Comments Add Comment

यी हुन् विद्यालयमा बम पड्काउने मीन देवकोटा

बस जलाउनेलाई उन्मुक्ति, बम हान्नेलाई के गर्ने ?

bomb_jorpati2
विद्यालयमा भेटिएको बम निष्कृय पारेपछि नेपाली सेना

४ असोज, काठमाडौं । मंगलबार काठमाडौंका करीव एक दर्जन स्कूलमा बम राखेर आतंक मच्चाउने माओवादीका पूर्वलडाकुहरुको अर्धभूमिगत समूह रहेको पत्ता लागेको छ ।

विद्यालयमा बम राख्न निर्देशन दिने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका नेता भनिने मीन देवकोटा मंगलबार अनलाइनखबरसँग टेलिफोन सम्पर्कमा आए र उनले घटनाको जिम्मेवारी लिए ।

अनलाइनखबरकर्मीले टेलिफोन गर्नासाथ देवकोटाले भने, ‘आज स्कुलमा बम मैले राखेको हुँ । डिजाइन मेरो हो ।’

घटनास्थलमा ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र’ तथा ‘योङ कम्युनिष्ट फोर्स नेपाल’को नामको पर्चा भेटिएको थियो । माओवादी शान्ति प्रक्रियामा आएलगत्तै हतियार नबुझाई क्रान्तिकारी कम्युनिस्ट केन्द्र खोलेका केही व्यक्तिले बम आतंक मच्चाएको पुष्टि भएको छ ।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग मिल्दोजुल्दो नाम भएको यही समूहले गत साउन ६ गते काठमाडौंको स्वयम्भुस्थित डल्लुमा एक विद्यालयको बस जलाएको थियो भने राई स्कुलमा तोडफोड गरेको थियो ।

‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’सँग आवद्ध विद्यार्थी संगठनले मंगलवारको घटनाको जिम्मा लिएको छ । आफूलाई ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र’को अध्यक्ष बताउने मीन देवकोटाले अनलाइनखबरसँग कुरा गर्दै आफूहरुले जनयुद्धलाई निरन्तरता दिइरहेको बताए ।

भिडियो पनि हेर्नुहोस् 

कसले गरेको छ नेतृत्व ?

संविधान निर्माणका क्रममा संवैधानिक राजनीतिक सम्वाद समितिले बनाएको वार्ता समितिले यो समूहसँग ०७१ सालमा वार्ता गरेको थियो

‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’ कथित अर्धभूमिगत समूह हो । यसको नेतृत्व देवेन्द्र सिंह (डीएस) महतले गरिरहेका छन् । उनको भूमिगत नाम ‘निर्माण’ हो ।

संविधान निर्माणका क्रममा संवैधानिक राजनीतिक सम्वाद समितिले बनाएको वार्ता समितिले यो समूहसँग ०७१ सालमा वार्ता गरेको थियो । त्यतिबेला डा. बाबुराम भट्टराई नेतृत्वको सरकार थियो र शान्तिमन्त्री टोपबहादुर रायमाझी थिए ।

यो समूहले कांग्रेस सांसद आनन्द ढुंगाना नेतृत्वको वार्ता समितिको रोहबरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हतियार, गोली, बारुद, सकेट बम लगायतका हतियार सरकारलाई बुझाएको थियो ।

एसएमजी एक थान, १४ थान पेस्तोलसहितका हतियार बुझाउन पार्टीका अध्यक्ष महत आफैं पुगेका थिए ।

त्यसबेला मकवानपुरमा तत्कालीन प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे थिए । हाल पर्सामा रहेका घिमिरे भन्छन्, ‘हामीले अपनाएको युद्धको बाटो बेठीक रहेछ, शान्तिको बाटोमा आउँछौं भन्दै हतियार बुझाएका थिए ।’

को हुन् महत ?

महत १० वर्षे माओवादी जनयुद्ध लडेका थिए । बैतडी जिल्ला निवासी उनी तत्कालीन माओवादी लडाकूको बटालियन सहायक कमाण्डर थिए ।

हतियार बिसाउने र शान्तिपूर्ण राजनीतिमा लाग्ने पार्टी निर्णयको विरोध गर्दै महत पार्टीबाट अलग भए । त्यसपछि केही व्यक्तिहरु भेला गरेर ‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’को नामबाट सशस्त्र गतिविधि गरे ।

स्कूलमा बम राखेर जनयुद्ध ?

देवकोटाका अनुसार घटनास्थलमा भेटिएको पर्चामा उल्लेखित ‘योङ कम्युनिष्ट फोर्स नेपाल’ पनि डीएस महत नेतृत्वको ‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’को भ्रातृ संगठन हो र त्यसको नेतृत्व जितेन्द्र श्रेष्ठ ‘सुमन’ले गरेका छन् ।

शान्तिपूर्ण राजनीति गर्ने भनेर हतियार बुझाइसकेको समूहले अहिले राजधानीका स्कुलहरुमा बम आतंक मच्चाइरहेको छ र जनयुद्धलाई निरन्तरता दिइरहेको जनाएको छ ।

स्कुलमा बम राखेर जनयुद्ध हुन्छ त भन्ने अनलाइनखबरको प्रश्नमा देवकोटा भन्छन्- अहिले पनि ८ प्रतिशत बालबालिका शिक्षाको नैसर्गिक अधिकारबाट बञ्चित छन् । अब हाम्रो संघर्ष उत्कर्षमा पुग्छ । अहिले शिक्षा क्षेत्रमा हात हाले पनि पछि स्वास्थ्य र यातायातको क्षेत्रमा पनि हात हाल्न सक्छौं ।’

साधारण तारिखमा छुटेर बमको धन्दा

उपत्यकाका विभिन्न स्कुलमा बम विष्फोट गराएको आरोपमा मंगलबार शंकर लाखे र चन्द्रबहादुर तामाङ पक्राउ परेका छन् । उनीहरु गत साउन ६ गतेको घटनामा पनि पक्राउ परेर साधारण तारिखमा छुटेको खुलेको छ ।

गत साउन ६ गते काठमाडौंको स्वयम्भुस्थित डल्लुमा विद्यालयको बस जलाइएको थियो । त्यसको भोलिपल्टै लाखे र तामाङ बौद्ध क्षेत्रबाट पक्राउ परेका थिए । साउन १६ गते कुमार लाखे ठकुरी, विष्णु पौडेल पनि पक्राउ परे । सोही आगजनीको आरोपमा होमबहादुर खत्री पनि पक्राउ परेका थिए ।

उनीहरुका साथबाट कुनै हातहतियार बरामद नभएपछि स्वयम्भु वृत्तले ३२ लाख विगो र पाँच वर्ष कैद सजायँको मागदावी सहित पाँचैजना विरुद्ध जिल्ला अदालत काठमाडौंमा आगजनीको मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतमा उनीहरुले आफूहरु माथि लगाइएको आरोप अस्वीकार गरेपछि साधारण तारिखमा छुटकारा दिइएको थियो ।

स्वयम्भु वृत्तका एक अनुसन्धान अधिकृतका अनुसार लाखे र तामाङ दुबैले आफूहरु विप्लव माओवादीको कार्यकर्ता भएको बताएका थिए । तर अदालतमा उनीहरुले सोही पार्टीको भए पनि आगजनीको घटनामा आफूहरु संलग्न नभएको बताएपछि छुटकारा पाएका हुन् ।

बसमा आगजनी आफ्नै पार्टीले गरेको भए पनि घटनामा अरु नै संलग्न भएको बयान दिएका उनीहरुले घटनामा संलग्न व्यक्तिहरुको बारेमा भने नखुलाएको प्रहरी स्रोतले बतायो ।

अदालतमा पनि आफूले नभए पनि आफ्नै पार्टीले आगजनी गरेको स्वीकार गरेका अभियुक्तहरुलाई सामान्य तारिखमा छुटकारा दिँदा अहिले फेरि बम विष्फोट गराएर आतंक मच्चाएको ती अधिकृतले बताए ।

यो पनि पढ्नुहोस् 

राजधानीका दुई विद्यालयमा बम बिष्फोट, दुई पक्राउ

राजधानीका विद्यालयमा बम आतंक (फोटोसहित)

‘दसैंको मुखमा चन्दा उठाउन विद्यालयमा बम आतंक ?’

विप्लवका कमाण्डरले भने-नेपालीको स्कूलमा बम पड्काउदैनौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment