+
+
Shares

समयान्तर–विषयान्तर–रूपान्तर

मरेको भोलिपल्ट दुई दिन हुन्छ, किरिया सकेको दिन किरियापुत्रीहरू हाँस्न–ठट्टा गर्न सुरु गर्छन् ।

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८३ कात्तिक २१ गते १०:३२

आज २० अक्टोबर ! सन् २०२६ ! म अमेरिकाको मरुभूमि सहर लस भेगासमा छु । २३ डिग्री सेल्सियस तापक्रममा म ल्यापटपको किबोर्डमा अक्षर चलाइरहेछु । यसलाई शब्दमा उतार्दा आज दसैँको टीका भनेर पण्डित राजेन्द्र खनालले सन्देश पठाएका छन् । केही वर्षयता दसैँको टीकाको दिनलाई लिएर विवाद छ, मतभेद छ ।

नेपालमा भोलि छ टीका । दसैँ मनाउने मूल देशमा भोलि, अमेरिकामा आज किन भन्दै तीव्र असन्तुष्टि देखाउनेहरू पनि छन् । आजै टीका लगाउने पनि छन् । भोलि पर्खने पनि छन् । तर मूल कुरा देश–परदेशमा दसैँ आएको छ ।

मूलधारको एक मिडियाले लेखेको छ, ‘होल्डिङ सेन्टरका सुकुमवासीको निरस दसैँ : फर्सी खाएर मनाउँदैछन् ।’ समाचार दिक्कलाग्दो छ ।

दसैँमा दिक्क हुनु ! यो त सुहाएन ! म आफैँलाई भन्छु ।

तर समाचारभित्रका यी हरफले भने सन्तोष भयो, ‘दसैँमा दुई छाक कुखुराको मासु र एक छाक खसीको मासु खुवाएको थियो । आज फर्सी खायौँ ।’

कुनै समय थियो, मानिस परदेश जाने कुरालाई ठूलै कुरा ठान्थे । पल्लो गाउँ जाने कुरै ठूलो हुन्थ्यो । सहर जाने कुरा झन् ठूलो । राजधानी अर्थात् नेपाल सहर जाने कुरा त कता हो कता ठूलो ।

हिँडेर जाने समय सकियो, लगभग ।

अब युरोप, अमेरिका, जापान, मलाया पानीपँधेरो भयो । समयले कहाँबाट कहाँ पुर्‍यायो । समय रोकिँदैन ।

तर चाडपर्वहरू रोकिन्छन्, आफ्नै परम्परामा । रीतिथितिमा । पानी जमेर हिउँ बन्छ । हिउँ जमेर कालापत्थर बन्छ । रोकिनुको नियतिले ती कालापत्थर बनेका हुन् । बगेका भए सागर पुग्ने थिए र नुनिलो आँसु बन्थे ।

०००

सुरुमै मैले लेखेँ, ल्यापटपको किबोर्डमा अक्षर चलाइरहेछु ।

हो, केही वर्ष भयो, म सिधै कम्प्युटरमा लेख्छु । यो समयान्तर हो, मैले जीवनमा देखेको ।

टेक्कर सिस्नेरीमा म जन्मेको त्यो थलोमा सरस्वती पूजाको दिन सिलोटमा मेरा पिताजीले षट्कोणको चित्र बनाउनुभएको थियो, साक्षात् सरस्वतीको रूपमा । मैले त्यही षट्कोणरूपी सरस्वतीको अवतारलाई ढोगेर अक्षरारम्भ गरेको हुँ ।

त्यो समय र आजबीच पैँसट्ठी वर्षभन्दा लामो अन्तरालको समयान्तरको अजिङ्गर लम्पसार छ । धुलौटो, खरीपाटी, सिलोट मेरा प्रारम्भिककालीन लेखनका अस्त्र थिए । सानासाना चकले लेखिन्थ्यो ।

त्यसपछि सिसाकलमको पालो आयो । अनि फुल्टिन आयो, मसी हालेर लेख्ने । अनि डटपेन आयो । पछि त चाइनिज पेनहरू आए । जापानी पाइलट पेन आयो । यी सबै समयान्तरका प्रतीक हुन् ।

मैले सुनेथेँ, अभि सुवेदी टाइपराइटरले लेख्छन् ! त्यो सुन्नुअघि विश्वका प्रख्यात लेखकहरूले टाइपराइटरले लेख्छन् भन्ने सुनिसकेकोले मलाई त्यति धेरै अनौठो लागेन । तर पनि नेपालको सन्दर्भमा भने गतिलै जानकारी पाएँ भन्ने लाग्यो ।

कम्प्युटर आएपछि त टाइपराइटरको युग समाप्तिमा पुग्यो ।

मैले एकपल्ट कतै पढेँ, नोबेल पुरस्कार विजेता गाब्रिएल गार्सिया मार्खेज कम्प्युटरले लेख्छन् । त्यसपछि नै हो मैले एउटा निबन्ध लेखेको, ‘मार्खेजको कम्प्युटर र मेरो कलम’ ।

यो सब समयान्तर नै त थियो । हो ।

०००

सोच्दछु, म बाँचेको मेरो युग नै यस्तो युग हो, जुन युगमा युगले एक होइन, अनेक कोल्टे फेर्‍यो । त्यो हिसाबले मेरा युगका सबैजस्तै म पनि सुपर भाग्यमानी हुँ ।

नेपालमा साइकल बन्दैन भन्थे । सियो त बन्दैन भनेर खिल्ली उडाउँथे आफ्नै मुलुक नेपालको । तर अहिले युगले कोल्टे फेरिसकेको छ । नेपालीले सियो नबनेकोमा कुनै हीनताबोध वा ग्लानि गर्नु पर्दैन ।

मेरै युगमा ‘भगवान् चन्द्रमा’ मा मानिस पुगे । कुकुर पुगे । त्यहाँ बस्ती बसाउने सपनाको सुरुवात भयो । अणुबमले नागासाकी र हिरोसिमा सोत्तर पारेको पनि मेरै युगमा हो ।

प्रतिलिपि राख्न कार्बन पेपरमा घोटिघोटी बल पुर्‍याएर लेख्थ्यौँ । त्यसपछि साइक्लोस्टाइल आयो, लिथो मेसिन । अनि आयो फोटोकपी । अनि आयो मोबाइल, जो सर्वज्ञाता, सर्वज्ञानी, सर्वसमस्याको समाधान भएर निस्क्यो । अहिले मोबाइल फोन भए पुग्छ मानिसलाई । फोटोकपी मेसिन चाहिएन । टाइपराइटर चाहिएन । क्यामेरा चाहिएन । क्याल्कुलेटर चाहिएन । दिशामापक चाहिएन । जीपीएस मेसिन चाहिएन । डिक्सनरी चाहिएन । धेरै–धेरै थोक चाहिएन ।

समयान्तरको यो लामो फड्को, अविश्वसनीय फड्को ।

चालक नचाहिने कार पनि नौलो भएन । अब उड्ने कारको समेत भर्खरै सफल परीक्षण भइसकेको छ ।

समयान्तरको यो अनन्त लीलामा साँधेको गुन्द्रुकको साथमा चपाई–चपाई खाने मकै–भटमासको स्वादको स्थान कहाँ होला ? तर मानिसहरू युरोप–अमेरिका पुगे पनि गुन्द्रुकको स्वाद भुल्दैनन् । विमानस्थलमा हुने दण्ड–जरिवानालाई पनि मनैले मिचेर पोको पारी–पारी ल्याएरै छोड्छन् । लगेरै छोड्छन् ।

गुन्द्रुकलाई समयान्तरले किन फरक पारेन ? यो युगको सबैभन्दा ज्वलन्त प्रश्न हो यो ।

०००

लस भेगासमा छु ।

यसो भन्नेबित्तिकै सम्पर्कमा आएका मानिस भन्छन्, लौ लौ, मोज गर्नू !

लस भेगास मोजमज्जा गर्ने ठाउँका लागि सुविख्यात–कुख्यात जे भनौँ, त्यसको प्रतीक भएको छ, बिम्ब भएको छ, दृष्टान्त भएको छ । स्ट्रिपमा भेटिने रूपजीवाहरू ! अर्धनग्न पहिरन । चौबीसै घण्टा हातमा मदिराको गिलास, क्यान वा बोतल लिन पाइन्छ । अमेरिकाका अन्य सहरमा दुर्लभ स्वतन्त्रताले लस भेगासलाई सर्लक्कै निलेको छ र त भन्छन्, लौ, लस भेगास पुगेका छौ, मोज गर ।

अझ पाइला–पाइलैपिच्छे भेटिने होटल, रिसोर्टहरूमा राखिएका हजारौँ हजार जुवाका मेसिनहरू, टेबलहरू, अनेकानेक थरीका जुवाका प्रकार, अनेकानेक मदिराका ब्रान्डहरू, संसारका एक सय एक नामी–नामी ब्रान्डेड सामानका दोकानहरू, यी सबैले नै त चिनाएका छन् लस भेगासलाई । यसैलाई मैले सुरुमा भनेको हुँ, सुनाम या कुनाम ।

त्योभन्दा अलि परको सुधी जनको संसार त छायामै पार्दोरहेछ स्ट्रिपले ।

स्थानको रूपान्तरले लस भेगासलाई बेग्लै परिचय दिन्छ । अलि पर छ हूभर ड्याम । विश्वविख्यात ड्याम । जसको नाममा त्यतिबेलाका अमेरिकी राष्ट्रपतिको नाम जोडिएको छ ।

त्यहाँ वर्षेनी पुग्ने लाखौँ लाख पर्यटकहरूलाई ज्ञानको भोक छ, इतिहासको भोक छ, जिज्ञासाको अनन्त तिर्खा छ । अनेक कुरा सोचेर म तातो घाममा ढाड सेकाइरहेछु, दसैँको टीका लगाउने साइत कुर्दै ।

कहिले सुरु भयो दसैँ, अनेक किंवदन्तीहरू त सुनेको छु । कहिलेसम्म रहला यो, त्यसको चाहिँ कल्पना कसरी गर्नु ? रहला कि नेपाली जाति धरामा रहुन्जेल ? तर रहला कति यो धरा ? कति बाँकी छ यसको उमेर ?

यी प्रश्नहरूको ताँतीमा म हराउन चाहन्नँ ।

०००

फोन खोल्छु–एआई ।
कम्प्युटर खोल्छु–एआई ।
अब के नयाँ युग एआईकै हुने भयो ।
विश्वविजेता एआई नै हुने होला त ?

एआईले दिने सुविधा, यसले बढाएको अन्योलता र भविष्यमा मनुष्य जाति नै एआईले समूल निर्मूल पारिदिने हो कि भन्ने बौद्धिक चिन्ता र बहस ।

दसैँमा पनि एआई रमाइरहेछ । सारा नेपाली रमाइरहेछन् ।

चालीस वर्षअघि नै हुनुपर्छ, विराटनगरका कवि भानुभक्त पोखरेल पीएचडी गर्न काठमाडौं बसेका थिए । उनको डेरा कालिमाटी मूल सडकको एक घरमा थियो । हाम्रो चिनजान थियो र बोलचाल राम्रो हुन्थ्यो । प्राध्यापक र कवि ! होचा कदका, उच्च विद्वत्ता भएका । उनी काठमाडौंमा कविगोष्ठीहरूमा पनि बारम्बार झुल्कन्थे ।

एकपल्ट उनले एउटा कविता सुनाए, कम्प्युटरलाई ललकार्दै !

खास कुरा के थियो भने, कम्प्युटरले लेख्छ रे भन्ने खबरले विश्वबजारमा हल्ला पिटेको थियो । त्यो हल्लाले विस्तारै काठमाडौंलाई पनि निशाना बनाएको थियो, दुनियाँका अन्य सहरहरूलाई जस्तै । लन्डन, न्युयोर्क, पेरिस, नयाँदिल्लीजस्तै ।

अनि जब यो हल्ला काठमाडौंमा कवि भानुभक्त पोखरेलको कानको जालीमा स्पर्श गर्न आइपुग्यो, अनि उनले हुंकार गर्दै, कम्प्युटरलाई ललकार्दै कविता लेखेर सुनाए । वाहवाही पनि पाए ।

तर संसार त्यतिमै रोकिएन ।
प्रविधिको दौड त्यतिमै थामिएन ।
अब अहिले आयो एआई ।

भानुभक्त त यो दुनियाँबाट बिदा भइसके । यदि उनले यो दिन देख्न पाएका भए एआईलाई के भन्दा हुन् ?

०००

सानोमा आफूभन्दा ठूलाले नक्कले भन्थे । नक्कल पार् भन्थे । नक्कल पार्‍यो भन्थे । केटीहरूलाई नक्कल नपार, उत्ताउलो नहोऊ भन्थे । हेर, कस्ती नक्कली भाकी भन्थे ।

तर अहिले एआईले सारा संसारलाई नक्कली बनाइरहेछ ।

चाउरी परेका बुढाबुढीको चाउरी हटाइदिन्छ ।

खत मेटाइदिन्छ ।
उमेर घटाइदिन्छ ।
बोल्ने बनाइदिन्छ ।

सारा संसार त्यसमा रमेका छन्, रमाएका छन् ।

नक्कली कुरामा रमाउनुको के अर्थ होला ?

तर रमाइरहेको जगतलाई नरमाऊ भन्न सकिन्न ।

उजाड बस्तीलाई हराभरा बनाइदिन्छ । आकर्षक बनाइदिन्छ ।

अब फोटो हेरेर पनि मानिस चिन्न गाह्रो हुने भो । आफूले आफैँलाई नचिन्ने दिन पो आउने हो कि ?

कति रमाउन सकिएला नक्कली कुरामा ? कति रम्न सकिएला कृत्रिम दुनियाँमा ? कृत्रिमतालाई मेट्ने त मानिसले हो, मानिस आफैँ कृत्रिमताको सिकार भएपछि कसले अमलेख तुल्याउला ? कृत्रिमले अकृत्रिमताको पक्षमा काम गर्ला र ? अनेक आशङ्काको जालो फैलिएको छ मानवीय संसारभित्रको नयाँ बन्दै गरेको कृत्रिम संसारमा !

०००

दसैँको टीका सुरु भएपछि टीका र जमरायुक्त चाडपर्वको रौनक देखाउने फोटोहरूले सामाजिक सञ्जाल जाज्वल्यमान छ । भर्खरैजसो भोटेकोसीले ताण्डव नृत्य देखायो ।

हजारौँ हजार मानिस बेपत्ता भए । हजारौँको मृत्यु भयो । घर बगायो । गोठ बगायो । गाउँ बगायो । सहर बगायो । सभ्यताको एक टुक्रा बगायो । पीडितहरू त रोए नै । पीडा देखेर भक्कानो छोडेर रुनेहरूको पनि कमी भएन । यस्तो लाग्यो, समय रोइरहेछ । रोदन र अश्रुले सबैजना भिजेका छन् । सबथोक भिजेको छ ।

अलि अस्ति कृष्ण धरावासीले फोनमा भन्नुभयो, “नेपालीहरूले सबथोक छिट्टै बिर्सन्छन् । सबैजना दसैँमा रमाउने मुडमा आइसके ।”

हो त ! नेपाली जातिका अनेकन विशेषता छन्, संसारले जानेका–पौरखी, वीर, पराक्रमी, जुझारु ! गोर्खाली भनेपछि मुटु हल्लिन्छ भन्थे बेलायती सेनाका कमान्डरले ।

तर नेपालीहरूले छिट्टै बिर्सने कुरा चाहिँ प्रचारित छैन ।

त्यसको प्रचारका लागि म अघि सरेको होइन, तर सम्झेकोसम्म हुँ । सात सालको क्रान्ति बिर्सेर सत्र सालमा दीपावली गर्ने पनि नेपाली नै हुन् ।

छत्तीस साल, छयालिस साल, बयासी–त्रिसट्ठी साल । सालहरूको लर्को छ । तर एकपछि अर्को बिर्सने क्रम जारी रह्यो । घाँटीको मोल तोक्ने र तोकिनेकाहरूको भातभान्सा एउटै भएको पनि देखिएकै हो ।

नेपालीहरूलाई बिर्सने रोग छ कि क्या हो !

बहत्तर सालको भुइँचालोदेखि त्रियासी सालको बाढीपहिरोसम्म पनि त्यसरी नै बिर्सँदै जानेछन् ।

ठीक भन्नुभयो धरावासीजी, नेपालीहरू हरेक कुरा बिर्सन सिपालु छन् ।

बयासी सालको भदौ बाइस–तेइस पनि त पुरिँदै गएको छ । मरेको भोलिपल्ट दुई दिन हुन्छ, किरिया सकेको दिन किरियापुत्रीहरू हाँस्न–ठट्टा गर्न सुरु गर्छन् ।

हुन पनि पुरानो दुःखलाई थाप्लोमा राखेर आगामी जीवनलाई अश्रुपूरित बनाएर संसार कहाँ चल्छ ? त्यसै भनिएको हो र, राजा मरेर राज्य अड्किँदैन ।

अर्थात् राजकुमार–युवराज महाराजा हुन्छन्, यद्यपि नेपालमा त राजतन्त्र रहेन । भएको ठाउँमा पनि कति टिक्ने हो, त्यसको लेखाजोखा, नापजोख गर्ने कसले ?

समयको क्रममा समयान्तरसँगै विषयान्तर हुन्छन् र रूपान्तर सुरु हुन्छ । मान्छेले थाहा पाए पनि नपाए पनि । मान्छेले बुझे पनि नबुझे पनि । मान्छेले महसुस गरे पनि नगरे पनि ।

छन् कोही समयको यो पाठलाई विनिर्माण गर्ने ?

लस भेगासको न्यानो घाममा पहार ताप्दै सोचिरहेछु ।

लेखक
गोविन्द गिरी प्रेरणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?