+
+
Shares
पौरखी प्रवासी :

कतारको फोहोर उठाएर करोडपति

कुल्लीदेखि चालक, सेल्सम्यान र सुपरभाइजरसम्मको अनुभव बटुलेका बर्दियाका दुर्गाबहादुर विक अहिले कतार बसेर फोहोर व्यवस्थापनको काम गरिरहेका छन्। दैनिक ५० देखि ६० टन फोहोर व्यवस्थापन गर्ने दुर्गाले आफ्नो वेस्ट म्यानेजमेन्ट कम्पनीमा ३७ जनालाई रोजगारी दिएका छन्।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ असोज १४ गते १८:३०

भूमण्डलीकरणको यो युगमा संसार साँघुरिएको छ र मानिसको यात्रा अब भौगोलिक सीमाभित्र कैद छैन। अवसरको खोजीमा होस् वा ज्ञान र सीपको यात्रामा, नेपालीहरू पनि यही विश्वव्यापी लहरको एउटा अभिन्न अंग बनेका छन्। पृथ्वीका विभिन्न भूभागमा पुगेर उनीहरूले आफ्नो श्रम, बुद्धि र साहस ले नयाँ समाजमा अटल परिचय स्थापित गरेका छन्। तर, जतिसुकै टाढा पुगे पनि, उनीहरूको नाभी अझै पनि मातृभूमिमै गाँसिएको छ- भाषा, संस्कृति र भावनाको अटुट धागोमार्फत्।

अनलाइनखबरले सुरु गरेको ‘पौरखी प्रवासी’ शृङ्खला त्यही गौरवमय यात्राको गाथा हो। यो केवल व्यक्तिगत संघर्ष र पसिनाको कथा मात्र होइन, बरू विश्व मञ्चमा नेपालको सामूहिक पहिचानलाई उचाइ दिने प्रयासको दस्तावेज हो। हरेक प्रवासी नेपाली आफ्नो गन्तव्यमा नेपालको ‘ग्लोबल एम्बेसडर’ बनेर उभिएका छन्। उनीहरूले विश्वलाई देखाइरहेका छन्, ‘नेपालीहरू मेहनती, सहिष्णु र प्रतिभावान हुन्छन्।’

प्रवासी नेपालीहरूको महत्व केवल आर्थिक पक्षमा मात्र सीमित छैन, यद्यपि रेमिटेन्सले नेपालको अर्थतन्त्रको मेरुदण्डलाई सजीव राखेको छ। विदेशको तातो घाममा पसिना बगाउने श्रमिकदेखि अन्तर्राष्ट्रिय मञ्चमा उदाएका विज्ञ, उद्यमी र कलाकारहरूसम्म, उनीहरू सबैले नेपाललाई विश्वको नक्सामा चिनाएका छन्। उनीहरूको ज्ञान, सीप र नेतृत्व क्षमतालाई नेपालको समृद्धिको यात्रासँग जोड्नु अनिवार्य छ ।

सामाजिक र सांस्कृतिक दृष्टिले, प्रवासीहरू नेपालकै बहुरंगी स्वरूपलाई नयाँ ठाउँमा पुनः फूलाइरहेका छन्। चाहे नयाँ पुस्तामा नेपालीपनको बीउ रोप्ने कुरा होस् वा परदेशमा दशैँ–तिहार र तीजको उल्लास भर्ने कुरा, यी सबै अभ्यासले नेपालीपनलाई भौगोलिक सीमाभन्दा बाहिर फैलिएको ‘विश्व-चेतना’ बनाइदिएको छ।

जब कोही आफ्नो जन्मभूमिबाट टाढा जान्छ, उसले आत्मपहिचानलाई पुनःपरिभाषित गर्नुपर्छ। नयाँ समाज र संस्कृतिमा घुलमिल हुँदै उसले आत्मान्वेषणको यात्रा गर्छ। यही प्रक्रियामा नेपालीहरू केवल आर्थिक योगदानकर्ता मात्र नभई विश्व-संस्कृतिको सक्रिय अंग बनेका छन्, जसले भूमण्डलीय संस्कृतिमा नेपाली रङ घोलिरहेका छन्।

‘पौरखी प्रवासी’ संसारभर छरिएका ती अब्बल नेपालीहरूको प्रतिनिधिमूलक जीवनगाथा हो। उनीहरूको कथा सुन्नु भनेको श्रम, सीप, आशा, साहस र गौरव मिसिएको हाम्रो समयको सांस्कृतिक इतिहास पढ्नु जस्तै हो।

आउनुहोस्, हामी संसारभर छरिएका ती ‘पौरखी प्रवासी’हरूको कथा सुनौं, जसले आफ्नो मेहनतले नेपालको शिर उँचो बनाएका छन्ः

१४ असोज, काठमाडौं । बाल्यकालको दुःख सम्झिँदा अहिले पनि दुर्गाबहादुर विकको आङ जिरिङ्ग गर्छ। परिवारको आर्थिक अवस्था यति नाजुक थियो कि, बिहान-बेलुका भरपेट खान समेत मुस्किल पर्थ्यो। पैसा अभावकै कारण एसएलसी समेत पूरा नगरी सानै उमेरमा कालापहाड जान विवश भएका थिए दुर्गा।

बर्दियाको मधुवन नगरपालिका-३ मा जन्मिएका दुर्गाबहादुर गाउँकै धनौरा राष्ट्रिय माध्यमिक विद्यालयमा पढ्दा-पढ्दै भारत लागे। हिमाञ्चल प्रदेशमा बसेर उनले कुल्ली काम गरे। बेल्चा चलाए। पिठ्युँमा डोको, बोराका भारी बोके।

कलिलो उमेरै भारत गएर मजदुरी गरेको रकमले उनको परिवारले गुजारा धान्थ्यो। किनकि, बुवा बितिसकेका थिए। घरको एक्लो छोरा भएकाले सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो।

सन् १९८७ मा जन्मेका दुर्गा १४ वर्ष लाग्दा नलाग्दै सन् २००० मै भारत पुगेका थिए। हिमाञ्चलका पहाडहरू, शिमलाका खुड्किला, उकाली-ओराली गर्दै उनले ५ वर्षसम्म मजदुरी गरे। एक समय त शिमलामा मालिकको घरमा नोकर समेत बसे।

कलिलो उमेरमै घर छाडेर कठोर मजदुरी गर्नु उनको कुनै रहर थिएन। यसको विकल्प पनि उनले देखेनन्। ‘आर्थिक अवस्था एकदमै कमजोर थियो। खान-लाउनै नपुग्ने भएपछि पढाइ छाडेर भारत गएँ। पाँच वर्षसम्म निरन्तर मजदुरी गरें’, दुर्गा विगत सम्झन्छन्।

५ वर्षसम्म लगातार हिमाञ्चल प्रदेशमा काम गरेका उनी त्यसको दुई वर्षसम्म बेलाबेलामा घर आउने-जाने गर्थे। यो दुई वर्षमा उनी हिमाञ्चलको विकल्प खोज्दै पनि थिए।

गाउँका केही मान्छे कतार, मलेसिया जस्ता देशहरूमा रोजगारीका लागि जान्थे। केहीले उनलाई पनि भारत छोडेर अन्यत्र जान सुझाव दिएका थिए।

यही क्रममा उनको मन मोडियो। कतारको सपना देख्न थाले। पासपोर्ट बनाए, ऋण काढेर सन् २००८ मा दुर्गा कतार लागे। उनी घरबाट भारत मजदुरी गर्न जाँदा १४ वर्षका थिए भने कामका लागि कतार हान्निंदा २१ वर्षका थिए।

कतारमा पनि उनको काम मजदुरी नै थियो। ‘सुरुमा मासिक ४०० रियाल दिन्थ्यो। पछि ५००, ६०० हुँदै बढ्दै गयो’, कतारको सुरुवाती कमाइबारे उनी भन्छन्। उनी कामका लागि कतारको लोट्स कम्पनीमा गएका थिए। जाने बेलामा कार्पेन्टरको काम भनिएको थियो। तर पर्‍यो अर्कै। कलिकै उमेरदेखि काममा निखारिएका दुर्गाले हार मानेनन्।

लोट्स कम्पनीमै ड्राइभरको आवश्यकता पर्‍यो। भारतमै हुँदा स्टेरिङ समाएका उनी त्यति पोख्त त थिएनन् तर आँट गरे। केही दिन कतारमै गाडी चलाएर हात सफा गरे। गाडीमै हिंडे। अनि लाइसेन्स निकाले।

जब लाइसेन्सप्राप्त चालक बने त्यसपछि भने उनको तलब एकैपटक १ हजार रियाल पुग्यो। एकै पटक दोब्बर बढी स्यालरी थाप्दा उनी खुसीले गद्गद् भए। ‘साढे ५०० बाट एकै पटक १ हजार स्यालरी थापेको दिन खुसीले निद्रा समेत परेन’, दुर्गा त्यो क्षण सम्झन्छन्।

८ वर्ष अर्थात् सन् २०१६ सम्म उनले लोट्स कम्पनीमा चालकको काम गरे। त्यसपछि कम्पनी परिवर्तन गरे। अर्को एउटा वाटर कम्पनीलाई सेल्सम्यान-ड्राइभर चाहिएको रहेछ। उनी त्यतै गए।

‘रकम नभए पनि मैले हार खाइनँ। १ हजार रियाल ऋण लिएर काम सुरु गरें। अहिले ३७ जनालाई रोजगार दिएको छु’, उनी भन्छन्।

इमानदार र लगनशील दुर्गाबहादुरको मिहिनेत कम्पनीका मालिकले हेरिरहेकै थिए। ड्राइभर र सेल्सम्यान भनेर नियुक्ति दिइए पनि विस्तारै उनलाई एमडीले अर्को जिम्मेवारी सुम्पिए- सिनियर स्टोर किपर।

सेल्सम्यान, ड्राइभरबाट सिनियर स्टोर किपर बनेका दुर्गा कम्पनीको सुपरभाइजरसम्म बने। त्यतिबेला उनलाई लाग्यो, मिहिनेत खेर जाँदो रहेनछ। एक न एक दिन भाग्य खुल्छ। भारतका गल्लीमा कुल्लीगिरी गर्दै मालिकको घरमा गोठालो समेत बसेको एउटा फुच्चे कम्पनीको सुपरभाइजरसम्म हुँदाको खुसी उनले अनुभूत गरे।

दुर्गा भन्छन्, ‘म परिश्रमले खारिएको हुँ, मिहिनेत र परिश्रमले नै यहाँ आइपुगेको हुँ। अभावको विगतले मलाई वर्तमानमा ल्याएको हो। विगतप्रति मलाई गर्व छ।

कुल्लीदेखि सुपरभाइजरसम्म, चालकदेखि सेल्सम्यानसम्म सबैको अनुभव लिइसकेका दुर्गाबहादुरमा हिम्मत पलाइसकेको थियो- अब अरूको जागिर खाएर केही हुँदैन, आफैं केही गर्नुपर्छ। तर उनीसँग यसका लागि रकम थिएन। कमाएको रकम दैनिक खर्च र घर पठाउँदै सकिन्थ्यो।

‘रकम नभए पनि मैले हार खाइनँ। १ हजार रियाल ऋण लिएर काम सुरु गरें। अहिले ३७ जनालाई रोजगार दिएको छु’, उनी भन्छन्।

१ हजार ब्याजमा लिएर थालेको कामले अहिले उनी करोडपति बनेका छन्। कतारमै आफ्नो व्यवसाय सञ्चालन गरेका छन्। ३७ जनालाई रोजगार दिएका छन्। १ हजार ऋण लिएर उनले नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी काम गरेका थिए।

नगरपालिकामा हुने फोहोर मैला उठाउनका लागि चाहिने डस्टबिन, प्लास्टिकहरुको काम गरे। यी सामानहरु किन्दै बेचे। ‘कुन एरियामा के आवश्यक छ, त्यही अनुसार सामानहरू डेलिभरी गरें, माग अनुसारको काम गरें’, उनी भन्छन्।

उनका अनुसार मासिक साढे २ लाख रियालको व्यापार भयो। यो व्यापारबाट उनले राम्रो आम्दानी गरे। यसमा कम्पिटिटर (प्रतिस्पर्धीहरू) आउन थालेपछि उनले अर्को विकल्प खोजे।

नगरपालिकासँग समन्वय गरेर काम गरेकाले उनले यसै सम्बन्धी कम्पनी खोल्ने सोच बनाए। अनि सन् २०२० मा जन्मियो- वेस्ट म्यानेजमेन्ट कम्पनी।

दुर्गाले अब फोहोर उठाउने सम्पूर्ण काम गर्न थाले। यसका लागि चाहिने गाडी खरिद गरे। एउटै गाडी ३ लाख ७० हजार रियालमा किनेको दाबी उनको छ। स्विट्जरल्यान्डबाट समेत खरिद गरेर ल्याएको उनी बताउँछन्। अहिले आफ्नो कम्पनीमा १७ वटा गाडी रहेको उनको भनाइ छ।

यी गाडी मार्फत उनले रैयान र अल्दायना क्षेत्रको फोहोर व्यवस्थापन गर्दै आएका छन्। गाडी मर्मतका लागि आफ्नै ग्यारेज पनि खोलेका छन्। सबैतिर गरेर अहिले ३७ जनालाई रोजगारी दिएको उनी सुनाउँछन्। दैनिक ५० देखि ६० टन फोहोर आफ्नो कम्पनीमार्फत व्यवस्थापन हुने गरेको दुर्गा सुनाउँछन्।

अझै दैनिक १८ देखि २० घण्टासम्म काम गर्ने बताउने उनी निरन्तरको मिहिनेतले नै यो सफलता हात पारेको बताउँछन्। अहिलेको यो सफलता र विगतको त्यो जर्जर अवस्थाबारे तुलना गर्दा दुःखी हुनुपर्ने ठाउँ भेट्दैनन् उनी।

‘मलाई विगतले नै बलियो बनायो। त्यतिबेला जुन संघर्ष गर्ने मौका पाएँ, त्यसपछि मलाई थप जिम्मेवार बनायो। हिजोको जगमा आज म यो अवस्थामा उभिएको छु’, उनी भन्छन्।

सन् २०२२ पछि कतारमा रोजगारीको संकट सुरु भएको उनी बताउँछन्। तर आफ्नो कम्पनीको काम भने क्लिनिङ (सरसफाइ) सम्बन्धी भएकाले समस्यामा नपरेको उनको भनाइ छ।

कतारमा ३७ जनालाई रोजगारी दिएका दुर्गाबहादुर आफ्नै गाउँ फर्किएर बस्ने सोचमा छन्। अहिले आमा, श्रीमती र तीन छोराछोरीलाई गाउँमै रोखको उनी बताउँछन्।

‘बेलाबेलामा परिवार कतार घुम्न आउँछन् अनि फर्किन्छन्। म पनि गाउँ जान्छु। अहिलेसम्म मैले कतै शहर तथा काठमाडौंमा परिवार ल्याएर राखेको छैन। कतारमा राख्ने सोच पनि छैन। गाउँ नै फर्केर केही गर्ने भन्ने सोच छ’, उनी भन्छन्।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?