+
+
कभर स्टोरी :

भारतमा अर्बपति बन्दैछन् नेपाली

भारत गएका नेपाली भन्नासाथ हाम्रो मनमा आउने चित्र हो- भारी बोक्ने, खेतमा काम गर्ने, स्याउ टिप्ने, गार्ड बस्ने र भाँडा माझ्ने । तर, अघिल्लो पुस्ताको योगदान र पछिल्लो पुस्ताको परिश्रम अनि चेतनाका कारण ‘बहादुर’ नेपाली पहिचान विस्तारै उद्यमी, व्यवसायीमा बदलिंदैछ ।

जनार्दन बराल जनार्दन बराल
२०८० मंसिर २२ गते २२:३०

नयाँ दिल्ली । गुल्मी ग्वादीका युवराज बरालका पिताका १३ सन्तान थिए । केटाकेटी उमेरमै आमाको निधन भयो । जेठो दाइ पहिल्यै भारत गइसकेका थिए । बुवाले अर्को विवाह गरेपछि बाँकी भाइबहिनीको जिम्मेवारी पनि उनकै काँधमा आइपर्‍यो । तर, गाउँको थोरै खेतबारीले खान पनि नपुग्ने अवस्था थियो ।

त्यसबेला पश्चिम नेपालमा भारत गएर रोजगारी गर्नु फेसन जस्तै थियो । उनी पनि साथीसँग कलिलो उमेरमै बम्बई (मुम्बई) तिर लागे । त्यहाँ उनले साहुको घरमा भाँडा माझ्ने, पसलमा भारी बोक्ने काम पाए ।

काम गर्दै जाँदा संयोगले उनी एउटा ट्रान्सपोर्ट कम्पनीमा काम गर्न पुगे । काम पाएको छोटो समयमै उनी त्यसको म्यानेजर पदमा बढुवा भए । तर, कम्पनीले दिने नियमित तलबमा उनले चित्त बुझउँदैनथे । उनी भन्छन्, ‘दिउँसो म्यानेजरको रूपमा काम गर्थें, बेलुका सामान लोड–अनलोड गर्ने काम गरेर थप पैसा कमाउँथें ।’

उनले त्यसपछि कुरियर कम्पनीमा तीन वर्ष काम गरे । कुरियर कम्पनीमा उनको जागिर आकर्षक थियो, सञ्चालकहरूसँग असाध्यै राम्रो सम्पर्क थियो । तर, सधैं यसरी नोकरी गरेर मात्रै हुँदैन भन्ने सोच राखेर उनले कम्पनीबाट राजीनामा दिए ।

तर, सञ्चालकहरूले उनको राजीनामा स्वीकृत गरेनन् । उनी भन्छन्, ‘१५ अगस्त १९९० का दिन मैले सञ्चालकहरूलाई एउटा चिठी पठाइदिएँ— आज भारतको स्वतन्त्रता दिवस हो, यो कम्पनीबाट बराल पनि आजाद भयो !’

त्यसपछि उनले कुरियर कम्पनी नै सुरु गरे । पुरानो कम्पनीका सञ्चालकहरूसँग उनले बाचा गरे, तपाईंहरूले काम गरिरहेको ठाउँमा म पाँच वर्षसम्म कुनै व्यवसाय गर्दिनँ ।

सन् १९९० मा उनले लोपो रोयल एक्सप्रेस सर्भिसका नाममा कम्पनी सुरु गरेका थिए, जसलाई सन् १९९७ मा बराल एक्सप्रेस सर्भिस भनेर नाम परिवर्तन गराए । भारतभर कुरियर सेवा दिइरहेका उनको व्यवसाय राम्रै थियो । आफ्ना सबै दाजुभाइको साथमा सबै राज्यहरूमा उनको उपस्थिति थियो । तर, उनलाई लाग्यो– कुरियरको काम दिगो हुँदैन । यसलाई ठूलो आकारमा फैलाउन पनि सकिंदैन ।

त्यसपछि उनले सन् २०१३ मा कुरियरको काम पूर्ण रूपमा छोडेर लजिस्टिक्स कम्पनी सुरु गरे– बराल लजिस्टिक्स । तर, करोडौं लगानी भएको नयाँ व्यवसायले सुरुमा सोचे जस्तो लाभ दिएन, कम्पनी निरन्तर घाटामा जान थाल्यो । पहिले गरेको लगानी त सकियो नै, धेरै ठाउँका घरजग्गा बेचेर पनि यसमा लगानी लगाउनुपर्‍यो । साझेदार रहेका भाइहरूले पनि भरोसा गरेनन् ।

तर, उनले गरेको मिहिनेत खेर गएन । कम्पनीमा ठूला–ठूला ब्रान्ड जोड्न उनी सफल भए । ई–कमर्स जायन्ट अमेजनको लजिस्टिक पार्टनर नै बन्न सफल भए । त्यसपछि भने बरालको व्यापार लोभलाग्दो ढंगले उकालो लागिरहेको छ ।

अहिले बराल लजिस्टिक्सको वार्षिक कारोबार १ अर्ब भारु भन्दा ठूलो भइसकेको छ । ‘बराल लजिस्टिक्स’को ब्रान्ड बोकेर आफ्नै स्वामित्वका १०० भन्दा बढी गाडीहरू भारतका विभिन्न शहरमा चल्छन् । साना सवारी साधन र भाडामा लिएका समेत गरेर दैनिक ३५० को हाराहारीमा गाडीहरू निरन्तर चलिरहेका हुन्छन् ।

‘बराल लजिस्टिक्स २४ सै घन्टा सुत्दैन, ६० प्रतिशत कर्मचारीले राति काम गर्छन्’, उनी भन्छन् ।

उनको कम्पनीले रोड कार्गो, रेल कार्गो, एअर कार्गो, सी कार्गो, मल्टी सेलर फ्लेक्स, गोदाम लगायत सम्पूर्ण सेवा प्रदान गर्छन् । भारतमा लजिस्टिक्स उद्योगको वार्षिक कारोबार सन् २०२२ मा २ खर्ब ७४ अर्ब अमेरिकी डलर छ । सन् २०३० सम्म यो दुई गुणा अर्थात् ५ खर्ब ६३ अर्ब अमेरिकी डलरको पुग्ने अनुमान छ । त्यसो हुँदा लजिस्टिक्स व्यवसायलाई भारतमा जति पनि विस्तार गर्न सकिने आत्मविश्वास बरालमा छ ।

भारतमा धेरै ठूला लजिस्टिक कम्पनीहरू छन् । कन्टेनर कर्पोरेसन अफ इन्डिया, ब्लु डार्ट एक्सप्रेस, अलकार्गो लजिस्टिक्स, एजिस लजिस्टिक्स, महिन्द्रा लजिस्टिक्स, ट्रान्सपोर्ट कर्पोरेसन अफ इन्डिया, गेटवे डिष्ट्रिपाक्र्स लगायत भारतका ठूला लजिस्टिक कम्पनीहरू हुन् । उनीहरूले वर्षमा अर्बाैं रुपैयाँको कारोबार गर्छन् ।

‘तिनीहरूको तुलनामा हाम्रो सानो कम्पनी हो । तर, हामीले जुन ढंगले व्यवसाय विस्तार गरिरहेका छौं, यसलाई कायम राख्न सकियो भने चाँडै नै हामी पनि भारतको ठूलो लजिस्टिक कम्पनी बन्न सक्छौं भन्ने लाग्छ’, बरालले भने ।

भारतभर १८० शहरमा फैलिएको उनको कम्पनीमा अहिले ६०० भन्दा बढीले काम गर्छन् । ‘नयाँ प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्दैछौं, कारोबार, कर्मचारीको संख्या र हाम्रो उपस्थिति रहेको क्षेत्र पनि धेरै नै विस्तार गर्नुपर्नेछ’, उनले भने ।

हाल बराल लजिस्टिक्सले अमेजन, फ्लिपकार्ट, रिलायन्स र मिन्त्रा, हिन्दुस्तान युनिलिभर, रेमन्ड, हाभेल्स, पेन्गुइन बुक, रेडबुल, अक्सफोर्ड युनिभर्सिटी प्रेस, एसियन पेन्ट्स, बाटा, रेनो, भिबा जस्ता ठूला कम्पनीहरूसँग काम गरिरहेको छ । ५०० भन्दा बढी कर्पोरेट क्लाइन्टहरू रहेको बरालले बताए ।

‘हामी चीनमै अफिस खोलेर त्यहाँबाट लजिस्टिक सेवा प्रदान गर्ने तयारीमा पनि छौं’, उनले भने ।

बराल लजिस्टिक्समा उनले आफ्नो परिवारलाई पनि सँगसँगै लिएर हिंडेका छन् । ‘हामी ८ भाइमध्ये सात भाइ यही कम्पनीमा काम गरिरहेका छौं, मुम्बई, दिल्ली, कोलकाता लगायत ठाउँमा ठूला कार्यालयहरू छन्’ उनले भने, ‘कोलकाता क्षेत्रको व्यापार खिमराज बरालले हेर्छन्, मुम्बईको व्यापार भाइ सुनिलले सम्हाल्छन् ।’

हेयर एण्ड शान्ति : वार्षिक ३६ करोडको व्यवसाय

चितवनकी विश्व शान्ति श्रेष्ठलाई दिल्लीको कुनै कम्पनीमा ब्युटिसियनको काम गरिरहँदा लाग्यो, आफैं व्यवसाय सुरु गरौं, आफ्नै ब्रान्ड बनाउँ । तर, दिल्ली जस्तो ठूलो शहरमा त्यो सजिलो थिएन । तर, उनले हिम्मतका साथ एक जना साथीसँग मिलेर सन् २००१ मा आफ्नै सैलुन सुरु गरिन्– हेयर एन्ड शान्ति ।

उनको मिहिनेतका कारण हेयर एन्ड शान्तिको लोकप्रियता फैलँदै गयो, माग पनि बढ्दै गयो । अहिले हेयर एन्ड शान्तिको भारतको दिल्ली, गुडगाव र नोयडामा गरी १० वटा आउटलेट सञ्चालनमा छन् । यो ब्रान्ड भारतमा मात्रै सीमित छैन, नेपालमा पनि यसको लोकप्रियता बढ्दो छ । नेपालमै १४ वटा आउटलेट सञ्चालनमा आएका छन् ।

५–६ वर्षअघि एउटा सडक दुर्घटनामा परी शान्तिलक्ष्मी अशक्त बनेकी छन्, र यो कम्पनीको व्यवस्थापन उनकी बहिनी अनुजा श्रेष्ठले गरिरहेकी छिन् । भारतमा हेयर एन्ड शान्तिको एउटा सैलुनले दैनिक औसत १ लाख रुपैयाँको कारोबार गर्छ । यस हिसाबले उनको दैनिक कारोबार १० लाख रुपैयाँ हुन्छ । यसरी भारतमा मात्रै हेयर एन्ड शान्तिले वर्षमा साढे ३६ करोड भारुको व्यवसाय गर्छ ।

‘हामीले एउटा सैलुनमा १५ देखि २० जनाको दरले १५० देखि २०० मानिसलाई रोजगारी पनि दिएका छौं’ हेयर एन्ड शान्तिकी सञ्चालक अनुजा श्रेष्ठले भनिन् ।

हेल्परबाट कम्पनी मालिक

पाल्पा माडीका राम नेपालका बुवा भारतको दिल्ली डेभलपमेन्ट अथोरिटी (डीडीए) मा काम गर्थे । उनैले छोरालाई १२ वर्षको उमेरमा दिल्ली लिएर गए । दिल्लीमै स्कुल पढेपछि रामलाई बुवाले डीडीएमै नोकरी लगाइदिएका थिए । तलब मासिक १७५ भारु थियो ।

तर, एक निजी गार्मेन्ट कम्पनीमा उनले काम पाए, तलब कमै थियो तर ओभरटाइमले गर्दा डीडीएको भन्दा बढी कमाइ हुन्थ्यो । उनले डीडीएको सरकारी जागिर छाडे र निजी गार्मेन्ट कम्पनीमा हेल्परको काम सुरु गरे । हेल्परबाट सुरु गरेको त्यही कामले अन्ततोगत्वा उनलाई त्यही क्षेत्रको व्यवसायी बनायो ।

उनको रोयल कलेक्सन नामको गार्मेन्ट फ्याक्ट्री छ, जसले अहिले वार्षिक करोडौं भारुको कारोबार गर्छ । उनले डिम्पल क्रिएसन्स, स्टैनसिल एपरल जस्ता कम्पनीमा पछिल्लो समय मार्केटिङमा काम गरेका थिए । रात–दिन नभनी मिहिनेत गर्ने उनलाई कम्पनीले बस्नका लागि घर नै किनिदिएको थियो, बालबच्चाको शिक्षा–दीक्षाको पनि चिन्ता थिएन ।

तर, आफू उनले उद्यमी बन्नुपर्छ भन्ने सोचेर एक जना साथीसँग मिलेर सन् १९९४ मा गार्मेन्ट कम्पनी किने । तर, अझै केही वर्षसम्म उनलाई नोकरी गरिरहेको कम्पनीले काम छोड्न दिएन । तर, अन्ततोगत्वा उनले जागिर छोडे र आफ्नो फ्याक्ट्रीको काममा लागे ।

अढाइ दशकअघि सुरु गरेको यो कम्पनीले उनलाई मात्रै होइन, उनका चार भाइलाई पनि उद्यमी बनाएको छ । हाल तुग्लाकावाद र संगमबिहारमा दुई गार्मेन्ट फ्याक्ट्री चलाइरहेका छन्, जहाँ करिब १५० जनाले रोजगारी पाएका छन् ।

भारतका विभिन्न क्षेत्रमा उनका उद्योगले बनाएका कपडा बिक्री हुन्छन् । एउटा फ्याक्ट्रीको दैनिक क्षमता १० हजार पिस छ तर अहिले दुवै कारखाना पूर्ण क्षमतामा चल्न सकेका छैनन् । ‘कुनै बेला मैले दैनिक १० लाख भारुसम्मको बिक्री गरेको छु तर अहिले त्यस्तो दिन छैन’, उनी भन्छन् ।

‘उद्योग सुरु नगरेको भए म र भाइहरू अहिले पनि नोकरी नै गरिरहेका हुन्थ्यौं होला, तर मैले आँटें आज उनीहरू पनि मालिक भएका छन्’ उनी भन्छन्, ‘मैले त्यति ठूलो कम्पनी बनाउन त अझै सकेको छैन तर पनि सानो संख्यामा भए पनि रोजगारी दिन सकेको छु । यो सन्तोषको विषय हो ।’

मिहिनेत र इमानदारी

हरिद्वारमा बसेर पतञ्जलिको व्‍यापारिक साम्राज्‍य सम्हालिरहेका आचार्य बालकृष्ण तथा कोलकातामा मुख्‍यालय रहेको वाउ म:म: का संस्थापक विनोद हुमागाईंको भारतमा व्‍यवसायिक कम प्रेरणादायी छैन । यी त केही उदाहरण मात्रै हुन् ।  एक शताब्दीभन्दा लामो समयदेखि नेपालबाट गोर्खा भर्तीमा जाने सेना, घर तथा पसलमा बस्ने सुरक्षा गार्ड, होटल तथा रेस्टुरेन्टमा सहयोगी जस्ता काममा जाने र जीवनभरि त्यहीं काम गरेर नेपाल फर्कने परम्परा चलिरहेको थियो । त्यसले भारतमा नेपाली इमानदार र मिहिनेती हुन्छन् भन्ने परम्परागत पहिचान स्थापित गर्‍यो । त्यो पहिचानले दिलाउने रोजगारी सुरक्षा गार्डको मात्रै हुन्थ्यो ।

तर, विगत केही दशकयता भने भारतमा नेपालीले व्यवसायमा पनि आफूलाई अब्बल सावित गरिरहेका छन् । पछिल्लो १० वर्षमा नेपालीको पहिचानमा धेरै ठूलो परिवर्तन आएको एक दशकअघि पनि भारतस्थित नेपाली दूतावासमा काम गरेका हालका नियोग उपप्रमुख डा. सुरेन्द्र थापाको अनुभव छ ।

‘नेपालीहरू इमानदार र मिहिनेती हुन्छन् भन्ने परम्परागत पहिचान त कायमै छ । तर, नेपाली उद्यमी र क्षमतावान पनि हुन्छन् भन्ने पहिचान अब थपिएको छ’, उनले भने ।

भारतमा नेपालीको जीवनस्तर सुध्रिनुको पहिलो कारण उनीहरूको मिहिनेत र इमानदारी नै रहेको नियोग उपप्रमुख डा. थापाको अनुभव छ । नेपालीले जुन काम गरे त्यसमा आफूलाई क्षमतावान् बनाउँदै लगेको उनले बताए ।

नियोग उपप्रमुख डा. सुरेन्द्र थापा

‘हिजो म यो होटलमा काम गर्छु भन्नेहरू धेरै भेटिन्थे । अहिले यो मेरो होटल हो भन्नेहरूको संख्या बढेको छ । पहिला भाँडा माझ्ने काम गर्छु भन्नेहरू अहिले ठूला होटल र रेस्टुरेन्टका सेफ बनेका छन्, यो प्रगति उनीहरूले गरेको मिहिनेतकै फल हो’, उनले भने ।

पछिल्लो समय धेरै नेपाली व्यवसायमा लागेको र त्यसमा पनि सफलता पाइरहेको उनले बताए । ‘नेपाली इमानदार छन् भन्ने छाप भारतीयहरूमा छ, त्यसो हुँदा कुनै नेपालीले व्यवसाय गर्‍यो भने ऊसँग साझेदारी गर्न भारतीय व्यवसायीहरू हिच्किचाउँदैनन् । अर्थात् नेपाली व्यवसायीहरूलाई उनीहरू माया गर्छन्, यसले पनि नेपालीलाई व्यवसाय विस्तार गर्न सजिलो भएको छ’, डा. थापा भन्छन् ।

‘हिजो म यो होटलमा काम गर्छु भन्नेहरू धेरै भेटिन्थे । अहिले यो मेरो होटल हो भन्नेहरूको संख्या बढेको छ । पहिला भाँडा माझ्ने काम गर्छु भन्नेहरू अहिले ठूला होटल र रेस्टुरेन्टका सेफ बनेका छन्, यो प्रगति उनीहरूले गरेको मिहिनेतकै फल हो’, उनले भने ।

नेपाली समुदायकै मानिसले व्यावसायिक सफलता पाउँदा अन्य नेपालीको पनि आत्मविश्वास बढ्ने गरेको उनको अनुभव छ । ‘कसैको सफलताको कथा हेरेर सिक्ने मानवीय गुण नै हो । भारतमा भएका केही नेपालीले सफलता पाएपछि अन्य नेपाली समुदायको लगानी बढाएको छ’ उनले भने, ‘नेपालीमा सामूहिक भावना र एकता पनि देखिन्छ । एउटालाई समस्या पर्दा अर्कोले सहयोग गर्ने भावना पनि धेरै देखिन्छ ।’

भारतीय समाजमा विगतको तुलनामा नेपाली समुदायको प्रभाव बढिरहेको थापालाई लागेको छ । ‘नेपालीको उपस्थिति भारतमा कति प्रभावशाली भएको छ भन्ने यहाँ नेपाली खाजा मोमो (मःम, मम, मोमो)को लोकप्रियता हेर्दा पनि थाहा हुन्छ । पहिला पहिला रेस्टुराँहरूमा खाजाका रूपमा समोसा लगायत मात्रै हुन्थ्यो भने अहिले मोमो हरेक रेस्टुरेन्टमा अपरिहार्य खाजा बनेको छ । वास्तवमा मोमोले भारतीयहरूको खाजा संस्कृति नै परिवर्तन गर्दै लगेको छ’, उनले भने ।

नेपाली जनसम्पर्क समिति मुम्बईका पूर्वअध्यक्ष शालिग्राम तिवारी पनि नेपालीले भारतमा आएर काम गर्ने क्रममा आफ्नो सीप र क्षमता बढाएर उनीहरूको जीवनस्तर बदलिएको बताउँछन् ।

नयाँ पुस्ता भारत जान छोडे

मध्य र सुदूरपश्चिमका केही जिल्लाका नागरिकहरूलाई छोड्ने हो भने पछिल्लो १०–१५ वर्षयता भारत जाने नेपालीको संख्या नगन्य मात्रै रहेको त्यहाँ लामो समय बसिरहेकाहरू बताउँछन् । तिवारी भन्छन्, ‘मुम्बईमा अझै पनि केही मात्रामा मध्यपश्चिम तथा सुदूरपश्चिमबाट श्रम गर्न मानिसहरू आइरहेका छन् । तर, त्यस्ता काममा नेपालको अन्यत्रबाट मानिस आउनै छोडे ।’

त्यसअघि जो नेपाली आएर भारतमा बसे, उनीहरूले केही न केही सृजनशील काम गरे आफ्नो जीवनस्तर बढाएको उनको अनुभव छ । ‘मुम्बईकै कुरा गर्दा यहाँ नेपाली मूलका धेरै व्यवसायीले अत्यन्तै राम्रो गर्नुभएको छ । बलिउडमा उदितनारायण जस्ता सेलिब्रिटी मात्रै छैनन्, रवि भट्टराई जस्ता राम्रा म्यानेजर पनि छन् । अन्य काममा पनि धेरै नेपालीले राम्रो गरिरहेका छन्’, उनले भने ।

त्यस्तै अनुभव नेपाली तथा नेपाली मूलका व्यवसायीहरूको संगठन एभरेष्ट चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजका अध्यक्ष युवराज बरालको पनि छ । ‘भारतमा दक्षिणको कन्याकुमारीदेखि उत्तरको काश्मिरसम्म नै नेपालीहरू फैलिएको मैले यात्रा गर्दा भेटेको छु । जहाँ–जहाँ उनीहरू बसेका छन्, त्यहाँ व्यवसाय होस् वा नोकरी दुवैमा निकै ठूलो प्रगति गरेको देखेको छु’, उनले भने ।

