+
+
कभर स्टोरी :

असुरक्षित विमानस्थल, राष्ट्रिय सुरक्षामाथि प्रश्न

विमानस्थल प्रयोग गरेर जहाज अपहरण भएको २५ वर्षमा पनि हामीले केही सिकेनौं । आज पनि मानव तस्करी, लागूऔषध ओसारपसार, सुन तस्करी नियमित भइरहेको देखिन्छ । राज्य संयन्त्रमा यतिसम्म पनि हेक्का राखिंदैन कि– असुरक्षित विमानस्थल राष्ट्रिय सुरक्षा माथिको प्रश्न हो ।

गौरव पोखरेल गौरव पोखरेल
२०८० पुष १५ गते २०:३०

१३ पुस, काठमाडौं । गएको शनिबार भन्सार विभागका अधिकारीहरूलाई फ्लाई दुबईको उडान मार्फत एक व्यक्ति चार किलो सुन लिएर आइरहेको सूचना आयो । उडान नम्बर एफजेड ११३३ मा सवार ती व्यक्तिको पासपोर्ट नम्बर सहितको विवरण अधिकारीहरूले पाएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार, बिजनेस क्लासको टिकट मार्फत नेपाल आउँदै गरेका ती व्यक्तिलाई विमानमै जाँच गर्ने तयारी थियो । विमानका कर्मचारी र भन्सार अधिकारीहरूबीच सूचना आदानप्रदानमा समन्वय हुन नसक्दा उनलाई जाँच गर्न ढिलाइ भयो ।

तर, केहीबेर ढिलै भए पनि गएर खानतलासी लिंदा सुन भेटिएन । भन्सारका अधिकारीहरूका अनुसार, बिजनेस क्लासबाट आउनेलाई लिन छुट्टै गाडी आउने हुँदा त्यस मार्फत सुन निकाल्ने गरेको आशंका थियो । ती व्यक्तिको ट्राभल हिस्ट्री समेत शंकास्पद रहेको अधिकारीहरू बताउँछन् ।

‘तर, सुन नभेटिएपछि केही भन्न सक्ने अवस्था भएन, यद्यपि यसमा अनुसन्धान गरिरहेका छौं’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने ।

ओर्लिनेवित्तिकै सेटिङमा अवैध सामान लुकाइन थालेपछि अहिले भन्सार कार्यालयले विमानभित्रै छिरेर अपरेशन चलाउन थालेको छ । यद्यपि, विमानभित्र समेत अवैध सामान फेला पार्न कठिन बन्दै गएको अधिकारीहरू दाबी गर्छन् ।

विमानबाट बाहिर निस्किनेवित्तिकै तस्करीमा संलग्नले कसरी ‘कन्साइनमेन्ट’ व्यवस्थापन गर्छन् भन्ने २२ मंसिर २०८० मा बरामद भएको १४ किलो सुन प्रकरणको अनुसन्धानले पनि देखाउँछ ।

विमानस्थल भन्सार कार्यालयले विशेष सूचनाका आधारमा चन्द्र घलेलाई १४ किलो सुन सहित पक्राउ गरेको थियो । पक्राउ परेपछि भन्सारका अधिकारीहरूसँग बयान दिंदै उनले अध्यागमन पुग्नुअगावै शौचालयमा लुकाएर सुन बाहिर लैजाने गरेको बयान दिएका थिए ।

सीआईपी कक्ष ।

अन्तर्राष्ट्रिय उडानका विमान अवतरण भएपछि अध्यागमन जाँचसम्म पुग्नुअघि कुनै किसिमको जाँच हुँदैन । विदेशी नागरिकको हकमा ‘अन–अराइभल’ भिसा दिने कक्ष पनि त्यहीं छ । त्यहीं कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन (सीआईपी) का रूपमा छुट्टै कक्ष छ । त्यही कक्षमा रहेको शौचालयमा सुन छाड्ने गरेको उनको बयान थियो ।

पुरुष शौचालयभित्र रहेको अपाङ्गमैत्री क्याबिनमा एउटा सानो ढोका छ । त्यही ढोकाको चाबी लिएर उनी यूएई गएका थिए । फर्किंदा त्यहाँ सुन राख्न लगाइएको बयान घलेले दिएका थिए । सुन राखेपछि यसको यकिन गर्ने जिम्मेवारी प्लम्बर शेरबहादुर बस्नेतलाई थियो ।

