Comments Add Comment

कर्णालीका मन्त्रीहरुको सम्पत्ति विवरण : मुख्यमन्त्री भन्दा मन्त्री धनी


२२ जेठ, काठमाडौं । कर्णाली प्रदेशका मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण मंगलबार सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाही भन्दा मन्त्रीहरु धेरै धनी देखिएका छन् ।

मुख्यमन्त्री शाहीको कालिकोटको पचाल झरनामा पु्ख्र्यौली घर र ५ रोपनी जग्गा, ६ तोला सुन, २०० तोला चाँदी रहेको छ । त्यस्तै एभरेष्ट बैंकमा २ लाख र राष्ट्रिय वाणिज्य बैंकमा ५ लाख नगद सम्पत्ति विवरणमा देखिएको छ । शाहीको १० लाखको कुखुरापालन ब्यवसाय र २ लाख ५० हजारको तरकारी खेती पनि रहेको छ ।

सबैभन्दा धनी मन्त्री खत्री

कर्णालीमा सबैभन्दा धनी मन्त्री भौतिक तथा पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्री देखिएका छन् । निर्माण व्यवसायीसमेत रहेका उनको बैंकमा करोडभन्दा बढी वचत छ भने ट्रक, टि्रपर, जिप, एक्साभेटर गरी दर्जनौं सवारी साधन पनि रहेको छ ।

यद्यपी सम्पत्ति विवरणमा उनको घर भने देखिएको छैन । तर सुर्खेत, कैलाली, बाँके, काठमाडौं र भक्तपुरमा धेरै जग्गा रहेको छ । सुर्खेतको भेरीगंगामा २० रोपनी, रानीबासमा १२ रोपनी, वीरेन्द्रनगर नगरपालिकामा पनि दुई कित्ता जग्गा रहेको छ ।

बाँकेको कोहलपुर, खजुरा र गणापुरमा उनको झण्डै ४ विघा जग्गा रहेको छ । उनको काठमाडौंको बुढानिलकण्ठमा २ रोपनी र भक्तपुरको चाँगुनारायणमा २ रोपनी जग्गा रहेको छ । कैलालीको कैलारी गाउँपालिकामा झण्डै ३ विघा र धनगढीमा डेढ कठ्ठा जग्गा रहेको छ ।

मन्त्री खत्रीको २१ तोला सुन छ भने आफू, पत्नी र प्रदीप कन्स्ट्रक्सनको नाममा गरी विभिन्न बैंकमा ७५ लाख रुपैयाँ नगद रहेको छ । उनको आफ्नै नाममा विभिन्न बैंकको गरी ११ करोड ८६ लाख रुपैयाँको सेयर रहेको छ ।

उनले केवी एण्ड हिमाल ग्रुप र प्रदीप कन्स्ट्रक्सनको नाममा विभिन्न बैंकबाट ऋण पनि लिएका छन् । उनको नेपाल बंगलादेश बैंकमा ४७ लाख, नेपाल बंगलादेश बैंकमा १ करोड १२ लाख, प्राइम सहकारीमा १५ लाख रुपैयाँ ऋण देखाएका छन् ।

उनको प्रदीप कन्स्ट्रक्सनको नाममा ३ वटा जीप, ३ वटा मोटरसाइकल, ५ वटा एक्साभेटर, ८ वटा टि्रपर, एउटा टेलर ट्रयाक्टर, एउटा लोडर, ३ वटा ट्रक रहेको छ । पत्नीको नाममा एउटा स्कुटर पनि रहेको छ ।

मन्त्री ज्वालाको घरजग्गा र १५ लाख नगद

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला पनि धनी देखिएका छन् । उनको विभिन्न ठाउँमा घरजग्गा, विभिन्न कम्पनीमा सेयर र बैंकमा वचत रकम रहेको छ ।

काठमाडौंमा आफ्नै नाममा, सल्यानमा भाइको नाममा र बर्दियामा आमाको नाममा घर छ । यस्तै काठमाडौं महानगरपालिका-१६ र सल्यान शारदा नगरपालिका, दाङको तुलसीपुर र घोराहीमा आफ्नै नाममा जग्गा छ ।

बर्दियाको बाँसगढीमा आमाको नाममा ४ ठाउँमा, बलबहादुर साहुको नाममा बर्दिया र सल्यान गरी दुई ठाउँमा र भतिज सन्तोष विसी नाममा घोराहीमा जग्गा छ ।

यस्तै नगद १५ लाख, ३ तोला सुन र १० तोला चाँदी रहेको छ । एभरेस्ट बैंकमा १२ लाख, कृषि विकास बैंकमा ४ लाख १० हजार र राष्ट्रिय बाणिज्य बैंकमा ५० हजार रुपैयाँ रहेको सम्पत्ति विवरण्मा उल्लेख छ ।

ज्वालाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा छोरा र आफ्नो नाममा ५० लाख ६५ हजार बराबरको सेयर रहेको र ३७ लाख ऋण भएको उल्लेख छ ।

मन्त्री भण्डारीसँग मोटरसाइकल र २ मोवाइल

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको जुम्ला र बाँकेमा पुख्र्यौली घर रहेको छ । ७६ हजार वर्गमिटर जग्गा, १५ तोला सुन, १० तोला चाँदी र एभरेष्ट बैंकमा १ लाख रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा देखिएको छ । त्यस्तै उनीसँग एउटा मोटरसाइकल, २ वटा मोवाइल रहेको छ ।

मन्त्री रावलको ४ वटा घर

सामाजिक विकास मन्त्री दल रावलको हुम्लामा ३ वटा र बाँकेमा एउटा गरी ४ वटा घर रहेको छ । सुर्खेतमा २५ लाखको जग्गा र हुम्लामा ५० लाखको पुख्र्योली जग्गा, ५५ तोला सुन, १५० तोला चाँदी रहेको छ । सुनचाँदीको स्रोत उनले विवाहको बेला प्राप्त र पटक पटक खरिद भनेका छन् ।

रावलको नेपाल एसबीआई बैंकमा १ लाख ५३ हजार, पत्नीको नाममा सनराइज बैंकमा २४ लाख र राष्ट्रिय वाणिज्य बैंकमा १ लाख ६५ हजार रुपैयाँ रहेको छ । उनको ४५ भेडाबाख्रा, ११ गाइगोरु र ३ वटा भैंसी रहेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको डोल्पामा ४ वटा पुर्ख्यौली घर र ५ ठाउँमा जग्गा, १५ तोला सुन, १ किलो चाँदी, बैंक खातामा रकम छैन । गाई भैंसी घोडा र बाख्रा गरेर २५ वटा रहेका छन् ।

यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीको सम्पत्ति भने कम देखिएको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा रुकुमको सिम्लेमा पैत्रिक सम्पत्तिका रुपमा एउटा जग्गा छ । रुकुम, दाङ र सुर्खेतमा पनि जग्गा छ ।

ग्लोबल आईएमई बैंकमा खाता भएपनि शुन्य रुपैयाँ छ । सेयर भने १५ लाख रुपैयाँको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment