Comments Add Comment

‘युवामाथि चाँडै पैसा कमाउनुपर्ने सामाजिक दबाव छ’

तराई मधेसका युवाहरू लर्को लागेर वैदेशिक रोजगारीमा जानुको पछाडि एउटै कारण छैन । आर्थिक, सामाजिक तथा राजनीतिक कारणले गर्दा उनीहरू विदेशिन बाध्य छन् । युवामाथि छोटो समयमा बढी पैसा कमाउनुपर्ने सामाजिक दवाव छ । जसले गर्दा ऊ पैसा कमाउन जस्तोसुकै पेशा गर्न बाध्य हुन्छ ।

युवा वर्गमा देखिएको कतिपय विसंगतिको कारण पनि अत्यधिक दबाव हो । थेग्नै नसक्ने जिम्मेवारी हो । आर्थिक अभाव, राजनीतिक अस्थिरता र सामाजिक दवावले गर्दा उनीहरू कलिलो उमेरमै वैदेशिक रोजगारीमा गइरहेका छन् । दुर्भाग्य, यसको असर गुणस्तरीय शिक्षामा पनि परेको छ । यसले दीर्घकालसम्म नकारात्मक असर पार्ने देख्छु म त ।

मधेसबाट हुलका हुल युवाहरु विदेशिनुको महत्वपूर्ण कारण गुणस्तरीय शिक्षाको अभाव हो । राम्रो शिक्षा भएन भने यहाँ आम्दानी हुने रोजगारी पाउने कुरै भएन । जब कि खाडी देशमा अदक्ष कामदारले पनि सुखदुःख केही रकम बचाउने गरेका छन् ।

शिक्षा गुणस्तरीय हुने हो भने युवाले आफ्ना लागि मात्रै होइन, देशकै लागि आर्जन गरेर देखाउन सक्थे । उद्योग, कलकारखाना स्थापनामा लाग्थे । स्वालम्बनको बाटो अंगाल्थे ।

कसैले महँगो गाडी चढ्यो, ठूलो मोबाइल बोक्यो भने उसको सम्मान हुन्छ । उसले त्यो गाडी कहाँको पैसाले किन्यो भन्नेतिर कसैको ध्यान जाँदैन । यसले हाम्रो सामाजिक मूल्य–मान्यतामै दोष छ कि जस्तो पनि देखिन्छ

उद्यमशीलताका लागि साधन, स्रोतको अभाव अर्को समस्या हो । त्यस्तै, उचित तालिमको पनि अभाव छ । व्यवसायिक तालिमका लागि काठमाडौं नै पुग्नुपर्छ । भक्तपुरस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले दिने तालिमको सबैतिर मान्यता छ ।

अर्को कुरा, चेतनाको पनि अभाव हो । विदेशमा कमाएको पैसाले हतार–हतार घर वा जग्गा खरिदमा खर्च हुन्छ । उत्पादनशील काममा लगाउँदैनौं । यसले के देखाउँछ भने पैसाले मात्रै हाम्रो विकास हुँदो रहेनछ । पैसा हुनु नै विकास हो भन्ने थाल्यौं भने त्यो मूर्खता शिवाय केही होइन ।

महंगो मोवाइल बोक्ने, मोटरसाइकल–गाडी चढ्ने, घरजग्गा भएको, शहरमा बस्नेलाई ठूलो मान्छे भन्ने मानसिकता छ । ठूलो घर भएपछि उसको सामाजिक प्रतिष्ठा बढ्छ । गाउँमा नबस्ने, कृषि पेशा छोड्ने संस्कृति जस्तै बनिसकेको छ । जब कि कृषिमा पर्याप्त लगानी हुने हो भने कुनै युवालाई विदेश जानुपर्दैन । मधेसबाट त झन जानै पर्दैन । तर, हाम्रो ध्यान त्यता जान सकेको छैन ।

कसैले महंगो गाडी चढ्यो, ठूलो मोवाइल बोक्यो भने उसको सम्मान हुन्छ । उसले त्यो गाडी कहाँको पैसाले किन्यो भन्नेतिर कसैको ध्यान जाँदैन । यसले हाम्रो सामाजिक मूल्य मान्यतामै दोष छ कि जस्तो पनि देखिन्छ ।

फलानाको छोराले यति कमायो, उति कमायो, त्यसैले तिमी पनि त्यही बाटोमा लाग भनेर भनिरहेका हुन्छौं । कमाउने कुराको अगाडि बाँकी सबै कुरालाई गौण ठानीदिन्छौं । अहिले पैसा नै सबथोक हो भन्ने सोचाइ नै प्रमुख समस्या हो ।

युवाहरु विदेश जाने कारणले गुणस्तरीय शिक्षा तीव्र गतिमा ओरालो लागेको छ । अवैध सम्बन्ध, गर्भपतन बढ्दो छ । ज्येष्ठ नागरिकलाई वेवास्ता गर्ने, आदर नगर्ने क्रम बढ्दो छ ।

मेरो घर महोत्तरीको एकडारा गाउँपालिकामा पर्छ । मेरो गाउँको कुरा गर्नुहुन्छ भने त्यहाँ ७०/८० प्रतिशत महिला बस्छन् । किनभने पुरुषको ठूलो संख्या विदेशमा छन् । तराईको अन्य गाउँको अवस्थामा पनि यो भन्दा भिन्न छ भन्ने मलाई लाग्दैन ।

अधिकांश गाउँमा महिलाको संख्या धेरै हुनुको पनि विभिन्न असर छन् । जस्तो पुरुषले गर्न सक्ने शारीरिक बलको काम गर्ने मान्छेको अभाव छ । त्यो भन्दा पनि ठूलो कुरा नीतिनिर्माताहरूले जे चाहन्छ, त्यही गर्न पाइरहेका छन् । किनभने, एक त शिक्षामा पुरुष भन्दा महिला पछाडि छन् । दोस्रो, महिलाहरूमा जागरुकता कम छ । जसले गर्दा स्थानीयको आवश्यकताभन्दा पनि बनाउनेको स्वार्थ अनुसार नीतिहरू बनिरहेका छन् । यसको दीर्घकालीन असर छ भन्ने लाग्छ ।

बालबालिकालाई शिक्षा दिनुपर्छ भन्ने चेतना त आयो । शुल्क तिर्ने, किताब, कपी, युनिफर्म किन्ने पैसा पनि भयो । तर, कस्तो शिक्षा दिने भने ज्ञानको अभाव छ । महंगो विद्यालयमा पढाउँदैमा राम्रो शिक्षा प्राप्त हुन्छ भन्ने त छैन ।

दश कक्षा पास गर्दासम्म पनि बुबालाई ढोग्ने कि नढोग्ने भन्ने थाहा हुँदैन । विद्यालयले कस्तो आचरण सिकाइरहेको छ भनेर जान्ने अभिभावक कमैको घरपरिवारमा छ । त्यति मात्रै होइन, गृहकार्य गराउन सक्ने अभिभावक पनि विदेशमै छन् ।

युवाहरु विदेश जाने कारणले गुणस्तरीय शिक्षा तीव्र गतिमा ओरालो लागेको छ । अवैध सम्बन्ध, गर्भपतन बढ्दो छ । ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने, आदर नगर्ने क्रम बढ्दो छ

विकास निर्माणका लागि नभई नहुने क्षमतावान, सीप जानेका युवा त विदेश आपूर्ति गरिरहेका छौं । विदेशलाई काम गर्न सक्ने, क्षमतावान मान्छे चाहिन्छ भने नेपाल बनाउनका लागि पनि दक्ष युवाहरूको खाँचो छैन र ?

पढेलेखेका, सचेत भनिएका जमात विदेशमा भएपछि यहाँ गलत प्रथाको विरोध कसले गर्ने ? दाइजो प्रथा झाँगिनुको एउटा कारण युवाहरू विदेशिनु पनि हो ।

तर, यसको अर्को पक्ष के छ भने वैदेशिक रोजगारीमा जान नपाएको भए आर्थिक खडेरी लाग्थ्यो । चोरी, डकैती हुन्थ्यो । यहाँ मान्छेले मान्छे खाने अवस्था आउँथ्यो ।

खासगरी शासन सत्ताको पहुँचभन्दा बाहिर रहेका जातिहरू विदेश जाने क्रम बढ्दो छ । अवसरको अभावमा जति नजाऊ भने पनि उनीहरू विदेश जान्छन् । मधेसमा सबैभन्दा बढी मुस्लिम र कथित दलित त्यसपछि आदिवासी जनजातिहरू विदेशिएका छन् । त्यसरी जानेमा माथिल्लो जातकाहरू तुलनात्मक रुपमा कम छन् ।

विदेश जाने कुरामा मात्रै होइन, सामाजिक सञ्जालको प्रयोग, पहिरन, घर फर्किने समयजस्ता कुरामा पनि हाम्रो समाज महिलाको विषयमा उदार हुन सकेको छैन । अपरिचितसँग ‘फ्रेन्डली’ व्यवहार नगर्ने जस्ता समस्या छन्

लैंगिकरुपमा भन्ने हो भने मधेसबाट विरलै महिलाहरू विदेश गएका छन् । लैंगिक समानताको दृष्टिले हेर्दा तराईको समाज अहिले पनि संकीर्ण छ । महिलालाई सकेसम्म स्वतन्त्रता दिन चाहँदैन । परम्परागत मूल्य मान्यता अनुसारै चल्नुपर्छ । वैदेशिक रोजगारीमा जाने कुरा त सोच्न पनि सक्दैनन् ।

विदेश जाने कुरामा मात्रै होइन, सामाजिक सञ्जालको प्रयोग, पहिरन, घर फर्किने समय जस्ता कुरामा पनि हाम्रो समाज महिलाको विषय उदार हुन सकेको छैन । अपरिचितसँग ‘फ्रेन्डली’ व्यवहार नगर्ने जस्ता समस्या छन् ।

मधेसभित्र पनि समुदायगत रुपमा अवस्था फरक–फरक छ । यो सबै सोचाइको कुरा हो ।

यति हुँदाहुँदै सकारात्मक कुरा के छ भने महिलाप्रतिको सामाजिक दृष्टिकोणमा विस्तारै परिवर्तन आउन थालेको छ । जस्तो मुस्लिम महिलाहरू फाट्टफुट्ट नोकरी गर्न घर बाहिर निस्कन थालेका छन् । पार्टीहरूमा महिला भेटिन थालेका छन् । राति बाहिर बस्न नपाए पनि दिनमा बाहिर निस्कन खुला हुन थालेको छ । र, यो परिवर्तनलाई समाजलाई पचाउँदै जान थालेको छ । यसमा पनि वैदेशिक रोजगारीको भूमिका छ ।

पहाडी समुदायबाट महिलाहरू विदेश गएका छन् । त्यसरी पठाउँदा दक्ष कामदार, सुरक्षा र सुविधाको प्रत्याभूत गरेर मात्रै पठाउनुपर्छ । अदक्ष कामदार त पठाउँदै नपठाउँ भन्छु ।

कार्ल मार्क्सले भन्नुहुन्थ्यो– जब पैसा हुन्छ, मान्छेले आफ्नो इच्छा पूरा गर्न विभिन्न उपायहरू खोज्छ । रेमिट्यान्सकै कारण तराईको परम्परागत संरचनामा फेरबदल आउन थालेको हो । वैदेशिक रोजगारीले आर्थिक मात्रै होइन, सामाजिक, सांस्कृतिक हलचल ल्याएकोमा दुई मत नहोला ।

(यादव जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा समाजशास्त्र पढाउँछन् ।)
याे पनि पढ्नुहाेस्

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- १ : सक्ने जति सबै विदेश

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- २ : ‘हरि घर त आए तर, रातो कफिनमा’

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- ३ : मधेसमा वैदेशिक रोजगारीले उठाएको ‘घूँघट’

मधेसमा वैदेशिक रोजगारीको प्रभाव- ४ : श्रीमान विदेशमा हुँदा श्रीमती देवरसँग हिँडिन्

                                                                देवर हुन् त सोनहा खातुनको जस्तो !

मधेसमा वैदेशिक रोजगारीको प्रभाव – ५ : कहाँ जान्छ विदेशको कमाइ ?

मधेसमा वैदेशिक रोजगारीको प्रभाव – ६ : चार भाइ नै कतारमा ! घरमा रंग छैन, शरीरमा रोग छ

मधेसमा वैदेशिक रोजगारीको प्रभाव – ७ : जनकपुरमा श्रम स्वीकृति लिनेका दुःख 

मधेसमा वैदेशिक रोजगारीको प्रभाव – ८ : भारतीय चेली नेपालमा, नेपाली युवा खाडीमा !

मधेसमा वैदेशिक रोजगारीको प्रभाव – ९ : प्रदेश दुई म्यानपावर दलालका लागि उर्वरभूमि

मधेसमा वैदेशिक रोजगारीको प्रभाव –१०: पूरै जवानी विदेशमा खर्चिने अवस्था हटाऔं

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment