निलम्बन भएको खबर हावाको वेगसँगै फैलिँदै गर्दा नेपाल आफ्नै निर्वाचन क्षेत्र रौतहटमा कार्यकर्ता र मतदातासित भेटघाट गरिरहेका थिए ।

उनीमाथि अख्तियारको आरोप छ,  पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता ।  एउटा संयोग भने जुर्‍यो-  भारतकै सहयोगमा प्रधानमन्त्री बनेको आरोप खेपिरहेका नेपालमाथि भ्रष्टाचारको जघन्य मुद्दा पनि भारतीय कम्पनी पतञ्जलिलाई सहयोग गरेको भन्दै लाग्यो ।

बिहीबार पार्टी कार्यक्रममा गृहजिल्ला रौतहटको गौर पुगेका नेपालले आफ्ना कार्यकर्तालाई आफू सधैँ सुशासनको पक्षमा रहेको भन्दै निराश नहुन आग्रह गरेका छन् ।

‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन । तर मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचारहरू आएका छन्,’ नेपालले भनेका छन्, ‘म सधैं सुशासनको पक्षमा अडिग छु । कसैले भ्रष्टाचारी सिद्ध गर्न सक्दैन ।’

पूर्वप्रधानमन्त्री रहिसकेका र तुलनात्मक रूपमा भ्रष्टाचार गर्दैनन् भनिएका नेपालविरूद्ध मुद्दा दर्ता गर्दा अख्तियारले पक्कै पनि कमजोर कडी समाएको छैन ।

नेपालले यसो भनिरहँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भने उनले भ्रष्टाचार गरेको ठहर गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । मन्त्रिपरिषद्को निर्णयमा अख्तियार छिर्न नपाउने भन्ने प्रावधान बाहेक उनीमाथि लागेका आरोप निकै बलिया छन् ।

त्यसमाथि पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका र तुलनात्मक रूपमा भ्रष्टाचार गर्दैनन् भनिएका नेपालविरूद्ध मुद्दा दर्ता गर्दा अख्तियारले पक्कै पनि कमजोर कडी समाएको छैन । अब नेपालमाथि लागेको आरोपलाई अदालतले सदर गरे पनि नगरे पनि उनको राजनीतिक जीवनमा लागेको धब्बा भने मेटिन कठिन छ, जुन सूर्यग्रहणजस्तै छ ।

यससँगै राजनीतिक जीवनको उत्तरार्धमा नेपालले नैतिकताको विरासत जोगाउने अवसर पनि गुमाएका छन् ।

२०३२ सालमा कोअर्डिनेसन केन्द्र हुँदै २०६४ सालसम्मको एमाले राजनीतिमा एकछत्र नेतृत्व गर्दै आएका नेपालले राजनीतिक जीवनको उर्वर समय एमाले बनाउनमै लागे । भूमिगत कालमा होस् या खुला राजनीतिमा आएपछि पनि नेपालले सुखदु:ख एमालेकै बिताएका छन् । आफैंले बनाएर, हुर्काएको पार्टी एमालेले निलम्बन गरेपछि १६ चैत २०७७ मा नेपालको एमालेसँगको यात्रा औपचारिक रूपमा टुंगियो ।

नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरे । यो पार्टी गठन हुँदा धेरैको टिप्पणी थियो- यो पार्टी आफू बन्नभन्दा पनि एमालेको विरोध गर्न बनेको हो । पार्टीको नवौं महाधिवेशनले एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई निर्वाचित गरेपछि नै पार्टीभित्र पेलिँदै आएका माधवकुमार नेपाल फेरि उठ्न सकेका पनि थिएनन् ।

एमाले र त्यसपछि पनि बनेको नेकपामा नेपाललाई सजिलो थिएन । अध्यक्ष केपी शर्मा ओलीसँग अलिकति मात्रै मतभेद हुने बित्तिकै उनको अघिल्तिर अख्तियारको तरबार तयार हुन्थ्यो ।

फाइल तस्वीर

वैशाख २०७६ मा त नेपालले अख्तियारलाई बयान नै दिएका थिए । अहिले पनि प्रतिपक्षमा रहेको समाजवादी र यसका अध्यक्ष नेपाल प्रधानमन्त्री ओलीका विरूद्ध खरो रूपमा उत्रिरहेका छन् । त्यसैले ओली सरकारकै बेला नेपालमाथि  भ्रष्टाचारको मुद्दा दायर हुनुलाई नेकपा एकीकृत समाजवादीले पूर्वाग्रहको रूपमा बुझेको छ ।

‘मुद्दाको सम्बन्धमा दुईवटा पक्ष छन् । एउटा, यसको राजनीतिक पक्ष छ । दोस्रो, कानुनी पक्ष छ । राजनीतिक प्रतिशोध साँधेर जुन आक्रमण भएको छ, यसको हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौं । कानुनी पक्षको विषयमा हामी कानुनी हिसाबमा नै प्रतिवाद गर्छौं,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले भने ।

एमालेमै रहँदा पनि नेपाल र ओलीका बीचमा पानी बाराबारसम्मको अवस्था थियो । गुट बनाएरै एक अर्काका विरूद्ध लाग्दा नेपाल शक्तिमा भएका बेला ओली र ओली शक्तिमा भएका बेला नेपाल ओझेल परिरहे । पछिल्लो समय ओलीको पल्ला भारी भयो, नेपाल शक्तिशाली एमालेको छायाबाट विस्तारै हराउँदै गए ।

अन्ततः एमाले छोडेको चार वर्षपछि नेपाल नेतृत्वकै सरकारका पालामा नेपालको राजनीतिक तामझाम पुनः नफर्किने गरी भ्रष्टाचारको मुद्दा दर्ता भयो । यो मुद्दा दर्ता हुनुमा पनि नेपालले भने प्रधानमन्त्री ओलीलाई नै दोष दिएका छन् ।

संयोग नै मान्नुपर्छ, पतञ्जलिलाई जग्गा दिने निर्णय गर्दा तत्कालीन प्रधानमन्त्री नेपालका प्रमुख राजनीतिक सल्लाहकार रहेका रघुजी पन्त वर्तमान सरकारका शिक्षामन्त्री छन् ।

‘सिधा कुरा हो, उहाँ (केपी ओली) मेरो विरुद्धमा सुरुदेखि लाग्नुभएको पनि हो । मेरो राजनीतिक करिअर समाप्त पार्ने उहाँको नियत नै हो,’ नेपालले भने, ‘पहिले पनि पटकपटक कोसिस गर्नुभएको हो । उहाँ बदलाको भावनाबाट चल्ने मान्छे हो ।’

माधव नेपालले यसो भनेपनि तत्कालका लागि उनको सांसद पद समेत गुमेको छ । जबकी उनले फेरि एकचोटी प्रधानमन्त्री बन्ने अभिलाषा बोकिरहेका थिए ।

पतञ्जली जग्गा प्रकरण
लेखक
बिनु सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?