+
+
Shares
फिल्म :

निरञ्जन: रातमा टाँसिएको जून

फिल्ममा ‘श्रीधर’ नामक बालक छ, जसको अर्को दिन व्रतबन्ध हुँदैछ। व्रतबन्ध सनातन परम्पराको षोडश संस्कारमध्येको एउटा महत्वपूर्ण संस्कार हो।

ऋतेश ऋतेश
२०८२ असार १४ गते ९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले अनस्तित्व र अस्तित्वको धारणा, समाज र संस्कारको प्रभाव र मृत्युपछि आत्माको यात्रा व्याख्या गरे।
  • उहाँले ‘साक्षी रूख’ र ‘अनहद’ फिल्ममार्फत समाजको ओझेलमा परेका पात्रहरूको जीवन र मृत्युको कथा देखाउनुभयो।
  • फिल्म निर्देशक निरञ्जनले जीवन, मृत्यु र आत्माको अनन्त यात्रालाई प्राकृतिक र मौन शैलीमा प्रस्तुत गर्नुभएको छ।

हामीलाई लाग्छ, अनस्तित्वको कुनै किसिमको रूप-स्वरूप हुँदैन । यो अदृश्य हुन्छ । तर, अदृश्यताभित्र पनि अतीन्द्रिय हुन्छ । त्यसैले विश्वास गर्न सकिन्छ, अनस्तित्वको गर्तमा पनि आफूभित्र वजन भरेर केही अर्थ-आशय डुबिरहेका हुन्छन् अथवा त्यो आफैंमा अस्तित्वको हाँगामा अल्झिरहेको हंस हुन सक्छ ।

एउटा निर्जन पत्थरभित्र पनि अन्तस्तत्त्व हुन्छ । त्यसैले स्वीकार्न सकिन्छ, हरेक सजीवता-निर्जीवता, अस्थिरता-स्थिरता, भौतिक-अभौतिक, विश्वास-अविश्वास, मूर्त-अमूर्त सबैमा कुनै न कुनै आकार लिएर अवस्थित तथा उपस्थित हुन्छन्, आत्माको मसिनो रेसा । परिचय, पहिचान, सम्बन्ध, सम्बोधन, वर्ग, वृत्त, सन्नाटा, शून्यता सबैभित्र अस्तित्वको बीजारोपण गरिएको हुन्छ ।

जस्तोसुकै व्यासको कोलाहल अथवा चकमन्नतामा पनि हामी हाम्रै धड्कनको गुञ्जनलाई आफ्ना कानहरूमा हुल्न खोज्छौं । आवाज हाम्रो निमित्त अस्तित्वको त्यान्द्रो हो। आफूलाई खोज्दै हिंड्नु हाम्रो प्रकृति-प्रवृत्ति हो । फरक नाम र आयतनको आवरण-अवतारमा यसले आफूलाई यसरी नै अन्त्य-अनन्तसम्म परावर्तन गराइरहेको हुन्छ। यो हामीले अङ्गीकार गर्नुपर्ने वास्तविकता हो। यसैमा हाम्रा अस्मिताहरू निहित हुन्छन्, जो समाजले निर्धारित तथा पारित गरेका थरीथरीका बन्धनहरूमा बाँधिएर त्यसैका चौघेराभित्र बाँच्न-मर्न अभिशप्त छन् ।

समाजले स्थापित गरेका परम्परा-प्रक्रियाले हामीलाई हाम्रो स्थान र अवस्थाको बोध-अवगत गराउने गर्छन्। हामीलाई यिनीहरूले अनुशासित तथा मर्दादित भएर बाँच्न सिकाउँछन्। जन्मदेखि मृत्युसम्म मात्र नभएर अन्त्यपश्चात् पनि हामी यसैका विभिन्न संस्कारसँग बाँधिएका हुन्छौं। धर्म तथा मिथकका कोख-काखमा हाम्रो इतिहास हुन्छ ।

सभ्यता हुन्छ। हाम्रो श्रद्धा हुन्छ। यिनीहरूले नै हाम्रा कथाहरूलाई बाँधेका हुन्छन् । हामीलाई रगतले भन्दा पनि यिनै सम्बन्धहरूले बुनेका हुन्छन् ।

कहिलेकाहीं प्रश्न गर्न मन लाग्छ, हाम्रा पैतालाले कस्तो धरातललाई उचालिरहेका छन् ? हाम्रो चेतनाले कस्तो विश्वास-आस्थालाई टेकिरहेका छन् ? के यसका मूल्य-मान्यताहरूले हाम्रो गह्रुँगा विवशता-बाध्यताहरूलाई बोक्न सक्छन् ? के यसले हाम्रा अहमता र अन्धकारलाई धान्न सक्छन् ?

कहिलेकाहीं प्रश्न गर्न मन लाग्छ, हाम्रा पैतालाले कस्तो धरातललाई उचालिरहेका छन् ? हाम्रो चेतनाले कस्तो विश्वास-आस्थालाई टेकिरहेका छन् ? के यसका मूल्य-मान्यताहरूले हाम्रो गह्रुँगा विवशता-बाध्यताहरूलाई बोक्न सक्छन् ? के यसले हाम्रा अहमता र अन्धकारलाई धान्न सक्छन् ?

यस्ता शंका-आशंकाहरूले फगत ती परिधिहरूलाई शनै:शनै: खुम्च्याउँदै लिएर जाने काम गर्छन् । परिणामस्वरूप: मानसिकताहरू संकुचित बन्दै जान्छन्, अन्धविश्वासका आकार तन्किंदै जान्छन्।

के मलाई अस्तित्ववादका नाराहरूमा बाँचिरहेको अस्तित्ववादी भन्न मिल्छ-मिल्दैन ? तर, म यहाँ आफ्नो नभएर ‘निरञ्जन’का पात्रहरूलाई खोजिरहेको छु, जो हामीमाझ भएर पनि ओझेलमा बाँचिरहेका छन् । केही समयअघि मात्रै मलाई ‘निरञ्जनराज भेटवाल’का केही लघु फिल्महरू हेर्ने मौका मिलेको थियो। तीमध्ये एउटा थियो ‘The Witness Tree’ अर्थात् ‘साक्षी रूख’, जो विगतका केही वर्षहरूमा राष्ट्रिय-अन्तर्राष्ट्रिय गरेर विभिन्न चर्चित तथा प्रतिष्ठित फिल्म फेस्टिभल-महोत्सवहरूमा सहभागी भयो-भइरहेको छ ।

यो लघु फिल्म बर्लिनको ‘सर्ट फर्म स्टेसन’मा छानियो । यसले २८औं ‘बुसान फिल्म फेस्टिभल’मा आफ्नो उपस्थिति जनायो। ५३औं ‘इन्टरनेशनल रोट्रड्याम’ तथा ४६औं ‘क्लेर्मोन्ट फेराड इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल’मा सहभागिता देखायो । केही समयअघि मात्र यसले ८औं ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा उत्कृष्ट सर्ट फिल्मको उपाधि पनि जित्यो । लगभग पन्ध्र मिनेट लामो यो लघु फिल्ममा तीन पात्रहरू छन्– हजुरबुबा, आमा र छोरा ।

उनीहरूको असमञ्जसतालाई ‘निरञ्जन’ले अनेक बिम्ब मार्फत प्रतिबिम्बित गर्न खोजिरहेका छन्। ती पात्रका अस्तित्वलाई उधिन्न खोजिरहेका छन्, जो देश-समाजमा नभएर कुनै न कुनै कोण र किनारबाट विलखबन्दमा उभिएर परिवारभित्रै आफ्नो अस्तित्व खोजिरहेका छन्। उनीहरू स्वामित्व-गौरवका लागि आफैंसँग लडिरहेका छन् ।

फिल्ममा ‘श्रीधर’ नामक बालक छ, जसको अर्को दिन व्रतबन्ध हुँदैछ। व्रतबन्ध सनातन परम्पराको षोडश संस्कारमध्येको एउटा महत्वपूर्ण संस्कार हो। यसलाई एक प्रकारको शपथग्रहणभन्दा पनि हुन्छ । व्रत भनेको नियममा बस्ने संकल्प र बन्ध भनेको त्यसप्रतिको दृढता भन्ने बुझिन्छ ।

यो संस्कार बालक अलिकति जान्ने-बुझ्ने (सामान्यतया ८ वर्ष) भएपछि गरिने पहिलो संस्कार हो । यसले अरू पारम्परिक कर्म-संस्कार गर्ने बाटो खुलाउने काम गर्छ । जसरी बालिग भएर नागरिकता पाएपछि भोट दिन मिल्छ, त्यसरी नै यो कृत्यपछि अरू कर्म-काण्ड गर्ने अनुमति पाइन्छ। यसले परिवारमा आफ्नो आधिकारिकता दिन्छ ।

व्रतबन्ध हुने अघिल्लो रात ‘श्रीधर’लाई उसको हजुरबुबाले एउटा भयानक रहस्य सुनाउँछन्, जसलाई उसकी आमाले लामो समयदेखि लुकाएर राखेकी हुन्छिन् । उसले थाहा पाउँछ, आफ्नो बुबा घरअगाडिको कटहरको रूखमा झुण्डिएर आत्महत्या गरेको रहस्य ।

अहिलेसम्म उसले समाइरहेको अस्तित्वको हाँगा भाँचिन पुग्छ। ऊ पछारिन पुग्छ, यस्तो अन्धकार र अन्जान स्थानमा, जहाँ उसको परिचय-पहिचानको ज्योति धिपधिप गर्न थाल्छ । ऊ आफूभित्रको अलिकति आगो लिएर राति घरबाट निस्किन्छ ।

प्रश्न उब्जिन्छ, व्रतबन्ध हुने अघिल्लो रात नै उसको हजुरबुबाले त्यो रहस्योद्घाटन किन गरे  ? किन उसकी आमाले अहिलेसम्म त्यो रहस्यलाई दबाएरै राखिन्  ?

‘श्रीधर’का हजुरबुबा यस्ता पात्र हुन्, जो समाजमा गडिएका मर्यादा-प्रतिष्ठाबाट डोरिन अभिशप्त छन् । ती तत्त्वहरूलाई हामीले नै मानवता-नैतिकताभन्दा माथि राख्ने हरदम कोसिस गरिरहेका हुन्छौं । उनीभित्र यस्तो भय-भाव हुर्किरहेका हुन्छन्, जसले उनको पवित्रतामाथि प्रश्न गर्न सक्छन् ।

उनको कुल-जात र धर्म माथि शंका गर्न सक्छन् । बिहे गरेको ६ महिनामै ‘श्रीधर’ जन्मिएको हुन्छ । स्वास्नीले बिहेपूर्व नै अरू कसैको गर्भ बोकेको थाहा पाएपछि उनका छोराले आत्महत्या गरेका हुन्छन्, घरअघिको रूखमा झुण्डिएर । त्यो मृत्युले पनि अर्थ दिन खोज्छ, ऊ पनि समाजमा व्याप्त भएका तिनै चिन्तनहरूबाट संक्रमित थिए । के हामीभन्दा पनि माथि विराजमान हुन्छ, धर्म-संस्कार ? इज्जत-प्रतिष्ठा ?

‘श्रीधर’की आमा उसलाई खोज्न अन्धकारमा निस्किन्छिन्। आफ्नो छोरालाई भेटिसकेपछि उनले ती प्रश्नहरूको सामना गर्छिन्, जसको जवाफ उनीसँग भए पनि छोरालाई भन्न-सुनाउन सक्दिनन्। उनले पनि त्यस्तै प्रकृतिको भयलाई आफूभित्र जमाएर राखेकी छिन्। उनले पनि वायुमण्डलमा बगिरहेको त्यही विचारधाराहरूलाई पिएकी छिन्, जसले उसको छोरालाई समाज-परिवारमा नयाँ पहिचान दिन खोजिरहेका छन्। यसबीच ‘श्रीधर’ कुन स्थान र अवस्थामा छ ? उसले कस्तो बाटो समाउँछ ? के ऊ पनि त्यही बाटोमा हिंड्न विवश छ, जो पहिल्यैबाट उसको निमित्त खनिएको छ ?

रातबाट शुरू भएर रातमा नै सकिन्छ, यो कथा। ‘निरञ्जन’का अरू फिल्महरू हेर्दा पनि अनुमान लगाउन सकिन्छ, उनलाई रात मन पर्छ। रातको अन्धकारले त्यो देखेको हुन्छ, जसलाई उज्यालोले कहिल्यै देख्न सक्दैन । अन्धकार एउटा यस्तो छाया-चित्रपट हो, जहाँ कोरिएका दुर्बोध दशा-मनोदशाहरू पनि सजिलैसँग व्यक्त-अभिव्यक्त हुन सक्छन्। ‘साक्षी रूख’मा अन्धकार माध्यम बनिदिएको छ, जसले ती पात्रहरूको भावलाई सहजै पढ्न सकिरहेको छ। शायद त्यसैले पनि ‘निरञ्जन’ले समाजको काँचो र दुर्लभ चित्र कोर्न रातलाई आफ्नो क्यानभास बनाए-बनाउँछन्।

फिल्ममा पात्रहरू ज्यादा बोल्दैनन्। बरू, उनीहरूको मौनता जोड-जोडसँग चिच्याउँछन्। आफ्नो छोराले गरेको प्रश्नमा उत्तरहीन आमा। बुहारीको प्रश्नमा मौन ससुरा। रूखसँगको मौन वार्तालाप। आफूले पहिरिएको जनै हेरेर नि:शब्द भएका श्रीधर। फिल्ममा प्रश्नहरूले आवाज पाएका छन्, तर जवाफले मौनता। मौनताले नै पात्रहरूको मनस्थितिलाई परावर्तन गरिरहेका छन्। बरू, त्यसका माध्यम बनिदिएका छन्, पात-हाँगाको सर्सराहट, खोलाको आहट, झोलुङ्गे पुलको रूवाइ, बन्चरोको क्रोध…।

रूखहरू आफ्नो जाति-प्रजाति अनुसार ३० देखि २००० वर्षसम्म बाँच्न सक्छन् । रूखहरूको औसत आयु २००-३०० वर्षको हुन्छ। कुनै पनि भूगोल अथवा आकाशको कथा-कहानी कहनको लागि रूखभन्दा राम्रो-उचित कथावाचक अरू के हुन सक्ला र ? रूखहरू उहिल्यैदेखि कैयौं जीवन-मृत्युको चुपचाप साक्षी बसेका हुन्छन् । उनीहरूले जति कथा अरू कसैले देखेका-पढेका हुँदैनन् ।

‘साक्षी रूख’का सबैभन्दा महत्वपूर्ण पात्र हो, रूख। कटहरको रूख । एकपल्ट ‘श्रीधर’की आमाअघि उक्त रूखबाट कटहर आफैं खस्छ, जसले कुनै प्रकारको प्रतीकात्मक संकेत-सन्देश दिन खोजिरहेको प्रतीत हुन्छ । अर्को दृश्यमा देखिन्छ, रूखबाट थुप्रै कटहरहरू भुइँमा खसेका छन्, जसले कता-कता विरोध-विद्रोह गरिरहेको भान हुन्छ ।

यस्तो लाग्छ, श्रीधरको बुबाको आत्मा त्यहीं रूखभित्र पसेको छ अथवा ऊ रूखमा परिणत भएको छ । रूख पनि बोलिरहेको झैं महसुस हुन्छ। त्यसका पात-हाँगाहरू बतासको हात समाएर आफूलाई व्यक्त गरिरहेका झैं लाग्छन्। उक्त रूखलाई हाम्रो समाज अथवा संस्कार भन्न सकिन्छ ।

फिल्मको एउटा दृश्यमा आमा–छोरालाई झोलुङ्गे पुलमा देखाइन्छ। उक्त झोलुङ्गे पुल समाजको यस्तो कठोर सिमाना भएर झुन्डिरहेको छ, जसलाई तरेर समाज विपरित हिंड्ने सामर्थ्य दुवैले देखाउन सक्दैनन्। फिल्मको अन्त्य एकदमै प्रभावकारी छ, त्यसलाई लिएर झनै लामो विवेचना गर्न सकिन्छ।

हामी सामाजिक-सजग-सचेत प्राणी हौं। हामीले बनाएको समाजले कहिलेकाहीं हामीलाई पनि आकार दिने गर्छ। ‘श्रीधर’को उमेर मात्रै होइन, हाम्रो मानसिकता-आत्मिकता पनि भिजेको माटो जस्तो लचकदार र कोमल हुन्छ । ‘निरञ्जन’ले ‘साक्षी रूख’मार्फत आफ्नो कलालाई मात्रै देखाएका छैनन्, उनले हाम्रो समाज देखाएका छन् । समाजले पारित गरेका प्रणालीलाई चुनौती दिने व्यवधान पनि देखाएका छन् ।

यस फिल्ममा उनले क्यामरालाई धेरै चलाएका छैनन् । बरू, त्यसका फ्रेमहरूमा कैद भएकाहरू मात्रै चल्छन्, आफ्नो भाग्य-दुर्भाग्य बोकेर । फिल्ममा स्थिरताले चाल पाएका छन्, निर्जीवताले आवाज। ‘निरञ्जन’ले यस्तो दुर्बोध र दुर्लभ चित्रलाई आफ्नो क्यानभासमा पोतेका छन्, जुन हाम्रो नजिकै तर ओझेलमा लुकेर बसिरहेको छ । ‘साक्षी रूख’ आफूभित्र ठूलो-चर्को कोलाहल बोकेर शान्त भएर बगिरहेको खोला झैं लाग्छ ।

‘निरञ्जन’का पात्रहरू मात्रै नभएर उनी स्वयं पनि ओझेलमा छन्, ओझेलमा भन्दा पनि उनी छायामा बस्न रुचाउँछन्। सामाजिक सञ्जालहरूमा कम देखिन्छन्। अझ योभन्दा मनासिब रहला, उनी कतै देखिँदैनन्। भनिन्छ, आफ्नो सिर्जनामा आफू प्रतिबिम्बित भइन्छ। उनी पनि शान्त छन्, उनका फिल्महरू जस्तै। गुमनाम-गुपचुप भएर लेख्छन्, फिल्म बनाउँछन् ।

उनको अर्को लघु फिल्म ‘The Eternal Melody’ अर्थात् ‘अनहद’ यस्तो यात्राको कथा हो, जहाँ हामी मृतात्मासँग यात्रा गर्छौं । उनीहरूको निमित्त हामी सेतु बनिदिन्छौं, जहाँ टेकेर उनीहरू आफ्नो गन्तव्यसम्म सजिलै पुग्न सक्छन् । ‘अनहद’को अर्थ यस्तो ध्वनिको गुञ्जन भन्ने बुझिन्छ, जसलाई हाम्रो कानले होइन, हृदयले मात्रै सुन्न सक्छ ।

फिल्मको पहिलो दृश्यमा देखाइन्छ, एउटा वृद्ध, जो ठूलो गर्जन बोकेर बगिरहेको खोलालाई तर्ने कोसिस गरिरहेका हुन्छन्, तर सकिरहेका हुँदैनन् । लगत्तै अर्को दृश्यमा उनको स्वास्नीलाई देखाइन्छ, मध्यरातमा घर बाहिर एकचित्तले अन्धकारलाई नियाल्दै गरिरहेको अवस्थामा। उनले सपनामा आफ्नो मृत लोग्नेलाई वैतरणी तर्न नसकेको देख्छिन् । उनको आत्मा उक्त नदीको किनारमा छट्पटाइरहेको देख्छिन् ।

वैतरणी अर्थात् त्यो नदी, जसलाई हाम्रो शास्त्रका अनुसार हरेक मृतात्माहरूले सामना गर्नुपर्ने एउटा कठिन परीक्षाको रूपमा मानिन्छ। हामीले जीवनमा भोग्दै र खप्दै गरेका सांसारिकता नै त्यो डरलाग्दो वैतरणी नदी हो । मानव जीवन त्यसको यात्री हो । क्रोध, अहंकार आदि त्यसका छाल हुन्। लोभ, मोह आदि त्यसको अतल गहिराइ हो। पाप र पुण्य त्यसका दुई किनारा हुन्। सत्कर्म, दान-धर्म आदि त्यो नदी तार्ने डुङ्गा हो । ज्ञान, विवेक, भक्ति आदि त्यो डुङ्गा चलाउने बहाना हो ।

‘निरञ्जन’ले हामीलाई ‘अनहद’मार्फत हाम्रो धर्मको गर्तमा पुर्‍याएका छन् । अविश्वास र अन्धविश्वासहरूलाई बोध गराएका छन् त्यो वास्तविकताको, जसलाई हाम्रो कुनै पर्दाले पनि छेक्न सक्दैनन्। ‘अनहद’ जीवन-मृत्यु दुवैको साझा यात्रा हो, जहाँ हामी हाम्रो हरेक कर्मको प्रतिफल पाउँछौं ।

हाम्रो धर्म अनुसार पितृहरूलाई देवताको संज्ञा दिइन्छ। पितृ खुशी नभएसम्म देवता खुशी हुँदैनन् भनिन्छ । त्यसैले उनीहरूको सेवालाई वैदिक र धार्मिक शास्त्रले पनि अति महत्वपूर्ण अनुष्ठानका रूपमा मान्छन् । पितृ-पूजाको महत्व हाम्रो धर्म-संस्कारमा एकदमै विशेष रूपमा रहेको छ । पितृ यज्ञ गरी पितृहरूलाई सन्तुष्ट पार्ने पद्धतिको विकास वैदिककालदेखि नै भएको विश्वास गरिन्छ ।

यस्तो विश्वास पनि व्याप्त छ, यदि इष्टदेवता, ग्रामदेवता, कुलदेवता, पितृदेवताहरू नै कमजोर अवस्थामा छन् भने हामीलाई दरिद्रता, अशान्ति, दैविक प्रकोप, अपराध, भ्रष्टाचार, हिंसा, दुर्व्यसन जस्ता विकृतिहरूको शिकार गरिरहन्छन् । त्यसैले हामीले आफ्नो धर्म-संस्कार अनुसार पितृहरूलाई आस्था र निष्ठा सहित सेवा र पूजा गर्नुपर्छ ।

हामी जन्मिएपछि प्रकृति तथा समाजका अनेक रूप-स्वरूपसँग अन्तरक्रिया-कार्यव्यवहार गरिरहनुपर्छ। हामी खुसी-दु:खी हुने क्रम जीवनभर नै चलिरहन्छ । मृत्युपछि हाम्रो आत्मासँगै ती सकारात्मक-नकारात्मक भावनाहरू पनि लस्कर लागेर जान्छन्, जसलाई जीवित हुँदा हाम्रो मन-मस्तिष्कले जन्माएका हुन्छन्। मानव-प्रकृतिसँगको व्यवहार तथा शुद्ध गुणमा बाँचेकाहरूले मृत्युपछि सकाम कर्मयुक्त शरीर प्राप्त गर्छन्। दुर्व्यवहार, लोभ, लालच, मद, मात्सर्यमा भुलेकाहरू तथा तामसी व्यवहार गरेकाहरू मृत्युपछि अशुद्ध अवस्थामा भड्किरहन्छन्।

छोराले बुबालाई र स्वास्नीले लोग्नेलाई वैतरणी तराउन निस्केको ‘अनहद’को यात्रा भावनात्मक-करुणाजनक छ। मृतात्माले एक किसिमको पीडालाई बोकेको छ भने जीवितहरूले शोक र वेचैनीलाई। कथामा सबैले केही न केही व्यथालाई च्यापेर भौंतारिरहेका छन्। सायद ‘अनहद’ मृतात्माको छट्पटाहट मात्रै नभएर जीवितहरूभित्र अंकुरित भइरहेको अधीरताको आहट पनि हो। के उनीहरूले आफूलाई ती वेदनाहरूबाट मुक्त पार्न सक्छन्, जसलाई उनीहरूको संवेदनाहरूले बोकेका छन् ?

हरेक सम्बन्ध-संस्कारले दायित्वहरू बोकेर आएका हुन्छन् । समुदाय-संस्कृति-मान्छे, सबैले फरक-फरक अस्तित्व-अनस्तित्व बोकेका भएतापनि आत्मा एकै हो। ‘अनहद’ त्यही हाम्रो आत्माको कथा हो, जसलाई ‘निरञ्जन’ले देखाउने-चिनाउने कोसिस गरिरहेका छन् । हामी कस्तो धरातल-आकाशमा बाँचिरहेका छौं, उनले महसुस गराउन खोजेका छन् । फिल्म खोलाको किनारमा फुलेको जङ्गली फूल झैं सुन्दर लाग्छ, जसले कुनै प्रकारको अप्राकृतिक गन्ध बोकेको छैन ।

हामी कस्तो धरातल-आकाशमा बाँचिरहेका छौं, उनले महसुस गराउन खोजेका छन् । फिल्म खोलाको किनारमा फुलेको जङ्गली फूल झैं सुन्दर लाग्छ, जसले कुनै प्रकारको अप्राकृतिक गन्ध बोकेको छैन

‘अनहद’ आध्यात्मिक यात्राको कथा हो। यो जीवन र मृत्यु, दुवैको उन्मोचनसम्मको यात्रा हो। यसले हामीलाई पछाडि फर्केर आफ्नै छायालाई हेर्न बाध्य बनाउँछ। उनले कोरेको चित्र जति सुन्दर छ, त्यति नै मनमोहक छ, क्यानभास पनि।

उनका फिल्महरूमा रङ्ग, ध्वनि र प्रकाशको संयोजन मज्जाको भेटिन्छ। उनी आफ्ना फिल्महरूलाई कुनै प्रकारको कस्मेटिक रङ्गहरूले लेपन गर्दैनन्, त्यसैले सबै प्राकृतिक लाग्छन्। सन् २०१३ मा ‘ओस्कार इन्टरनेशनल कलेज, कलेज अफ फिल्म स्टुडियो’बाट ग्र्याजुयट भएका उनी त्यसपछि भिडियो इडिटिङ्ग, डिजिटल एनिमेसन, फिल्म मेकिङ्गका वर्कशपहरू लगायत थुप्रै मास्टर क्लासहरूमा सहभागी भइसकेका छन्। उनको ज्ञान, अध्ययन, कौशल र चेत उनका कामहरूमा हामीले प्रष्टैसँग देख्न सक्छौं।

उनले अर्को फिल्म ‘Beneath The Shallow Moonlight of Memories’ लाई पनि धर्म-मिथककै पछि लगाएका छन्। उनको यो लघु-फिल्म ‘सरस सन्ध्या’, निराकार साँझमा कोरिएको पारदर्शी चित्र हो। यस फिल्मलाई अन्तर्मनसँगको आत्मिक वार्तालाप भन्दा पनि हुन्छ।

‘सरस सन्ध्या’ले पुनर्जन्मको मिथकलाई उनेर दुई आमाको कथालाई कहन्छ ।

वैदिक धर्म, संस्कार, संस्कृति र शास्त्रले हाम्रो आत्मा अमर हुन्छ भन्ने मान्यता स्थापित गरेका छन्। त्यसका अनुसार मृत्युले व्यक्तित्व समाप्तिको अर्थ दिन्छ। मृत्यु भौतिक शरीरको अन्त्य मात्र हो, हाम्रो अस्तित्व-आत्मा जीवित नै रहन्छन्। मृत्युपछि हामी सबैको यमलोकमा पाप र धर्मको जाँच हुन्छ। हाम्रो आत्मालाई अर्को जन्ममा कहाँ पठाउने-पुर्‍याउने त्यहाँ तय हुन्छ। भनिन्छ, कुनै पनि यात्राको गन्तव्य हुँदैन। गन्तव्य पनि अर्को कुनै न कुनै बाटोसँग जोडिएको हुन्छ। बाटो-गन्तव्य-बाटो, यो चक्र जस्तै हो। त्यसैले हाम्रो यात्रा अविराम चलिरहन्छ। ‘सरस सन्ध्या’मा मृत्यु र जीवन समानान्तर रूपमा हिंडाइरहेका छन्, त्यही मण्डलमा।

आफ्नो आमाको अन्त्येष्टि-क्रिया सकेर गाउँबाट शहरको यात्रामा छिन्, आमा। उनकी आमा भने मृत्युपछिको यात्रामा छिन्। दुवै आ-आफ्नो भाग्य-भविष्य बोकेर यात्रारत छन्। यस्तो लाग्छ, ती दुवैले एउटै हंसलाई बोकेर हिंडिरहेका छन्। दुवै एकै हुन्। तर, उनीहरू दुवै दिशाहीन छन्।

सिक्काले आफ्नो अर्को पाटोलाई कहिल्यै देख्न-हेर्न सक्दैन। फिल्मले जीवन र मृत्युलाई मात्रै नभएर हाम्रो ती पाटा-पक्षहरूलाई देखाएको छ, जसलाई हामी बुझ्न असमर्थ छौं। हामीलाई ती लहर र तरङ्गलाई अनुभूत गराएका छन्, जुन हाम्रै स्पर्शले जन्मिएका हुन् ।

