१२ असोज विराटनगर । गत असार ४ गते विराटनगरबाट सीमावर्ती क्षेत्र बुधनगर लैजादै गरेको अवस्थामा ३० बोरा मरिचसहित प्रहरीले दुईवटा अटो नियन्त्रणमा लियो ।
सीमावर्ती क्षेत्र रानीबाट नियन्त्रणमा लिएको मरिच कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएपनि कार्यालयले सप्लायर्सलाई नै फिर्ता दियो । २० दिन अनुसन्धानका लागि राखेको राजस्व कार्यालयले २१ असारमा खरिदकर्ता कञ्चन खरिद बिक्री केन्द्रलाई पत्र काटेर ३० बोरा (७५० केजी) मरिच फिर्ता लैजान भन्यो ।
कञ्चन खरिद बिक्री केन्द्र रहेको स्थानमा आसपास सानो बस्ती छ । बस्तीलाई १० केजी मरिचले एक वर्षसम्म पुग्छ । तर साढे सात सय किलो मरिच किन लगियो ? प्रहरी भन्छ ‘भारतमा तस्करीका लागि ।’
सीमावर्ती क्षेत्रमा रहेको कञ्चन खरिद बिक्री केन्द्रले मात्र होइन अधिकांश पसलबाट भारतमा मरिच तस्करी हुन्छ भन्ने धेरैलाई थाहा छ । स्थायी लेखा नम्बरसमेत भएका ब्यापारीले स्वदेशमै बिक्री गर्ने भनेको मरिच प्रहरीको आँखा छल्दै भारत पुर्याउने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठ बताउँछन् ।
‘हामीले समातेर बुझाँउछौं राजस्व कार्यालयले छाडिदिन्छ’ श्रेष्ठ भन्छन् ‘बोर्डरमा राजस्वबाट अनुमति लिएर तस्करीका लागि गोदाम खुलेका छन्, दायाँ बायाँ हेर्दा प्रहरी नदेखे पारी खटाइहाल्छन् ।’

सीमा नाकाबाट २० मिटरको दुरीसम्म व्यापारीले गोदाम सञ्चालनको अनुमति पाएका छन् । ती क्षेत्रमा खुलेका गोदाममा राखेर मरिच भारत तस्करी हुने गरेको प्रहरीको दाबी छ । व्यापारीले स्थायी लेखा नम्बर लिएर सीमा क्षेत्रमै पसल थापेर व्यापारीहरुले मरिचको कारोबार गर्दै आएका छन् ।
मोरङको ६३ किलोमिटर क्षेत्र भारतसँग सीमाना जोडिएको छ । सो क्षेत्रमा १६५ भन्दा बढी गोदाम रहेको प्रहरीको तथ्यांक छ । ती गोदामको प्रयोग हुँदै भारतबाट नेपाल र नेपालबाट भारतसम्म तस्करीका सामान पुग्छन् । भारतमा आयात गरिने तस्करीका सामान ती गोदाम हुँदै जाने श्रेष्ठको दाबी छ ।
सीमा नाका छेउमा खुलेका पसलहरुले पनि भ्याट बिलमार्फत विक्रीका लागि बजारबाट लगेको मरिच भारतको पूर्णियसम्म पुर्याउँछन् ।
प्रहरीको दाबीअनुसार विराटनगर बजार क्षेत्रबाट मासिक १० हजार किलोसम्म मरिच बिक्रीका लागि भन्दै सीमावर्ती क्षेत्रका पसलहरुमा पुग्ने गरेको छ । स्थायी लेखा नम्बर लिएर मरिच ढुवानी गरेका कारण रोक्न नसकिएको डिएसपी श्रेष्ठ बताउँछन् ।
एक किलोमै ६४ रुपैयाँ फाइदा
स्थानीय व्यापारीहरुका अनुसार मरिच भारतमा भन्दा नेपालमा सस्तो छ । तस्करी गरी भारतसम्म पुयाउन सके खर्च कटाएर प्रतिकेजी ४० रुपैयाँ भारुसम्म मुनाफा हुन्छ ।
‘नेपालमा सरदर बढीमा ३०० रुपैयाँ भारु प्रतिकेजी पर्छ’ ती ब्यापारीले भने ‘ पूर्णियासम्म पुर्याउन सके न्यूनतम ४० रुपैयाँ भारु (६४ रुपैयाँ नेपाली) मुनाफा हुन्छ ।’ भारत तस्करीका लागि व्यापारीहरुले तेस्रो मुलुकबाट मरिच आयात गर्छन् ।
आयात वर्षेनी बढ्दो
भारततर्फ तस्करी बढेपछि तेस्रो मुलुकबाट मरिच आयात पनि बढेको छ । भन्सार कार्यालय विराटनगरको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५– ७६ मा विराटनगर भन्सार कार्यालय हुँदै १ अर्ब २५ करोड २९ लाख ८० हजार रुपैयाँ बराबरको ३० लाख ४७ हजार किलो मरिच आयात भएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७४–०७५ मा १ अर्ब ३० करोड ९२ लाख ८८ हजार बराबरको ३२ लाख ३० हजार २४८ केजी मरिच नेपाल भित्रिएको थियो भने २०७३–७४ मा ११ करोड २१ लाख ३३ हजार मूल्य बरावरको एक लाख ४८ हजार एकसय ८६ किलो मरिच आयात भएको थियो । भारततर्फ मरिच तस्करीको लाइन २०७३–७४ मा खुलेपछि आयात एक्कासी बढेको व्यापारीहरु बताउँछन् ।
भारतमा डेढ करोडको मरिच नियन्त्रणमा
नेपालबाट तस्करी हुने मरिचमा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । भारतीय प्रहरीको फारबीसगञ्ज प्रहरी थाना सेप्टेम्बर पहिलो साता डेढ करोड रुपैयाँ बराबरको मरिच बरामद गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विराटनगर भन्सार हुँदै भित्रिएको मरिच मोरङ र सुनसरी नाका हुँदै भारतसम्म पुग्छ । मरिच तस्करीमा प्रहरीले ग्रिन सिग्नल दिएरका कारण फस्टाएको स्रोत बताउँछ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4