विमानस्थलका अर्का कर्मचारी रमेश देउलाले दिएको जिम्मेवारी अनुसार यकिन गरेपछि एसी मेकानिक सहित विमानस्थलका अरू कर्मचारीको सहयोगमा शव बाहिर निकाल्ने बाटो मार्फत सुन निकाल्ने गरेको भेटिएको छ ।

विमानस्थलमा ओर्लिने वित्तिकै कुनै जाँचमा पर्नुअघि जो–कोही सहजै पुग्न सक्ने स्थानको शौचालयभित्र त्यस्तो संरचना बनाउनु आफैंमा शंकास्पद रहेको अधिकृतहरू बताउँछन् । ‘शौचालयमै स्टोररुम जस्तो कोठा अर्को पनि छ, सबै हेर्दा संरचना नै तस्करमैत्री देखिन्छन्’, यो मामलामा अनुसन्धान गरेका एक अधिकृत भन्छन् ।

अध्यागमन विभागका अधिकारीहरू भने आफ्नो डेस्कमा पुग्नुअघि शौचालय रहेकाले त्यहाँ नजान भन्न आफूहरूले नमिल्ने बताउँछन् । ‘शौचालयमै नजानु भन्ने कुरा पनि भएन’ विभागका एक अधिकारी भन्छन्, ‘फेरि सीआईपी कक्ष भनेको अध्यागमनको कार्यक्षेत्रभित्र पर्ने विषय पनि होइन ।’

सीआईपी कक्षको अपांगमैत्री शौचालय र पाइपलाइन ।

विमानस्थल जस्तो संवेदनशील स्थानबाट भएको तस्करीको छानबिनका लागि सुन अनुसन्धान समितिले २१ दिनभन्दा बढीको क्लोज सर्किट (सीसी) क्यामरा फुटेज पनि पाएन । अझ रोचक त एउटै गिरोहले १३८ किलो सुन ल्याइरहँदा भीआईपी कक्षतर्फ जाने सिंढीको सीसी क्यामराले काम गरेको थिएन ।

जबकि, सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका लेकबहादुर तामाङले भीआईपी कक्षहुँदै माथिल्लो तलाको शौचालयमा गएर राधाकृष्ण श्रेष्ठलाई ‘सामान’ बुझाउने गरेको बयान दिएका थिए ।

नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीको भनाइमा शौचालयमा लुकाएर सुन कटाउने शैली पुरानै हो ।

‘तर तस्करले किन निर्धक्क भएर त्यही शैली प्रयोग गरिरहेका छन् भन्ने कुरा सबैले मनन् गर्नुपर्ने हो’ उनी भन्छन्, ‘यसमा कुनै न कुनै रूपमा संरचनाको पनि दोष छ ।’

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी पनि सुवेदीको भनाइसँग सहमत छन् । ‘राज्य संयन्त्रका संरचना नै तस्करीलाई प्रोत्साहन गर्ने किसिमको छ’ उनी भन्छन्, ‘बेलाबेला ढोक्सा थापेका बेला मात्रै सुन समातिने हो ।’

‘प्रहरीको छैन उपस्थिति’

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वनिर्देशक समेत रहेका सुवेदीका अनुसार, अरू मुलुकमा कुनै अपराधमा संलग्न व्यक्तिले हुलिया परिवर्तन गरेर आए पनि सीसी टीभी फुटेजको विश्लेषण गरेर पत्ता लगाउने प्रविधि छ ।

तर, नेपालमा सुरक्षाका लागि न्यूनतम प्रयास पनि गर्न सकिएको छैन । उनी भन्छन्, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतिपय सीसी टीभी भए पनि काम गर्दैनन्, कतिपय चलेका भए पनि काम लाग्ने खालका छैनन् ।’

विमानस्थलमा प्रयोग भएका मेटल डिटेक्टरमा पनि त्यस्तै समस्या देखिन्छ । २१ मंसिरमा फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट इजिप्टका नागरिक सरिफ मोहम्मद लासिमले भन्सार र अध्यागमनको जाँच सहजै पार गरे । ज्याकेटभित्र साढे ६ किलो सुनको बिस्कुट आकारको प्याकेट बोकेका उनी विमानस्थलको ‘वाक थ्रु’ छिर्दा पनि त्यसले कुनै संकेत दिएन ।

विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार, सुन लिएर उनी बाहिरिइसकेका थिए, तर प्रहरीलाई लुगा लगाइ र हिंडाइ शंकास्पद लागेपछि सोधपुछमा परे ।

‘सामान्य सोधपुछ गर्दै अलमलिए जस्तो देखिए, त्यसपछि खानतलासी लिंदा ज्याकेटमा केही भएको थाहा भइहाल्यो’, डीआईजी चन्दले भने । विमानस्थलको ‘वाक थ्रु’ गेटबाट सुन सहित कटेका उनी पहिलो व्यक्ति होइनन् ।

सरिफ मोहम्मद लासिम

८ पुस २०७९ मा सुडानी नागरिक २७ वर्षीय मोहमद डाफल्ला सराफिल्दनले पनि १९ किलो सुन कटाएका थिए । १८ माघ २०७९ मा विमानस्थल भन्सारले समातिएको ९ किलो १३५ ग्राम सुन पनि सुरक्षा जाँच पार गरेर कट्न लागिसकेको थियो । शंका लागेर जाँच गर्दा बरामद भएको थियो ।

सुन मात्र होइन, विमानस्थलको जाँच पार भएका लागूऔषध समेत पटक–पटक बरामद भएका छन् । बिहीबार मात्रै विमानस्थलको सबै जाँच पार भएर बाहिरिएको १.१६० ग्राम गाँजा डिल्लीबजार हुलाक भन्सार कार्यालयले बरामद गर्यो ।

शंका लागेर जाँच गर्दा अमेरिकाबाट आएको पार्सलमा गाँजा भेटिएको थियो । विमानस्थल भन्सारले ३० मंसिरमा पनि अमेरिकाबाट आएको ५५ किलो गाँजा बरामद गरेको थियो । यो मामलामा लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले अनुसन्धान गरिरहेको छ ।

तर, ब्यूरोका अधिकृतहरू अमेरिकाबाट ठूलो परिमाणमा गाँजा आउनुलाई सामान्य तस्करी मात्र ठान्दैनन् । ‘गाँजा नेपालमै छ्यापछ्याप्ती पाइने चिज हो, किन यति ठूलो परिमाणमा आयो भन्ने प्रश्न हो’ उनी भन्छन्, ‘अहिलेलाई गाँजा पठाएर विमानस्थलको संरचना कस्तो छ भनेर कुनै गिरोहले जाँच्ने प्रयास गरेको पनि हुनसक्छ ।’

५ भदौ २०७६ मा करिब ५ करोड मूल्य पर्ने कोकिन विमानस्थल भन्सारको ‘एक्स–रे’ जाँचबाट सहजै पास भएको थियो । कतार एयरवेजको उडान मार्फत आएका आइभरिकोष्टका नागरिक मार्केल गुलीले एक किलो ६०० ग्राम कोकिन कटाएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन, लागूऔषध मात्रै भित्रिएको छैन, दुर्लभ वन्यजन्तु र चराचुरुङ्गी समेत कटेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ३१ असोज २०७४ मा चलाएको एक अपरेशनका क्रममा विमानस्थलबाट दुई वटा चिम्पान्जी, ८ वटा बाँदर, ७ गोल्डेन फेजन चरा, २ रिङनेट फेजन चरा, ३८ वटा परेवा र ६५ वटा सुगा भित्रिएको खुल्यो ।

त्यसबेला सीआईबीमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठका अनुसार, वनस्पति तथा वन्यजन्तु ओसारपसार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) को अनुसूची–१ मा रहेको लोपोन्मुख चिम्पान्जीलाई जिउँदै तस्करी गरेर नाइजेरियाबाट टर्कीको इस्तानबुल हुँदै नेपालसम्म ल्याइएको थियो ।

यो मामलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका १४ जना कर्मचारी विरुद्ध पनि संगठित अपराधको मुद्दा दर्ता भएको थियो ।

सरकारले सुझाव कार्यान्वयन गर्नैतिर चासो नै दिएन – वसन्त लामा, ३३ किलो सुन छानबिन समितिका सदस्य

यसरी पटक–पटक लागूऔषध र प्रतिबन्धित सामग्री बाहिरिन थालेपछि प्रहरीले विमानस्थलमा आफ्नो उपस्थिति गराउनुपर्ने माग राख्दै आएको छ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक धिरजप्रताप सिंह आफ्नो पालामा भन्सारमा प्रहरी राख्नुपर्छ भनेर पहल गरेको बताउँछन् ।

‘तर, उहाँहरू अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनको नियम सुरक्षा जाँच भनेको जुन होस्ट कन्ट्री हो, उसको जिम्मा भएको तर्क गर्नुहुन्छ’ सिंहले भने, ‘जस्तै, दुबई वा हङकङबाट आएको सामान छ भने सुरक्षा जाँचको जिम्मा त्यहींको हो भन्ने उहाँहरूको तर्क हुन्छ ।’

प्रहरी अधिकृतहरू दुई निकाय हुँदा त्यसले एकअर्काबीच क्रसचेकमा पनि सहज हुने भन्दै आफूहरूको टोली बस्दा भन्सारलाई नै सहज हुने बताउँछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै सुरक्षा जाँच पार गरेर बाहिरिएको ६० किलो सुन २ साउनमा बरामद हुँदा पनि विमानस्थलभित्र आगमन कक्ष र भन्सारमा प्रहरीको उपस्थिति गराउनुपर्ने बहस जोडतोडका साथ उठाइएको थियो ।

सुन बरामद भएको तीन दिनपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आफ्नो निवासमा पत्रकारहरूलाई बोलाएर प्रहरीको उपस्थिति गराउने विषयमा छलफल भइरहेको बताएका थिए ।

‘भन्सार जाँच मात्र होइन, विमानबाट अवतरण गरेपछि नै प्रहरीको कुनै भूमिका हुँदैन, त्यसमा प्रहरीको भूमिका हुने गरी व्यवस्थापन हुुनु उचित हुन्छ भन्ने धेरै अघिदेखि नै प्रस्ताव राखेका थियौं’ उनले भनेका थिए, ‘अहिले एकअर्का निकायलाई दोष लगाउने बेला होइन, अझ प्रभावकारी ढंगले काम गर्न के गर्नुपर्छ भनेर गम्भीरतापूर्वक लाग्छौं ।’

तस्करका लागि छिद्रैछिद्र

२०७४ सालमा सह–सचिव ईश्वराज पौडेल नेतृत्वको उच्चस्तरीय सुन समितिले बुझाएको प्रतिवेदनमा विमानस्थलमा सुरक्षा चुनौती हुने अनेक छिद्रहरू रहेको भन्दै तिनमा तत्काल सुधार गर्नुपर्ने औंल्याएको थियो । त्यसबेला छानबिन समितिमा सदस्य रहेका वसन्त लामाका अनुसार, प्रतिवेदनमा विमानस्थलमा देखिएका सुरक्षा कमजोरीबारे सूक्ष्म अध्ययन गरेर सुझावहरू राखिएको थियो ।

‘सुझाव मात्रै कार्यान्वयन हुने हो भने तस्करी धेरै हदसम्म नियन्त्रण हुने स्थिति थियो’ प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक समेत रहेका उनी भन्छन्, ‘तर सरकारले सुझाव कार्यान्वयन गर्नेतिर चासो नै दिएन ।’

अहिले सुन समितिको प्रतिवेदन नै कहाँ छ सरकारी संयन्त्रलाई थाहा छैन । हालै सुन तस्करीबारे छानबिन गर्न गठन भएको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको टोलीले प्रतिवेदन खोज्दा भेटेन ।

डिल्लीराज आचार्य, उच्चस्तरीय सुन समितिका संयोजक ।

एमाले नेता एवं पूर्वसांसद् दीपकप्रकाश भट्ट यस्ता घटनाहरूले विमानस्थलको सुरक्षा सुदृढ बनाउन प्रधानमन्त्री, गृहमन्त्री वा राज्यको अरू संरचना तत्पर नरहेको देखाउने बताउँछन् ।

‘कतिपय अवस्थामा प्रहरी प्रमुख वा विमानस्थलमा कार्यरत अरू कर्मचारी मात्रै ठिक भएर हुँदैन’ उनले भने, ‘नीतिगत रूपमै केही निर्णय हुनु जरूरी हुन्छ, तर पछिल्ला घटनाक्रमहरूले राज्य संयन्त्र नै यसलाई सुधार गर्न तयार नरहेको देखाउँछ ।’

आचार्य नेतृत्वको सुन समितिका एक सदस्यका अनुसार, विमानस्थलमा इन्ट्री र एक्जिटका लागि जथाभावी मार्गहरू छन् । ‘निर्माण कम्पनीका गाडीहरू ह्वारह्वार्ती आउने–जाने गर्छन्, आउनेमा मात्र चेकिङ हुन्छ’ ती सदस्यले भने, ‘पेप्सीकोलातिरबाट जाँदा चेकिङ नै नहुने रहेछ ।’

यही विषय २०७४ सालमा गठन भएको सुन समितिले पनि औंल्याएको थियो । यद्यपि, हालसम्म सुधार भएको छैन ।

हालै गठन भएको १४ किलो सुन अनुसन्धान समितिले पनि ‘अन्तर्राष्ट्रिय रन वेको १ नम्बर वे छेउहुँदै आयल निगमको कार्यालय क्षेत्र हुँदै हिमालय एयरलाइन्सको कार्यालय तथा अन्य कार्यालयमा जाने सवारी साधन निर्वाध आवतजावत भइरहेको’ भनेर त्यसलाई बन्द गर्न सिफारिस गरेको छ ।

१४ किलो सुनबारे अनुसन्धान गर्न बनेको विमानस्थलका प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको समितिले ‘कार्गोबाट परिचालन हुने ट्याक्टर तथा ट्रलीहरूका लागि हालै बनाइएको नयाँ रुटबाट आवागमन गराउँदा’ समेत अझै सुरक्षा त्रुटि रहने औंल्याएको छ ।

छानबिन समितिका अधिकृतहरूका अनुसार, यो रुटबाट जाँदा आयल निगमको कार्यालय नजिकको पार्किङ इलाका हुँदै जानुपर्छ । ‘कार्गो बोकेको सवारी साधनलाई कन्ट्रयाकलेस हुँदै अन्य सवारी साधनसँग सम्पर्क नहुने गरी जाने सुनिश्चित गर्नुपर्छ’, समितिका एक सदस्य भन्छन् ।

निरीक्षणका लागि जाने इन्जिनियरको टिमले जहाजको नजिकै आफ्नो सवारी साधन लैजाने गरेको भन्दै उनीहरू जानुअघि र फर्किएपछि अनिवार्य सुरक्षा जाँच गराउने व्यवस्था गर्नुपर्ने समितिको सुझाव छ ।

भन्सार, अध्यागमन र प्रहरी : छैन समन्वय

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७० निकाय सक्रिय छन् ।

‘अध्यागमन, भन्सार, सुरक्षा निकाय लगायत भित्र रहेका बैंक, नोट सटही काउन्टर सहित सबै गर्दा १७० पुग्दा रहेछन्’ उनले भने, ‘यस्तोमा एउटा सानो गल्ती भइसक्दा अध्यागमनतिर दोष देखाउने प्रवृत्ति छ ।’

भिजिट भिसामा जानेहरूप्रति प्रहरीले चलाएको अपरेशनमा अध्यागमनका कर्मचारीको मिलेमतो भएको विवरण आइरहेका बेला उनले विमानस्थलभित्र हुने सबै गतिविधिमा अध्यागमनलाई दोष दिन नमिल्ने बताए ।

तामाङ थप्छन्, ‘अहिले प्रस्थानतिरको कुरा धेरै उठेको छ, तर गम्भीरतापूर्वक हेर्नुपर्ने त आगमनतिर हो, जहाँबाट आतंकवादी गतिविधिमा संलग्न मान्छे आउन सक्छन्, प्रतिबन्धित सामानहरू आउन सक्छन् ।’

रुद्रसिंह तामाङ, महानिर्देशक, अध्यागमन विभाग ।

६० किलो सुन तस्करी प्रकरण र विद्युतीय सिगरेट (भेप) भित्र सुन आएको घटनापछि सरकारले गठन गरेको उच्चस्तरीय सुन समितिका संयोजक डिल्लीराज आचार्य भने विमानस्थलभित्र यस्ता मामलाको नियन्त्रणका लागि अध्यागमन, भन्सार र प्रहरीबीच नै समन्वय नदेखिएको बताउँछन् ।

