+
+
Shares
पाैरखी प्रवासी :

विश्वलाई नेपाल चिनाउने चिकित्सक

आज डा. गणेश आचार्य स्वीडेनको क्यारोलिन्स्का इन्स्टिच्युटमा स्त्री तथा प्रसूति रोग विभागका प्रमुख छन्। उनका नाममा दर्जनौं अनुसन्धानपत्र, अन्तर्राष्ट्रिय लेख र पुस्तकहरू छन् ।

वसन्त रानाभाट वसन्त रानाभाट
२०८२ असोज १३ गते २१:०४

अर्घाखाँचीको चुत्राबेसीमा जन्मिएका गणेश आचार्यको यात्रा काठमाडौंबाट सोभियत संघ हुँदै बेलायत, नर्वे, चीन, अमेरिका र स्वीडेनसम्म पुग्यो। विगत ८ वर्षदेखि स्वीडेनको क्यारोलिन्स्का इन्स्टिच्युटमा स्त्री तथा प्रसूति रोग विभागका प्रमुख रहेका प्रा.डा. आचार्यले नेपाली चिकित्सकको रूपमा विश्वभर ख्याति कमाएका छन्।

बार्सिलोना। सन्धिखर्कको उकालो। काँधमा किताब बोकेका एक किशोर, जो घन्टौं हिंडेर स्कूल पुग्थे। उनले कहिल्यै कल्पना गरेनन्, कुनै दिन डाक्टर बनेर विश्वका प्रतिष्ठित अस्पतालमा सेवा दिन्छु भनेर।

तर, मनभित्र शिक्षाप्रति लगाव थियो। त्यसैले घरको काम, परिवारको जिम्मेवारी, त्यो कष्टकर उकाली-ओराली बीच शिक्षाको दीप निभ्न दिएनन्। आज त्यही दीपको प्रकाशमा चम्किएका छन्- ६५ वर्षीय वरिष्ठ फिजिसियन प्रा.डा. गणेश आचार्य।

सन् १९८०। त्यतिबेला उनको उमेर मात्र २० वर्षको थियो। सरकारी छात्रवृत्ति पाएर अध्ययनका लागि तत्कालीन सोभियत संघ पुगे। उनले युक्रेनको लभिभ मेडिकल इन्स्टिच्युटबाट सन् १९८७ मा एमडी सम्पन्न गरे। र, सन् १९८८ मा पुन: नेपाल फर्किए।

उनको यात्रा अन्तर्राष्ट्रिय स्तरमा विस्तारियो। लन्डनको युनिभर्सिटी कलेज हस्पिटलमा विशेषज्ञता हासिल गरे र अल्ट्रासाउन्डमा स्नातकोत्तर (एमएससी) समेत पूरा गरे। त्यसपछि, नर्वेको ट्रोम्जोमा बसाइँ सरे। सन् २००५ मा नर्वेमा नै मेडिसिनमा पीएचडी पूरा गरे। आजसम्म पनि उनी द आर्कटिक युनिभर्सिटी अफ नर्वेमा शिक्षण, अनुसन्धान र निर्देशनमा सक्रिय छन्।

पछिल्ला ८ वर्षदेखि डा. आचार्य स्वीडेनको क्यारोलिन्स्का इन्स्टिच्युटमा स्त्री तथा प्रसूति रोग विभागका प्रमुख छन्। उनका नाममा दर्जनौं अन्तर्राष्ट्रिय लेख, अनुसन्धान र पुस्तकहरू छन्।

डाँडाबाट शुरु भएको सपना

अर्घाखाँचीको चुत्राबेसीमा जन्मिए गणेश। पाँच दाजुभाइ र एक दिदी बीचको त्यो कान्छोपनले उनलाई घरभरि लाडप्यार त दियो, तर जिम्मेवारी पनि थुप्रियो। उनका पिता, पण्डित होमकान्त आचार्य, साधारण जीवन बाँच्ने तर असाधारण सोच राख्ने व्यक्ति। उनी शिक्षाको ज्योति जगाउन कटिबद्ध थिए।

त्यो समय निकै प्रतिष्ठित ठानिन्थ्यो ‘हरिहर पाठशाला’। त्यहाँ प्रायः बाहुन परिवारका छोराहरू मात्र पढ्थे। नेपालका विभिन्न कुनाबाट विद्यार्थी पढ्न आउँथे। गणेशका पिता होमकान्तले पनि त्यहीं पढेका थिए। तर त्यस विद्यालयमा पढ्न पाइन्थ्यो, परीक्षा भने भारतको बनारसमा दिनुपर्थ्यो।

‘बुबाले बनारस गएर परीक्षा दिनुभयो’, गणेश सम्झिन्छन्। ‘घरबाट काठमाडौं पुग्न १३-१४ दिन लाग्थ्यो। त्यसैले काकालाई काठमाडौं पढ्न पठाउँदा बिफर भएर ज्यान गयो। त्यसपछि बुबाले बनारस रोज्नुभयो।’

युवा अवस्थामा गणेश आचार्य

होमकान्त आचार्यका लागि पढाइ केवल व्यक्तिगत महत्वाकांक्षा थिएन, त्यो भविष्य निर्माणको एक मात्र हतियार थियो। छोराछोरी पढ्नुपर्छ भन्ने अठोटले उनले जग्गा-जमिन बेचेर शिक्षामा लगानी गरे।

गणेशको बाल्यकाल गाउँको डाँडामा बित्थ्यो। शुरुका तीन कक्षा उनले जनजीवन प्राथमिक विद्यालयमा पढे। त्यसपछि पढाइ जनज्योति माध्यमिक विद्यालयतिर सर्‍यो। त्यो विद्यालय सन्धिखर्क खोलाको किनारमा थियो। गाउँ डाँडामा, स्कूल खोला किनारमा।

‘स्कूल पुग्न एक घण्टा, फर्कन अर्को घण्टा। बिहान झोलामा किताब बोकेर उकालो-ओरालो पार्दै हिंड्थ्यौं’, उनी बाल्यकाल सम्झिन्छन्।

२०३३ सालमा सबै विद्यालयमा एसएलसी परीक्षा केन्द्र हुने सुविधा थिएन। जनज्योति विद्यालयमा पनि त्यो सुविधा थिएन। त्यसैले उनी कपिलवस्तु, तौलिहवाको केन्द्रमा गएर एसएलसी दिए। ‘सेकेन्ड डिभिजनमा पास गरें’, उनी हाँस्दै भन्छन्। त्यो समय हेल्थ असिस्टेन्ट र ओभरसियर पढ्ने ट्रेन्ड थियो। गणेशले पनि स्वास्थ्य शिक्षा रोज्ने मन बनाइसकेका थिए। तर उनलाई थाहा थिएन, यही बाटोले संसारकै प्रतिष्ठित अस्पतालसम्म पुर्‍याउनेछ।

काठमाडौंबाट सोभियत संघसम्मको यात्रा

त्यतिबेला काठमाडौंमा छुट्टाछुट्टै विषयका कलेजहरू निकै चर्चामा थिए। पाटनतिर ओभरसियर पढ्ने, महाराजगञ्जतिर हेल्थ एसिस्टेन्ट। त्यो समयको प्रमुख धार यस्तै थियो। गणेशका दाइले पनि अमृत साइन्स कलेजबाट आईएस्सी पास गरिसकेका थिए।

