+
+
Shares
दिलै खोलेर :

‘सकेसम्म एआईको प्रयोग नगरी आफ्नै सिर्जनशीलता प्रयोग गरौं भन्नेमा छु’

फुटबल एकदम मन पर्छ । अरु काम छैन भने पनि म फुटबलको पोडकास्ट सुनिराखेको हुन्छु ।

सापेक्ष सापेक्ष
२०८३ असार ६ गते २२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिपेश त्रिपाठी नेपालका स्थापित कन्टेन्ट क्रिएटर हुन् ।
  • राजनीतिक सुधारका लागि नेताहरूमा इमानदारिता हुनुपर्ने र नयाँ पुस्ताका लागि संस्थागत प्रणाली निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

युट्युबमा अपलोड गर्ने गरी जुन २०२० मा १० वर्षे माओवादी सशस्त्र द्वन्द्वबारे भिडियो बनाउन सुरु गरेका दिपेश त्रिपाठी अहिले नेपालको लिडिङ कन्टेन्ट क्रियटर बनेका छन् ।

समयक्रममा उनले ‘द नेपाली कमेन्ट’ नामक च्यानलमा फरक-फरक विषयमाथि विभिन्न शैलीको भिडियो बनाइसकेका छन् । उनले अहिले ‘टीएनसी अनस्क्रिप्टेड’ च्यानल समेत चलाउँछन् । यस पटक उनै दिपेशसँग अनलाइनखबरले दिलै खोलेर कुराकानी गरेको छ।

१.हिजोआज

पछिल्लो समय के कुराले वा कुन समाचारले खुशी हुनु भयो ?

म लामो समयदेखि फुटबलको फ्यान हुँ । प्रिमियर लिगमा मलाई आर्सनल फुटबल क्लब मनपर्छ । हालै मात्र २२ वर्षपछि आर्सनलले प्रिमियर लिग जित्यो । जुन एकदमै खुसी लाग्ने मोमेन्ट थियो । म आर्सनलको फ्यान भएको पनि १५ वर्ष भइसकेको छ।

दिक्क बनाएको कुरा ?

कहिलेकाहीँ चार-पाँच घण्टामा सकिने काममा म महिनौ बिताइदिन्छु । गर्छु, गर्छु भनेर राखिराखेको हुन्छु । तर, एउटा समयपछि चाहिँ आफैंलाई नै दिक्क लाग्न थाल्छ । अझ डेडलाइनहरू नजिक आउँदा । कति समय त मैले नै अड्काएको हो, यसलाई फटाफट गरिहालेको भए हुन्थ्यो भन्ने लाग्छ ।

अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?

विगत केही महिनादेखि मैले राज्य र समाजले कसरी काम गर्छ भनेर पढिरहेको छु । त्यसक्रमा कसरी सोसाइटी इभल्ब भइरहेको छ ? स्टेट कसरी अपडेट हुन्छ, पोलिटिकल सेन्समा ? सोसाइटी टर्म्समा ? भन्ने जस्ता विषय स्वाद लागिरहेका छन् ।

विशेषगरी स्यामुअल हन्टिङटन, फ्रान्सिस फुकुयामा, ज्यारेड डाइमन्ड, डारोन एसेमोग्लु र जेम्स रबिन्सनका किताबहरू पढ्दा ‘यसरी इभोल्भ भइराखेको रहेछ; हामी यहाँसम्म यसरी आइपुगेका रहेछौँ; अथवा अगाडि यसरी बढ्दै छौँ’ भनेर बुझ्न रमाइलो भइरहेको छ।

नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?

एक अर्कालाई सहयोग गर्ने बानी हाम्रो समाजको एकदमै राम्रो पक्ष हो । आवश्यकता पर्यो अथवा केही परिहाल्यो भने सबैजना आइपुग्नुहुन्छ । नराम्रो पक्ष भनेको हामी अलिकता ढोंगी छौं कि !

पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?

कामले गर्दा पनि नियमित हेरिरहेको हुन्छु । त्यसमाथि झन् रुचि पनि छ । नेपाली होस्, इन्डियन होस् अथवा बाहिरको होस् – सबै पढिराखेकै हुन्छु । मलाई लाग्छ – एउटा इन्फर्मड सिटिजन हुन पत्रकारिता एकदम इम्पोर्टेन्ट प्रोफेसन हो । तर, सही सूचना दिनु पर्छ । चेतना फैलाउनुपर्छ । तर, नेपाली पत्रकारितामा समस्या पनि प्रशस्तै छन् । त्यसको बारेमा त लामै छलफल गर्न सकिएला । तर हाम्रै छिमेकी देश भारतको तुलनामा भने हामी केही राम्रो छौं ।

इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

जीवनमा सुधार्नु पर्ने कुराहरू त धेरै नै छन् । तर पनि खासै पछुतो मान्ने अलि स्वभाव छैन मेरो । राम्रो गरे पनि नराम्रो गरे पनि, त्यसले केही न केही सिकायो । अनुभव दियो । किनकि कति वटा चिज चाहिँ आफैंले नभोगीकन बुझिँदैन । त्यसैले यो परिस्थिति अथवा घटनालाई फेर्न पाए हुन्थ्यो/अथवा अलि फरक तरिकाले गर्न पाए हुन्थ्यो भन्ने लाग्दैन । यदि सुधार भन्दा पनि अलिकति गर्ने भएछ भने सायद अलि धेरै किताबहरू पढ्थेँ । अलि बढी ठाउँहरू घुम्थेँ । अलि बढी मान्छे भेट्थेँ।

२.बाल्यकाल र किशोरावस्था

सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो  ?

म धादिङको मलिकोमा हुर्केको हो । म हुर्किदै गर्दा त्यहाँ क्रिकेट खेल्ने कल्चर थियो । मेरो दुई जना दाइहरू पनि असाध्यै धेरै क्रिकेट खेल्नु हुन्थ्यो । हामी चैं सानै भएर ठुलो ग्रुपमा त खेल्न पाउँथेनौं । तर, कहिलेकाहिँ दाइहरूले ‘तिमीहरू पनि आएर खेल न त’ भनेर बोलाउनु हुन्थ्यो । त्यसरी खेल्न पाउँदा साह्रै रमाइलो लाग्थ्यो ।

यसले गर्दा अलि बढी त क्रिकेट नै खेलियो । जेहोस् बिहान उठ्ने बित्तिकै पनि क्रिकेट, बेलुका स्कुलबाट आउने बित्तिकै पनि क्रिकेट नै खेलेको हो ।

साथीहरूले तपाईंको निकनेमहरू केके राखिदिएका थिए ?

अनेकन् थिए नि ! राम्रो पनि, नराम्रो पनि । केही साथीहरूले ‘दिपु’ भन्थे । एउटा फेजमा ‘पाण्डा’ पनि भन्थे । अनि कसैले चैं ‘च्याम्प’ पनि भन्थे । रिसाएपछि भने त्यहीँ नामलाई बिगारेर ‘चम्पू’ पनि भन्थे । तर, धेरै प्रयोग भएको चैं दिपु नै हो ।

तपाईंको कोहीसँग झगडा परेको थियो ?

खासै याद छैन । म अलि फ्रेन्डली स्वभावको नै थिए । म जहाँ पढे, पनि जहाँ गए पनि सबैलाई मिलाउन सक्थेँ । धेरै  ठाउँमा मेरा असाध्यै मिल्ने साथीहरू थिए ।

तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?

सेलिब्रिटी क्रस नै त नभनौं । तर, टिनएज सुरु हुदै गर्दा दिल मिल गये भन्ने एउटा हिन्दी टिभी सिरिज आउँथ्यो । पात्रहरू डाक्टरहरू भएको । त्यहाँ ‘रिद्धिमा’ भन्ने पात्र थियो । मलाई उहाँ खुबै मन पर्थ्यो ।

३.सिनेमा

पहिलोचोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?

ठ्याक्कै कुन फिल्म हेरेको थिएँ भन्ने त याद छैन । सानैमा नै हेरेको हो, हलमा । तर, एकदमै इम्प्याक्टफुल अथवा याद भइराखेको भनेको चैं भालु साहबकी कहानी भन्ने एउटा कार्टुन सिरिज हो । सहारा वान च्यानलमा ठ्याक्कै सिम्बा कार्टुन पछि त्यो कार्टुन आउथ्यो । त्यो कार्टुनमा एनिमल क्यारेक्टरहरू हुन्थे । अनि बढी जसो मोरल कथाहरू हुन्थ्यो । ममा भएका कतिपय विश्वास/मान्यताहरू पनि यहीँ कार्टुनले प्रभाव पारेको जस्तो लाग्छ ।

कस्ता फिल्म हेर्न मन पर्छ ?

प्राय: सबै खालको नै फिल्म हेरिराखेको हुन्छु । तर, अलिकति लाइट हार्टेड खालकै स्पेसमा बस्न रुचाउँछु । डार्क/ग्रिडीहरू खासै मन पर्दैन । हरर पनि त्यति सारो फेभरेट होइ मेरो । राजकुमार हिराणीको स्कुल अफ थटबाट अलि प्रभावित छु यो केसमा । तर, थ्रिलर र मिस्ट्री पनि रमाइलो लाग्छ ।

साह्रै मन परेका फिल्म ?

मलाई लाइफ अफ पाई, जोजो रैबिट, लन्च बक्स, शशाङ्क रिडेम्प्सनम्याट्रिक्स जस्ता फिल्महरू असाध्यै मन पर्छन् । अझ फाइट क्लब त झन् गज्जबै लाग्छ । क्रिस्टोफर नोलनले निर्देशन गरेको ब्याटम्यान ट्रिलोजीइन्टरस्टेलर पनि मेरा प्रिय हुन् । लेटेस्ट फेभरेट भनेको चाहिँ एप्पल टिभीको टेड लासो हो । यो फुटबलबारे बनाइएको एउटा उत्कृष्ट सिरिज हो ।

चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?

अलिकति कन्ट्रोभर्सियल हुन सक्छ । तर, जोकर हेर्दा अलिकति मिक्स्ड भिइङ थियो । म जोकर भन्ने पात्रलाई जसरी हेर्छु, त्यो भन्दा फरक पाएकाले मलाई मन नपरेको हो । तर, धेरै जनाको यो फेभरेट मुभी हो । मेरो हकमा चैं मलाई जोकरको कमिक पनि खुबै मन पर्ने । म यो क्यारेक्टरलाई एउटा दार्शनिक रूपमा लिन्छु । जुन कुरा चैं मैले फिल्ममा पाइनँ ।

हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?

प्राय: त साथीभाइले रेकमेन्डेसन गर्ने नै हो । तर, मेरो हकमा निर्देशकहरू पनि फिल्म हेर्ने कारण बन्छन् । अर्को म आफैं पनि कुनै समयमा फिल्म मेकिङ नै गर्छु भनेर हिँडेकाले यस्तो खालको प्याटर्न फलो गर्छु भनेर माइन्डमा सेट पनि भएको छ ।

नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?

नेपालमा सोसल ड्रामा धेरै बनिरहेको छ । सायद त्यो रियालिटी पनि भएर होला । तर, म आफू चैं सोसल ड्रामाको ठूलो फ्यान होइन । तर, त्यसमा पनि फरकफरक आयाम फिल्ममा आइरहेका छैनन् । जस्तो, इन्स्पिरेसन स्टोरीहरू । स्टार्टअपका कुराहरू । इनोभेसनका कुराहरू । यस्ता कथाहरूको फिल्म आइदिए हुन्थ्यो ।

४. पुस्तक

पुस्तकहरू कतिको पढ्नुहुन्छ? पढ्का कस्तो खालका पढ्नुहुन्छ ?

पढिरहेको हुन्छु । पढ्दा खेरी चैं फिक्सनभन्दा पनि नन फिक्सन बढी पढ्छु । अर्थशास्त्र, समाज यी यस्ता विषयमाथि लेखिएका किताब पढ्ने गरेको छु ।

मन परेका कुनै पुस्तक ?

रिसेन्ट टाइममा एकदमै मन परेको किताब भनेको द राइचियस माइन्ड भन्ने हो । जनाथन हेडेडको यो किताबको प्रेमाइस नै ‘वाई गुड पिपल आर डिभाइडेड बाइ पोलिटिक्स एण्ड रिलिजन’ भनेर छ । यो सोसल साइकोलोजीको किताब हो । हाम्रो मोरालिटी कहाँबाट आउँछ ? हामी यति डिभाइडेड किन छौ ? डिभाइडेड सोसाइटीमा हामी सँगै बसेर कन्भर्सेसन गर्न सक्छौ कि सक्दैनौ ? एक अर्काको भ्यु पोइन्टलाई ठाउँ दिन सक्छौ कि सक्दैनौ? हामी सर्टेन कुरालाई किन विश्वास गर्छौ ? हाम्रो माइन्डलाई त्यही कुरा किन मन पर्छ ? अर्को विचार किन मन पर्दैन? यी यस्ता विषयमा गहन तरिकाले लेखिएको छ । केही महिना देखि त जो भेटे पनि मैले यहीँ किताब नै रेकमेन्ड गरिरहेको छु ।

तपाईंका प्रिय लेखकहरू ?

मलाई जर्ज अर्वेल असाध्यै मन पर्छ। लाइफ अफ पाईका लेखक यान मार्टेल पनि मन पर्छ । फिक्सनमा दोस्तोएभ्स्की मन पर्ने भइहाले । जे.के. रोलिङ पनि प्रिय लेखक नै हुन् ।

एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?

मोस्ट प्रोबब्ली जर्ज अर्वेलसँग बिताउँथे । उहाँको एनिमल फार्म१९८४ त भइहाल्यो । तर, मलाई उहाँको पत्रहरूले पनि असाध्यै धेरै प्रभाव पारेको छ । उहाँले दैनिक डायरीमा लेख्नुहुन्थ्यो । अहिले सब्स्ट्याकमा ती आइरहेको हुन्छ । तीनलाई पनि म पढिरहेको हुन्छु । सायद उहाँसँग एकदिन बसेर मजाले कुरा सुन्न पाए/सोध्न पाए भने धेरै वटाको आन्सर मैले पाउथे होला ।

नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?

सायद अझ धेरै नेपाली समाजकैबारेमा लेखिनु पर्छ । फिक्सनमा आइरहेको हुन्छ । तर, समाजको फरक आयामबाट लेखिनु पर्छ । जस्तो; हामी सय वर्ष अगाडी कस्ता थियौ? त्यसबेला हाम्रो बिलिफ सिस्टममा के के थियो? त्यो अहिले कसरी चेन्ज भएको छ? के कारणले चेन्ज भएको छ? हामी कता जादै छौ? यी यस्ता खालका किताबहरू आए गजब हुन्थे ।

५. घुमफिर र सोख

घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ  ?

असाध्यै धेरै । कामले गर्दा पनि घुमिरहेको हुन्छ ।

सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?

सायद पोखरा नै होला । जब मेरो दिमागले काम गरिराखेको हुँदैन अथवा एकदमै अड्किराखेको हुन्छु त्यस्तो बेला पोखरा गइरहेको हुन्छ । मेरो जीवनमा केही ठूला निर्णयहरू पोखरामै गएर पनि गएको छु ।

यतिसम्म कि पोखरा गएर चार पाँच दिन यत्तिकै बसेर कसैलाई पनि नभेटेर आफैं सोचेर सोचेर राइट डिसिजन लिएर फर्केको पनि छु । पश्चिम नेपाल खासै गएको छैन । त्यता जान असाध्यै मन छ। सायद यहीँ वर्ष त्यहाँ पनि म कामकै सिलसिलामा पुग्छु होला ।

सबभन्दा मन परेको ठाउँ वा यात्रा ?

धेरै वटा छन् । बट रिसेन्ट टाइममा मलाई याद भएको भनेको हामी कालिकोटमा एउटा डकुमेन्ट्री खिच्न गएका थियौं । त्यहाँ हामी सात दिन जति बसेका थियौं । म पहाडी क्षेत्र नगएको पनि धेरै समय भइसकेको थियो । अनि त्यहाँ फेरि अलिकति इन्टरनेटको पनि इस्यु थियो ।

बत्तीको पनि इस्यु थियो । त्यसो हुँदा कामबाहेक टिमसँग बसेर मज्जाले कुरा गरेका थियौं । वातावरण पनि एकदमै स्वच्छ थियो । फ्रेस खाना थियो । ‘म हुर्किदै गर्दा खेरि लाइफ स्टाइल त यस्तो पो थियो’ भन्ने भएको थियो ।

गीत कत्तिको सन्नुहुन्छ ?

गीत मज्जाले नै सुन्छु । इभन काम गर्दै गर्दा पनि ब्याकग्राउन्डमा केही न केही बजिरहेकै हुन्छ । चाहे त्यो गीत होस् चाहे त्यो इन्स्ट्रुमेन्टल होस् । गीत पनि लगभग सबै किसिमको सुनिराखेको हुन्छु । फास्ट, स्लो, नयाँ, पुरानो, र्याप, क्लासिकल । गीतमा यही भन्ने छैन ।

आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनु भएको छ ?

मन पर्ने गायक पनि धेरै जना नै हुनुहुन्छ । नेपथ्य, अरजित सिंह, सुशान्त केसी, सज्जन राज वैद्य, पापन सबै । ठ्याक्कै यही नै अथवा यस्तै नै गीत हो भनेर छैन । फेरि एउटा गीत मन परेपछि त्यसलाई लुपमा पनि म सुनिरहेको हुन्छ । रिसेन्ट टाइम एकदम धेरै सुनेको चाहिँ खत भन्ने हिन्दी गीत हो । मेरो अफिसमा त यसलाई लिएर जोक नै भएको छ ।

के कुराको विशेष सोख छ ?

फुटबल एकदम मन पर्छ । अरु काम छैन भने पनि म फुटबलको पोडकास्ट सुनिराखेको हुन्छु । यसबाहेक खेलको विश्लेषण, खेलाडीको मनस्थिति, कोचको मनस्थिति आदिबारे हेर्न खुब रुचि लाग्छ । अझ लास्ट इयर इन्भर्टिङ द पिरामिड भन्ने किताब पढे पछि त फुटबललाई हेर्ने प्रस्पेक्टिभ नै चेन्ज भएको छ । खेल्नको लागि क्रिकेट धेरै खेलिए पनि फुटबल धेरै हेरियो । धेरै जीवनमा धेरै थोक पनि सिकाउँछ ।

खानाको कत्तिको सोखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?

खानाको त्यस्तो शौकिन छैन । तर, खानाकै वरीपरी जीन्दगी घुम्दैन । साथीहरूसँग बसेर चिया खान मन लाग्छ । आजकल मुस्ताङ आलु पनि मन पर्न थालेको छ । सानोमा सायद मकैं धेरै खाएर होला मकैं पनि मिठै लाग्छ ।

किनमेल गर्न कति रुचाउनुहुन्छ ?

उम्…किनमेल आवश्यकता नै हो । कति वटा घरको आवश्यकता हुन्छन्, कति वटा व्यक्तिगत आवश्यकता हुन्छन् । कतिपयले यसमा निड र वान्टको कुरा गर्छन् । मेरो हकमा चैं सपिङ वान्ट भन्दा पनि निड नै हो ।

के-कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?

प्राय: घरकै लागि सामान किन्न गइरहेको हुन्छु । कहिले लामखुट्टेको कोइल सकिन्छ। कहिले जुत्ता किन्नु पर्ला । कहिले कपडा किन्नु पर्ला । कहिले तरकारीहरू ल्याउनु पर्ला । कहिले चामल ल्याउनु पर्ला। त्यस्तै-त्यस्तै खालको कुरालाई जाने हो ।

आफ्नो लुगाफाटो आफैँ किन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?

कपडामा मेरो खासै चोइस त्यति राम्रो छैन। आफुलाई धेरै छान्न आउछ जस्तो लाग्दैन । त्यसै आमा र बहिनीहरूले नै किन्दिरहेका हु्छन् । कतिचोटी भने गिफ्ट पनि आइरहेका हुन्छन् ।

अहिलेसम्म किन्नु भएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?

अफिस रिलेटेड नै होला । क्यामरा, लाइट, स्कुटी । त्यस्तै त्यस्तै । म खासै विलासितामा खर्च गर्दिनँ ।

६.राजनीति

नेपालको राजनीति कस्तो लाग्छ ?

एक पटक प्रदिप गिरिले ‘नेपालमा धेरै राजनीति भए भन्छन् तर राजनीति नै भएको छैन । जे भैराखेको छ, त्यसलाई राजनीति भन्ने कि नभन्ने?’ भनेर भन्नु भएको थियो । मलाई पनि त्यस्तै लाग्छ । राजनीति, राजनीति जस्तै लाग्छ । राजनीति सहि तरिकाले भएको छैन ।

हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

कसैको नाम अथवा व्यक्ति विशेष नभइकन ओभरअलमा भन्नु पर्दा ‘सबै थोक म मात्रै गर्न सक्छु । मलाई मात्रै आउँछ अथवा मेरो पार्टी अथवा मेरो वरिपरिका मान्छेहरू मात्रैले गर्न सक्छन् र हामी मात्रै शुद्ध छौं । हामी मात्रै बेस्ट छौं’ भन्ने सोच छ । जुन गलत हो । र त्यसैले हामीलाई हानी गरिरहेको छ।

किनकि धेरै जनाको धेरै थरी सीप हुन्छ । विचार हुन्छ । देश बनाउन एउटा पक्षले मात्र राम्रो गरेर हुँदैन । सबैले नै राम्रो गर्नु पर्ने हुन्छ । सबैले नै राम्रो सोच्नु पर्ने हुन्छ । सायद ती सबैलाई एक ठाउँमा जोड्न सकियो भने हामी अगाडि बढ्न सक्थ्यौं ।

नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?

इमानदारीता । योसँगै कुनै पनि कुरा स्विकार्न सक्ने गुण पनि थपिदिन्थेँ ।

मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?

प्रदीप गिरी । अहिले पनि फुर्सदको समय पाए भने उहाँको पुरानो इन्टरभ्युहरू सुनिरहेको हुन्छु ।

मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?

पहिलो कदमको रूपमा म स्टेकहोल्डरहरूसँग एउटा ठूलो मिटिङ र डिस्कसन राख्थेँ । अनि सम्बन्धित क्षेत्रका योग्य र विज्ञ व्यक्तिहरूलाई काम गर्न जिम्मेवारी र स्वतन्त्रता दिन्थेँ । सरकारसम्म समस्या नपुग्ने अवस्थाको अन्त्य गर्दै म मेरो टिममा ‘हो मा हो मिलाउने’ हरूलाई हटाएर मलाई ‘नाइँ’ भन्न सक्ने र सत्य बोल्ने क्षमता भएका व्यक्तिहरूलाई राख्थेँ ।

७.सामाजिक सञ्जाल र डिजिटल डिभाइस

कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?

सामसङ । सात वर्षदेखि यहीँ फोन चलाइरहेको छु । ब्याट्रीले चैं अलिअलि समस्या दिन थालेको छ ।

दिनको कति घन्टा मोबाइल र संजालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?

काम मिसिएर होला अलि बढी नै चलाउँछु । बढी इन्स्टाग्राम चलाइरहेको हुन्छु । एक्स पनि राम्रै चलाइरहेको हुन्छु । फोनको टोटल युजेज चार-पाँच घण्टा हुन्छ एभरेजमा ।

बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?

छ । तर, सकेसम्म कन्ट्रोल गरौं भन्ने पक्षमा छु । राति सुत्न अगाडि चैं किताब पढेर सुतौं भनेर लागि परिरहेको छु । तर कति चोटी त्यो सम्भव हुन्छ, कति चोटी त्यो हुँदैन ।

सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?

राम्रो पक्ष डेमोक्रटाइजेशन हो । मेसेज स्ट्रङ र अनेस्ट छ भने विना ठूलो फलोइङबिना पनि मान्छेमाझ त्यो मेसेज रेजोनेट हुन्छ । तर, हाम्रोमा यसको नेगेटिभ पाटो के हो भने यहाँ अनावश्यक हल्ला, काण्ड र पर्सनल अट्याक्समा बढी एनर्जी खर्च भइरहेको छ ।

यसले गर्दा सही मुद्दा र पोलिसी डिस्कसन ओझेलमा परेका छन् । नेपालको यो अनुत्पादक वातावरण र गोलपोस्ट सिफ्टिङबाट टाढै रहन म अचेल सोसल मिडियामा दुई हप्तादेखि ब्रेकमा छु ।

फलोअर्स, लाइक, कमेन्ट, भ्युजले तपाईंलाई केकति प्रभाव पार्छ ?

असर पार्छ नै । असर पार्दैन भनुँ भने झुटो बोल्ने कन्टेन्ट क्रिएटर भइन्छ । तर, नम्बर बेस्ट रेप्रिजन्टेसन हैन क्वालिटी हो भन्ने चैं बुझेको छु ।

एआई टुलहरू कतिको चलाइरहनु भएको छ? बढी कुन चलाउनुहुन्छ ?

कन्टेन्टकै लागि भनेर खासै चलाइदैन । थोरै थोरै युज त हुन्छ । तर सकेसम्म अन्य मेकानिजमबाट रिसर्च गरौं, एडिटिङमा पनि सकेसम्म एआई प्रयोग नगरौं; आफ्नै क्रिएटिभ के गरौं भन्नेमा छौं हामी । प्रयोग गर्दा च्याटजीबीटी, क्लड यस्तै यस्तै । कन्सेप्ट नोट बनाउन, थम्बनेलको डिजाइन कस्तो गर्ने भन्ने काम लागि ती प्रयोग गर्ने गरेको छ ।

सामाजिक संजालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना संजालको काम बढी गरेको छ कि गलत सूचनाबढी फैलाउने काम गरेको छ ?

दुवै नै गरिराखेको छ सायद । आफ्नो कुरालाई अगाडी ल्याउन मदत गरेको छ । तर, सोही समयमा भ्रामक सूचनाहरूलाई पनि फैलाउने काम गरेको छ । ठ्याक्क यो प्रश्न चैं आगोले राम्रो बढी गरेको छ कि खराब बढी गरेको छ? भन्ने जस्तै हो । आगो भन्दा पनि प्रयोग गर्ने प्रयोगकर्ताले कसरी युज गरिराखेको छ भन्ने हुन्छ । अनि हामी पनि धेरै पटक सामाजिक संजाललाई दोष दिइराखेको हुन्छौं ।

जबकी त्यो सामाजिक संजाल प्रयोग गर्ने व्यक्तिहरुलाई दोष दिनुपर्ने हो। सामाजिक संजालले सबैको माइन्ड हाइज्याक गरेको छैन । हामी आफैं त्यस्तै छौं । हामीमा आफ्नै बायसनेसहरू छन् ।

सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?

नयाँ टेक्नोलोजी आउँदा पुरानो मिडियम कम्प्लिटली विस्थापित हुन्छ भन्ने हल्ला सधैँ चल्छ । टिभी आउँदा रेडियो वा ई-बुक आउँदा फिजिकल बुक हराउँछ भनियो । तर त्यस्तो भएन । अडियो-भिजुअलको बुमले रिडरशिप केही कम त गर्छ । तर मिडियमहरू समयसँगै इभोल्भ भइरहन्छन् । मुख्य कुरा भित्रको आत्मा अर्थात् ज्ञान र सिकाइ मर्नु भएन । माध्यम चेन्ज हुँदैमा खासै फरक पर्दैन।

८.रोचक तथ्य

पुन: जन्म हुने भए अब के बन्न मन छ ?

म खासै यो कुरामा विश्वास गर्दिनँ । तर यदि हुन्थ्यो नै भने कि त एउटा फुटबलर अथवा कथा भन्ने व्यक्तिको रुपमा जन्मन्थेँ ।

तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?

सायद आआफ्नै तरिका होलान् । मेरो हकमा चैं घरमा कुकुरहरू छन् । उनीहरुसँग बसेर खेल्छु । कति पटक चैं परिवारसँग बसेर कुरा गर्दा पनि हल्का हुन्छ। साथीहरुसँग बसेर कुरा गर्दा पनि । अनि म आफैंले आफैंलाई इमेल पनि लेख्छु । फ्युचर मेल भन्ने एउटा सर्भिस हुन्छ । फ्री नै हो । जसमा आफैंलाई इमेल लेख्न सकिन्छ । अनि जब जब अलिकति अप्ठ्यारो हुन्छ, गाह्रो हुन्छ अथवा धेरै इमोसनल हुन्छ, त्यस्तो बेलामा म आफैंलाई इमेल लेख्छु ।

धेरै पटक त्यसरी लेखेको इमेलहरू मैले पाएको छु । यसले एक खालको मोटिभेसन पनि दिन्छ । आफैंले आफैंलाई काउन्सिलिङ पनि हुन्छ ।

तपाईलाई के को सुगन्ध सबैभन्दा मन पर्छ ?

भर्खर पानी पर्दा माटोबाट आउने सुगन्ध बहुत मिठो लाग्छ । त्यो सुगन्धले मलाई बाल्यकालमा पुर्‍याउँछ ।

अहिलेसम्म तपाईंले पाउनु भएको राम्रो सुझाव ?

मार्बलको लोकी अर्थात् टम हिडलस्टनको एउटा भनाइ मेरो दिमागमा रहिरहेको छ – प्रेसर इज प्रिभिलेज । प्रेसर पाउनु पनि एउटा प्रिभिलेज हो, जसको भरपूर फाइदा उठाउनुपर्छ । सायद यहीँ नै हो ।

आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?

जहाँसम्म आउँदो पुस्ताका लागि आजको पुस्ताले गर्नैपर्ने कामको कुरा छ, हामी डे-टु-डे कुरामा मात्र अलमलाइनु हुँदैन । हाम्रो मुख्य फोकस सिस्टम र इन्स्टिच्युसन बिल्डिङमा हुनुपर्छ, ताकि कुन व्यक्ति पदमा छ भन्ने कुराले फरक नपरोस् र लङ-टर्मसम्म राम्रो नतिजा मिलोस् ।

दिलै खोलेर अनलाइनखबरको साप्ताहिक कुराकानी श्रृंखला हो । यसमा हामी विभिन्न विषयमा अझ नजिक हुने गरी कुराकानी गर्छौं ।

दिलै खोलेर
लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?