+
+
Shares

‘कांग्रेसको नाम र इतिहास ठूलो छ, फगत सन्देशले जनतालाई भरोसा दिँदैन’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नाम र इतिहासले मात्रै अब जनताले भरोसा गर्न नसक्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १३:५३

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नाम र इतिहासले मात्रै अब जनताले भरोसा गर्न नसक्ने बताएका छन् ।

मंगलबार पार्टीको विशेष महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै थापाले नेताहरूको सन्देशले मात्रै अब जनतामा पर्याप्त भरोसा जागृत गर्न नसकिने बताएका हुन् ।

‘हामी यस्तो ठाँउमा पुग्यौ- हाम्रो पार्टीको नाम र इतिहास ठूलो त छ, तर हाम्रो फगत सन्देशले मात्र अब जनतामा पर्याप्त भरोसा जागृत गर्न सक्दैन,’ उनले भने, ‘तर यथार्थ के हो भने आज हामी एकै पटक विश्वासको संकट र प्रासंगिकताको प्रश्नसँग जुधिरहेका छौं । जनता ‘विशेष गरी युवा पुस्ताले अहिले कांग्रेसलाई साहस होइन, सम्झौतासँग; आदर्श होइन, अवसरवादसँग निष्ठा होइन, भ्रष्टाचारसँग जोड्न थालेका छन् ।’

प्रतिवेदनमा उनले आजको परिदृष्य र नेपाली कांग्रेस भन्ने शीर्षकमा यसबारे प्रष्ट पारेका छन् ।

यस्तो छ उनको भनाइ

निश्चय पनि भाद्र २३ र २४ को परिस्थिति एकाएक उत्पन्न भएको होइन । आजको परिस्थिति आउनुमा नेपाली कांग्रेस पार्टी मात्र जिम्मेदार छैन तर पछिल्ला दुई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदमा नेपाली जनताको अपार माया र स्नेह सहित लगातार वर्चस्वशाली उपस्थिति भएकाले हामीले आफ्नो भागमा परेको कमजोरीबाट भाग्न पनि मिल्दैन । हामीले स्वीकार गर्नैपर्छ सरकार र शासन सञ्चालनका क्रममा हामीबाट भएका कमजोरी र विफलताका कारण यी घटनाका लागि भावभूमि तयार भएको हो । नेपाली समाज र राजनीति असमान्य चरणको सामना गर्दैछ आज नेपाली कांग्रेसको सामु आइपरेको ऐतिहासिक क्रान्तिकारी जिम्मेदारी के हो आजको नयाँ परिस्थितिमा कांग्रेस पार्टीको उत्तरदायित्व के छ? ऐतिहासिक घटनाक्रमलाई हृदयङ्गम गर्दै आफ्नो कामको सन्तुलित लेखाजोखा गरेर घनिभूत संवादमार्फत वर्तमान परिस्थितिमा अदा गर्नुपर्ने उत्तरदायित्वलाई हामीले राम्ररी ठम्याउनु पर्दछ ।

सत्ता सञ्चालनमा सहभागि हुँदा राष्ट्रिय प्राथमिकता र जनताका आकांक्षालाई सम्बोधन गर्ने दिशामा पार्टीको सिद्धान्त र सरकारका कार्यक्रम बीचको सन्तुलनमा हामी नराम्रोसँग चुकेकै हो । जनतासंगको सम्बन्धको सेतु टुटेकै हो। हामीले नीति र कार्यक्रमलाई पर्याप्त ध्यान नदिइकन दैनदिन सत्ता सञ्चालनमा ज्यादा अलमलिएको कुरामा हामीले आत्मालोचना र आत्ममन्थन गर्ने आज नेपाली कांग्रेस आफ्नो गौरवशाली इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ ।

नेपाली कांग्रेस त्यो पार्टी हो जसले नेपाललाई लोकतन्त्र दियो, सङ्घीय गणतन्त्रात्मक संविधान दियो, जन अधिकार र स्वतन्त्रता दियो र समुन्नतीको आशा जगायो । हाम्रै नेतृत्वमा भएको २०६२-०६३ को आन्दोलन र त्यसको जगमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनायौ जुन नेतृत्वदायी भुमिकाप्रति हामीलाई गौरव छ । संविधान बनेपश्चात आशा, आकांक्षा महत्वाकांक्षा आम नागरिकहरूमा जगायो ।