सरकारले बाहिर अध्ययनका लागि छात्रवृत्ति खुलाउँदा, पहिलो प्राथमिकता हेल्थ एसिस्टेन्ट र ओभरसियर पढेकालाई दिन थाल्यो। ‘दाइले मलाई हेल्थ एसिस्टेन्ट पढ्न सुझाव दिनुभयो’, गणेश सम्झन्छन्। ‘कम्तीमा यो पढेपछि जागिर त पक्कै पाइन्छ’ भन्ने उहाँको तर्क थियो। त्यो समय नेपालमा डाक्टर बन्ने बाटो नै थिएन। सन् १९८० पछि मात्र नेपालमा डाक्टरको पढाइ शुरु भएको हो। त्यसअघि स्वास्थ्य क्षेत्रमा सबैभन्दा माथिल्लो स्तरको पढाइ भनेको हेल्थ एसिस्टेन्ट नै मानिन्थ्यो। अन्ततः गणेशले महाराजगञ्जस्थित इन्स्टिच्युट अफ मेडिसिन रोजे।

तीन वर्ष उनले मिहिनेत गरेर अध्ययन गरे। ‘सेकेन्ड पोजिसन ल्याएँ’, उनी गर्वसाथ भन्छन्। त्यतिबेला हेल्थ एसिस्टेन्ट पढ्न साइन्स पढेका पनि आउँथे। अहिलेका चर्चित नेताहरू डा. प्रकाशशरण महत र नारायणकाजी श्रेष्ठ पनि त्यही ब्याचका सहपाठी थिए।

उत्कृष्ट स्कोरका कारण गणेशको नाम छात्रवृत्ति सूचीमा पक्का भयो। सन् १९८० मा उनलाई तत्कालीन सोभियत संघमा अध्ययन गर्ने अवसर प्राप्त भयो।

‘हामी करिब १० जना थियौं’, उनी सम्झन्छन्। ‘जाँदा थाहा थिएन, कुन शहरमा पुग्ने। सात वर्षको पढाइ थियो- पहिलो वर्ष भाषा, बाँकी ६ वर्ष मेडिकल।’ अन्ततः उनले युक्रेनको लभिभ मेडिकल इन्स्टिच्युटबाट सन् १९८७ मा एमडी पूरा गरे। तर त्यो यात्रा सहज थिएन।

‘पहिलो चुनौती नै घुलमिल हुनुथियो’, उनी भन्छन्। होस्टेलको एउटा कोठामा चारजना बस्थे- दुई युक्रेनी, दुई नेपाली। ‘त्यहाँ अत्यावश्यक कुरा पनि सजिलै पाइँदैनथ्यो। लामो लाइन बस्नुपर्थ्यो। ट्वाइलेट पेपरसम्म भेट्टाउन गाह्रो’, उनी हाँस्दै स्मरण गर्छन्। तर सबै कठिनाइलाई जित्दै उनले पढाइ पूरा गरे। र, सन् १९८८ मा गणेश नेपाल फर्किए- तर उनको यात्रा त्यहीं सकिएको थिएन।

काठमाडौंदेखि क्यारोलिन्स्कासम्म 

काठमाडौंका अस्पतालका गल्लीमा गुन्जिने इमर्जेन्सी साइरन बीच गणेश आचार्य आफ्नो ड्युटीमा व्यस्त हुन्थे। स्त्री-प्रसूति र शल्यक्रियामा रेसिडेन्ट डाक्टरको रूपमा उनले बिताएका ती वर्ष संघर्ष र सिकाइले भरिएका थिए। त्यही समयमा उनले त्रिभुवन विश्वविद्यालयबाट स्त्री तथा प्रसूति रोगमा स्नातकोत्तर डिप्लोमा (डिजियो)पनि हासिल गरे। त्यतिबेला लाग्थ्यो- अब यात्रा यत्तिमै रोकिएला। तर गणेशका सपना अझै अधुरा थिए।

नेपालमा काम गर्दै गर्दा पनि उनको मनमा एउटा कुरा मात्र गुञ्जिन्थ्यो- अझै सिक्नुछ, अझै बढ्नुछ। त्यतिबेला बेलायत जाने लहर बाक्लो थियो। तर सोभियत संघबाट पढेर फर्किएका धेरैले त्यो बाटो रोजेनन्। ‘तर मलाई चाहिं अझै अध्ययन गर्न मन थियो’, उनी भन्छन्।

अन्ततः गणेशले नयाँ निर्णय गरे- बेलायतको बाटो समात्ने। शुरुमा उनले ब्रिस्टोलमा गएर सामान्य काम गरे। सन् १९९९ मा उनले लन्डनको युनिभर्सिटी कलेज हस्पिटलमा विशेषज्ञता हासिल गरे र त्यहाँबाट अल्ट्रासाउन्डमा स्नातकोत्तर (एमएससी) पूरा गरे। त्यसपछि पनि उनले नेपाल फर्कने कोसिस गरे। बिदामा फर्किएर अस्पतालसँग समन्वय गर्ने प्रयास गरे। तर व्यवस्था अझै पुरानो ढर्राको थियो। ‘जस्तो वातावरण खोजेको थिएँ, त्यस्तो भेटिएन’, उनी सम्झिन्छन्।

अन्ततः गणेश लन्डनमै करिअर अघि बढाउने निर्णयमा पुगे। तर लन्डनमा उनको भेट भयो- नर्वेका प्रोफेसर टोरभिड किसेरुडसँग। ‘हामीबीच मित्रता बढ्दै गयो’ गणेश भन्छन्, ‘एक दिन ती साथीले भने– तपाईं नर्वे आउनुहोस्। त्यहाँ गर्भमा रहेका शिशुको रोग पत्ता लगाउने र उपचार गर्ने ‘फिटल मेडिसिन’ सर्भिस विकास गर्न विशेषज्ञ खोजिरहेका छौं।’

यो प्रस्ताव आकर्षक थियो, तर सहज थिएन। नयाँ देश, नयाँ भाषा र सबैभन्दा ठूलो कुरा कागजी प्रक्रिया। ‘हरेक देशमा नयाँ लाइसेन्स लिनुपर्थ्यो। त्यो ठूलो चुनौती थियो’, उनी भन्छन्। सन् १९९९ मा शुरु भएको प्रक्रिया अन्ततः २००१ मा पूरा भयो। गणेश नर्वे सरे, उत्तरी ध्रुव नजिकैको शहर, ट्रोम्जोमा।

अन्त्यहीन रात, नयाँ चुनौती ट्रोम्जो पुग्दा उनले अनुभव गरे- कहिले दिन नै नहुने, कहिले रातै नपर्ने संसार। ‘शुरुका महिनामा त समय नै हराएको जस्तो लाग्थ्यो’, उनी हाँस्दै भन्छन्। तर मौसमभन्दा ठूलो चुनौती थियो- भाषा। अस्पतालले दोभाषेको व्यवस्था गर्‍यो, तर उनले आफैं नर्वेजियन सिक्न थाले। त्यसबीच पनि यात्रा रोकिएन। सन् २००५ मा उनले युनिभर्सिटी अफ ट्रोम्जोबाट मेडिसिनमा पीएचडी पूरा गरे।

सन् २००६ मा गणेश अध्ययन बिदा लिएर अमेरिका उडे। युनिभर्सिटी अफ साउथ फ्लोरिडामा उनले पोस्ट डक्टरल फेलोसिप पूरा गरे। त्यहाँ गर्भमा रहेको शिशुको मुटुमा हुने रोग पत्ता लगाउने अत्याधुनिक प्रविधिबारे सिके। एक वर्षपछि फेरि नर्वे फर्किए र काम जारी राखे।

सन् २००८ मा युनिभर्सिटी अफ ट्रोम्जोमा प्रोफेसर बने। सन् २००९ मा उनी हेड अफ डिपार्टमेन्ट नियुक्त भए। त्यो विश्वविद्यालय अहिले द आर्कटिक युनिभर्सिटी अफ नर्वे भनेर चिनिन्छ।

त्यसपछि गणेशको यात्रा अझै विस्तारियो। २०११ मा अक्सफोर्ड (युके) पुगे। सन् २०१२ मा स्वीडेनको क्यारोलिन्स्का इन्स्टिच्युटमा भिजिटिङ प्रोफेसरको रूपमा काम गरे। सन् २०१५ मा चीन र अमेरिका हुँदै अन्ततः सन् २०१६ देखि क्यारोलिन्स्का इन्स्टिच्युट र युनिभर्सिटी अस्पतालमा पूर्णकालीन काम थाले।

आज डा. गणेश आचार्य स्वीडेनको क्यारोलिन्स्का इन्स्टिच्युटमा स्त्री तथा प्रसूति रोग विभागका प्रमुख छन्। उनका नाममा दर्जनौं अनुसन्धानपत्र, अन्तर्राष्ट्रिय लेख र पुस्तकहरू छन् । उनी अहिले पनि विश्वकै प्रतिष्ठित मेडिकल सम्मेलनमा मुख्य वक्ताका रूपमा आमन्त्रित हुन्छन्। ‘यो यात्रा लामो थियो, सजिलो थिएन’ उनी भन्छन्, ‘तर प्रत्येक चुनौतीले मलाई नयाँ बाटो देखायो।’

समान पहुँच र धैर्य

डा. आचार्य अन्तर्राष्ट्रिय स्वास्थ्य प्रणाली र अभ्यासको अनुभव सुनाउँछन्, ‘नेपाल र विकसित मुलुकबीचको सबैभन्दा ठूलो भिन्नता नेसनल हेल्थ इन्सुरेन्स प्रणाली हो। स्क्यान्डिनेभियन देशहरूले आफ्नो बजेटको करिब १० प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्छन्। स्वास्थ्य राज्यका लागि कति महत्वपूर्ण छ भन्ने कुरा बजेटमा नै झल्कन्छ।’

उनका अनुसार, स्वास्थ्य प्रणालीको मूल उद्देश्य सबै नागरिकलाई समान पहुँच सुनिश्चित गर्नु हो। देशका सबै नागरिकको जीवन बराबर मूल्यको हुनुपर्छ। यो स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र सम्भव हुन्छ। स्वीडेनमा नेता, कर्मचारी वा सामान्य नागरिक सबैलाई अस्पतालमा एउटै व्यवहार गरिने उनी बताउँछन्।

तर, विकसित देशहरूको स्वास्थ्य प्रणालीमा आफ्नै चुनौती पनि छ। डा. आचार्य भन्छन्, ‘यहाँ सामान्य रोगको उपचारका लागि कहिलेकाहीं दुई-चार महिना पर्खिनुपर्छ। नेपालमा सबै उपचार तुरुन्तै हुने अपेक्षा राखिन्छ। तर यता इमर्जेन्सी बाहेक अन्य कुरामा समय लिनु सामान्य हो। गाउँ-गाउँमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुन्छ, तर नेपालमा अझै सबै उपचार काठमाडौंमा मात्रै केन्द्रित छन्। सबै बिरामी एकै ठाउँमा जानुपर्छ भन्ने सोच अझै प्रचलित छ।’

नेपालसँग जोडिने चाहना

डा.  गणेश आचार्यको मन अझै नेपालमै अडिएको छ। ‘नेपालसँग जोडिने र काम गर्ने ठूलो इच्छा छ’ उनी भन्छन्, ‘नेपालमा बिरामीको चाप धेरै छ, जसले गर्दा डाक्टरको स्किल (सीप) राम्रो हुन्छ। तर एउटा गम्भीर कमी भनेको मूल्यांकन र अनुसन्धानको हो। हामीले दिएको सेवाले कस्तो प्रभाव पार्‍यो, जटिलता कति भयो, संसारसँग हाम्रो स्तर कहाँ छ। त्यो लेखाजोखा छैन।’

