
२ माघ, मोरङ । प्रदेश १ सरकारले आफ्नै मातहतको ट्रमा सेन्टरसहितको प्रादेशिक अस्पताल बनाउने घोषण गरेको मंगलबारे अस्पतालमा रहेका उपकरण प्रयोगविहीन भएका छन ।
आवश्य जनशक्ति अभावमा मेजर अप्रेसन गर्न खरिद गरिएका उपकरण अस्पतालमा थन्किएका हुन् ।
प्रदेश सरकारको बजेटबाट गत आर्थिक वर्षमा २ करोड रुपैयाँ बराबरका उपकरण अस्पतातले खरिद गरिएको थियो । ती उपकरणहरु सञ्चालनको तयारीका लागि सेट गरिएको भए पनि जनशक्ति अभावमा प्रयोगमा आउन सकेका छैनन् ।
मंगलबारे अस्पताल व्यवस्थापक समितिका सदस्य कमलनारायण मल्लिकले प्रदेश सरकारकै सहयोगमा जटिल खालका रोगको अप्रेसनका लागि २ करोड रुपैयाँको लागतमा तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक बेडसहित उपकरण खरिद गरी अस्पतालाई दिएको बताए ।
तर हाल नगर अस्पतालका रुपमा मात्रै रहेको मंगलबारे अस्पतालमा बिषेशज्ञसहितका चिकित्सक नहुँदा उपकरणहरु बन्द कोठामा थन्किएको मल्लिकको भनाइ छ ।
‘प्रदेश सरकारबाटै प्राप्त उपकरण थन्काएर राख्र्नुपर्ने अवस्था छ,’ सदस्य मल्लिकले भने, ‘प्रादेशिक अस्पतालको लागि सरकारले निर्णय गरिसकेको छ । आवश्यक जनशक्तिको पद सिर्जना गरी भएका उपकरण प्रयोगमा ल्याउन प्रदेश सरकारले चाँडै सोच्न आवश्यक छ ।’
उपकरण प्रयोगमा ल्याउन सके यस भेगका जनताले सर्बसुलभ मूल्यमा राम्रो स्वस्थ्य सेवा लिन अनेत्र धाउनु पर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ ।
एक साताअघि मात्र प्रदेश सरकार मन्त्रिपरिषदले उर्लाबारी नगर अस्पताल रहेको मंगलबारे अस्पताललाई बिषेशज्ञ चिकित्सक र त्यसका लागि आवश्य उपकरणसहितको प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो ।
सडक दुर्घटना र प्राकृतिक प्रकोपमा परेकालाई तत्काल यथोचित उपचारको प्रबन्ध मिलाउने योजनासहित विशेषज्ञ सेवासहितको ट्रमा सेन्टरसहितको अस्पतालको रुपमा विकास गर्न लागेको जनाएको छ ।
तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र रहेको उर्लाबारीस्थित मंगलबारे अस्पताल हाल १५ शैय्याको रहेको छ ।
अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरी प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको हो । त्यसका लागि गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी चार करोड बजेट छुट्याएको छ । जसमा गएको आर्थिक वर्षको २ करोड रुपैयाँले आवश्य उपकरण खरिद गरिएको थियो ।
जिल्लाकै सुदूरपूर्वी भेगमा रहेको यो अस्पताल राजमार्गसँग जोडिएकै कारण हरेक दिन बिरामीको चाप हुने गरेको छ ।
नगर अस्पतालका रुपमा हाल रहेको भए पनि यस अस्पतालबाट सरकारले निःशुल्क प्रदान गर्ने आमा सुरक्षित कार्यक्रम अन्तर्गत प्रसूति सेवा, क्षयरोगको परीक्षणका साथै निःशुल्क औषधि वितरण गर्नेलगायतका सेवाहरु प्रवाह हुँदै आएको छ । जसका कारण सधै जस्तो यो अस्पतालमा सेवा लिने बिरामीको बढी चाप हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा योगेशकुमार मण्डलले जानकारी दिए ।
उनले अहिले अस्पताल मेडिकल अफिसरको नेतृत्वमा सञ्चालन हुँदै आएको बताए । अस्पतालमा बिषेशज्ञा डाक्टरको दरबन्दी नरहेकाले सोचे अनुरुप स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको उनको भनाइ छ ।
हालै मात्र अस्पतालमा दन्त चिकित्सक सेवा भने सुरुगर्न सफल भएको उनले बताए ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले प्रादेशिक अस्पतालका रुपमा मंगलबारे अस्पताललाई बनाउने निर्णय गरिसकेकाले त्यका लागि आवश्य संरचना निर्माणमा सरकारले ध्यान दिने बताए ।
मन्त्री घिमिरेले प्रादेशिक अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधारसहित लाग्ने जनशक्ति र सेवाका लागि उपकरणका बारेमा आवश्यक खाका तयार गरी सोहीअनुसार योजनाबद्ध रुपमा अगाडि बढ्ने बताए ।
उनले यही चालु आर्थिक वर्षमै अस्पतालाई ५० शैय्यामा विस्तार गरी ट्रमा सेन्टरका लागि पनि संरचना खडा गरिने बताए ।
नेपालमा वीर अस्पतालमा मात्र ट्रमा सेन्टर भएकाले ट्रमा सेन्टर रहे पनि प्रदेशवासीले पनि उपत्यका बाहिर ट्रमा सेन्टरसहितको अस्पतालको सेवा पाउनेछन् ।
२०४९/०५० सालमा नेपाल सरकारबाट स्वीकृत भइ प्राथमिक स्वास्थ्य केन्ऽको रुपमा उर्लाबारी-६ मंगलबारेमा अस्पताल स्थापना भएकोे थियोे ।
मंगलबारे अस्पताल अहिले उर्लाबारी नगर अस्पतालका रुपमा रहँदै आएको छ ।
प्रतिक्रिया 4