News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुपर लिग (एनएसएल) को चौथो सिजन आगामी ५ सेप्टेम्बर २०२६ देखि होम एन्ड अवे फर्म्याटमा सञ्चालन हुने भएको छ ।
- लिगले आगामी सिजनमा तीन नयाँ टोली थपेर कुल टोली संख्या १० पुर्याउने घोषणा गर्दै नयाँ क्लब सञ्चालनका लागि आवेदन आह्वान गरेको छ ।
- नयाँ विस्तार योजनाअन्तर्गत विशेष गरी विराटनगर, धरान, वीरगञ्ज र सुर्खेत क्षेत्रबाट क्लबका लागि आवेदन आउने अपेक्षा लिगले गरेको छ ।
२० जेठ, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको चौथव सिजनका लागि विस्तार प्रक्रिया सुरु गरेको छ । लिगले आगामी सिजनदेखि होम एन्ड अवे फर्म्याटमा प्रतियोगिता सञ्चालन गर्ने तयारीसँगै तीन नयाँ टोली थप्ने घोषणा गरेको हो ।
एनएसएलका अध्यक्ष श्रेयान्स कार्कीले जारी गरेको विज्ञप्तिका अनुसार ५ सेप्टेम्बर २०२६ देखि सुरु हुने चौथो सिजनमा हाल रहेका सात टोलीसँगै तीन नयाँ टोली थपेर प्रतियोगितालाई १० टोलीसम्म विस्तार गरिनेछ ।
लिगले व्यक्ति, कम्पनी, कन्सोर्टियम तथा फुटबलसँग सम्बन्धित संस्थाहरूलाई नयाँ क्लब सञ्चालनका लागि आवेदन दिन आह्वान गरेको छ । विस्तार योजनाअन्तर्गत विशेष गरी विराटनगर, धरान, वीरगञ्ज र सुर्खेत (कर्णाली) क्षेत्रबाट आवेदन आउन लिग इच्छुक रहेको जनाएको छ । यद्यपी अन्य क्षेत्रबाट आउने उत्कृष्ट प्रस्तावलाई पनि विचार गरिने बताइएको छ ।
यसअघि पहिलो सिजनमा विराटनगर सिटी एफसीले खेलेको थियो । त्यस्तै वीरगन्ज युनाइटेड एफसी दोस्रो सिजन मात्रै खेलेको थियो ।
एनएसएलले नयाँ टोलीको सहभागिताले देशभर व्यावसायिक फुटबलको विस्तार, स्थानीय समर्थकसँगको सम्बन्ध मजबुत बनाउने, क्लब विकास तथा व्यावसायिक वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
लिगले आवेदन प्रक्रिया, योग्यता मापदण्ड र सहभागितासम्बन्धी थप विवरण इच्छुक पक्षलाई उपलब्ध गराउने जनाएको छ ।
‘होम एन्ड अवे संरचनामा रूपान्तरण हुनु लिग र नेपाली फुटबलका लागि महत्वपूर्ण कदम हो । देशभर दिगो र समुदायमा आधारित फुटबल क्लब निर्माण गर्ने हाम्रो दृष्टिकोण साझा गर्ने नयाँ साझेदारलाई स्वागत गर्न हामी उत्साहित छौं’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4