+
+
विचार :

अन्याय अर्थात् गौशाला २६

ती राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीले कुन आधारमा गौशाला २६ लाई होटलमा लगे र रात बिताए ? त्यो त सन्दीप पक्षधरले बुझ्नुपर्ने कुरा होइन र ? त्यहाँ जाँदा श्रीमती, प्रेमिका या कुनै पेशेवर, एउटा त परिचय चाहिनुपर्ने होइन र ?

अनुपम रोशी अनुपम रोशी
२०८१ जेठ ९ गते १२:३२

हिजोआज म अलि फरक संसारमा छु । फरक यस अर्थमा कि साहित्य, राजनीति र लेखनभन्दा अलि पृथक्, खेलको संसारमा, त्यो पनि ब्याडमिन्टन ! ३५ वर्ष कटेपछि जागेको यो खेलको मोह पनि बडो अचाक्ली छ ।

समस्या के भने सबै ठाउँमा यो खेल महिलामैत्री छैन । सिङ्गो पुरुषको जमातमा एक–दुई महिलाको सहभागिता नगन्य नै हुँदोरहेछ । अझ भनौं, महिलाको उपस्थिति खेलका लागि नभई ती कसैका लागि मनोरञ्जन भइदिंदा रहेछन् ।

के नै जानेको छ र ? यिनीहरूसँग खेल्नु भनेको आफ्नै इज्जत कम हुनु हो जस्ता मनोभावनाहरू त प्रस्तुत भई नै रहन्छन् । र अर्को कुरा केटी मान्छे देखेपछि नजिकिन खोज्नेहरू पनि उत्तिकै हुने । नजिक हुन नसकेपछि त्यहाँ पनि ईष्र्या र शत्रुता साध्नेहरू उत्तिकै भेटिने ।

एकाध ठाउँ बाहेक खेल महिलामैत्री छँदै रहेनछन् । म गएका केही क्लबहरू पनि त्यस्तै भेटें, जहाँ महिलाहरूको संंख्या नगन्य र पुरुषहरूको एकल आधिपत्य छ । त्यस्तो ठाउँमा कुनै महिला झुक्किएर पुगिन् भने त्यो समाजको मानसिक अवस्था कस्तो होला ? तपाइँ आफैं कल्पना गर्न सक्नुहुनेछ । त्यसमाथि युद्ध, खेल जस्ता जोखिमपूर्ण काम पुरुषहरूकै अधिकार क्षेत्र हुन् भन्ने गलत मनोविज्ञान पनि व्याप्त छ ।

प्रकृति र परम्पराबाट नै कमजोर ठानिंदै आइएका महिलाहरूलाई आजका पुरुषहरूले आफू समान ठानून्, त्यो अपेक्षा त छैन मेरो । फेरि पनि लडाईं त जारी छ । म मेरो अधिकार, कर्तव्य जान्दछु । र, म यो समयको एउटा मर्यादाभित्र बाँचेकी मानिस पनि हुँ । त्यसैले कुनै पनि मानेमा म कमजोर छैन ।

यहाँ हरेक दिन भाषणमा समानताका कुरा दोहोर्‍याइन्छ । महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा पनि भनिन्छ । तर एउटा पाङ्ग्रा क्षतिग्रस्त पारेर यहाँ रथलाई जबरजस्त तान्न खोजिएको देखिन्छ ।

म फेरि ब्याडमिन्टन खेलकै कुरा गर्छु । जहाँ पहिलो समस्या महिला सहभागिताकै देखिन्छ । जसरी बिहानै उठेर एउटा लोग्ने मानिस खेल्न हिंड्छ, त्यसरी उनका श्रीमतीहरू खेल्न आएको खोइ ? परपर क्षितिज पारिसम्म पनि मैले तिनका श्रीमतीहरू खेल्न आएको देख्दिनँ ।

त्यसपछि खेल मैदानको कुरा गरौं जुन महिलामैत्री छँदै छैनन् । अक्सर पुरुष लक्षित खेल मैदान छन् जहाँ सबैभन्दा ठूलो समस्या चेन्जिङ रुमको छ । जुन लोग्नेमान्छेहरूलाई आवश्यक नै पर्दैन भन्ने ठानिन्छ ।

एक दुई महिला खेलाडीलाई कसले टेर्ने ? उनीहरूकै अगाडि टिसर्ट फुकालेर नाङ्गो भइदिन पुरुष साथीहरूलाई कुनै समस्या नै छैन । किनकि उनीहरू लोग्ने मानिस हुन् । उनीहरूलाई सगर्व टिसर्ट उतार्ने अधिकार छ ।

भाषिक अनुशासनहीनताको त कुरै नगरौं । भलै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलमा त्यस्ता शब्द प्रयोग गर्नेलाई रेड कार्ड वा यल्लो कार्ड दिएर कारबाही गरिन्छ । तर हरेक दिन खेल्न आउने ती ओहोदामा पुगेका सभ्य पुरुष साथीहरूलाई कसले सम्झाइदिने ?

धेरैजसो राजनीति, समाज, जनजीवन, अध्यात्म विज्ञान जस्ता विषयमा ठूला–ठूला गफ पनि त्यहाँ भइरहेको हुन्छ । तर अति सामान्य आचरण पालना गर्न उनीहरू चुकिरहेका हुन्छन् । कहिलेकाहीं महिला अधिकारका कुरा पनि ठूलै स्वरमा उचालिन्छ । तर वास्तविक महिला अधिकार के हो त्यो चैं भुलिएको हुन्छ ।

हुनत घरमा सबैजसोका आमा, श्रीमती, दिदीबहिनी र छोरीहरू होलान् । तर समयले उनीहरूलाई यसरी उभ्याइदिएको छ कि घरका दिदीबहिनी, छोरी सबै बिर्सेर अरू स्त्रीका चित्र र चरित्रमाथि प्रश्न गर्न उनीहरूको मानसिकता एकइञ्च पनि हिच्किचाउँदैन । जतिसुकै तर्क–वितर्क चले पनि, जतिसुकै एक्लो महसुस भए पनि, म हार्नेवाला मान्छे होइन ।

यो लेख पढेपछि उनीहरू भन्न सक्छन्, त्यस्तो अप्ठेरो मान्नेले पुरुषहरू खेल्ने ठाउँमा किन आउनुपर्ने ? तर म जान्छु र सधैं जानेछु किनकि खेल र खेलमैदान पुरुषहरूको मात्रै विरासत होइन !

म परें अलि ढिट स्वभावकी । जस्तोसुकै अवस्था होस् गर्छु भने पछि गर्नैपर्ने । त्यही ढिट स्वभावले मलाई हरेक दिन ती सोचहरूको बीचमा लगिरहेको हुन्छ । जहाँ म उभिन्छु त्यहीं लडाइँ गर्नुपर्ने हुन्छ । हुनत मेरो लडाईं ती पुरुष साथीहरूसँग हुँदै होइन ।

मेरो लडाईं त उनीहरूभित्र यो सभ्यताले अन्त्य गर्न नसकेको पितृसत्तासँग हो । अर्को यो समाजसँग हो जो केटीमान्छे भएर केटाहरूको बीचमा गएर कसरी खेल्न सकेको ? जस्ता प्रश्नवाचक हेराइले हरेक दिन डसिरहेको हुन्छ ।

जिन्दगी मेरो । जीवनशैली मेरो । स्वास्थ्य मेरो । तर खेल र खेलमैदान मात्रै पुरुषहरूको कसरी हुनसक्छ ? उनीहरूको जत्तिकै हाँस्ने, खेल्ने अधिकार मेरो पनि त छ । यही सोचले मलाई सुत्न दिंदैन र बिहानै उठेर पुग्छु ब्याडमिन्टन क्लब ।
अस्ति मात्र त्यहाँ चलिरहेको थियो सन्दीप लामिछानेले सफाइ पाएको तात्तातो बहस ।

ऊ अन्तर्राष्ट्रिय खेलाडी हो । उसले न्याय पायो, म अत्यधिक खुसी भएँ । आफूलाई नेपाल सरकारको कर्मचारी बताउने एक जना भलाद्मी उफ्रिंदै थिए । सन्दीपको न्यायको लागि विना ड्रेस दिनभर जुलूसमा गएको पनि सुनाउँदै थिए । त्यसमाथि अरू भलाद्मीहरूले पनि साथ दिंदै भनिरहेका थिए, गौशाला २६ लाई कारबाही हुनुपर्छ । किनकि त्यसले यत्रो अन्तर्राष्ट्रिय रूपमा देशलाई चिनाउने व्यक्तिलाई बदनाम गरी । उसको करिअर खाइदिई !

तर त्यत्रो करिअर बनाएको मानिसले गौशाला २६ लाई लिएर होटल गएको कुरामा सन्दीपको बदनामी उनीहरूले देखिरहेका थिएनन् । सम्भवतः उनीहरूको पुरुष सत्तात्मक आँखा यस्तै कुरामा अभ्यस्त थियो । उनीहरू सबैलाई लागिरहेको थियो, गौशाला २६ ले नै सन्दीपलाई फसाएकी हो ।

तर सिसी क्यामेरामा सन्दीप र गौशाला २६ राजीखुशी सँगै होटल प्रवेश गरेको र सँगै बाहिरिएको भनिएको छ । यति भनिनुको अर्थ त्यो रात उनीहरू सँगै त्यहाँ बसेको भन्ने प्रष्ट हुन्छ । ती राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीले कुन आधारमा गौशाला २६ लाई त्यहाँ लिएर गए ? त्यो त सन्दीप पक्षधरले बुझ्नुपर्ने कुरा होइन र ?

त्यहाँ जाँदा श्रीमती, प्रेमिका या कुनै पेशेवर, एउटा त परिचय चाहिनुपर्ने होइन र ? ती युवती के सन्दीपकी श्रीमती हुन् ? कि ती कुनै पेशेवर हुन् ? पेशेवर हुन् भने त्यसका प्रमाणहरू पनि होलान् जुन त्यत्तिको ल्याकत भएको र राज्यले नै सपोर्ट गरेको मानिसले सजिलै निकाल्न सक्छ । होइन प्रेमिकाको रूपमा लगिएको हो भने, सँगै एक रात बिताएर उसलाई बेवास्ता गर्न मिल्छ ?

म उमेर हदमा जाँदिनँ । न बलजफ्ती बलात्कारको कुरा गर्छु । तर दिनभरि विभिन्न ठाउँमा घुमेर, नजिकको साथी जस्तो भएर त्यत्तिको नाम र ख्याति भएको मान्छेले एउटा कलिली युवतीसँग होटलमा रात बिताएर चटक्क छोडिदिनुलाई तपाईंहरू के भन्नुहुन्छ ? यो घटनामा मलाई सबैभन्दा बढी खट्किएको कुरा यही हो ।

कसैको जिन्दगीलाई यूज एण्ड थ्रो गर्न मिल्छ कि मिल्दैन ? कसैको भावनामाथि यसरी खेलबाड गर्न कुन कानुनले अधिकार दिन्छ ? भोलि तपाईंका दिदीबहिनी या छोरीहरू यस्ता भावनात्मक शोषणमा परे भने तपाईंहरू के भन्नुहुन्छ ? त्यसैले बलात्कारका रूप फरक–फरक हुन्छन् । मैले देखेको चैं उसको मानसिकता र भावना माथिको बलात्कार हो । जुन जघन्य शारीरिक बलात्कार भन्दा डरलाग्दो छ ।

बलात्कार मानसिक विचलन मात्र होइन, एक प्रकारको यौन विकृति हो । र, यस्तो विकृति कुनै पनि मान्छेसँग लुकेर रहेको हुन सक्छ । धेरै अवस्थामा यसलाई मानसिक विचलनको रूपमा व्याख्या गरिन्छ तर हाम्रो जस्तो मुलुकमा यो मानसिक विचलन हुँदै होइन यो सरासर यौन विचलनको कुरा हो । सामाजिक, सांस्कृतिक रूपमा लुकाएर राखिएको निम्नस्तरीय लैंगिक विभेदी जीवनशैली र पुरुषप्रधान सभ्यताले छोडेको नकारात्मक प्रभाव हो ।

यौन मनोविश्लेषक रेमी द गुमरोले आफ्नो पुस्तक ‘फिजिक द लामुर’ मा लेखेका छन्– अक्सर सबै मानिसमा न्यूनाधिक रूपमा अनाचारका जीवाणु विद्यमान हुन्छन् । हाम्रो सामाजिक संरचना र शासन पद्धतिले त्यसमा उतारचढाव ल्याउने काम गर्छ । त्यसै अनुरूप मानिस आपराधिक क्रियाकलापमा संलग्न हुन्छ ।

म प्रश्न गर्न चाहन्छु– त्यो समाजलाई जो आँखा चिम्म गरेर सन्दीपका पछाडि लागेका छन् । म कदाचित सन्दीप विरोधी होइन, तर उसले गरेको हर्कत स्त्री जातिको तेजोबध गर्ने खालको छ । र राज्यका निकायहरू त्यसको मतियार बनेका छन् ।

पहिलोः बलात्कार गर्ने व्यक्ति स्वस्थ दिमागको भए पनि निम्न सामाजिक स्तरको हुन्छ । जसमा सामाजिक चेतनाको कुनै ज्ञान नै हुँदैन ।

दोस्रोः अत्यन्त प्रभावशाली, शिक्षित र सामाजिक वर्गको भए पनि उसमा कुण्ठा र व्यभिचारका प्रशस्त डम्प फाइलहरू हुन्छन् । जसलाई उसले प्रतिष्ठा र सम्पत्तिको आडमा अहंकारपूर्ण बनाएको हुन्छ । मैले जे गर्न पनि सक्छु भन्ने अहंकार नै उसको कुकर्मको कारण बन्छ । सन्दीपको हकमा यही सिद्धान्त लागू भएको देखिन्छ ।

तेस्रोः जुन व्यक्तिको यौनजीवन सहज छैन र परितृप्तिका लागि उसले आफूभन्दा कमजोर मानिसलाई निशाना बनाउने गर्छ । र, नेपाल जस्तो मुलुकमा अर्को पनि कारक हुन आउँछ– त्यो हो पितृसत्तात्मक सोच जहाँ लोग्नेले गर्ने जबरजस्तीलाई कहिल्यै बलात्कारको रूपमा व्याख्या गरिंदैन । उल्टो उसको पौरुषत्व र नैतिक अधिकार भित्र पर्ने निजी सम्पत्तिको रूपमा व्याख्या गरिन्छ । आफ्नो लोग्नेलाई जसरी पनि खुसी पार्नुपर्ने आइमाईको कर्तव्य हो भन्ने गरिन्छ ।

आजकल दिनहुँ जस्तो यस्ता घटनाहरू सार्वजनिक भई नै रहेका छन् । त्यसका यति धेरै प्रकृति छन् कि जसको विवरण यहाँ प्रस्तुत गर्न थालियो भने एउटा ठूलै किताब तयार हुन सक्छ । कतै जागिर लगाउने प्रलोभनमा, कतै प्रमोसनको लालसामा त कतै कैयौं जोखिमबाट बच्न महिलाहरू माथि हुने यौनजन्य हिंसा दिन प्रतिदिन बढ्दो छ ।

विश्व परिवेशमै मानिसहरू यसरी नाङ्गिंदै जान थालेका छन् कि उनीहरूलाई बलात्कार, हत्या जस्ता जघन्य अपराध पनि अति समान्य लाग्न थालिसकेका छन् । बलात्कार, सामूहिक बलात्कार, निर्ममतापूर्वक हत्या जस्ता खबरले सनसनी मच्चाइरहेको छ । र त्यसलाई प्रश्रय दिइरहेको छ अहिलेको शासन व्यवस्थाले । भ्रष्ट र कमिसनखोरी राजनीतिले ।

त्यस्ता लोग्ने मानिसहरूलाई लाग्छ मैले के नै गरेको छु र ? जाबो यौन सम्बन्ध राख्नु पनि अपराध हुन्छ ? सहमतिमै भएको थियो तर पैसाको लागि मलाई फसाउने काम भएको छ आदित्यादि … । यसरी लाजै पचेका र सामन्ती प्रवृत्तिका संवाद अक्सर अपराधीहरूले घटना घटाएपछि भन्ने नै कुरा हुन् ।

तर मलाई लाग्दैन एक युवती जानाजान आफ्नै अपमान गराउन बलात्कारको मुद्दा बोकेर अदालतमा उपस्थित हुन्छे । हुँदै नहुने भन्दिनँ । केही घटना त्यस्ता पनि होलान् जहाँ महिलाले पुरुषलाई फसाउने काम गरेका छन् । तर त्यो पनि स्थान, परिवेश र अवस्था हेरेर तुरुन्त बुझ्न सकिहालिन्छ कि कहाँ कसले कसलाई फसाउने कोसिस गर्न सक्छ ।

हाम्रो देशको सन्दर्भमा त झन् अदालती झन्झट, महँगा र अकुत पैसाको लोभमा अपराधी सेटिङमा फैसला प्रभावित पार्ने वकिल, र न्याय निरुपणमा हुने चरम ढिलाइ र सामाजिक अपमानको डरले बलात्कृत भए पनि कति घटनाहरू त सार्वजनिक नै भएका हुँदैनन् । कति घटनाहरू पैसाले रफदफा पारिएको हुन्छ । त कति धम्की र आश्वासनले चुप लगाइन्छ ।

त्यसमाथि त्यत्रो नाम, ख्याति र राष्ट्रले नै गौरव मानेको व्यक्तिलाई फसाउन के गौशाला २६ लाई सजिलो थियो होला र ? म प्रश्न गर्न चाहन्छु– त्यो समाजलाई जो आँखा चिम्म गरेर सन्दीपका पछाडि लागेका छन् । म कदाचित सन्दीप विरोधी होइन, तर उसले गरेको हर्कत स्त्री जातिको तेजोबध गर्ने खालको छ । र राज्यका निकायहरू त्यसको मतियार बनेका छन् ।

आखिर कहिलेसम्म यो समाजमा केटी मान्छे ढुक्कले हिंड्न नपाउने ? र कहिलेसम्म युवतीहरूले पूजा बोहरा, ख्याति श्रेष्ठ, विमला परियार र निर्मला पन्त भएर मानसिक सन्तुलन र ज्यानै गुमाइरहने ? र कहिलेसम्म हामीले गौशाला २६ ले न्याय पाउँछिन् कि पाउँदिनन् भनेर हेरिरहने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?