विमानस्थलको स्थलगत अध्ययन गरेर आएका उच्च अदालतका पूर्वन्यायाधीश समेत रहेका आचार्यले अनलाइनखबरसँग भने, ‘कुनै मान्छे यूएई, हङकङ वा अरू कुनै मुलुकबाट महिनामै ८/१० पटकभन्दा बढी आएको छ भने त्योबारे अध्यागमनले भन्सारलाई सूचना दिनुपर्ने हो, सूचना शेयर गरेको देखिन्न ।’

त्यसरी नियमित आइरहेको मान्छेबारे सूचना दिएर ऊप्रति निगरानी गर्नुपर्नेमा त्यो विषय भन्सार वा सुरक्षा निकायलाई थाहै नहुने आचार्य बताउँछन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वनिर्देशक उत्तम सुवेदी पनि अध्यागमनले प्रहरीले सूचना माग गर्दा मात्र दिने गरेको बताउँछन् । ‘त्यतिबेलासम्म धेरै ढिला भइसकेको हुन्छ’, उनी भन्छन् ।

यस्तोमा भन्सारलाई दोष देखाएर मात्र अरू निकाय उम्किन मिल्ने कुरा नहुने भन्दै आचार्यले पनि थपे, ‘भन्सार वा सुरक्षा संयन्त्रले काम गरेन भने मान्छे गइसकेपछि मात्र थाहा पाएर के गर्ने ? कि त इन्टिग्रेटेड प्रणाली हुनुपर्यो ।’

विमानस्थल भन्सारले गठन गरेको १४ किलो सुन अनुसन्धान समितिले विमानस्थलमा एउटा संयुक्त समन्वय कक्ष स्थापना गरेर तत्काल सूचना समन्वय गर्ने प्रबन्ध गर्नुपर्ने औंल्याएको छ ।

‘को–अर्डिनेसन एण्ड कन्ट्रोल रुम स्थापना गरेर आइपरेका समस्याको कार्यक्षेत्र र जिम्मेवारी अनुसारका निकायको तर्फबाट समाधानका लागि पहल गर्नुपर्छ’ समितिले दिएको सुझावमा भनिएको छ— ‘अध्यागमन कार्यालयले पटक–पटक दुबई, सिंगापुर, हङकङ, थाइल्याण्ड लगायत देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने/लिने व्यवस्था मिलाउनुपर्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि विमानको यात्रु सूची नमागेसम्म नबुझाउने गरेको अधिकारीहरू बताउँछन् । समितिले अनिवार्य रूपमा यात्रु सूची प्रहरी र भन्सारलाई पठाउने व्यवस्था गर्नुपर्ने भनेको छ ।
१४ किलो सुन लगायत घटनामा ड्यूटी समय नभएका बेला समेत विभिन्न निकायका कर्मचारी विमानस्थलभित्र आएर तस्करीमा सहयोग गरेको भेटिएको छ ।

समितिले भनेको छ– ‘सेवा प्रदायकहरू जस्तै चमेना गृह, मुद्रा सटही काउन्टर, सीआईपी लाउन्ज लगायत कर्मचारीहरूको विमानस्थल पास ड्यूटी नभएको अवस्थामा विमानस्थलले निगरानीमा राख्ने व्यवस्था मिलाउनुपर्छ ।’

परम्परागत शैलीको जाँच

सन् २०२१ मा अमेरिकाले जारी गरेको ‘कन्ट्री रिपोर्ट अन टेरोरिजम्’ मा नेपालको विमानस्थल सुरक्षा प्रणाली एकदमै कमजोर र अपर्याप्त रहेको भनेको थियो ।

जानाजान आतंकवादीलाई प्रवेश गर्न नदिने भए पनि अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा प्रबन्धका कारण नेपाल अन्तर्राष्ट्रिय आतंकवादीका लागि ‘ट्रान्जिट पोइन्ट’ बन्न सक्ने अमेरिकाले औंल्याएको थियो ।

अमेरिकाले यात्रुको जाँच एकदमै सामान्य खालको भएको भन्दै भनेको थियो– ‘ट्राभल डकुमेन्टस्’ को जाँचका लागि विमानस्थलमा ‘अल्ट्रा भायोलेट्स लाइट’को व्यवस्था छैन ।

अमेरिकाले विमानस्थलका लागि भनेर अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल), काठमाडौंले छुट्टै टोली नखटाएको समेत उल्लेख गरेको थियो । यद्यपि, आवश्यकता अनुसार इन्टरपोल र विमानस्थलका कर्मचारीबीच समन्वय हुने गरेको प्रतिवेदनमा उल्लेख थियो ।

नेपालमा हिंस्रक उग्रवादको समस्या नदेखिए पनि अन्तर्राष्ट्रिय आतंकवादी समूहले नेपाललाई सहज टार्गेट बनाउन सक्ने जोखिम अमेरिकी प्रतिवेदनले औंल्याएको थियो । अमेरिकाले २०२२ को प्रतिवेदन समेत सार्वजनिक गरिसके पनि यसपटक नेपालको प्रसंग समावेश गरेको छैन ।

जानकारहरूका अनुसार, नेपालको विमानस्थलको सुरक्षा जाँचलाई दक्षिणी छिमेकी भारतले पनि विश्वास गरेको छैन । काठमाडौंबाट दिल्लीका लागि उड्ने जहाजहरूमा उसले नेपालको सुरक्षा जाँच पार गरिसकेका यात्रुको फेरि आफैं थप जाँच गर्ने गरेको छ ।

भारतीय विमानमा नेपाली सुरक्षा जाँच पार गरिसकेका यात्रुको पनि पुनः भारतीय सुरक्षाकर्मीले नै जाँच गर्ने गरेका छन् । फाइल तस्वीर ।

२४ डिसेम्बर १९९९ मा काठमाडौंबाट उडेको इण्डियन एयरलाइन्सको जहाज अपहरणमा परेको थियो, तत्कालीन भारतीय विदेशमन्त्री जसवन्त सिंह आफैं कान्दाहार पुगेर तीन बन्दीलाई बुझाई विमानलाई अपहरणमुक्त गराएका थिए ।

यो घटनाको २५ वर्ष हुन लाग्दा पनि अझैसम्म उसले नेपालको सुरक्षा जाँचलाई भर गरेको छैन ।

‘दुई दशकभन्दा लामो समयमा विमानस्थलबाट कैयौं तस्करीका घटना भए, पटक–पटक छानबिन समिति बने तर विमानस्थल सुरक्षा प्रणाली किन विश्वासिलो बन्न सकेन ?’ प्रतिआतंकवाद मामलाका जानकार नारायण अधिकारी प्रश्न गर्दै भन्छन्, ‘विमानस्थलको सुरक्षा हतियारधारी सुरक्षा फौज तैनाथ गरेर मात्र चुस्तदुरुस्त हुने होइन, समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्छ । त्यहाँ आधुनिक प्रविधिसँगै राज्यको जासुसी संयन्त्रको पनि बलियो उपस्थिति हुनुपर्छ ।’

यद्यपि, विमानस्थलको अवस्था कस्तो छ भने जाँचलाई प्रविधिमैत्री बनाउन भन्दै २०६० सालमा दिएको दुई वटा ‘भेइकल स्क्यानर मेसिन’ अहिलेसम्म अलपत्र छ ।

विमानस्थल भन्सार कार्यालयमा राख्दा–राख्दै यो उपकरण काम नलाग्ने अवस्थामा पुगिसकेको छ । त्यही कारण आफूले विमानस्थल सुरक्षालाई सदृढ बनाउन सरकारको नेतृत्वकै यसमा तत्परता चाहिन्छ भन्ने गरेको सुरक्षा मामलाका जानकार समेत रहेका पूर्वसांसद् दीपकप्रकाश भट्ट बताउँछन् ।

उनी भन्छन्, ‘कुनै ठूलो घटना हुँदा मात्र यसबारे बहस गर्ने होइन कि साँच्चै विमानस्थल सुधार गर्छु भन्ने इच्छाशक्ति जरूरी देखिएको छ ।’

राष्ट्रिय सुरक्षा र आतंकवाद मामिलाका अध्येता नारायण अधिकारी कुनै देशको विमानस्थलको सुरक्षामा प्रश्न उठ्नु त्यो मुलुकको राष्ट्रिय सुरक्षामा प्रश्न उठ्नु हो भन्छन् । उनी भन्छन्, ‘पछिल्लो समय मानव तस्करी, लागूऔषध तस्करी, सुन तस्करी र अन्य गैरकानुनी कार्यहरू भइरहेको घटना एकपछि अर्को आइरहनुले राष्ट्रिय सुरक्षामाथि नै खतरा उत्पन्न भएको देखिन्छ ।’

कभर स्टोरी
लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?