+
+
Shares

किशोर भर्सेस चन्द्र : कुन प्रदेशमा को बलियो ?

प्रदेश १ मा आधा–आधा, ४ प्रदेश ढकालको एकलौटी !

रोयल आचार्य रोयल आचार्य
२०७७ मंसिर ५ गते २१:१०

५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ११-१३ मंसिरमा काठमाडौंमा हुने साधारण सभा तथा निर्वाचनको माहोल तातिएको छ । मनोनयन समयावधि बिहीबार सकिएपछि उम्मेद्वारहरु आफ्नो पक्षमा मत पार्न जोडतोडका साथ लागेका छन् ।

गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा र निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो । बिचमा पटक-पटक मिति तोकिए पनि कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने व्यवस्था अनुसार शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्दैछन् । बाँकी पदहरुमा चुनाव हुँदैछ । वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान चुनावी मैदानमा छन् ।

महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र  संघई र शौरभ ज्योति तथा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।

प्रदेश १ का तर्फबाट उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सन्दीप अग्रवाल भइसकेका छन् । उनीहरु दुवैले चन्द्र ढकाल समूहबाट उम्मेदवारी दिएका थिए । यसले चुनावको माहोल थप तताएको छ ।

जिल्ला नगर उपाध्यक्ष रहेका प्रधानले आगामी अध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारको समर्थन पाएकाले जित हासिल गर्ने दाबी गरेका छन् । उता ढकालले वास्तविकता हेर्न १३ गतेसम्म कुर्नु पर्ने बताएका छन्,’ जित त मैले अहिले नै हासिल गरिसकेँ’, उनले भने, ‘औपचारिक घोषणाका लागि १३ गतेसम्म पर्खनुपर्ने बाध्यता छ ।’

गोल्छा र मुरारका उद्योगी-व्यवसायीको राम्रै मत ‘होल्ड’ गर्ने व्यक्तित्व हुन् । यो अवस्थामा कुन प्यानलले जित्छ भनेर आ-आफ्नै तरिकाको अड्कलबाजीहरु भइरहेका छन् ।

प्रदेश १ मा आधा-आधा

किशोर प्रधान विराटनगरबाट उदाएका उद्योगी हुन् । बिजुलीको पोलको व्यवसाय गर्ने उनलाई पूर्वमा असल व्यवसायीको रुपमा चिनिन्छ । उनलाई समर्थन गरेका आगामी अध्यक्ष शेखर गोल्छा पनि पूर्वकै हुन् ।

तर, प्रधानले आफ्नै क्षेत्रका पनि सबै मत नपाउने अवस्था छ । यसअघि वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँगै हारेकाका कारण गोल्छा पक्षका सबैले प्रधानलाई भोट नदिने देखिएको छ । विराटनगरकै केही उद्योगी-व्यवसायी ढकालको पक्षमा देखिएबाट पनि यो स्पष्ट भएको छ ।

बिहीबार निर्विरोध निर्वाचित राउतकै कारण पनि प्रदेश १ को मत बाडिने देखिएको छ । उदयपुर स्थायी घर भएका राउत विराटनगरका राम्रै व्यवसायी हुन् । हाल प्रदेश १ कमिटिको उपाध्यक्ष रहेका उनले खुलेरै ढकालको पक्षमा भोट मागिरहेका छन् ।

महासंघको प्रदेश १ अध्यक्ष नरेन्द्र खड्का भने किशोर प्रधानको पक्षमा उभिएका छन् । चुनावी अभियानकै लागि काठमाडौंमा रहेका उनले आफू प्रधानको पक्षमा रहे पनि पूर्वमा चन्द्र ढकालको नराम्रो नरहेको अनलाइनखबरसँग बताए ।

प्रदेश २ प्रधानको पोल्टामा, वागमतीमा के हुन्छ ? 

महासंघ प्रदेश २  कमिटीले प्रधान प्यानललाई समर्थन गर्ने भएका छन् । अपवाद बाहेक अधिकांश उद्योगी-व्यवसायीले प्रधानको पक्षमा मत खसाल्ने देखिएको छ ।

महासंघको प्रदेश २ अध्यक्ष शिवशंकर साहले आगामी अध्यक्षको टिम भएकाले प्रधान पक्षमा मतदान गर्ने निर्णय गरेको बताए । उनले भने, ‘महासंघलाई बलियो बनाउन अध्यक्षले चाहेको टिम बनाउन पर्ने हुनाले प्रधान पक्षलाई मतदान गर्दैछौं ।’

बागमती प्रदेश महासंघका अध्यक्ष दिनेश श्रेष्ठ आफै प्रधान प्यानलका उम्मेदवार भएकाले बागमती प्रदेशको मत पनि प्रधान पक्षलाई नै जानेछ । श्रेष्ठले जिल्ला नगर उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । यद्यपि, अध्यक्ष श्रेष्ठ नै उमेदवार भए पनि वागमती प्रदेशमा प्रधानकाे पक्षमा सबै मत झर्दैन । यो प्रदेशबाट करिब आधा मत आफ्नो पक्षमा झर्ने ढकाल समूहको दावी छ ।

बाँकी ४ प्रदेश ढकालको पक्षमा

महासंघको अत्यधिक प्रदेश कमिटीहरुको मत चन्द्र ढकाल समूहले पाउने देखिएको छ । २ र ३ बाहेकका सबै प्रदेश कमिटीले ढकाललाई समर्थन गर्ने भएपछि जिल्ला नगरतर्फ ढकाल समूहले जित हासिल गर्ने पक्का भएको छ ।

वरिष्ठ उपाध्यक्ष जित्नका लागि भने यो मत पर्याप्त हुँदैन । ढकाल यसअघि निर्विरोध एशोसियट उपाध्यक्ष निर्वाचित भएकाले यो पटक पनि राम्रै मत पाउने उनको प्यानलको अपेक्षा छ ।

ढकाल समूहलाई जिताउन महासंघको गण्डकी प्रदेश कमिटिले समिति नै बनाएर चुनाव प्रचारप्रसार गरिरहेको छ । गण्डकीका अध्यक्ष सञ्जिव बहादुर कोइरालाले आफ्ना सबै मत ढकाल समूहले पाउने बताएका छन् ।

‘हामी १६ जिल्ला अध्यक्ष नै ढकाललाई समर्थन गरेर प्रचारप्रसारमा हिडिरहेका छौं’, कोइरालाले टेलिफोनमा भने, ‘सबै अध्यक्षले निर्णय नै गर्नुपर्छ भन्नु भएपछि त्यसै गरिएको छ ।’

गण्डकी ढकालको गृह जिल्ला रहेको प्रदेश हो ।

प्रदेश ५ को समर्थन पनि ढकाल समूहलाई नै छ । प्रदेश अध्यक्ष गुणनिधि तिवारी नै ढकाल पक्षका उम्मेद्वार छन् । कणर्ाली प्रदेशले पनि ढकाल समूहमा मतदान गर्ने औपचारिक निर्णय नै गरिसकेको अध्यक्ष पदमबहादुर शाहीले बताए ।

‘कोरोनाको मारमा परेका व्यवसायी र व्यवसायीको कुरा सरकारसम्म पुर्याउन ढकाल बढी उपयुक्त देखिनुभयो’, टेलिफोनमा शाहीले भने, ‘शेखर गोल्छा पछिको नेतृत्वका लागि पनि ढकालभन्दा उपयुक्त विकल्प देखिएन ।’

सुदूरपश्चिम प्रदेशले पनि ढकाल समूहलाई समर्थन गर्ने घोषणा गरिसकेको छ ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?