Comments Add Comment

सुडाल प्रकरण : धम्क्याउने ‘सुपारी’ लिएर हत्या !

अपराध महाशाखाले समात्यो तीन आरोपित

२७ असोज, काठमाडौं । भक्तपुरका ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा) गत बुधबार चाँगुनारायण नगरपालिका–८, सुडालस्थित पसलमा बसिरहेका थिए । अपरान्ह साढे ४ बजेतिर दुई जना युवा आएर जग्गा खोज्दै हिँडेको सुनाए । यो सुन्नासाथ गाउँमा झारफुकसँगै जग्गा कारोबारमा पनि सक्रिय लामा चनाखो भए ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपककुमार थापाका अनुसार दुई जनाले आफन्तका लागि जग्गा चाहिएको सुनेपछि लामाले एक किलोमिटरको दूरीमा रहेको विडोलफाँटमा जमिन रहेको सुनाए । सिन्धुपाल्चोकका २३ वर्षीय रमेश तामाङ (ज्वाला) र रामेछापका २७ वर्षीय प्रेम तामाङ लामालाई लिएर जग्गातिर गए ।

धान खेत रहेको जग्गामा पुगेपछि तामाङद्वयले ‘एउटै जग्गा सबैलाई देखाउने’ भन्दै लामालाई गाली गरेपछि विवाद भएको अनुसन्धानका क्रममा खुलेको छ । महाशाखा प्रमुख थापा भन्छन्, ‘खासमा सिन्धुपाल्चोकका ३७ वर्षीय शेर्पा भन्ने कामी लामाले वैना लिएर जग्गा पास नगरी ठगेको भनेपछि थर्काउन गएका रहेछन् ।’

त्यसक्रममा दुईमध्ये एकले मुक्का हान्दा चन्द्रबहादुर ढले । धानबारीमा लडेका उनलाई अस्पताल लैजान लैजानुकास साटो दुबैको नजर दुई तोलाको सुनको ब्रास्लेट र मोबाइलमा परेको महाशाखाका एसपी ईश्वर कार्की बताउँछन् ।

त्यसपछि सुन तानेर उनीहरु सडकतिर निस्किएको अनुसन्धानका क्रममा खुलेको छ । ‘लामासँग कुनै सम्बन्ध पनि नभएको र नजिकै देख्ने कोही नभएकाले भागेपछि कसैले थाहा नपाउने उनीहरुले सोचेका रहेछन्’, कार्की थप्छन् ।

अर्धवेहोसी अवस्थामा रहेका लामा भने घिस्रिँदै केहीपर पुगे । त्यहाँ भेट भएका स्थानीयले उनलाई मध्यपुर अस्पताल पुर्‍याए । तर, अस्पतालले त्यहाँ उपचार सम्भव नभएको बताउँदै ग्रिनसिटी अस्पताल, बसुन्धारामा रिफर गरिदियो ।

त्यहीँ उपचारका क्रममा बिहीबार बिहान लामाको मृत्यु भएको छ । अस्पतालका चिकित्सकहरुका अनुसार कुटपिटबाट आन्द्रामा रक्त सञ्चार गर्ने नसा फुटेपछि रक्तश्रावका कारण लामाको मृत्यु भएको पाइएको छ ।

दोस्रो प्रयासमा लामाको हत्या

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार लामालाई थर्काउने योजना १८ असोजमै बनेको थियो । त्यही अनुसार रेकी गर्दै तीन जना लामाको घरसम्म पुगेका थिए । पसलमा भिड भएका कारण उनीहरु फर्किएको पाइएको प्रहरी बताउँछ ।

दोस्रो पटक २१ असोजमा योजना अनुसार लामालाई भेटेको तर हत्या गर्ने पूर्व योजना नभएको पक्राउ परेका व्यक्तिको दाबी छ ।

प्रहरीका अनुसार घटनामा बा ९६ प ७११४ नम्बरको एनएस २०० पल्सर मोटरसाइकल प्रयोग भएको थियो । तर अपराधस्थलभन्दा केहीपरै मोटरसाइकल राखेर हिँडेका कारण प्रहरीले भेउ पाउन सकेको थिएन, दुवै जनाले मोबाइल पनि नबोकेकाले अनुसन्धानमा जटिलता थियो ।

अपराधमा प्रयोग भएको मोटरसाइकल ।

अपरास्थल छेऊछाउ क्लोज सर्किट (सीसी) क्यामरा पनि थिएनन् ।

‘म्यानुअल अनुसन्धान गरिरहेका वेला पसलमा राखेको रक्स लेखेको हेलमेटमा हाम्रो नजर पर्‍यो’, महाशाखाका प्रमुख थापा भन्छन्, ‘त्यही क्लूबाट केहीपर रहेका सीसी टीभीमा देखिने दुई जना चढेको मोटरसाइकललाई अनुसन्धान गर्दै जाँदा अभियुक्तलाई समात्न सफल भएका हौं ।’

अनुसन्धानमा त्यही हेलमेटमा लेखिएका अक्षर मुख्य क्लू ठहरिएकाले प्रहरीले अपरेशनको नाम पनि ‘रक्स’ राखेको छ ।

प्रहरी अधिकृतहरुका अनुसार लामालाई थर्काउन कति रकम दिने सहमति भएको थियो भन्ने खुलिसकेको छैन । तर घटना भएको दिन पनि मुख्य योजनाकार शेर्पा केहीवेर दुई जनालाई कुरेर बसेको पाइएको छ ।

दुई युवाको विगत केलाउँदै प्रहरी

अपराध महाशाखाका अधिकृतहरुका अनुसार बौद्धमा सँगै जिम गर्ने वेला चिनजान भएका तामाङद्वय अन्य अपराधमा पनि संलग्न हुनसक्ने आधारहरु भेटिएका छन् ।

हालसम्मको अनुसन्धानमा उनीहरुले निश्चित रकम लिएर डुबेको रकम उठाइदिने गरेको पाइएको अधिकृतहरु बताउँछन् ।

‘यस्तै प्रकृतिका केही घटनामा पनि भएका छन्, त्यसमा संलग्नता हुनसक्नेतर्फ अनुसन्धान भइरहेको छ’, स्रोत भन्छ, ‘उनीहरुले चाहिँ हालसम्म केही खुलाएका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment