+
+
Shares

बिग मर्जरबारे विज्ञ- बिना अध्ययन हल्ला पिटियो

रोयल आचार्य रोयल आचार्य
२०७६ असार १७ गते १८:५८

१५ असार, काठमाडौं । यतिबेला बैंक तथा वित्तीय संस्थामा बिग मर्जरको विषय चर्चामा छ । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत बैंकको संख्या घटाउने नीति अवलम्बन गर्ने संकेत गरेपछि बिग मर्जरको बहस व्यापक बनेको हो ।

गत बिहीबार राष्ट्र बैंकका गभर्नर नेपालले मर्जरका लागि मौद्रिक नीति अगावै पार्टनर खोज्न बैंकहरुलाई भनेका थिए । यसअघि पुँजी वृद्धिको अस्त्र प्रयोग गरेर ‘बी’ र ‘सी’ बर्गका वित्तीय संस्थाहरुलाई मर्जरमा जान वाध्य पारेका गर्भनरले अब ठूला बैंकलाई निशाना बनाएका छन् । तर, बैंकिङ क्षेत्रमा यो नीतिप्रति उत्साहभन्दा बढी चिन्ता देखिएको छ ।

राष्ट्र बैंकले औचित्य सावित नगरी हचुवा तवरबाट मर्जर लाद्न खोजेको केही बैंकरहरु अनौपचारिक कुराकानीमा बताउँछन् । आखिर बिग मर्जर आजको आवश्यकता हो कि होइन ? यसले बैंकिङ क्षेत्रमा कस्तो असर पार्ला ? यिनै दुई विषयमा हामीले केही बिज्ञहरुलाई जिज्ञासा राखेका छौं ।

बिग मर्जरको आवश्यकता र औचित्यका विषयमा विज्ञहरुले राखेको धारणा उनीहरुकै शब्दमा :

‘संख्या घटाएर स्वस्थ प्रतिपर्धा हुँदैन’ 

दीपेन्द्रबहादुर क्षत्री, पूर्व गभर्नर, नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर निश्चित समयसीमा तोकेर मर्जरका लागि दबाब दिएको कुरा बाहिर आयो । गभर्नर त्यही दिन विदेश जानुभएको छ । बाहिर जेजस्तो दबाबको कुरा आयो मलाई त्यस्तो होइन जस्तो लाग्छ । यति समयभित्र साथी खोजेर आउनु पर्यो भन्ने विषयमा सल्लाह भएको हुनसक्छ ।

अहिले चलिरहेको बिग मर्जरको विषयमा ८ अर्ब पुँजी जसरी बढाइयो त्यसबाट राष्ट्र बैंकका पदाधिकारी अलि उत्साहित भएको हो कि जस्तो लाग्यो । बिग मर्जर त्यति सहज छैन । ठूलो संस्था भए ठूला परियोजनाहरुमा लगानी गर्न सहज हुन्छ भन्ने कुरा राम्रो हो तर व्यबहारमा समस्या आउँछ । बैंकका मान्छेको ‘इगो’ हुन्छ । कसको सीईओ राख्ने, नाम कसको राख्ने भन्ने विषयमा पनि बिवाद हुन्छ ।

३२ खर्ब जीडीपी भएको मुलुकमा २८ वटा कमर्सीयल बैंक किन चाहियो भन्ने कुरा पनि छ । अर्कोतर्फ अहिले २८ वटा बैंकले तरलता समस्या भनेर कराइरहेका छन् । धेरै बैंकले बोलेको ठूलो सुनिन्छ र १५/१६ वटाको मात्रै गुनासो गर्दा कम सुन्न सकिने पनि भइयो भन्ने सोच हुनसक्छ । चाइनामा कमोटिडी मार्केट जम्मा २ वटा छ । हामी कहाँ १५ वटाको आवेदन पर्यो । अहिले पनि ६ वटाको परेको छ । २ वटा मात्रै दिन्छौं भन्ने कुरा आएको छ ।

बैंकहरुलाई मर्ज गराएर तरलता समस्या समाधान हुन्छ भन्ने कुरा म पत्याउन सक्दिन । बैंकको संख्या घटे पनि निक्षेप बढ्ने आधार के छ त खै ? निक्षेप नबढेसम्म त समस्या आइरहने हुन्छ नै । बैंकिङ क्षेत्र समस्या के छ भन्ने नआई बिग मर्जरको हल्ला गर्नु ठीक होइन । पहिले बैंकिङ क्षेत्रको समस्याबारे अध्ययन गर्नु परो नि । अर्को कुरा अस्वस्थ प्रतिष्पर्धाको छ ।

मुलुकमा वाणिज्य बैंकको संख्या धेरै भयो । अस्वस्थ प्रतिष्पर्धा सिर्जना भयो भन्ने कुरा देखिन्छ । बैंकको संख्या घटाएर स्वस्थ प्रतिपर्धा गराउन सकिन्छ भन्ने मलाई लाग्दैन । मेरो धारणा त राम्रोसँग सुपरिवेक्षण तथा नियमन गर्ने, देखिएका कैफियतहरुलाई कडिकडाउका साथ समाधानका निमित्त निर्देशन दिने । यो गर्यो भने बैंकहरुलाई पनि राम्रो हुन्छ । बैंकिङ क्षेत्र स्वस्थ हुन्छ ।

‘बिना अध्ययन फोर्स मर्जर भनियो’
डा. चन्द्रमणि अधिकारी, अर्थविद्

जुनसुकै कुरा अध्ययन र अनुसन्धान नगरी नयाँ नीति प्रवेश गराउँछौं जसका कारण उद्देश्य हासिल गर्न गाह्रो छ । बैंकिङ क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रहरुमा पनि यो समस्याको रुपमा छ । ठूला बैंकहरुलाई मर्जर गरेर संख्या घटाउने र बलियो बनाउने हिसाबले यो नीति एकदम राम्रो हो । तर हाम्रो मुलुकमा कुनै पक्ष पनि इमान्दार भएनन्, न निजी क्षेत्र इमान्दार भयो र सरकारी पक्ष । सबैले आ-आफ्नो स्वार्थमात्रै हेरे ।

बिग मर्जर गर्ने भन्या छ, यसले के असर गर्छ भन्ने विषयमा पहिले अध्ययन अनुसनधान हुनु पर्यो नि । बिना अध्ययन बिना अनुसन्धान कसरी यसले राम्रो गर्छ भनेर भनने ? अन्दाजका भरमा बोल्नु भएन । ल मानौं बैंकको संख्या घटाएर २ मा झर्ला । तर अहिले देखिएका समस्याहरु सुधार हुन्छन कि हुँदैनन भन्ने अहिले नै भन्न सक्नु पर्‍याे ।

बैंकको संख्या घटेपछि धेरै सहज हुन्छ । मर्जर भइसकेपछि अपरेशनल खर्चहरु घटाउन सकिन्छ र यसले गर्दा ब्याजदर कम हुन्छ भन्ने राष्ट्र बैंकको तर्क छ । यो सकरात्मक हो । तर बैंकको संख्या कम भएकै कारण लगानी धेरै हुन नसकेको हो त ? २८ वाणिज्य बैंक भएर तरलता समस्या भएको र संख्या घटे तरलताको समस्या समाधान हुन्छ भन्न सकिन्छ त ? यो विषयमा गम्भीर भएर सोचनु परो, अध्ययन गर्नु पर्‍यो ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वर्ष दिन पहिले एकता भयो । यो पनि राजनीतिक दलहरुबीचको ‘बिग मर्जर’ नै हो । यि दुई पार्टीबीच माथि मर्जर त भयो तर यति लामो समय वितिसक्दा पनि अझै तल्लो तहमा एकता हुन सकेको छैन । बैंकिङ क्षेत्रमा त्यस्तो हुनु भएन । मर्जर भए पछि एकिकृत कारोबार पनि चाडै हुनु पर्यो ।

‘दुई हप्ते अल्टिमेटको आवश्यकता किन ?’

नरबहादुर थापा, पूर्व कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

सरकारले जे चायो त्यो हुन्छ यो मुलुकमा । सरकारले आगामी आर्थिक वर्षको बजेटमा नै ठूला बैंकहरुको मर्जरको विषय समेटेको छ । अब यसको आवश्यकताबारे अरुले बोलेर त्यसको कुनै अर्थ राख्छ जस्तो लाग्दैन । बजेटमा समेटिएका कारण नेपाल राष्ट्र बैंकले मर्जरको विषयलाई उठान गरेको छ ।

राष्ट्र बैंकले अकस्मात दुई हप्ते अल्टिमेटम दिएको छ । यसले राम्रो संकेत गर्दैन । अहिले सञ्चालनमा रहेका बैंकहरुले इजाजत लिएर सरकारी नियम-कानून पालना गरेर काम गरिरहेका छन् भने एक्कासी दुई हप्ते अल्टिमेटको आवश्यकता किन ? यसका लागि त्यस्तो के संकट आइलाग्यो भन्ने कुरा छ ।

बैंकहरुको वित्तीय अवस्था राम्रै छ भनेर हामीले छापिरहेका छौं । निस्कृय कर्जा २ प्रतिशतभन्दा कम रहेको, खुद मूनाफा लगायत राम्रै रहेको भनेर आएका छन् । यस्तो अवस्थामा एक्कासी निर्णय किन आयो भनेर अचम्म लागेको छ । तर राष्ट्र बैंकले नीति ल्यायो भनेर बैंकहरुले पालना गर्नै पर्छ ।

अहिले बैंकको संख्या घटाएकै कारण ठूलो सुधार बैंकिङ क्षेत्रमा हुन्छ भन्न सकिने स्थिति छैन । यो किन आयो भन्ने कुरा नै बुझ्न सकिएको छैन । उद्योग व्यवसायीहरु धेरै प्रधानमन्त्री कहाँ धाएपछि यिनीहरुलाई हल्लाउनु पर्यो भनेर आउन खोजेको हो कि ।

यो पनि पढ्नुहोस् :

बैंकर्स संघको निर्णय : मर्ज हुन्छौं, तर सहुलियत चाहियो

कार्यवाहक गभर्नर भन्छन् : मर्जरका लागि ‘फोर्स’ होइनन, प्रोत्साहन गर्छाैं

मर्जरको निर्णय लिन बैंकलाई १५ दिनको अल्टिमेटम !

‘विदेशबाट पैसा ल्याउन हेजिङ सुविधा चाहियो’

मौद्रिक नीतिले गराउला ठूला बैंकहरुको ‘विहे’ ?

मौद्रिक नीतिको प्राथमिकतामा ‘बिग मर्जर’

अनुसन्धान विभागलाई बाइपास गर्दै राष्ट्र बैंकले राख्यो मौद्रिक नीतिको छलफल

१५ दिनभित्र मर्जरको प्रतिवद्धता पेश गर्न गभर्नरको निर्देशन

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?