News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानका ग्रामीण क्षेत्रमा ढुङ्गा र माटोले बनेका पुस्तौँ पुराना परम्परागत घरहरू आधुनिक कंक्रिटका भवनका कारण क्रमिक रूपमा लोप हुँदै गएका छन् ।
- मानिसहरू सहर केन्द्रित बन्दा ग्रामीण क्षेत्रका मौलिक घरहरू संरक्षणको अभावमा खण्डहरमा परिणत हुन थालेका छन् ।
- स्थानीय मौलिक कला, संस्कृति र परम्परागत घरहरूको संरक्षण गर्न सके ग्रामीण पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।
६ असार, काठमाडौं । सल्ल्यानका पहाडी बस्तीहरूमा बिहानको घामसँगै टल्किने ढुङ्गाका छाना, माटोले लिपिएका भित्ताहरू र काठका झ्यालढोकाहरू कुनै समय यहाँको पहिचानजस्तै थिए। हिउँदमा न्यानो र गर्मीमा चिसो बनाइराख्ने यी घरहरू केवल बसोबासका संरचना मात्र होइनन्, पुस्तौँदेखि जोगिँदै आएको जीवनशैली, सीप र संस्कृतिका जिउँदा नमुना थिए। तर पछिल्ला वर्षहरूमा यो दृश्य विस्तारै फेरिँदै गएको छ।
गाउँघरका परम्परागत घरहरू आजभोलि लोप बन्दै गएका छन्। खरका छाना, माटोको लिपाइ र स्थानीय सामग्री प्रयोग गरेर बनाइएका घरहरू क्रमशः विस्थापित हुँदैछन्। तिनको ठाउँमा कंक्रिटका पक्की भवन, जस्तापाताले छाएका घरहरू र आधुनिक डिजाइनका संरचनाहरूले बढेका छन् ।
त्यस्तै मानिसहरू सहर केन्द्रित हुँदा पनि गाउँका यस्ता घरहरू खण्डहर बनेका छन् । आधुनिक जीवनशैली, सुविधा र नयाँ प्रविधिप्रतिको आकर्षणले गाउँबाट परम्परागत घरहरू लोप हुने जोखिममा परेका हुन् ।
परम्परागत घरहरू अवसरमा बदल्न सक्ने सम्भावना पनि उत्तिकै छ । यस्ता घरहरू संरक्षण गर्न सके ग्रामीण पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्न सक्छ। मौलिक बस्ती, पुरानो जीवनशैली र स्थानीय कला–संस्कृति पर्यटन विकासका आधारहरू हुन् ।
आज सल्यानका कतिपय बस्तीहरूमा यस्ता घरहरू गन्न सकिने संख्यामा मात्र बाँकी छन्। यदि समयमै संरक्षण र पुनर्निर्माणका प्रयासहरू सुरु गरिएन भने, मौलिक संरचनाहरू लोप हुने खतरा छ । यसका लागि स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीच सहकार्य आवश्यक छ।


प्रतिक्रिया 4