+
+
Shares
फिल्म :

दिमाग हल्लाइदिने १५ फिल्म

फिल्मको सुरुमा भने एकदमै सामान्य जस्तो लाग्न सक्छ । जेक नाम गरेका एउटा युवकले प्रेमिकालाई आफ्ना बाबुआमासँग भेट गराउन लैजान्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यी चलचित्रहरूमा साइन्स फिक्सन र डरलाग्दा तत्वहरू मिसिएका छन्, जसले दर्शकलाई सोच्न बाध्य पार्छन्।
  • ‘बिहाइन्ड हर आइज’, ‘मिरर’, ‘डार्क’, ‘इभिल’ जस्ता सिरिज र चलचित्रहरू प्रविधि, मनोविज्ञान र रहस्यमा केन्द्रित छन्।
  • यी चलचित्रहरूले मानवीय सम्बन्ध, प्रविधि र मानसिकता जस्ता विषयहरू गहिरो रुपमा प्रस्तुत गर्छन्।

के तपाईंले कहिल्यै आफ्नो वरपरको संसारको प्रकृतिमाथि गहिरिएर सोच्नुभएको छ ? सत्य के हो भनेर प्रश्न गर्नुभएको छ ?

त्यस्ता प्रकृतिका चलचित्रलाई माइन्ड-बेन्डर भनिने गरिन्छ । यस्ता विधाका चलचित्रहरूले दर्शकलाई सोच्न, अनुमान गर्न र कहिलेकाहीँ त आफूलाई नै प्रश्न गर्न बाध्य पार्छन् ।

यो त्यस्तो विधा हो जहाँ प्राय: साइन्स फिक्सन (विज्ञान कथा) र डरलाग्दा तत्वहरू एकअर्कासँग मिसिन्छन् । कहिलेकाहीँ सामान्य मानिसहरू असाधारण परिस्थितिमा फसेका पनि देखाइन्छ । तर यो विधाको एउटा सामान्य नियम छ, यसले तपाईंलाई सोच्न लगाउँछ ।

नेटफ्लिक्समा उपलब्ध त्यस्ता केही उत्कृष्ट माइन्ड-बेन्डर चलचित्रहरू

१. बिहाइन्ड हर आइज (Behind Her Eyes)

स्टिभन लाइटफुटको इरोटिक थ्रिलर सिरिज ‘बिहाइन्ड हर आइज’ सारा पिनबरोको सोही नामको उपन्यासमा आधारित छ । यसमा सिमोना ब्राउनले लुइसको भूमिका निभाएकी छिन् । लुइस एकल आमा हुन्छिन् । उनले आफ्नो हाकिमकी पत्नीसँग अनौठो मित्रता गाँस्छिन् । लुइस उनीहरूको वैवाहिक सम्बन्धमा नजिकिँदै जाँदा आफू रहस्यहरूको एक जटिल जालको बीचमा फसेको थाहा पाउँछिन् । त्यसपछि यस त्रिकोणात्मक प्रेममा के-के हुन्छ, कस्तो मोड आउँछ भन्ने देखाइएको छ । यसमा प्राय: दिमागका खेलहरू देख्न सकिन्छ ।

२. मिरर (Black Mirror)

चार्ली ब्रुकरको यो एन्थोलोजी सिरिजमा प्रविधिले भविष्यलाई कसरी असर गर्छ भन्ने विषयमा केन्द्रित छ । प्रत्येक भाग छुट्टै कथा भए पनि सबै प्रविधिको दुष्परिणाम र मानवीय सम्बन्धको जटिलताबारे यसमा देखाइएको छ । विशेषगरी ‘सान जुनिपेरो’, ‘बी राइट ब्याक’, ‘नोजडाइभ जस्ता एपिसोडहरूले सामाजिक सञ्जाल, प्रेम, मृत्यु र पीडाका गहिरा पाटो देखाउँछन् । समग्रमा हामी बस्ने प्रविधिले ढाकेको संसारमा हामी कसरी आइपुग्यौं ? यसमा हामी कहाँ ठिक हुन्छौं ? भन्ने कुरा गम्भीर रुपमा देखाइएको छ ।

३. ब्रान्ड न्यू चेरी फ्लेवर (Brand New Cherry Flavor)

सन् १९९० को दशकको हलिउडमा एक फिल्म निर्माता बदला लिन जादु गर्ने एक बुढी महिलासँग मिल्न जान्छिन् । त्यहाँदेखि यसको कथाले अचम्म लाग्दो मोडहरू लिन थाल्छ । यस्तै डर, मनोविज्ञान, रक्तपातपूर्ण दृश्यले भरिपूर्ण छ यो सिरिज । यो सिरिज टोड ग्रिमसनको उपन्यासमा आधारित छ । यसलाई निक एन्टोस्का र लेनोर जियनको निर्देशन गरेका छन् ।

४. डार्क (Dark)

यो जर्मन सिरिज एउटा सानो गाउँमा हराएको केटाबाट सुरु हुन्छ । उसलाई गरिएका पछिल्ला खोजी, नजिकैको आणविक ऊर्जा केन्द्र मुनि खुल्ने वर्महोल, त्यसकै आसपास भएका स्थानीय परिवारहरूको रहस्यमयी कथा नै यसको मुख्य विषयवस्तु हो । सुरुमा हेर्दै गर्दा यसको कथा नबुझे जस्तो लागे पनि अन्त्यसम्म पुग्दा तपाईंले सन्तोष नै पाउनुहुनेछ ।

५. इभिल (Evil)

यदि धेरै ट्वीस्टहरू भएको शो हेर्न खोजिरहनु भएको छ भने तपाईंका लागि इभिल उपर्युक्त हुन सक्छ । यसमा रहेका तीन पात्रहरू मनोवैज्ञानिक, प्रशिक्षार्थी पादरी र प्रविधि विज्ञले एउटा क्याथलिक चर्चको कुनै घटनाको अनुसन्धान गर्छन् । सो क्रममा उनीहरूले हरेक हप्ता फरक-फरक राक्षससँग समाना गर्नुपर्ने हुन्छ ।

६. हर्स गर्ल (Horse Girl)

जेफ बेनाको निर्देशनमा बनेको यो सर्रियल ड्रामाले सारा (एलिसन ब्री) नामकी एक्ली युवतीको कथा भन्छ । सारा घोडालाई असाध्यै माया गर्ने हुन्छिन् । उनले विस्तारै विचित्र र भविष्यवाणी जस्तो सपनाहरू देख्न थाल्छिन् । तर उनले देखेका सपनाहरूमा विश्वास गर्ने कोही हुँदैनन् । के उनी मानसिक रोगी हुन् ? यो फिल्मले एकै पटक मानसिक समस्याको संवेदनशीलता देखाउनुका थ्रिल पनि दिन्छ ।

७. द हाउस (The House)

तीन खण्डको यो स्टप मोसन एनिमेसन फिल्म एक पुरानो घरमा बस्ने फरक-फरक परिवारहरूको कथा हो । यो सिरिजमा सुरुदेखि नै अनौठो र रहस्यमय वातावरण हुन्छ ।

समय फेरिँदै गए पनि त्यो घरमा केही न केही गलत भइरहेको जस्तो लागिरहन्छ । कहिलेकाहीँ सामान हराउँछ । कहिले घर बनाउने मान्छे घर छाड्न मान्दैन । अनि कहिले आत्माहरू त्यहाँ घुमिरहेका हुन्छन् । यस्तो वातावरणले गर्दा यसलाई हेर्नैपर्ने बनाएको छ ।

८.आई एम थिंकिङ अफ एन्डिङ थिंग्स (I’m Thinking of Ending Things)

चार्ली काउफम्यानले मनोवैज्ञानिक फिल्महरूमा आफूलाई ‘मास्टर’ प्रमाणित गरिसकेका छन् । उनले यो चलचित्रका लागि सोही नामको इयान रीडको २०१६ को उपन्यासलाई आधार बनाएका छन् ।

फिल्मको सुरुमा भने एकदमै सामान्य जस्तो लाग्न सक्छ । जेक नाम गरेका एउटा युवकले प्रेमिकालाई आफ्ना बाबुआमासँग भेट गराउन लैजान्छ । तर केही समयपछि कथा विस्तारै अनौठो र अलमलिएको बन्न थाल्छ । फिल्मको अन्त्य झन् अचम्मको छ । जसले तपाईंलाई सोच्न र अरूहरूसँग कुरा गर्न बाध्य पार्न सक्छ ।

९. लस्ट (Lost)

सम्भवत: माइन्ड-बेन्डिङ टिभी शोहरूको सूची ‘लस्ट’ बिना पूरा हुँदैन । जे.जे. अब्राम्स र डेमन लिन्डेलोफले बनाएको यो सिरिज एउटा विमान दुर्घटनाबाट सुरु हुन्छ । त्यो दुर्घटना अनौठो टापुमा भएको हुन्छ । त्यसले गर्दा ती यात्रुहरू अल्मलिएका, घाइते भएका र डराएका हुन्छन् । उनीहरूले सो समयमा बाँच्नका लागि संघर्ष गर्नुका साथै आफ्नो अतीतसँग पनि जुझ्नु परिरहेको हुन्छ । छ वटा सिजनसम्म चलेको यस सिरिजमा अनपेक्षित मोड, रहस्यमयी घटनाहरू, फ्ल्यासब्याक र पात्रहरूबीचको द्वन्द्व देख्न पाइन्छ।

१०. लभ, डेथ एण्ड रोबोट्स (Love, Death & Robots)

यो सिरिज छोटा एनिमेटेड फिल्महरूको संग्रह जस्तै छ । डेडपूल निर्देशक टिम मिलरले बनाएको यो सिरिजमा शीर्षकमा भएका विषयहरू प्रेम, मृत्यु र रोबोटसम्बन्धी घटनाहरू देख्न सकिन्छ । यो छोटो छ । तर फरक-फरक विधाहरू मिसाइएको छ । विभिन्न किसिमका एनिमेसन शैलीहरू प्रयोग गरिएको छ । जसले गर्दा हेर्दा कहिल्यै दिक्क लाग्दैन।

११.म्यानियाक (Maniac)

पाट्रिक सोमरभिलको यस सिरिज अचम्म-अचम्मका मोडहरूले भरिएको छ । यसमा न्यूयोर्कको एउटा अनौठो संसार देखाइएको छ । त्यहाँ एनी (एम्मा स्टोन) र ओवेन (जोना हिल) नाम गरेका दुई अपरिचित पात्रहरू एउटा रहस्यमयी औषधिको परीक्षणमा सहभागी हुन्छन् । त्यो परीक्षण केवल तीन दिनको हुन्छ । तर, उनीहरू मानसिक रूपमा अनेकौं अनौठा संसारमा पुग्छन् ।

१२.म्यानिफेस्ट (Manifest)

मोन्टेगो एयर फ्लाइट ८२८ का यात्रुहरूले ५ वर्षपछि आकस्मिक रूपमा फेरि अवतरण गर्छन् । तर उनीहरू कुनै दुर्घटनामा परेर हराइएको अनुमान गरिएको छ । त्यसमाथि उनीहरू घर फर्किंदा सबै थोक बदलिइसकेको हुन्छ ।

यस्तो कथा भएको यो सिरिज सोसल मिडियामा समेत निकै धेरै चर्चित बनेको थियो । समग्र सिरिज भने आखिरमा प्लेन ८२८ सँग के भयो ? भन्ने आसपास छ ।

१३.द परफेक्सन (The Perfection)

रिचार्ड शेफर्डको यो अनौठो र डर लाग्दो थ्रिलर फिल्म चार्लोट (एलिसन विलियम्स) नामकी एक प्रतिभाशाली सेलो वादकको वरिपरि घुम्छ । आफ्नी आमालाई हेर्नुपर्ने भएपछि उनको सांगितिक करियर अकस्मात् रोकिन्छ ।

केही वर्षपछि उनले आफ्नो पुरानो संगीत शिक्षकसँग सम्पर्क राख्न खोज्छिन् । शिक्षकले उनलाई लिजी (लोगन ब्राउनिङ) नामकी अर्की होनहार विद्यार्थीसँग भेट गराउँछन् ।

चार्लोट र लिजी छिट्टै नजिक हुन्छन् । तर जब उनीहरू शाङ्घाई घुम्न जान्छन्, लिजी बिरामी पर्छिन् । त्यसपछि के हुन्छ भन्ने कुरा नै फिल्ममा देखाइएको छ ।

१४.रसियन डल (Russian Doll)

यो एउटा टाइम लुपको कथा हो । यसमा गेम डेभलपर नाडियाको कथा देखाइएको छ । उनी बारम्बार आफ्नो ३६औं जन्मदिनको दिनमा बाँचिरहेकी हुन्छिन् । त्यो दिनको अन्त्यमा उनी मर्छिन् । तर अर्को बिहान फेरि ठिकठाक भएर उठ्छिन् । र त्यो दिन फेरि सुरु हुन्छ ।

नाडियालाई थाहा छैन कि यस्तो किन भइरहेको छ । तर उनले त्यसको कारण पत्ता लगाउन र यसलाई कसरी रोक्ने भनेर खोज्न थाल्छिन् । यस्ता बारम्बार मृत्यु र पुनर्जन्मका घटनाले उनलाई आफ्नो जीवन, सम्बन्ध र आफ्नैबारे धेरै नयाँ कुराहरू सिकाउँछ।

१५.स्पाइडरहेड (Spiderhead)

यो फिल्म लेखक जर्ज सान्डर्सको छोटो कथामा आधारित छ । यसले भविष्यको एउटा जेलको कथा भन्छ । त्यहाँ कैदीहरूले सजाय छोट्याउनका लागि आफैंमा मानसिक असर पार्ने औषधिहरूको परीक्षण गर्न सक्छन् । तर एक दिन कैदीहरूले त्यहाँकोबारेमा अनौठा कुरा थाहा पाउँछन् । त्यसपछि उनीहरू सत्य खोज्ने प्रयासमा लाग्छन् । यसको कथा त्यसरी नै अघि बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?