+
+
कभर स्टोरी :

आत्महत्या गर्न हिंडेका ४४ व्यक्ति, जसलाई प्रहरीले बचायो

नेपालमा फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा आत्महत्या गर्ने घोषणा गरेर हिंडेका मध्ये ४४ जनालाई प्रहरीले बचाएको छ । अनुसन्धान अधिकृतका शब्दमा ‘डोरी बोकेर मर्न हिंडेको व्यक्ति पनि साधारण जीवनमा फर्किएको’ उदाहरण छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ फागुन ५ गते १८:२५

५ फागुन, काठमाडौं । गएको शनिबार भक्तपुरको सूर्यविनायक बस्ने ३० वर्षीय बालकोट (परिवर्तित नाम) घरबाट सम्पर्कविहीन भए । चितवन जान्छु भनेर दुई दिनअघि हिंडेका उनलाई परिवारले बारम्बार सम्पर्क गर्न खोज्दा फोन ‘स्वीच् अफ्’ भनिरहेको थियो ।

अरू बेला पनि त्यसैगरी हराएको केही दिनपछि घर फर्किने भएकाले परिवारले त्यति गम्भीर ठानेनन् । तर, राति साढे १० बजे घरका एक जना सदस्यलाई आएको फोनले परिवारका सबैलाई झस्काइदियो । साथीले फोनमा सुनाएका थिए, ‘बालकोटले सुसाइड गर्छु भनेर भनिरहेको छ ।’

केही सातायता तनावबाट गुज्रिरहेका उनी सही अवस्थामा थिएनन् भन्ने साथीहरूलाई भान थियो । त्यसैले आत्महत्या गर्छु भन्ने वित्तिकै परिवारलाई खबर गरेका थिए । त्यसपछि अरू साथीहरूले पनि उनीसँग सम्पर्क गरेर बसेको ठाउँ सोध्ने कोशिश गरिरहे । तर, उनले सही जानकारी दिएनन् । ‘बस् जिन्दगीसँग हार खाइसकेको’ भन्दै अरू कुनै विकल्प नदेखेको जिद्दी कसिरहे ।

फर्किएर कुरा गर्न भन्दै साथीहरूले सम्झाइरहे । तर, कुनै एक होटलको कोठामा बसेर अत्यधिक मादक पदार्थ समेत सेवन गरिसकेका उनी रोकिने अवस्थामा थिएनन् । जब भिडियो कल भइरहेकै बेला बालकोट कोठाको पंखामा सलको पासो लगाउँदै गरेको देखियो, त्यसपछि चाहिं साथीहरूले प्रहरीको समेत सहारा लिए । परिवार झनै चनाखो भयो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालकोट बसेको स्थान पत्ता लगाउन सहयोग गर्‍यो । बालकोट जनकपुरमा बसेको थाहा भएपछि मधेश प्रदेश प्रहरी कार्यालयमा त्यो सूचना फरवार्ड भयो ।

मधेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तबहादुर कुँवरका अनुसार, घरपरिवार र सम्बन्धमा आइपर्ने स–साना तनावलाई नियन्त्रणमा राख्न नसक्दा आत्महत्याको प्रयास गर्नेको संख्या बढ्दो छ ।

मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त कुँवरलगायत प्रहरी अधिकृतहरु । फाइल फोटो ।

‘पहिल्यै थाहा भएको हकमा सकभर बचाउन सकियोस् भन्ने हिसाबले सहयोग गर्ने गरेका छौं’ कुँवरले भने, ‘मानवताको आधारमा पनि हाम्रो कारणले कसैको जीवन जोगिन्छ भने किन प्रयास नगर्ने भन्ने हो ।’

त्यही अनुसार बालकोट बसेको ठाउँ पत्ता लाग्ने वित्तिकै मधेश प्रदेश प्रहरी कार्यालय, धनुषाबाट कुँवरले क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट) का प्रहरी निरीक्षक उमाशंकर साह नेतृत्वको टोली खटाए । जिल्ला प्रहरी कार्यालय, धनुषाको टोली पनि परिचालित भयो ।

‘होटलमा बसेको कोठाको फोटो आइसकेकाले लोकेशन आसपासका सम्भावित ठाउँमा सर्च गर्‍यौं, होटल सञ्चालकहरूलाई फोटो देखायौं’ रिटका एक अधिकृत भन्छन्, ‘त्यसक्रममा उनी बसेको होटल पत्ता लाग्यो ।’

प्रहरीले उनलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालय, जनकपुर लग्यो । ‘परिवारका सदस्यलाई पनि उनी भेटिने वित्तिकै खबर गरेर बोलाएका थियौं’ डीआईजी कुँवर भन्छन्, ‘बिहान परिवारका सदस्यलाई जिम्मा लगायौं, मनोपरामर्श गराउन सुझायौं ।’

०००

सुदूरपश्चिमका एक जना गायक सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै जंगलतिर हिंड्दै गरेको देखिए, २३ पुस २०७९ मा । केहीबेर चुपचाप बसेर उनी बोल्न थाले, ‘आज म फेरि नआउने गरेर अन्तिम चोटि मनका कुराहरू शेयर गर्दैछु, धेरै टाढा जाँदैछु हजुरहरूबाट !’

सामाजिक जीवनमा राम्रै पहिचान भएका उनले भिडियोमा आत्मालाप गर्दै सोधिरहेका थिए, ‘मैले गल्ती गरें या आफ्नो जीवनलाई मुक्ति दिएँ भन्न सक्दिनँ । कसैले गलत नसोचिदिनुहोला !’

भिडियोमा साथीभाइहरूले त्यसो नगर्न सुझाइरहेका थिए । ‘भाइ, इतिहास जित्नेको हुन्छ, हरेक समस्यालाई जित्नुपर्छ । अन्यथा सोच्नुहुँदैन’ भन्दै उनका शुभचिन्तकहरूले बाँच्नेको जित हुन्छ भनेर आमादेखि घरपरिवारबारे सोच्न भनिरहेका थिए । हुन पनि इतिहास बाँच्नेले नै बनाउने हो । तर, उनले त्यसबेला प्रतिक्रियाहरू पनि राम्रोसँग हेरे–हेरेनन् खुलेको छैन ।

भिडियोमा प्रतिक्रिया दिने अधिकांशले प्रहरीसम्म यो कुरा पुर्‍याइदिन पनि आग्रह गरेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीसँग तीमध्ये एक जनाले यो कुरा पुर्‍याए । उनलाई म्यासेजमा भिडियो पठाउँदै भनिएको थियो, ‘मेरो पनि उसँग व्यक्तिगत चिनजान त छैन तर, एउटा नागरिकलाई मृत्युको मुखबाट जोगाउन सकिन्छ कि भनेर नि !’

मैनालीका अनुसार त्यो देख्ने वित्तिकै प्रहरीले उनको मोबाइल नम्बरबाट ‘लोकेट’ गर्ने प्रक्रिया सुरु गरिहाल्यो । ‘साइबर ब्यूरोसँग पनि समन्वय गरेर अनुसन्धान थाल्दा साढे १० तिर उनी रानीबारीको जंगलमा फेला परे’ मैनालीले सुनाए, ‘उद्धार गरेर ल्याएपछि अहिले उनी सामान्य जीवन विताइरहेका छन् ।’

०००

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख सुदीप गिरी, एसपी दिनेश मैनाली, अपरेशन प्रमुख डीएसपी सुधीर शाही लगायत २ माघ २०७९ मा भूकम्प सुरक्षा दिवसको कार्यक्रममा सहभागी थिए । त्यहीबेला स्वयम्भूमा एक जना प्रहरी कर्मचारीले झुण्डिएर आत्महत्या गर्ने कोशिश गरेको खबर आयो ।

उनीसँगै रहेकी अर्की प्रहरी जवानले तत्काल डोरी काटिदिइन् । एसपी मैनाली र डीएसपी शाही तत्काल प्रहरी वृत्त, स्वयम्भू पुगे । मनमोहन अस्पताल भर्ना भएकी उनको घाँटीमा लागेको डोरी काट्न थप केही सेकेण्ड मात्रै पनि ढिला भएको भए अहिले जीवित हुने थिइनन् । चिकित्सकहरूका अनुसार समयमै अस्पताल पुर्‍याएका कारण उनको थप उपचार सम्भव भयो ।

मनमोहनमा धेरै बिरामीको चाप हुने भएकाले प्रहरी अस्पतालमा लैजान सके थप स्याहार हुनसक्ने प्रहरी अधिकृतहरूले निष्कर्ष निकाले । डाक्टरहरूले पनि लैजान सुझाए । ‘एम्बुलेन्समा लैजाने कुरा भयो, तर बाटोमा फेरि केही भइहाले के गर्ने होला भन्ने डर भयो’ एसपी मैनाली भन्छन्, ‘त्यसैले एक जना चिकित्सकलाई पनि सँगै राखेर नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरायौं ।’

अस्पतालमा मनोपरामर्शदाता प्राविधिक प्रहरी उपरीक्षक (एसपी) डा. आशिष दत्त नेतृत्वको टोलीले पनि उनको उपचार गर्‍यो । अहिले ती प्रहरी जवान जागिरमा फर्किएकी छिन् ।

०००

पोखराकी रूपा (परिवर्तित नाम) को कसूर यत्ति हो कि उनले सामाजिक सञ्जालमा चिट्ठा पर्‍यो भन्दै आएको म्यासेजको विश्वास गरिन् । लोभमा परेर त्यसरी कमाएको पैसा पाउन विदेशी नागरिकले जे–जे भन्यो, त्यही गर्दै गइन् ।

उनको पृष्ठभूमि र कथा सुन्ने हो भने जो–कोहीलाई रूपा पीडित लाग्छ । हुन पनि उनी स्वयंले चिट्ठा परेको विश्वासमा ८ लाख रुपैयाँ गुमाएकी छिन् । तर, कानुनले प्रमाण हेर्छ । प्रमाणले उनी समेतको नाममा खोलिएको बैंक खाताको एटीएम कार्डबाट ठगीको रकम निकालिएको देखिन्छ ।

भारतका विभिन्न एटीएम बुथबाट उनको नामको कार्डबाट पैसा निकालेको देखिएपछि प्रहरीको केरकारमा उनी परिन् । आफैं पीडित छिन्, तर प्रहरीको फोन कलले उल्टै दर्जन बढीको पीडक बनाइरहेको छ ।

उनलाई सामानको भन्सार छुटाउने भन्दै पटक–पटक गरेर रकम मागिएको थियो । ‘टिकटकबाट त्यो म्यासेज सुरुमा आएको थियो, भन्सार छुटाउन भनेपछि पैसा दिएँ’ उनी भन्छिन्, ‘यस्तो चिट्ठा पर्दो रहेछ भनेर अरू साथीहरूलाई पनि जोडिन भनिएको थियो । त्यो पनि गरेकी थिएँ ।’

तर, उनले जोडेका व्यक्तिहरूलाई पनि सोही शैलीमा ठगिएको रहेछ । प्रहरीका अनुसार उनीहरूलाई ठगिएको मात्र होइन, ठगिएको रकम निकाल्न पनि प्रयोग गरिएको अनुसन्धानबाट देखिएको छ ।

पोखराको सभागृह चोक । फाइल फोटो ।

आफैं ठगिइरहेको अवस्थामा तारन्तार प्रहरीबाट फोन आउन थालेपछि उनी मर्नु न बाँच्नुको अवस्थामा पुगिन् । कसलाई भन्ने, के गर्ने केही सोच्न सकिनन् । बुझ्ने मान्छे नै यसरी फस्यो भन्दा के भन्दा हुन् भन्ने पीरले उनलाई गाँजिरह्यो ।

मनमा अनेक तर्कना खेलिरहेका बेला उनले २० मंसिर २०७८ मा सोचिन्, ‘बरु संसारबाटै बिदा लिन्छु ।’ स्कुटरमा घरबाट निस्किएकी उनी पोखराको सभागृह चोक पुगिन् । ट्रक आइरहेको थियो, उनले सीधै गएर ठोक्किने विचार गरिन् ।

उपयुक्त समयको पर्खाइमा थिइन् । कतिखेर, कसरी अघि बढ्ने भन्ने सोचेर तयार भएकी थिइन् । त्यहीबेला उनले बाटोको अर्कोतर्फ प्रहरी चेकजाँच भइरहेको देखिन् ।

‘प्रहरीलाई देखेपछि त्यता जाउँ कि उता मर्न जाउँ भनेर मनमा द्वन्द्व भइराख्यो’ उनी भन्छिन्, ‘अन्तिममा प्रहरीसमक्ष पुगें ।’ यो २० मंसिर २०७८ को घटना हो ।

जिल्ला प्रहरी कार्यालय, पोखराका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीका अनुसार प्रहरीसमक्ष आएपछि उनको समस्या सुनेर थप अनुसन्धान गर्दा उनी आफैं पनि पीडित रहेको खुलेको थियो ।

‘पछि अरू पीडितहरूसँग पनि उनले आफैं कुरा गरेर आफ्नो पनि पैसा गुमेको बताइन्, उनीहरूलाई पनि रूपाकै शैलीमा अरूलाई पनि भन्न लगाएर थप व्यक्तिलाई पनि लुट्न लागेका रहेछन्’ तिवारीले भने, ‘उनको कारणबाट अरू व्यक्ति जोगिएपछि रूपा अहिले प्रहरीको आत्महत्या न्यूनीकरण अभियानमा पनि संलग्न छिन् । उनी आफ्नो जीवनको वास्तविक कथा सुनाएर आत्महत्या समाधान नभएको सन्देश दिइरहेकी छिन् ।’

०००

हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदीले २०७८ भदौमा दिएको एउटा अन्तर्वार्ताको क्लिप सामाजिक सञ्जालमा भाइरल भयो । त्यसमा उनले पटक–पटक आत्महत्याको प्रयास गरेकी एक जना २० वर्षकी युवतीका बारेमा बताएका थिए ।

उनका अनुसार, प्लस टु पास गरेर मोडलिङको कोर्स समेत गरेकी उनले पटक–पटक आत्महत्याको प्रयास गरेपछि परिवार र आफन्तले धेरै सम्झाएका थिए । तर, अनौठो व्यवहार देखाउन नछाडेपछि घरबेटीको सहयोगमा उनलाई लिएर अभिभावक प्रहरीसमक्ष पुगे ।

प्रहरी कार्यालयमा काउन्सिलिङ गरेर बुझ्ने क्रममा अनौठो जवाफ आएको सुवेदी बताउँछन् । उनी भन्छन्, ‘मेरो प्रेमीले मेरो बर्थ डे बिर्सिने र आउन सकिनँ भन्ने अनि सरी भन् भन्दा पनि सरी नभन्ने, अब म बाँचेर के गर्नु भनेकी थिइन् ।’

यो उमेर समूहका व्यक्तिले स–सानो लाग्ने कुरामा समेत ज्यान फाल्न खोज्ने प्रवृत्ति अन्यत्र पनि देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक अनुसार विश्वमा १५ देखि २९ वर्ष उमेर समूहका युवाको मृत्युको प्रमुख कारण आत्महत्या देखिने गरेको छ । युद्ध र हत्याबाट भएका मृत्युभन्दा बढी आत्महत्याबाट भएको डब्लूएचओको तथ्यांक छ ।

अझ युवा पुस्ताले त सोच्नै नसकिने विषयलाई पनि ठूलो समस्या ठानेर आत्महत्या गर्ने मनस्थितिसम्म पुग्ने गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) समेत रहेका सुवेदी बताउँछन् ।

नेपालमा मानिसले आत्महत्या गर्ने कारण कस्तोसम्म पनि छ भन्ने अर्को रोचक अनुभव उनीसँग छ । उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरै आत्महत्या गर्ने सोच भएका व्यक्ति सम्पर्कमा आए । प्रहरीले काउन्सिलिङ पनि गर्‍यो ।

उत्तम सुवेदी, प्रमुख, सीआईबी

‘त्यसबारे जानकार एकजना व्यक्ति म केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा भइसकेपछि यहीं आउनुभयो, पहिले हल्का चिनजान पनि थियो’ सुवेदीले अनलाइनखबरसँग भने, ‘कोठामा आएर हतास मनस्थितिमा म ठूलो समस्यामा छु भनेपछि मैले अरूलाई इशारा गरेर बाहिर पठाएँ ।’

सुवेदीका अनुसार दुई ग्लास पानी खाएपछि उनले आफ्नो मनको कुरा खोले, ‘मैले मर्नलाई दुई पटक घाँटीमा डोरी बेरिसकेको थिएँ, मर्न सकिनँ ।’ केही समाधान भइहाल्छ कि भन्ने सोचेर आफू ब्यूरोसम्म आएको उनले बताए ।

कारणबारे सोध्दा उनी ‘हनी ट्याप’मा परेको थाहा भयो । सामाजिक सञ्जालबाट भेटिएकी एक जना युवतीले ब्ल्याकमेल गर्दा उनले ५० लाख गुमाइसकेका रहेछन् । ‘बैंकबाट समेत ट्रान्जेक्सन भएको देखियो, बार्गेनिङ गर्दै गरेको अडियो पनि रहेछ’ सुवेदीले भने, ‘अनुसन्धान गर्ने हो, समाधान हुने घटना थियो ।’ त्यसपछि आफूले यो समाधान हुने विषय हो भनेर सम्झाएको उनी बताउँछन् ।

सुवेदीका अनुसार यस्ता किसिमका घटनाबारे अरूले थाहा पाए के होला भन्ने सोचेर मानिसहरू डिप्रेसनमा जाने गर्छन् । तर, सत्य के हो भने यस्ता घटनाबारे कसैलाई केही नबताउँदा डिप्रेसनको शिकार बनिने हो । आफूले आफैंलाई सिध्याउने बाटोतिर लागिने हो ।

‘मैले पनि उनलाई सोधें– यसमा परेको कुरा कसले थाहा पायो भने बढी पीडा हुन्छ ?’ सुवेदी भन्छन्, ‘उनले श्रीमती, भाइ र बुवाआमा भने । अनि, मैले सम्झाएँ, त्यस्तो सुन्दा केही समय रिसाउँछन् । तर, पूरै सुनिसकेपछि समाधान गर्न पनि सघाउँछन् ।’

नभन्दै डेढ घन्टा जति कुरा गरेपछि उनले आफैं परिवारका सदस्यलाई फोन गरेर आफूलाई भएको समस्याबारे जानकारी गराए । र, प्रहरीको सहयोग लिइरहेको बताए । ‘त्यतिञ्जेलमा उनको समस्या ९० प्रतिशत समाधान भइरहेको थियो’ सुवेदी भन्छन्, ‘ब्ल्याकमेल र अरू पाटोबारे थप अनुसन्धान गर्‍यौं ।’ अहिले उनी सामान्य जीवन बिताइरहेका छन् ।

सम्भव छ सामान्य जीवनमा फर्किन

सरकारले लिएको दिगो विकासको लक्ष्य (२०१५–२०३०) मा आत्महत्याको दर प्रति लाख १६.५ बाट घटाएर ४.७ पुर्‍याउने भनिएको छ । तर, प्रहरीको तथ्याङ्क अनुसार अहिले आत्महत्याको दर बढ्दो क्रममा छ ।

आत्महत्या न्यूनीकरण तथा रोकथामका लागि राष्ट्रिय योजना आयोगले राष्ट्रिय कार्ययोजना बनाएर समेत काम गरिरहेको छ । नेपाल प्रहरीले समेत आत्महत्या न्यूनीकरण तथा रोकथामका लागि जिल्ला–जिल्लामा अभियान चलाइरहेको छ । नेपाल प्रहरी कार्ययोजना २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण तथा रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ ।

‘प्रहरी भनेको समाजको एकदमै तल्लो तहसम्म जोडिएको सरकारको निकाय भएकाले मानवताको हिसाबमा पनि गरौं भन्ने उद्देश्यले अभियान थालेका हौं’ सीआईबीका निर्देशक उत्तम सुवेदी भन्छन्, ‘काउन्सिलरको सहयोग लिने वित्तिकै पागल हुनु भन्ने बुझाइ छ । यस्ता बुझाइहरूलाई चिर्दै सचेतना फैलाउने उद्देश्य राखेका छौं ।’ यद्यपि, आत्महत्याको दर निरन्तर बढ्दो अवस्थामा छ ।

केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा देशभर ५ हजार ७८५ जनाले आत्महत्या गरेका थिए भने आव २०७७/७८ मा ७ हजार १४१, आव २०७८/७९ मा ६ हजार ८३० र आव २०७९/८० को पुस महिनासम्मको अवधिमा ३ हजार १६४ जनाले आत्महत्या गरेका थिए ।

आत्महत्या गर्ने बालबालिकाको संख्या पनि बढ्दो क्रममा छ । आव २०७५/७६ मा ४५९, आव २०७७/७८ मा ७६४, आव २०७८/७९ मा ८०९ र आव २०७९/८० को पुससम्मको अवधिमा ३५३ जना बालबालिकाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार, नेपालमा सरदर दैनिक १९ जनाले आत्महत्या गर्छन् ।

प्रहरी प्रवक्ता पोखरेलका अनुसार नेपालमा हुने गरेका आत्महत्याहरूमा केही निश्चित कारण देखिन्छन् ।

‘दीर्घ रोग, शैक्षिक असफलता, प्रेममा धोका, विवाहेत्तर सम्बन्ध, व्यापार व्यवसायमा घाटा जस्ता कारणले आत्महत्या हुने गरेको देखिन्छ’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) समेत रहेका पोखरेल भन्छन्, ‘ऋण, गरिबी, घरेलु हिंसा, पारिवारिक कलह, पारिवारिक दबाव, साथीभाइसँगको झगडा, मनमुटाव, लैंगिक हिंसा, अपराध पीडितको सामाजिक अपमान र बहिष्कार, लागूऔषध दुव्र्यवहार र मानिसक रोग पनि आत्महत्याको कारण देखिएका छन् ।’

आत्महत्याविरुद्ध काम गर्दै आएको संस्था कोशिशसँग आबद्ध मनोपरामर्शदाता संगीता खड्काका अनुसार यस्ता समस्याबाट गुज्रिएपछि सिर्जना हुने ‘फिलिङ अफ होप लेसनेस, हेल्प लेसनेस र वर्थ लेसनेस’ (आशाविहीन, सहयोगविहीन, मूल्यहीन र योग्यहीन महसुस) का कारण मानिस आफैंलाई सिध्याउने अवस्थामा पुग्छन् ।

त्यो अवस्थामा पुगेका मानिसलाई कसैले सहयोग गर्दैन भन्ने लाग्छ । समाधान केही देखेको हुँदैन । तर, त्यही समयमा आफ्नो कुरा सुनिदिने मान्छे पनि छन् वा यो कुरा समाधान हुनसक्छ भन्ने बुझाउन सकिए त्यस्ता व्यक्तिलाई सामान्य अवस्थामा फर्काउन सकिने खड्का बताउँछिन् ।

हुन पनि डोरी बोकेर मर्न भनेर पटक–पटक जंगल पुगिसकेका व्यक्ति पनि साधारण जीवनमा फर्किएको उदाहरण छ । नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालका अनुसार कतिपय अवस्थामा प्रहरीकै विभिन्न लोकल युनिट कहिले सीधै आउने सूचनाको आधारमा त्यस्ता व्यक्तिलाई लोकेट गरेर उद्धार गर्ने काम भएको छ ।

‘कतिले सामाजिक सञ्जालमै आत्महत्या गर्न जाँदैछु भनेर लेख्नुभएको हुन्छ, कतिले लाइभमा आएर भनेको उदाहरण पनि छन्’ अर्यालले अनलाइनखबरसँग भने, ‘उहाँहरूलाई लोकेट गरेर उद्धार गरेका छौं ।’

भोटाहिटीस्थित साइबर ब्यूरोको कार्यालय ।

उनका अनुसार फेसबुकमा आत्महत्या गर्दैछु भनेर उल्लेख गरेकामध्ये ३१, टिकटकमा जानकारी दिने ५, युट्युबमा १, इन्स्टाग्राममा सूचना दिने १, फोन मार्फत आएका २, ह्वाट्स एपबाट सूचना आएका ३ र ई–मेल मार्फत आएका १ गरी ४४ जनालाई उद्धार गरिएको छ ।

कतिपय अवस्थामा त्यसरी अस्वाभाविक मृत्यु रोज्ने मानिसको मनस्थिति बुझ्न नसक्दा बचाउन नसकिएका उदाहरण पनि छन् ।

जस्तै, बानेश्वरमा आफैंलाई आगो लगाएर ९ माघ २०७९ मा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले घटना अघि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै दुःख पोखेका थिए । उनले विभिन्न निकायमा पनि त्यसलाई इमेल गरेका थिए ।
तर, कसैले यसलाई गम्भीरतापूर्वक लिएनन् । मृत्युपछि उनले स्टाटसमा लेखेका विषयहरूले सामाजिक बहस गरायो ।

प्रहरी प्रवक्ता पोखरेलका अनुसार जिल्लाका अरू युनिटहरूले पनि आत्महत्याको मुखमा पुगेका व्यक्तिहरूको उद्धार गरेका छन् । तर, सबैको एकमुष्ट विवरण नराखिएको उनले बताए । ‘कतिपयमा प्रयास गर्दागर्दै बचाउन सकिन्न, तर धेरै हदसम्म प्रहरी सफल पनि भएको छ’, पोखरेल भन्छन् ।

आत्महत्या रोकथामका लागि सरकारले पनि ११६६ नम्बरको हेल्पलाइन चलाइरहेको छ

व्यवहारले थाहा हुन्छ मनस्थिति

मनोविद् संगीता खड्काका अनुसार आत्महत्या गर्ने मनस्थितिमा पुगेका व्यक्तिको व्यवहार नियाल्ने हो भने केही फरक महसुस गर्न सकिन्छ ।

‘खासमा यसको संकेत उनीहरूले पहिल्यै दिएका हुन्छन्, त्यसलाई थाहा पाउन सकियो कि सकिएन भन्ने हो’ उनी भन्छिन्, ‘धेरैजसो आत्महत्या योजनाबद्ध रूपमा हुन्छन्, त्यस्ता व्यक्तिहरूमा भावनात्मक, शारीरिक, व्यावहारिक लक्षण र सूचकहरू देखिन्छन् ।’

उनका अनुसार यस्तो समस्यामा परेका व्यक्तिले कोही न कोहीसँग आफ्नो दुःख पोख्ने प्रयास गरिरहेका हुन्छन् ।

‘मलाई मरौं, मरौं लाग्छ भन्न सक्छन्, गफ गर्दा पनि बाँचेर पनि के रहेछ भन्ने जस्ता गतिविधि देखाउन सक्छन्’ उनी थप्छिन्, ‘यसरी कसैले निरन्तर निराशाजनक कुरा गरिरहेको छ वा अस्वाभाविक हर्कत देखाइरहेको छ भने ऊ समस्यामा परेको हुनसक्छ भन्ने सोच्नुपर्छ ।’

कतिपय घटनामा आफू मानसिक समस्यामा रहेको बताउँदा आफन्त र साथीभाइले गम्भीरतापूर्वक लिने नगरेको पनि पाइन्छ । त्यसले आत्महत्या गर्ने मनस्थितिमा पुगेका व्यक्तिहरू झनै निरुत्साहित हुने उनी बताउँछिन् ।

कसैले पटक–पटक निराशाजनक कुरा गरिरहेका बेला विना कुनै प्रश्न परिवार, आफन्त र साथीभाइबाट सकारात्मक प्रेरणा र मनोसामाजिक परामर्श दिने हो भने त्यस्ता व्यक्तिलाई आत्महत्या गर्नबाट बचाउन सकिने नेपाल प्रहरीका एआईजी उत्तम सुवेदी बताउँछन् ।

कतिपयलाई आत्महत्याको प्रयास गरेका व्यक्तिलाई बचाउन सकिंदैन भन्ने भ्रम रहेको सुनाउँदै सुवेदी भन्छन्, ‘एकपटक प्रयास गर्दैमा फेरि पनि आत्महत्या गर्छ भन्ने होइन । तर, पारिवारिक र सामाजिक वातावरण मिलाउनुपर्छ ।’

आत्महत्या रोकथामका लागि सरकारले पनि ११६६ नम्बरको हेल्पलाइन चलाइरहेको छ । त्यसमा पनि सम्पर्क गर्न सकिन्छ । यदि कोही आत्महत्या गर्न भन्दै हिंडिसकेको अवस्थामा छ भने यथाशक्य चाँडो प्रहरीलाई खबर गर्नुपर्ने मनोविद् खड्का बताउँछिन् ।

कभर स्टोरी
लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?