+
+
कभर स्टोरी :

विराट रहेन विराटनगर 

मुलुकमा औद्योगिक युगको ढोका खोल्ने विराटनगर लामो समयसम्म देशको राजनीतिक ‘कमाण्ड’ को पनि केन्द्र थियो । तर, गौरवपूर्ण विगत र सत्ता–राजनीतिमा बलियो पकड हुँदा पनि यो शहरले कुनै फड्को मार्न सकेन ।

हरि अधिकारी हरि अधिकारी
२०७९ चैत २४ गते १९:५७
विराटनगर बसपार्क चाेक । तस्वीर साैजन्य : सराेज कार्की ।

२४ चैत, विराटनगर । विराटनगरका पाँच विशेषता भन्नासाथ हामी यस्तो सूची बनाउन पुग्छौं— पूर्वको सय वर्ष भन्दा पुरानो ऐतिहासिक शहर, पहिलो मजदुर आन्दोलनले संगठित रूपमा प्रजातन्त्र मागेको शहर, मुलुकका पाँच पूर्व प्रधानमन्त्रीको शहर, देशमा पहिलो आधुनिक उद्योग स्थापना भएको शहर, भारत र बंगलादेशको ठूलो जनसंख्यासँग नजिक बसेको निर्यात उद्योगको सम्भावना भएको शहर ।

यस बाहेक यसलाई भर्खरै घोषणा भएको कोशी प्रदेशको राजधानी, पौराणिक महत्व बोकेको सांस्कृतिक शहर र पहाड–मधेशको मिश्रित समाज बसोबास भएको नगर लगायत नामबाट पुकारे पनि हुन्छ । तर, यी र यस्ता विगतका थुप्रै विशेषण बोक्न सक्ने विराटनगर आज आत्मविश्वास हराएको एउटा नगरको परिचय बोकेर बसेको छ ।

भूगोलविद् एवं योजना आयोगका पूर्व उपाध्यक्ष पीताम्बर शर्मा भन्छन्, ‘विराटनगर जाँदा मलाई पनि त्यस्तै महसुस हुन्छ । विराट नामैले पनि ठूलो सपना थियो, त्यो साकार नै नभएजस्तो लाग्छ । आर्थिक रूपमा जति चलायमान हुनुपर्ने थियो, हुन सकेन । नयाँ उद्योग खुल्ने, नयाँ व्यवसाय सुरु हुनुपर्ने थियो, त्यसो भएन । महानगरपालिकाले पनि लगानीको वातावरण बनाउन सकेन ।’

शर्माका विचारमा ‘विराटनगरप्रति विकर्षण छ । मानिसहरू काठमाडौं आउन लागे । कतिपय उद्योग सुदूरपश्चिमतिर गए । दुहबीमा अलिकति छ । विराटनगरमा भुईंफुट्टा उद्योग मात्रै रहे । भुईंफुट्टा उद्योग जहाँ गएर पनि बस्न सक्छन् । निर्माण संरचना लगायत सामग्रीको आधारभूत उद्योगहरूको विस्तार हुन सकेन । त्यसले गर्दा रोजगारीको सिर्जना पनि भएन ।’

‘विराटनगर वरपर अझ भनौं पूर्वी तराई नेपालको ठूलो कृषिक्षेत्र समेत हो । कृषिमा आधारित उद्योगहरू विराटनगर वरपर स्थापना हुनुपर्ने थियो, भएन । विराटनगर त्यसको हब हुने सम्भावना थियो, किनभने उत्पादनको खपत पनि त्यही वरपर हुन्थ्यो’, उनले भने ।

विराटनगरको शहरीकरण र नयाँ औद्योगीकरणको विकासमा एशियाली विकास बैंकले पनि अध्ययन गरेको र अहिले पनि विराटनगरको बाढी–पहिरो रोकावट र शहरी विकासमा उसले काम गरिरहेको शर्मा बताउँछन् ।

१९९३ सालमा स्थापित विराटनगर जुट मिल्ससँगै विराटनगरले कुनै बेला नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । नेपालको अन्तर्राष्ट्रिय व्यापार जुट मिल्सबाट सुरु भएको थियो । तत्कालीन राज्यसत्ता (राणाशासन) विरुद्धको राजनीतिक आन्दोलनको सुरुवात पनि त्यही जुट मिल्सबाटै भएको थियो ।

नेपालको पहिलो आधुनिक उद्योग जुट मिल्स स्थापना सँगै विराटनगरले देशको ‘आर्थिक राजधानी’ को उपमा पाएको थियो । तर, पछिल्लो दशकमा जुटको अस्तित्व संकटमा परेसँगै आर्थिक राजधानी मानिने यसको पहिचान पनि संकटमा परेको छ ।

विराटनगरका पुराना उद्योगी ८१ वर्षीय ताराचन्द खेतान अन्य क्षेत्रमा अवसर प्रशस्तै भएका कारण विराटनगर पछि परेको ठान्छन् । उनका भनाइमा, ‘आर्थिक राजधानी भनिने विराटनगरको आर्थिक विकासमा राजनीतिक नेतृत्वले पटक्कै चासो दिएन ।’

खेतानका भनाइमा, विराटनगरमा उद्योगधन्दा चलेको समय (१९९३ देखि २०३० सालसम्म) मा  रोजगारीका अवसर प्रशस्तै थिए । रोजगारीका लागि बाहिरबाट यहाँ बसोबासका लागि आउनेको संख्या ठूलो थियो । अन्य क्षेत्रबाट उद्योग खोल्नकै लागि पनि उद्योगीहरू विराटनगर आएका थिए ।

विराटनगर बजार क्षेत्र। तस्वीर साैजन्य : सराेज कार्की ।

यसरी विराटनगर आर्थिक रूपमा चलायमान र रोजगारी दिने शहरका रूपमा विकसित भएको थियो । तर, २०३४ सालदेखि विराटनगरका उद्योगहरू प्रभावित हुँदैगए । सहजता खोज्दै व्यवसायी अन्य क्षेत्रमा पलायन हुँदैगए । ‘उद्योगको सुरुवात गरेको विराटनगरले नयाँ बिजनेसका अवसरलाई सदुपयोग गर्न सकेन’ खेतान भन्छन्, ‘बिजनेसका नयाँ अवसरलाई अन्य क्षेत्रले समेट्यो, विराटनगर परम्परागत शैलीमै रह्यो ।’

हुन पनि नेपालको पहिलो र सरकारी स्वामित्वमा रहेको विराटनगर जुट मिल्सले जुटको सीमापार व्यापार गरेको थियो । ‘जुट मिल्सबाट सीमा पार व्यापार पनि सम्भव भएको थियो’ मोरङका अग्रज पत्रकार मोहन भण्डारी भन्छन्, ‘यसले व्यापारमा प्रशस्त सम्भावनाको ढोका खोल्यो ।’

अर्थशास्त्री प्रा.डा. भेषप्रसाद धमला नेपाललाई आधुनिक औद्योगीकरणमा प्रवेश गराउने श्रेय विराटनगरलाई नै जाने बताउँछन् । विराटनगर जुट मिल्स स्थापनादेखि नेपालको आधुनिक औद्योगीकरणको युग सुरु भएको उनको तर्क छ । तर, दोस्रो विश्वयुद्ध अघि प्रशस्त मात्रामा विराटनगरमा उद्योग खुले पनि विस्तारै यहाँबाट व्यवसायी पलायन भएको उनको भनाइ छ ।

अर्थात् विराटनगरसँग गौरवपूर्ण विगत छ तर यहाँका सामाजिक अगुवा, व्यवसायी र अर्थशास्त्रीहरू वर्तमानमा गुनासै–गुनासा बोकेर बसेका छन् । उनीहरू भन्छन्- विराटनगरले फड्को मार्न सकेन ।

भूगोलविद् एवं योजना आयोगका पूर्व उपाध्यक्ष शर्मा भन्छन्, ‘वरपरका शहर विकास भएपछि पुरानाहरू कमजोर हुने रोग अन्यत्र झैं विराटनगरमा देखिएको हो । बरु झापातिर केही व्यावसायिक विस्तार भएको देखिएको छ । बन्द–व्यापारमा आधारित विराटनगर करिडोर अहिले सुकेर गएको हो । नेपालका पुराना उद्योग र औद्योगिक विकासका उद्योगहरू पनि धरासायी भएर गए । आधारभूत उद्योगहरूको थप विकास हुनसकेन ।’

‘पूर्वमा पहाडी जिल्लाबाट तराई झर्ने क्रम अहिले पनि छ । अहिले पनि पूर्वको पहाडी जिल्लाबाट जनसंख्याको ठूलो बहाव तराईमा झरेको छ । पश्चिम र सुदूरपश्चिमका तराईका शहरले यसको फाइदा लिएको देखिन्छ । तर, विराटनगरको त्यो पनि भएन । मुख्य रूपमा आधारभूत उद्योगको विकासमा विराटनगर चुक्यो । अहिले विराटनगरको औद्योगिक जनशक्ति त भैरहवा सिफ्ट भइसके । उद्योगीहरूलाई चाहिने जनशक्ति नै छैन’, शर्माले भने ।

सय वर्षको इतिहास

विराटनगरको गुराँस पुस्तकालयद्वारा प्रकाशित ‘बरगाछी’ पत्रिकामा उल्लेख भए अनुसार, मोरङ जिल्लाको पुरानो सदरमुकाम रंगेली हो । रंगेलीबाट विराटनगर सदरमुकाम सरेको १०८ वर्ष भयो । १९७१ सालमा तत्कालीन बडाहाकिम जीतबहादुर खत्रीले रंगेलीबाट विराटनगर सदरमुकाम सारेका थिए ।

त्यसबेला उनले माल अड्डा (मालपोत), हुलाक, वन, जेल लगायत जिल्लाका संरचना तत्कालीन गोग्राहमा सारेका थिए । जिल्ला सदरमुकाम सरेको चार वर्षपछि मात्रै गोग्राहको नाम परिवर्तन गरेर विराटनगर राखिएको थियो ।

‘बरगाछी’ पत्रिकाका अनुसार, यो शहरलाई ‘विराटनगर’ नामकरण भने १९७६ सालमा केशरशमशेर राणाले गरेका थिए । त्यसअघिसम्म विराटनगर गोग्राह नामले परिचित थियो । शिकार खेल्न मोरङ आएका बेला केशरशमशेरले महाभारतकालीन राजा विराटको नामबाट यो शहरको नाम राखेका थिए । विराट राजाको दरबारको भग्नावशेष अहिले पनि विराटनगरको दक्षिण क्षेत्र भेडियारी भन्ने स्थानमा भेटिन्छ ।

विराटनगर यो स्वरुपमा आउनुमा धेरैले स्वर्गीय कृष्णप्रसाद कोइरालालाई जस दिन्छन् । उनले नै भारतीय मारवाडीहरूलाई व्यापारका लागि विराटनगर ल्याउने वातावरण निर्माण गरेका थिए । कोइरालाले विराटनगर जुट मिल्स स्थापना गर्न व्यापारी र तत्कालीन सरकारबीच पुलको काम गरेका थिए ।

स्थानीय आदर्श माध्यमिक विद्यालयको इतिहास पुस्तिका अनुसार, कोइरालाकै सक्रियतामा १९९६ सालमा आदर्श माध्यमिक विद्यालय स्थापना भएको थियो । आदर्श विद्यालय दरबार हाईस्कुल पछि नेपालको दोस्रो पुरानो विद्यालयमा पर्छ ।

गिरिजाप्रसाद कोइराला

इतिहास, पूर्वाधार, चेतना सबै विषयमा सम्पन्न हुँदाहुँदै पनि विराटनगर सुस्ताउनुमा राजनीतिक नेतृत्वको उपेक्षापूर्ण व्यवहार जिम्मेवार रहेको ठान्छन् प्रा.डा. धमला । पाँच जना प्रधानमन्त्री दिएको शहरवासीलाई ती प्रधानमन्त्रीहरूले मतदाता मात्रै ठानेको उनको ठम्याइ छ ।

‘विराटनगरले देशलाई पाँच जना प्रधानमन्त्री दियो, पटक–पटक गरेर गिरिजाप्रसाद कोइराला त १० वर्षजति नेतृत्वमा रहनुभयो’ प्रा.डा. धमलाले भने, ‘उहाँको कार्यकालमा समेत विराटनगरले कुनै नयाँ अनुभूति गर्न पाएन ।’

सय वर्ष पुरानो यो शहर पछिल्लो पटक प्रदेश राजधानी बनेको छ । अब त यसले परिवर्तनको अनुभूति दिलाउँछ कि भन्ने झिनो अपेक्षा गरिरहेका बेला शहरवासीले पहिचानको नयाँ द्वन्द्व झेल्नु परिरहेको छ । यसले शिक्षा र स्वास्थ्यको हब बन्ने, स्वास्थ्य सेवाका लागि भारतबाट ठूलो संख्यामा सेवाग्राही आउने अपेक्षामा नयाँ अवरोध ल्याउने त्रास थपिएको छ ।

समाजशास्त्री डा. चन्द्र तिम्सिना इतिहासको विरासत हुँदाहुँदै पनि विराटनगरमा आर्थिक आकर्षण नभएको बताउँछन् । ‘उत्पादन, उत्पादकत्व र रोजगारीका अवसर प्रशस्त हुनुपर्ने हो, त्यो छैन’ उनले भने, ‘नयाँ उद्यम र लगानी थपिएकै छैन, भएका उद्योग व्यवसायीमा पनि असुरक्षाको त्रास छ ।’

विराटनगर चेतनामा अगाडि रहेको प्रमाण हो २००४ सालको मजदुर आन्दोलन । १९९३ असारमा स्थापित विराटनगर जुट मिल्समा पहिलो पटक आफ्ना अधिकारको विषयमा मजदुरहरूले संगठित आन्दोलन गरेका थिए ।

मजदुरले ८ घण्टा काम, रोजगारीको ग्यारेन्टीको माग गरेका थिए । मजदुर आन्दोलनका पछाडि भने राजनीतिक स्वार्थ थियो । गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायत नेताले संगठन विस्तार गरेर राणा विरोधी आन्दोलनका लागि मजदुर आन्दोलनको तयारी गरेको इतिहासमा पढ्न पाइन्छ । २००७ सालको परिवर्तनको पृष्ठभूमि नै २००४ सालको मजदुर आन्दोलन थियो ।

समाजशास्त्री डिल्ली प्रसाईं विराटनगरको सामाजिक एकता विगतदेखि नै बलियो भएको बताउँछन् । ‘इतिहास अध्ययन गर्दा विराटनगरको सामाजिक एकता पहिलेदेखि नै मजबुत थियो’ उनले भने, ‘राजनीतिक चेतनाको हिसाबले पनि विराटनगर अगाडि नै थियो ।’

तर पछिल्लो समय स्वार्थ समूह हावी भएको उनको ठम्याइ छ । ‘हिजो मानिसको आवश्यकता कम थियो, राजनीतिलाई चेतना जगाउने र सेवाको भावले हेरिन्थ्यो’ उनले भने, ‘औद्योगिक मूभमेन्ट र मजदुर आन्दोलन परिवर्तनको आधार थियो । आज ती सबै राजनीतिक स्वार्थले किचिए ।’

जुट मिलले बनाएको शहर

विराटनगर जुट मिल्स सञ्चालन हुनुअघि नेपालमा आधुनिक उद्योग थिएनन् । तत्कालीन व्यापारी रामलाल गोल्छाले विराटनगरबाट जुट र खाद्यान्नको भारततर्फ व्यापार गर्थे । त्यसबेला व्यापारको केन्द्र भारतको पटना नजिकैको कुसमाकट्टा थियो । व्यापारको सिलसिलामा कलकत्ताका व्यापारी राधाकृष्ण चमडियाले रामलाल गोल्छालाई नेपालमा उद्योग खोल्न प्रोत्साहित गरेका थिए ।

‘त्यसबेला रामलाल गोल्छा हुँदै कृष्णप्रसाद कोइराला मार्फत तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर समक्ष उद्योग खोल्ने कुरा पुग्यो’ अग्रज पत्रकार मोेहन भण्डारी भन्छन्, ‘त्यसबेलासम्म नेपालमा आधुनिक उद्योग खुलेका थिएनन्, ऐन पनि बनेको थिएन, विराटनगर जुट मिल्स पहिलो उद्योगको रूपमा दर्ता भयो ।’

त्यसबेला जुट खेती प्रशस्त थियो । जुट मिल्सका कारण नेपालको सीमापार व्यापार सुरु भएको थियो । जुट खेती पर्याप्त भएका कारण उद्योगलाई कच्चा पदार्थको अभाव भएन । विराटनगर जुट मिल्स खुलेको १० वर्षपछि रामलाल गोल्छाको सक्रियतामा रघुपति जुट मिल्स स्थापना भएको थियो ।

विराटनगर जुट मिलभित्रका मेसिन उपकरण

जुटमा सम्भावना भएका कारण ११ वटा उद्योग स्थापना भएका थिए । उद्योग बढे पनि जुट खेतीमा सरकारले प्रोत्साहन गरेन । झन्झटिलो उत्पादन प्रक्रिया र मूल्य नपाउने समस्याले गर्दा यसको खेती घट्दै गयो । जुट खेती घटेपछि ती उद्योगहरू बन्द हुँदैगए । ‘विराटनगरलाई उँभो लगाउने जुट थियो’ पत्रकार भण्डारी भन्छन्, ‘जुट खेती घट्दै गएसँगै विराटनगरको हैसियत पनि खस्कियो ।’

जुट खेतीको विकासका लागि सरकारले ७ असोज २०३१ मा जुट विकास तथा व्यापार संस्थान स्थापना पनि गर्यो । रघुपति जुट मिलद्वारा हीरक जयन्तीका अवसरमा प्रकाशित स्मारिका अनुसार, यसले पनि जुटको उत्पादन र व्यापार बढाउन सकेन । २०४० सालबाट जुट उत्पादन झन्–झन् घट्न थाल्यो । लागत अनुसारको मूल्य नपाएको भन्दै २०४१–४२ सालमा किसानले आन्दोलन नै गरेका थिए ।

‘विस्तारै किसान यसबाट पलायन भए’ रघुपति जुट मिल्सका सञ्चालक सदस्य सोमनाथ अधिकारी भन्छन्, ‘कच्चा पदार्थ बाहिरबाट ल्याएर तयारी सामग्री बाहिरै निकासी गर्दा उद्योगको लागत पनि बढ्यो ।’

विराटनगरका पुराना उद्योगी ताराचन्द खेतान चाहिं २०३४ सालको सरकारको निर्णयले विराटनगरको व्यापारमा धक्का लागेको र यो शहर ओरालो लागेको बताउँछन् ।

‘सरकारले निर्यातमा दिने इन्सेन्टिभ २०३४ सालमा खारेज गरिदियो । त्यसबेला निर्यात गर्दा निश्चित प्रतिशत इन्सेन्टिभ दिइन्थ्यो’ उनले भने, ‘त्यसरी सामान ल्याउँदा फाइदा थियो, व्यापार पनि गुल्जार थियो । निकासीको इन्सेन्टिभ खारेज भएपछि विराटनगरको आर्थिक व्यापारमा ठूलो धक्का लाग्यो ।’

दोस्रो जनआन्दोलनपछिको राजनीतिक हस्तक्षेपले नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्स बन्द भयो । रघुपति जुट मिल्स पनि बन्द भयो । रघुपतिसँगै स्थापना भएको जुद्ध मैच फ्याक्ट्री, मोरङ सुगर मिल्स, अशोक टेक्सटाइल, कोशी मेटल बन्द भए ।

सरकारको स्वामित्वमा रहेको रघुपति जुट मिल्स भने रामलाल गोल्छाको परिवारले २०५३ सालमा खरिद गरेर पुनः सञ्चालनमा ल्याए । सो मिल्स रामलालका नाति राजकुमारले सञ्चालन गरिरहेका छन् । उनले सँगै अरिहन्त जुट मिल पनि सञ्चालन गरिरहेका छन् । अरिहन्त चालु अवस्थामा रहेको नेपालको ठूलो जुट मिल हो ।

पछिल्लो समय किसानलाई जुट खेतीतर्फ फर्काउन उद्योगीले पहल गरिरहेका छन् । गुणस्तरीय बीउ र खेती गर्ने प्रविधि सिकाएर कच्चा पदार्थका लागि किसानलाई जुट खेती गर्न प्रोत्साहन गर्ने तयारी भएको रघुपतिका सञ्चालक सदस्य अधिकारी बताउँछन् । यसले फेरि पनि विराटनगर पुरानै अवस्थामा फर्कन सक्छ कि भन्ने झिनो आशा उनीसँग छ ।

पाँच प्रधानमन्त्रीको शहर

पूर्वको यो शहरबाट पाँच जना प्रधानमन्त्री भएका छन् । तीमध्ये तीन जना बीपी, मातृका र गिरिजा एकै कोइराला परिवारका सदस्य हुन् । यस बाहेक नगेन्द्रप्रसाद रिजाल र मनमोहन अधिकारी विराटनगरका बासिन्दा भएर प्रधानमन्त्री हुने व्यक्ति हुन् ।

समाजशास्त्री तिम्सिनाका भनाइमा ‘विराटनगरले पाँच जना प्रधानमन्त्री त दियो तर, दीर्घकालीन महत्वको प्रभाव राख्ने कुनै विकास अवधारणा पाएन ।’

तीन प्रधानमन्त्री बनाउने कोइराला परिवार तेस्रो पुस्तासम्म आउँदा अहिले छिन्नभिन्न भएको छ । कोइराला परिवारमा अंशबण्डा हुँदा पुर्ख्यौली घर डा. शेखर कोइरालाको भागमा परेको छ । इतिहास बोकेको त्यो घर उनले जोगाएर राखेका छन् । परिवारका अन्य सदस्यले भने आफ्नो अंशमा पाएको जग्गा बेचिसकेका छन् ।

कोइराला निवास, जहाँ नोना कोइराला बस्थिन् । गिरिजाप्रसाद कोइराला आइरहन्थे । अहिले यहाँ शेखर बस्छन् ।

गिरिजा पुत्री सुजाताले शेखरको अगाडि घर बनाएकी छन् । कोइराला परिवारका सदस्य प्रकाश, श्रीहर्ष र डा.शशांकले कोइराला निवासबाट पाएको अंश बेचिसकेका छन् । कोइराला परिवारभित्रको किचलो अब बाहिरै आइसकेको छ ।

छिमेकी समेत रहेका शेखर–सुजाता एक अर्काकोमा आउजाउ समेत गर्दैनन् । मंसिर ४ गतेको निर्वाचनका क्रममा उनीहरू एक–अर्काको घरमा पनि पसेनन् । उनीहरू कांग्रेसको १४औं महाधिवेशनमा पनि तीनतिर उभिए । यसले उनीहरूको राजनीतिक पकड कमजोर बनाउँदै लगेको देखिन्छ ।

सम्भावनाको आश

रघुपति जुट मिल्सका सञ्चालक सदस्य सोमनाथ अधिकारी फेरि पनि विराटनगरको साख फर्किनेमा आशावादी छन् । निर्यात र उत्पादनमुखी व्यवसायले विराटनगरको साख पुनः फर्काउन सकिने उनको दाबी छ ।

कतिपयका भनाइमा, त्रिदेशीय सडक रानी–किमाथाङ्काबाट आगामी दिनमा विराटनगरले फाइदा लिन सक्छ । विराटनगरसम्म भारतीय रेल्वे सेवा आएकाले अब यसको नयाँ सम्भावना पनि छ । अर्थशास्त्री डा. भेषप्रसाद धमला पनि नयाँ सम्भावना देख्छन् । ‘पर्यटन, कृषिमा पर्याप्त सम्भावना र अवसर छन्’ उनले भने, ‘शिक्षा र स्वास्थ्यमा पनि विराटनगरले राम्रो गर्न सक्ने अवस्था छ ।’

कोलकातासँगको व्यापारमा पनि अहिलेसम्म विराटनगरले फाइदा लिनसकेको छैन । कोलकाताबाट वीरगञ्जको दूरी ७७७ किलोमिटर छ । जबकि विराटनगर–कोलकाताको दूरी ५५२ किलोमिटर मात्रै । तर काठमाडौंका व्यापारीले पूर्वको बजारका लागि आवश्यक सामग्रीका लागि समेत अहिले पनि विराटनगरको साटो वीरगञ्ज नाका रोज्छन् ।

विराटनगरमा पनि रेल्वे सेवा आएका कारण अब कोलकाताबाट काठमाडौंसम्मको व्यापारमा विराटनगर नाका पनि प्रयोग हुनसक्छ । काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माण भएपछि विराटनगरबाट काठमाडौंको दूरी अझ छोट्टिनेछ । सो सडकले पनि विराटनगरको सम्भावनाको साख फर्काउनलाई मद्दत गर्नेछ ।

कभर स्टोरी
लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?