+
+
Shares

कर्णाली अब बिचरा रहेन !

स्मृति अधिकारी स्मृति अधिकारी
२०७८ असार ९ गते १३:५९

‘कर्णाली’ सुन्नेबित्तिकै धेरैको मस्तिष्कमा नेपालकै लामो नदीको पानी बग्छ र मनलाई शितल बनाउँछ । एक पिल्लरमा ठडिएको पुल आँखामै आउँछ । अर्काथरी मान्छे छन्, कर्णाली शब्द सुन्नेबित्तिकै झाडापखाला, हैजा, भोकमरी, धुलाम्मे सडक र सिटामोल नपाएर ज्यान गुमाएका नागरिकको तस्विर मानसपटलमा उतार्न भ्याउँछन् । राज्यले नदेखेको बत्तीमुनिको अँध्यारोको आकृति कोर्छन् र मनमनै सहानुभूति प्रकट गर्छन् ।

राजधानीमा बसेर मोफसलको रूपमा मात्रै चित्रण गरेर कर्णालीको यथार्थ ग्रहण गर्न कदापी सकिँदैन । राजधानीका पत्रकार र मिडियाले बनाएको कुनै डकुमेन्ट्रीमा देखाइएजस्तो कहालीलाग्दो, दयाको भोका, रोगले ग्रसित, भोकमरी र महामारीको केन्द्रबिन्दु कर्णाली रत्तिभर छैन । पाठ्यपुस्तकमा वर्णन गरिएजस्तो ज्ञानको अँध्यारोमा पिल्सिएको छैन कर्णाली ।

हो कतिपय कुरामा सत्यको अंश पनि छ तर समयक्रममा धेरै परिवर्तन भइसक्यो । दुई–तीन दशक अगाडि बुझिने कर्णाली र अहिलेको कर्णालीमा फरक छ ।

यद्यपि, समयसँगै देशमा धेरै घटनाहरू घटे, शासकहरू परिवर्तन भए, व्यवस्था परिवर्तन भए तर कर्णालीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन । तीन-चार दशक अघि लेखिएको कर्णालीको बुझाई परिवर्तन भएन ।

दुई वर्षअघि मैले स्नातक पढ्दै गर्दा मेरा एकजना साथीले भनेको सम्झन्छु, ‘कर्णालीवासीहरू दशैंमा टीका लगाएको चामल पखालेर भात खान्छौ रे नि है !’

उसले थोरै जिस्किएजसरी सोधेकी थिई, मैले पनि जिस्किएझैं गरेर प्रश्नको उत्तर नदिई कुरा अन्तै मोडिदिएँ । आज प्रश्नको गम्भीरता बुझेपछि थाहा पाएँ, साथीले जिस्किएजस्तो गरेपनि मनको जिज्ञासा व्यक्त गरेकी थिइन् । र त्यतिबेला उसको जिज्ञासा मेटाउन मसँग कुनै रेडिमेड उत्तर थिएन ।

त्यसैले होला कर्णालीका बासिन्दालाई माया होइन दयाको दृष्टिले हेरिन्छ अझैपनि । कर्णालीलाई आँसुको ढिका, पोषण नपाइ बटारिएका आन्द्रा, चप्पल नपाई पट्पटी फुटेका बाआमाका कुर्कुचा, कामले भ्याइनभ्याई भएकी आमा यस्तैयस्तै चित्रण गरिन्छ । कुनै पनि समाजमा राम्रा नराम्रा दुवै कुरा हुन्छन् । तर राम्रा र सबल पक्षलाई लगातार ओझेलमा पारेकै कारण कर्णालीले आफ्नो खास पहिचान गुमाएको छ । हुन त कर्णालीलाई प्रयोग गरेर सहानुभूतिमार्फत मागीखाने भाँडोको रूपमा प्रयोग गर्दै आएको राज्यको अनुहार नचिन्ने सायदै होलान् ।

कुनै डकुमेन्ट्रीमा देखाइएजस्तो कहालीलाग्दो, दयाको भोका, रोगले ग्रसित, भोकमरी र महामारीको केन्द्रबिन्दु कर्णाली रत्तिभर छैन ।

किन राज्यले कर्णालीलाई फगत् गरिबीको पर्यायवाचीको रूपमा बुझ्ने गर्छ ? प्रश्न विचारणीय छ । कर्णालीका बाउबाजेले लगाउने दौरा र ढाका टोपी सभ्य ठहरिएका वर्गलाई हाँसोको पात्र लाग्छ । तर त्यो हुलले नेपालको संस्कृति बचाइदिएको देख्दैन । भौगोलिक हिसाबले कर्णालीमा कठिनाइ पक्कै छ । त्यही भौगोलिक अवस्थालाई हतियार बनाएर कर्णालीलाई पछि पारिएको हो ।

नेपालकै गहिरो ताल शे–फोक्सुण्डो अनि कालिकोटको पचाल झरना जसको सुन्दरता र चिसो पानीले प्रकृतिको तिर्खा मेटाइरहन्छ । रारा तालको सुन्दरताजस्ता अनगन्ती प्राकृतिक सम्पदा कर्णालीको पहिचान हो ।

कर्णालीको ऐतिहासिक पृष्ठभूमि नियाल्दा यसको गौरवमय इतिहास प्रष्ट हुन्छ । मध्यकालीन नेपालमा शक्ति केन्द्रको रूपमा स्थापित थियो खस साम्राज्य जुम्लाकै सिन्जामा पथ्र्यो । जसलाई खस सिन्जा साम्राज्य भनिन्थ्यो । खस साम्राज्यको सीमा तिब्बतदेखि कुमाउ गढवालसम्म फैलिएको थियो ।

पूर्वमा त्रिशुली नदीसम्म आफ्नो अधीनमा ल्याउन सफल थियो । धार्मिक सहअस्तित्वको जननी पनि खस सिन्जा साम्राज्य नै हो जसको उदाहरण अहिले पनि जुम्लाको सिन्जामा ‘लामाबिष्णु’को पुजा गरिन्छ ।

एकतिर बौद्व लामा अर्कातिर हिन्दु संस्कार अनुसरा र बिष्णुको पुजा, लामाज्यू लामा, होडेखोलि लामा थुप्रै उदाहरणहरू छन । ज्ञान विज्ञानमा पनि खस सिन्जा साम्राज्य अग्रणी मानिन्छ । रथ र गाडाबाट सामान ओसारपसार गर्ने बैज्ञानिक प्रविधिको बिकाससमेत यहीँबाट भएको थियो ।

कला र संस्कृतिको जननी पनि सिन्जा साम्राज्य हो भन्दा अतियोक्ति हुँदैन । नेपाली भाषाको जन्म सिन्जा साम्राज्यबाटै भएको कुराबारे हामी सबै जानकार छौं ।

अहिले सम्पदाहरूमा बिभिन्न लिपि भेटिन्छन् जुन १२ औं शताब्दिमा खस सिन्जाले आफ्नो लिपिको समेत अन्वेसण गरिसकेको थियो ।
खस सिन्जा आर्थिक रूपमा समेत अबल्ल भएको प्रमाण नेपालकै ठूलो साम्राज्य र धनको अभावले तत्कालीन नेपालमण्डला (काठमाण्डौं) लगायतका राज्य सिन्जा माथि आक्रमण गर्ने र पटकपटक हार बेहोर्ने गरेको इतिहास पढन पाइन्छ ।

अहिले चीनबाट चर्चा चुलेको बहुआयमिक योजना ‘बेल्ट एण्ड रोड’लाई तत्कालीन समयमा ‘सिल्क ट्रेड’ भनिन्थ्यो र त्यो रुट तत्कालीन खस सिन्जाको अधीनमा थियो भन्ने कहावत सुनिन्छ ।

अहिले हामी डिजिटल अधिनाकत्वको युगमा छौं । सबैभन्दा बढी सूचनाको युगमा छौं । भ्रामक सूचना र अफवाहको शिकार बन्न पुगेका छौं । र यसलाई पूँजीवादले मलजल गरेको छ । तपाई कस्तो सूचना दिने र कस्तो सूचना लिने त्यो बजारको र ग्राहकको स्तर अनुसार भर पर्छ । आजभोलि मलाई लाग्न थालेको छ, स्नातक पढ्दा मेरो साथीले कर्णालीबारे पाएको मनगणन्ते सूचना उनको बौद्विक कमजोरिको उपज रहेछ ।

पूँजीवादी बजारले गलत सूचना अफवाह र भावनात्मक ब्यापारलाई मलजल गरी सम्प्रेषण गरेको पक्कै हो । यद्यपि अफवाहको रन्कोबीच कर्णाली एक सभ्य, आत्मनिर्भर र सम्पन्न साबित गर्न सधैं परिश्रममा खटिरहेकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?