+
+

मोटरसाइकलको ट्यांकीमा लुकाएर लागूऔषध तस्करी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १८:२५

६ भदौ, काठमाडौं । मोटरसाइकलको तेलको ट्यांकीमा फल्स बटम बनाएर लागूऔषध तस्करी गरेको भेटिएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले हालै गरेको एउटा कारबाहीमा मोटरसाइकलको तेलको ट्याङ्कीमा लुकाएर वीरगञ्जदेखि काठमाडौंसम्म लागूऔषध ल्याउने गरेको भेटिएको हो ।

ब्यूरोका एसपी योगेन्द्र खड्काका अनुसार काठमाडौं महानगरपालिका–३० कालोपुलबाट पक्राउ परेका सिभिल इञ्जिनियर ध्रुव लिम्बुमाथि अनुसन्धान गर्ने क्रममा उनको होस्टलमा बस्ने अर्का व्यक्तिले लागूऔषध ल्याउने गरेको भेटिएको थियो ।

विन्दवासिनी गाउँपालिका–४ घर भएका जमुना साह तेली नामक ती व्यक्तिले रक्सौल नाकाबाट औषधिजन्य लागूऔषध खरिद गरेर आफूले प्रयोग गर्ने ना ४३ प ६६९३ नम्बरको मोटरसाइकलको तेलको ट्यांकीमा लुकाएर ल्याएको खुलेको हो ।

‘उनले ट्यांकीको एक खण्डमा पेट्रोल र अर्को खण्डमा लागूऔषध राख्ने गरेका थिए, फल्स बटमका कारण ट्यांकी सानो हुने हुँदा उनले प्लास्टिकको बोतलमा पेट्रोल बोकेर लागूऔषध ओसारपसार गर्ने गरेका थिए’ खड्काले भने ।

उनले रक्सौलबाट काठमाडौंसम्म लागूऔषध ल्याएवापत एक पटकमा ५० हजार रुपैयाँ पाउने गरेको बयानका क्रममा खुलाएका छन् ।

उनले काठमाडौं ल्याएर इञ्जिनियर लिम्बुलाई बिक्री गर्न दिने र लिम्बुले नविन श्रेष्ठमार्फत ती लागूऔषध बजारमा पठाउने गरेको भेटिएको खड्काले बताएका छन् ।

प्रहरीले यो कारबाहीको सुरुवातमा २ भदौमा ललितपुरको झम्सीखेलबाट लागूऔषध बुप्रेनोर्फिन २४३ एम्पुल, फेनारगन २४३ एम्पुल र डाइजेपाम २४३ एम्पुलसहित नविन श्रेष्ठलाई पक्राउ गरेको थियो ।

उनलाई लागूऔषध दिने व्यक्तिको खोजी गर्दै जाँदा इञ्जिनियर लिम्बु पक्राउ परेका थिए । श्रेष्ठ अपहरण गरी बालकको हत्या गरेको अभियोगमा जेल बसेर छुटेका व्यक्ति हुन् ।

थप अनुसन्धान जारी रहेको लागूऔषध नियन्त्रण व्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?