यही कारण डा. आचार्य अनुसन्धान र मूल्यांकनलाई अत्यावश्यक मान्छन्। उनले धेरै वर्ष युरोपमा रिसर्चमा बिताएका छन् र नेपालमा त्यसको अनुभव जोड्न सक्ने देख्छन्। ‘मैले कोसिस नगरेको होइन। अरू नेपाली साथीहरूलाई पनि प्रोत्साहन गरेको छु’, उनी भन्छन्।

नेपाल फर्केर काम गर्ने उत्साह हुँदा पनि उनले कानूनी र प्रणालीगत अवरोधलाई ठूलो चुनौती मानेका छन्। ‘यदि म नेपाल गएर काम गर्छु भने सरकारको नजरमा म विदेशी ठहरिन्छु। किनभने मेरो पासपोर्ट विदेशी हो। तर विदेशमा विशेषज्ञता हासिल गरेका, विदेशी नागरिकता लिएका एनआरएनहरूलाई कानूनी झन्झट विनै नेपालको विकासमा योगदान दिने वातावरण बनाउनुपर्छ’, उनले सुझाव दिए।

उनका अनुसार अहिले हुने प्रोजेक्ट र तालिमहरू व्यक्तिगत सम्पर्कमा आधारित छन्। तर त्यो पर्याप्त होइन। ‘मानिसहरू चार दिन नेपाल गएर दुई-चार सय बिरामी हेरेर फर्किए। एक दिन सम्मेलन भयो। त्यसले ठूलो परिवर्तन ल्याउँदैन। दीर्घकालीन दिगो परिवर्तनका लागि प्रणाली चाहिन्छ, त्यो पनि अवरोध विनाको’, डा. आचार्यको जोड छ।

पौरखले सफलता ल्याउँछ

डा. आचार्य आफूलाई भाग्यमानी ठान्छन्। तर भाग्यलाई भन्दा बढी आफ्नो मिहिनेतलाई महत्व दिन्छन्। ‘म चिकित्सक भएकोमा गर्व गर्छु। किनकि मैले बाँडेको ज्ञान हरेक दिन बढ्दै जान्छ’, उनी भन्छन्।

व्यस्त जीवनलाई लिएर उनीसँग आफ्नै दृष्टिकोण छ। ‘हामी जहिले भन्छौं, समय छैन। तर मेरो प्रमुख (बोस) भन्नुहुन्थ्यो, ‘यदि तपाईंले कुनै काम पूरा गर्नै छ भने, संसारकै सबैभन्दा व्यस्त व्यक्तिसँग जानुहोस्। किनकि समय नपुग्ने भन्ने कुरा फुर्सदिला मानिसलाई मात्रै हुन्छ।’

डा. आचार्य पौरखी छन्, कर्मशील छन्। उनी भन्छन्, ‘म अहिले पनि पौरख गरिरहेको छु। मेरो यात्राले देखाउँछ- अवसर खोज्ने होइन, सिर्जना गर्ने हो। चुनौतीहरू त आउँछन्, तर त्यसलाई जित्ने हिम्मत राख्नुपर्छ।’

अन्तर्राष्ट्रिय अनुभव र उपलब्धिहरू हुँदाहुँदै पनि उनी आफ्नो पहिचानलाई कहिल्यै बिर्सिँदैनन्। ‘म नेपाली हुँ, नेपालबाट आएको हुँ भन्नेमा गर्व गर्छु। नेपालमा केही समस्या होलान्, तर अन्तर्राष्ट्रियस्तरमा नेपालीलाई हेर्ने दृष्टिकोण अझै पनि सम्मानजनक छ। उनीहरूले राम्रो नजरले हेर्छन्। त्यो कुरा सुन्दा र महसुस गर्दा ठूलो गर्व लाग्छ।’

लेखक
वसन्त रानाभाट

बसन्त रानाभाट अनलाइनखबरका युरोपका समाचार संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?