+
+
Shares

अध्यागमनका दुई शाखा अधिकृतसहित ८ विरुद्ध मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ९ गते १३:५५

९ भदौ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई शाखा अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

शाखा अधिकृत मिनर्भा अधिकारी र शान्तराज रेग्मी तथा उजेन्टहरु भरतराज घिमिरे, मिन बहादुर खत्री, शिशिर बहादुर गौतम, विष्णुमणी खनाल, शिव प्रसाद ढुंगाना र ऋषिराम जमरकट्टेलविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय (कार्गो अफिस) का कर्मचारीहरुले सरकारी कामको सिलसिलामा

घुस लिएको सूचनाका आधारमा गएको अख्तियारको टोलीले शाखा अधिकृत अधिकारीलाई ६१ हजार ५ सय र रेग्मीलाई ७९ हजार ५ सय नगदसहित पक्राउ परेको थियो ।

प्रमुख भन्सार अधिकृत दिव्यराज पोखरेल, भन्सार अधिकृतहरु मिनबहादुर अधिकारी, उद्धव ढुंगाना, लक्ष्मीदत्त जोशी, राजेन्द्र बस्नेत, ध्रुव कुमार रेग्मीलाई भने निजामती सेवा ऐन बमोजिम विभागीय कारवाही गर्न सम्बन्धित निकायमा लेखी पठाइएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै सामाजिक सुरक्षा भत्ता अनियमितता गरी भ्रष्टाचार गरेको दावीसहित अख्तियारले पर्साको भिमपुर गाविसका सचिव महमद मन्सुर खाँ र कार्यालय सहायक जितेन्द्रप्रसाद चौहानविरुद्ध मुद्दा दायर गरेको छ । प्रतिवादी बनाई २५ लाख २ हजार ६ सय २५ बिगो मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर भएको छ ।

३५ कर्मचारीलाई १५ दिन थुनामा राख्न अनुमति

यसैबीच म्यानपावर कम्पनीहरूले पेस गरेको झुठा विवरणलाई सही छ भनी प्रमाणित गर्ने ३५ कर्मचारीसहित ३९ जनालाई विशेष अदालतले थुनामा राखी अनुसन्धान गर्न १५ दिनको म्याद दिएको छ । अख्तियारले वैदेशिक रोजगार विभागका १७ कर्मचारी, १८ अन्य कर्मचारी र चार वैदेशिक रोजगार व्यवसायीलाई आइतबार अदालतमा उपस्थित गराएको थियो ।

अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको उपरजिस्ट्रार केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । आयोगले विभागका ३५ जना कर्मचारीलाई गत शुक्रबार पक्राउ गरेको थियो ।

झुठा कागजातलाई आधार बनाई कम्युप्टरमा प्रविष्ट गर्ने, भाषा अनुवाद गर्ने र ठीक छ भनी फाइल पेस गरी वैदेशिक रोजगारीमा जाने ७७ जना नेपाली नागरिकलाई अनुमतिपत्र दिएको आरोपसहित अख्तियारले कर्मचारीहरुलाई पक्राउ गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?