+
+
Shares
रिपोर्ट :

ठिहिर्‍याउने जाडोमा डढेलोको अलार्म

चैत–वैशाख बिर्साउने गरी पुस–माघ महिनामै आगलागी र डढेलोका घटना बढ्न थालेपछि नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ।

सन्त गाहा मगर सन्त गाहा मगर
२०८२ माघ १ गते १५:१०
फाइल तस्वीर

१ माघ, काठमाडौं । बुधबार बिहान जुम्ला, जोमसोम, जिरी लगायतको तापक्रम माइनसमा झर्‍यो। काठमाडौं उपत्यकाकै तापक्रम २.३ डिग्री सेल्सियस मापन भयो। यस्तो ठिहिर्‍याउने जाडोका बावजुद देशका विभिन्न भागमा डढेलो र आगलागीका घटना भइरहेका छन्।

चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम–खासाको वनमा लागेको भीषण डढेलो नियन्त्रणमा नआएपछि पुस २८ देखि तातोपानी नाका बन्द गरिएको छ। चिनियाहरूसँगको समन्वयपछि नाका आंशिक रूपमा बन्द भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामकृष्ण अधिकारीले जानकारी दिए।

मंगलबारदेखि डढेलो नेपालतर्फ आइपुगेको छ। डढेलो आइपुगेको क्षेत्रमा दुईवटा चौंरीको गोठ रहेको र आफूले गौरी शंकर संरक्षण क्षेत्रका कर्मचारीहरू मार्फत सतर्क हुन आग्रह गरेको प्रजिअ अधिकारीले बताए। उनले भने, ‘अस्तिसम्म डढेलो चीनतर्फ सीमित थियो, हिजोदेखि नेपालतिर आइपुगेको जानकारी आएको छ, मानव बस्तीबाट टाढा भए पनि सुरक्षित रहन आह्वान गरेका छौं।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व उपसचिव तथा वन डढेलोविज्ञ सुन्दरप्रसाद शर्मा नेपाल र चीनको सीमा क्षेत्रमा लागेको डढेलो अलि फरक र संवेदनशील प्रकृतिको भएको बताउँछन्। उनी भन्छन्, ‘यो डढेलो बारे थप अध्ययनको खाँचो छ। यस डढेलोले देशको सीमा हेर्दैन भन्ने सन्देश दिएको छ। दुई देश बीचको सीमा वारपार गरेको डढेलो नियन्त्रणका लागि संयुक्त प्रयास आवश्यक छ।’

स्रोत : राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरण ।

वनै खायो डढेलोले

मंगलबार मात्र १६ वटा जिल्लामा डढेलो र आगलागीका घटना भएको विपद् जोखिम न्यूनीकरण प्राधिकरणको आँकडा छ। प्राधिकरणका अनुसार हुम्लाको चंखेली–३ स्थित खाडा सामुदायिक वन, सिमकोट–४ को बराउटु सामुदायिक वन र मुगुको छायाँनाथ रारा–१३ स्थित रातामाटा चिन्दै सामुदायिक वनमा डढेलो लागेको छ।

त्यस्तै, बुधबार चितवन राष्ट्रिय निकुञ्ज, पूर्वी रुकुमको ढोरपाटन शिकार आरक्ष, हुम्लाको चंखेली–५ मा डढेलो लागेको छ।

डढेलोले जनधनको क्षति मात्र गरेको छैन। वायु प्रदूषण, पानीको मुहान सुक्ने, सुक्खा तथा गर्मी बढ्ने, जैविक विवधता तथा पारिस्थितिकीय प्रणालीमा समेत असर पर्ने गरेको विज्ञहरू बताउँछन्।

गत वैशाख यता मात्र १८२ वटा डढेलो लागेको छ भने दुई हजार ५८१ वटा आगलागीका घटना भए। यो अवधिमा आगलागी र डढेलोमा परेर ७० जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।

पछिल्लो वर्ष वन डढेलोका घटना निकै बढेको आँकडाहरू हेर्दा थाहा हुन्छ। आर्थिक वर्ष २०७८/७९ मा ८३ वटा डढेलो लागेकोमा २०७९/८० मा २६८, २०८०/८१ मा ९६५ र गत आर्थिक वर्ष ७५१ पुग्यो।

गृह मन्त्रालयले निकालेको विपद् प्रतिवेदन अनुसार पछिल्लो ६ वर्षमा आगलागीका १९ हजार ५९३ वटा घटनामा परेर ५९३ जनाले ज्यान गुमाएका थिए। डढेलोले जनधनको क्षति मात्र गरेको छैन। वायु प्रदूषण, पानीको मुहान सुक्ने, सुक्खा तथा गर्मी बढ्ने, जैविक विवधता तथा पारिस्थितिकीय प्रणालीमा समेत असर पर्ने गरेको विज्ञहरू बताउँछन्।

फाइल तस्वीर

हिउँदे डढेलो

सामान्यतया नेपालमा फागुन, चैत, वैशाख र जेठलाई डढेलो लाग्ने महिनाको रूपमा लिइन्छ। त्यही भएर होला वन तथा वातावरण मन्त्रालयले वन डढेलो सचेतना सप्ताह चैत पहिलो साता मनाउने गर्दछ।

तर पछिल्लो केही वर्षयता जाडो महिनामै डढेलोका घटना बढ्न थालेका छन्। ‘मान्छेहरू चिसोमा पनि आगो लाग्छ र ? भनेर सोध्छन्। लाग्छ, चिसोमा पनि लाग्छ’ डढेलोविज्ञ शर्मा भन्छन्, ‘आगो लाग्ने महिना भनेर चैत–वैशाखलाई लिन्छौं तर केही वर्षदेखि चिसो मौसममा पनि डढेलो लाग्न थालेको छ।’

जलवायु विश्लेषक ङमिन्द्र दाहाल हिउँदमा झरी पर्न छाडेपछि हिउँदे डढेलो बढ्न थालेको बताउँछन्। उनी भन्छन्, ‘जलवायु परिवर्तनले गर्दा हिउँदै वर्षा ठ्याक्कै हुन छोड्यो। यसको असर डढेलो लगायत अन्य क्षेत्रमा पनि देखिन थालेको छ।’

मौसमी क्यालेण्डरमा १५ मंसिरदेखि १५ फागुनसम्मलाई हिउँदे याम मानिन्छ। नेपालको कुल वर्षाको १० प्रतिशत आसपास यो अवधिमा पर्नुपर्ने जानकारहरू बताउँछन्। तर विगत केही वर्षयता हिमाली भेगमा हिमपात र उच्च पहाडी क्षेत्रमा छिटपुट वर्षा भए पनि यो अवधि झरी पर्न सकेको छैन।

हुन पनि आर्थिक वर्ष २०७७/७८ मा ९३ र २०७८/७९ मा ८३ वटा डढेलो लागेकोमा त्यस यताका आर्थिक वर्षमा डढेलोको संख्या आठ–नौ गुणा बढेका छन्।

किन बढ्यो डढेलो ?

चट्याङ, खडेरी, सुक्खा हुरीबतास, मौसम र हावापानीका कारणले पनि आगलागी र डढेलो लाग्छन्। तर विगतका घट्नाहरूको विश्लेषण गर्दा प्राकृतिक भन्दा बढी डढेलो मानवीय कारणले लागेको देखिन्छ। चरिचरनका लागि आगो लगाउने प्रवृत्ति, चुरोट–बिंडी, शिकारी, वनभोज, क्याम्प फायर, अवैध काठ कटान, खोरिया फडानी, गोल पोल्ने, जडीबुटी संकलक, राँको बाल्नेहरू आदिले गर्दा डढेलो लागेको देखिन्छ।

आगलागी तथा डढेलो नियन्त्रणका क्रममा ज्यानै जानेसम्मका घटना भएका छन्। भौगोलिक अवस्था, हावापानी लगायत कारणले नियन्त्रण सहज नभएकाले रोकथाममै जोड दिनुपर्ने जानकारहरू बताउँछन्।

वनमा थुप्रिएका पातपतिङ्गर डढेलोको महत्त्वपूर्ण कारण बन्दै गएको जानकारहरू बताउँछन्। पछिल्लो समय किसानहरूको जंगलप्रतिको निर्भरता घट्दै गएको छ। उनीहरू जंगलबाट स्याउला, घाँस, सुकेका पात–झिंजा नलिकाल्दा पातपतिङ्गर थुप्रिएर बस्ने र त्यसैले आगजनीमा मद्दत गर्ने गरेको जलवायु विश्लेषक दाहाल बताउँछन्। उनी भन्छन्, ‘जंगलमा थुप्रिएका पातपतिङ्गर डढेलोका लागि बारुद जस्तो भएर बसेको छ। बेलैमा पातपतिङ्गरको व्यवस्थापन नगर्ने हो भने डढेलको सम्भावना अझै बढ्छ।’

पालिका, प्रदेश र केन्द्र सरकार बीच समन्वयको अभावले पनि डढेलो नियन्त्रणमा समस्या उत्पन्न गरेको सरोकारवालाहरू बताउँछन्। समुदायिक वन, साझेदारी वन र राष्ट्रिय वन संरक्षणमा तीन तहका सरकार बीच समन्वय हुनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्ट बताउँछन्।

फाइल तस्वीर ।

कसरी निभाउने आगो

वन डढेलो अधिक वृद्धि भएपछि प्राधिकरणले प्रतिकार्य योजना नै ल्याउनु परेको छ। ‘वन डढेलो व्यवस्थापन पूर्वतयारी तथा प्रतिक्रार्य योजना’ अन्तिम चरणमा पुगेको प्राधिकरणका कार्यकारी प्रमुख भट्टले जानकारी दिए।

प्रतिकार्य योजनाको मस्यौदामा सात प्रदेशका १३ जिल्लालाई अति जोखिमपूर्ण जिल्ला र १३ वटा जिल्लालाई जोखिमपूर्ण जिल्लामा राखेको छ। अति जोखिमपूर्ण जिल्लामा उदयपुर, चितवन, मकवानपुर, सिन्धुली, पर्सा, तनहुँ, अर्घाखाँची, पाल्पा, बाँके, बर्दिया, सुर्खेत, कञ्चनपुर र कैलाली छन्।

प्राधिकरणले केन्द्रीय नीति बनाउने भएकाले पालिकाहरूले आ–आफ्नो प्रतिकार्य योजना बनाउनुपर्ने कार्यकारी प्रमुख भट्टको सुझाव छ। भट्टले अनलाइनखबरसँग भने, ‘नियन्त्रणका लागि समुदाय तहकै सहभागिता आवश्यक छ। केन्द्रको प्रतिकार्य योजनाले मात्र पुग्दैन, पालिकाले वन क्षेत्रै तोकेर प्रतिकार्य योजना बनाउनुपर्दछ।’

आगलागी तथा डढेलो नियन्त्रणका क्रममा ज्यानै जानेसम्मका घटना भएका छन्। भौगोलिक अवस्था, हावापानी लगायत कारणले नियन्त्रण सहज नभएकाले रोकथाममै जोड दिनुपर्ने जानकारहरू बताउँछन्। प्राधिकरणका कार्यकारी प्रमुख भट्ट भन्छन्, ‘नेपाल जस्तो आर्थिक र मानवीय स्रोत कम भएको देशमा नियन्त्रण जोखिमपूर्ण र कठिन भएकाले रोकथामकै उपायमै लाग्नुपर्दछ।’

लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?