लोकतन्त्रको सौन्दर्य भनेको आम मानिसमा आकांक्षा जगाउने पनि हो । नागरिकहरूलाई भविष्यका प्रति आशावादी बनाउने हो । हामी संविधानमा टेकेर जे डेलिभरी गर्ने भनेका थियौं त्यो सन्दर्भमा असफल भयौं । समाजमा कस्तो रुझानको विकास भयो भने त्यही नागरिक राजनीतिक परिवर्तनको लागि संविधान लेखनसम्मको यात्रामा अत्यन्त आशावादी रूपमा सहभागी भएको तर अहिले आएर बाचा गरिएका सपनाहरू पुरा नभएको, डेलिभरी नभएकोले परिवर्तनका संवाहक शक्तिहरूसँग र परिवर्तनले बनाएका संरचनासँग समेत रिसाएर पूर्ण आक्रोशित भएर बसेको अवस्था छ ।

संसदीय राजनीतिमा निर्वाचन पूर्व र निर्वाचन पश्चातका श्रीङ्खलाबद्ध गठबन्धनले सत्ता र प्रतिपक्ष भन्ने नै भएन। पछिल्लो पटक दुई ठुला दलहरू मिलेर सरकार संचालन गरेपछि संसदीय राजनीतिमा भागवण्डा र कारोवारी राजनीतिको प्रश्रय पायो । यो विकृत रुपले आम जनतालाई थप आक्रोशित बनायो । जनता सरकारसँग रुष्ट हुँदा राजनीतिक दलसँग समेत रुष्ट भए । हामीले पार्टीको दायरालाई सीमित गर्नुपर्नेमा दायरालाई विस्तारित गरेर ज्यादा फैलिँदा समाजको प्रत्येक अंग र संस्थाहरूको अति दलीयकरण भयो । राज्यका संस्थालाई मजबुत बनाउनुपर्नेमा दलको बनाउन खोज्ने कुराले पनि आम मानिसमा राजनीतिक दल प्रति वितृष्णा फैलिन पुग्यो ।

हामी यस्तो ठाँउमा पुग्यौ- हाम्रो पार्टीको नाम र इतिहास ठूलो त छ, तर हाम्रो फगत सन्देशले मात्र अब जनतामा पर्याप्त भरोसा जागृत गर्न सक्दैन । तर यथार्थ के हो भने ‘आज हामी एकै पटक विश्वासको संकट र प्रासंगिकताको प्रश्नसँग जुधिरहेका छौं । जनता ‘विशेष गरी युवा पुस्ताले अहिले कांग्रेसलाई साहस होइन, सम्झौतासँग; आदर्श होइन, अवसरवादसँग निष्ठा होइन, भ्रष्टाचारसँग जोड्न थालेका छन् । 

यो अवस्था आउनाको जिम्मेवारी हामी सबैको हो । यो पुस्ता ६२/६३ को आन्दोलनमा सहभागी नभएपनि केटाकेटीको रुपमा हेरेको सुनेको र देखेको पुस्तासँग राजनीतिक शक्तिहरूले र राजनीतिक नेतृत्वले ठिकठाक संवाद स्थापित गर्न सकेनौँ। हामीले नयाँ पुस्ताको आँखाबाट हेयौं भने मात्रै हामीले उनीहरूलाई बुझ्न सक्छौं । उनीहरूलाई इतिहाससँग भन्दा ज्यादा वर्तमान र भविष्यको सुरक्षासँग चिन्ता छ । त्यसका लागि उनीहरू इतिहास हेरेर इतिहासको योगदान देखेर त्यसलाई सम्मान त गर्छ तर हाम्रो औसत कार्यक्षमता हेरेर हामीलाई माफी र शङ्काको सुविधा दिन चाहेन ।

नेपालमा पछिल्ला दशकमा तीव्र जनसांख्यिक परिवर्तनको प्रक्रियामा रहेको छ । ग्रामिण क्षेत्रबाट अर्धशहरी तथा शहरी क्षेत्रमा बसाईसराई तिब्र बनेको छ । यसैगरी वाह्य बसाईसराईको गति पनि तिब्र छ । युवा शिक्षा, स्वास्थ्य जस्ता सेवा सुविधा तथा रोजगारीका लागि सहर तर्फ सर्न थालेका छन् । यसले राजनीतिक एजेण्डा, चासो, सरोकार तथा भुमिकालाई पनि परिवर्तन ल्याईदिएको छ । नेपालमा नयाँ पुस्ताको आक्रोश र पछिल्लो घटनालाई युवा जनसंख्या यस उमेर समुहले पाइरहेको अवसर सँग पनि जोडेर हेर्नुपर्छ । हामीलाई अब स्थानीय शहरी समस्या, स्वास्थ्य, शिक्षा सुविधाको उपलब्धता, रोजगारी, आवास लगायतका सवाललाई संवोधन गर्नुपर्ने अवस्थामा पु-याएको छ ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?