News Summary
Generated by OK AI. Editorially reviewed.- कालिका नगरपालिकाले तोकिएको समयमा प्रशासकीय भवन निर्माण नगरेपछि निर्माण कम्पनीलाई एक करोड १६ लाख रुपैयाँ जरिवाना गरेको छ।
- निर्माण कम्पनीले २०७६ फागुन १५ गते दुई वर्षमा काम सम्पन्न गर्ने कार्यादेश लिएको थियो र अहिले ९५ प्रतिशत काम सम्पन्न भएको छ।
- निर्माण कम्पनीले जरिवाना कटाएर भुक्तानी गर्न अनुरोध गरेको छ र नगरपालिकाले जरिवाना रकम बाँकी राखेर बाँकी रकम भुक्तानी गर्न तयार रहेको छ।
८ चैत, चितवन । कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको उल्लेख गर्दै निर्माण कम्पनीलाई एक करोड १६ लाख रुपैयाँ जरिबाना गरेको छ । पटक–पटक म्याद थप गर्दासमेत काम नगरेपछि म्याद थप नगरी जरिबाना गरिएको हो ।
नगरप्रमुख विनोद रेग्मीका अनुसार रविना कन्ट्रक्सनले २०७६ फागुन १५ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी कार्यादेश लिएको थियो । सो मितिमा काम नसकिएपछि नगरपालिकाले चार पटक म्याद थप गरी अन्तिम २०८१ साल कात्तिक ३० गतेसम्म पुर्याएको थियो ।
खरिद ऐनमा म्याद सकिएपछि काम नसकिएमा जरिवाना लगाएर काम गर्न समय दिन मिल्ने प्रावधान रहेको छ । नगरपालिकाका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्दासमेत काम नगरेपछि कार्यपालिका बैठकले जरिवानाको निर्णय गरी नगर परिषद्बाट समेत अनुमोदन गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंका अनुसार नगरपालिकाको निर्णय चित्त नबुझाइ उच्च अदालत हेटौँडामा निर्माण व्यवसायीले मुद्दा दर्ता गराएका थिए । उनका अनुसार अदालतले मुद्दा खारेज गरेको छ । निर्माण कम्पनीले काम ९५ प्रतिशत सम्पन्न गरेको छ । ११ करोड ५६ लाख रुपैयाँमा भवन निर्माणको सम्झौता भएको थियो ।
कम्पनीलाई हालसम्म सात करोड रुपैयाँ भुक्तानी गरिएको छ । निर्माण व्यवसायीले नगरपालिकालाई १० प्रतिशत रकम कटाएर भुक्तानी गर्न अनुरोध गरेको छ । चौलागाईंका अनुसार निर्माण कम्पनी मध्यस्थकर्ताकोमा छलफल गराउने प्रयासमा छ ।
छलफलपछि जरिवाना हटेमा बाँकी रकम पछि लिने गरी भवन हस्तान्तरण गर्ने तयारीमा कम्पनी छ ।
उनका अनुसार जरिवाना रकम बाँकी राखेर अरू रकम भुक्तानी गर्न नगरपालिका तयार छ । सो भवनमा जेनजी आन्दोलनको समयमा तोडफोड भएको थियो । निर्माण कम्पनीले बिमा दाबी गरेर मर्मत सम्भार सकेको छ । आफ्नो भवन बन्न ढिला भएपछि झन्डै ९ वर्षदेखि नगरपालिकाको कार्यालय भाडाको भवनमा बस्न बाध्य छ ।
प्रतिक्रिया 4