तर, खासगरी उत्तराखण्ड र अन्य केही प्रदेशहरूमा पनि श्रम गर्न जाने नेपालीहरूको संख्या पनि ठूलै रहेको बराल बताउँछन् ।

क्षमतावान् दोस्रो पुस्ता निस्कियो

भारत पुगेको पहिलो पुस्ताले ठूलो मिहिनेत गरेर दोस्रो पुस्तालाई राम्रो शिक्षा–दीक्षाको अवसर दिलाएको छ । त्यसो हुँदा दोस्रो पुस्ताका नेपाली पढेलेखेका र क्षमतावान् छन् । ‘उनीहरू कोही व्यवसायमा लागेका छन् । कोही उच्च तलब पाउने रोजगारी पनि गरिरहेका छन् । भारतमै शिक्षा लिएको पुस्ता यहींबाट तेस्रो मुलुकमा जाने परम्परा पनि सुरु भएको छ’, तिवारी भन्छन् ।

त्यस्तै, पछिल्लो समय चार्टर्ड एकाउन्टेन्सी, मेडिकल, नर्सिङ, इन्जिनियरिङ लगायत विधामा उच्च शिक्षा हासिल गर्न गएका नेपालीमध्ये केहीले आफ्नो योग्यता अनुसारको काम भारतमै गरिरहेका छन् । त्यस्तै, बाहिर अध्ययन गरेर प्रतिष्ठित रोजगारीका लागि भारतमा बस्ने नेपालीको संख्या पनि धेरै छ । तिनैमध्येका एक हुन्, विशाल थापा ।

उनी सिनियर डाइरेक्टरका रूपमा भारतमा अमेरिकी कम्पनी क्लास्पको नेतृत्व गरिरहेका छन् । उनको कम्पनीले वैकल्पिक ऊर्जा, ऊर्जा कुशलता लगायत क्षेत्रमा भारत सरकारलाई सल्लाह दिने गर्छ ।

भारतमा कार्यालय रहेका अन्तर्राष्ट्रिय संगठन तथा कम्पनीहरुमा धेरै नेपालीहरु रहेको क्लास्पका सिनियर डाइरेक्टर थापा बताउँछन् । ‘भारतमा एकदमै राम्रो क्षमता तथा ज्ञान भएका नेपालीहरुले काम गरिरहेका छन्, तर यो शक्तिलाई नेपालले सही ढंगले प्रयोग गर्न सकेको छैन,’ उनले भने ।

भारतस्थित नेपाली दूतावासले पनि उनीहरुको ज्ञान र अनुभवको प्रयोग गर्ने सन्दर्भमा खासै पहल नगरेको उनको भनाइ छ । ‘यहाँ नेपालीहरुले बनाएका अधिकांश संगठनहरु राजनीतिक प्रकृतिका रहेछन्, नेपालका मन्त्री तथा नेताहरु आए पनि उनीहरुसँगै भेटेर जान्छन्, जोसँग नीतिगत तहको राम्रो अनुभव छ, त्यो प्रयोग भएको छैन,’ उनले भने ।

त्यस्तै, चार्टर्ड एकाउन्टेन्सी पढ्न भारत गएका काठमाडौंका भूपेन्द्र श्रेष्ठ पनि बहुराष्ट्रिय अडिट कम्पनी प्राइस वाटरहाउस (पीडब्ल्यूसी)मा म्यानेजरका रूपमा काम गरिरहेका छन् ।

‘यसरी पढ्न आएर क्षमता अनुसारको रोजगारी गर्ने नेपालीको संख्या भारतमा निकै ठूलो छ’, श्रेष्ठ भन्छन् । भारतमा स्टार्टअपहरूलाई विस्तारका लागि सरकारी नीतिहरूले पनि ठूलो सहयोग गरेको वाउ मोमोका संस्थापक विनोद हुमागाईं बताउँछन् । ‘यहाँ क्षमता भएकालाई ठूलो अवसर छ, भारतमा मात्रै होइन, विश्वभर नै छ, विश्वका ठूला कर्पोरेटहरूको नेतृत्वमा भारतीयहरू हुनुले पनि यो पुष्टि गर्छ’, उनले भने ।

कभर स्टोरी
लेखकको बारेमा
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?