एउट दृश्य छ- आमा दोबाटोमा पुग्छिन्। आफ्नो घर जाने बाटो पहिल्याउन-पछ्याउन सक्दिनन्। उनले आफूले बोकिरहेको झोलालाई त्यही दोबाटोमा छाडेर एउटा बाटो समात्छिन्। केही समयपछि त्यो झोला आफैं लड्छ र त्यहाँभित्र भएका केही आँपहरू भुइँमा छरिन्छन्। फर्केर आमा आउँछिन्, आँपहरू टिपेर झोलाभित्र राख्छिन् र अर्को बाटो समात्छिन्। यस्तो प्रतीत हुन्छ, त्यो झोला उनको आत्मा हो। उनले त्यसमा आफ्नो आमालाई बोकेर हिंडिरहेकी छिन्। के उनीहरू त्यो चौतारीसम्म पुग्न सक्षम हुन्छन्, जो उनीहरूको थकानको प्रतीक्षामा छन् ।

‘सरस सन्ध्या’ले जीवन-दर्शन देखाएको छ। त्यसले निस्तेज भएर पल्टिरहेका संवेदनाहरूलाई पनि स्पर्श गर्न आउँछ। लाग्छ, फिल्म होइन, जीवन हो। ‘निरञ्जन’का अन्य फिल्महरू ‘मडारिएको नीलो धुवाँ’ र ‘काफल पाक्यो’ले पनि समाज र मानवका अस्थिपञ्जरलाई सूक्ष्म तरिकाले केलाएका छन्। यी लघु फिल्महरू देश-विदेश गरेर अहिलेसम्म थुप्रै (लगभग ७० भन्दा धेरै) फिल्म मोहत्सवहरूमा सहभागी भइसकेका छन्।

उनका फिल्महरू आफ्नै लय र गतिमा बगिरहेका कविता झैं लाग्छन्। यस्तो महसुस हुन्छ, ती कथाहरू पनि अविराम यात्रामा यात्रारत छन्। उनका फिल्महरू १५ मिनेटभन्दा लामा छैनन्, तर तिनीहरूले लिएको उचाइ र गहिराइलाई कुनै मानकले नाप्न सक्दैनन् ।

उनका फिल्महरू दर्पण भएर उभिएका छन्, जसले अरूका कथालाई नभएर हाम्रै व्यथा, व्याकुलता, व्यवधानहरूलाई प्रत्यावर्तन गरेका छन् । जीवन जति रहस्यपूर्ण हुन्छ, त्योभन्दा झन् मृत्युलाई बुझ्न जटिल र कठिन हुने गर्छ । हामी जीवनलाई मृत्युले र मृत्युलाई जीवनले समीक्षा गर्छौं । शायद त्यसैले पनि हुन सक्छ, निरञ्जन मृत्युलाई विभिन्न माध्यम-विम्ब मार्फत व्यक्त गर्न रूचाउँछन् । उनका अधिकांश फिल्मले मृत्युलाई कथेका छन्। यस्तो भन्न पनि मनासिब रहला, उनका कथाहरूले अन्धकारलाई च्यापेका छन्, तर एक किसिमको उज्जरलाई ओकलिरहेका छन् ।

मैले कतै पढेको-सुनेको थिएँ, उनी केही समय लघु फिल्मबाट विश्राम लिंदैछन्। उनी फिचर फिल्म, ‘Across The Rainbow Bridge’ अर्थात् ‘इन्द्रेणीपारि’ लिएर चाँडै आउँदैछन्। उनले सुनाए अनुसार ‘इन्द्रेणीपारि’ले एक वृद्ध दम्पतीको कथालाई कहन्छ, जसमा एउटा सदस्यलाई एकाएक आफ्नो मृत्युको आभास हुन्छ।

उनले कथाका विषयवस्तुहरू हामीभित्रैबाट टिप्छन् र हामीमै रोप्छन्। हाल फिल्मका लागि लोकेसन र पात्र हन्टिङ्ग गर्न पूर्व पुगेका निरञ्जनलाई ठूलो पर्दामा हेर्न म एकदमै आतुर र उत्साहित छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?