+
+
कभर स्टोरी :

चाडपर्वको अर्थतन्त्र : गाउँसम्म पुग्छ, परनिर्भरता बढाउँछ

तीन दशक अघिसम्म कुल वैदेशिक व्यापारको झण्डै दुईतिहाइ रहेको आयात अहिले बढेर ९० प्रतिशत पुगेको छ । चाडपर्वमा आकाशिने उपभोग्य वस्तुको खपतसँगै आर्थिक गतिविधि ह्वात्तै बढेको देखिए पनि परनिर्भरतामा आधारित यस्तो गतिविधिले मुलुकको अर्थतन्त्रमा ह्रास ल्याइरहेको छ ।

विजय पराजुली विजय पराजुली
२०७९ असोज १४ गते १८:०७

१४ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा गयो । यस्तै चालु खाता ६ खर्ब २३ अर्ब ३३ करोड घाटामा रह्यो ।

आव २०७८/७९ मा प्रचलित मूल्यमा नेपालको अनुमानित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार करिब ४८ खर्ब ५२ अर्ब हो । भन्सार विभागको तथ्यांक अनुसार गत आवमा नेपालको कुल वस्तु आयात १९ खर्ब २० अर्ब रुपैयाँ नाघेको छ, जुन गत आवको अनुमानित जीडीपीको करिब ४० प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादन भनेको मुलुकको समग्र अर्थतन्त्र मापन गर्ने आधार हो ।

राष्ट्र बैंकका अनुसार, गत वर्षको कुल आयातमा अन्तिम उपभोग्य वस्तुको अनुपात ३७.९ प्रतिशत छ । अन्तिम उपभोग्य वस्तु भनेको तयारी सामग्री हुन्, जुन नेपाल ल्याएपछि सोझै उपभोग गर्न मिल्छ । केही प्रशोधनपछि उपभोग गर्न मिल्ने मध्यवर्ती वस्तुको अनुपात ५२.० प्रतिशत छ । यसको पनि ठूलो हिस्सा उपभोग्य वस्तु नै बन्ने गरेको छ । त्यस्तै पूँजीगत वस्तुको अनुपात १०.१ प्रतिशत मात्रै रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

नेपालमा आयात हुनेमध्ये तीन चौथाइभन्दा बढी हिस्सा उपभोग्य सामग्रीको छ । विलासीलगायत उपभोग्य वस्तुमा नेपाल पूर्ण रूपमा परनिर्भर बन्न लागेको यो तथ्यांकले देखाउँछ ।

अर्थतन्त्र चलायमान हुने मौका

दशैं पारिवारिक मिलनको चाड हो । अवसरको खोजीमा सहर पसेकाहरू यतिबेला दशैं मान्न धमाधम गाउँ फर्कन लागेका छन् । दुई वर्ष कोभिडको कारणले नियमित भेटघाट नभएका इष्टमित्र पुनर्मिलनका लागि यो अवसर बनेको छ । दशैंमा करिब २२ लाखले काठमाडौं छोड्न सरकारी अनुमान छ ।

चाडपर्वको आयाम पारिवारिक मिलनमा मात्रै सीमित हुँदैन । आर्थिक–सामाजिक दृष्टिकोणबाट हेर्दा दशैंको महत्व झनै ठूलो छ । विविध परिकार खाने र राम्रा–राम्रा कपडा लगाउने आम चाहना परिपूर्तिका क्रममा दशैंमा अर्थतन्त्र चलायमान हुन्छ । यसले गर्दा आवको पहिलो र दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर नै उच्च हुने केन्द्रीय तथ्यांक विभागको विवरणले देखाउँछ ।

चाडबाडमा हुने खर्चले आन्तरिक रूपमा तरलता प्रवाह बढाउँछ । तर, यसले अन्ततोगत्वा आयातको चक्रमा नै योगदान गर्छ ।

पछिल्लो तथ्यांक अनुसार प्रचलित मूल्यमा अर्थतन्त्र (जीडीपी) को आकार ४८ खर्ब ५२ अर्बको देखिन्छ । त्यसलाई वर्षभरि बाँडेर हेर्ने हो भने एक महिनामा ४ खर्बको गतिविधि हुन्छ । चाडबाडको कारणले आर्थिक वर्षको पहिलो चार महिनामा २०–२२ खर्बको आर्थिक गतिविधि हुन्छ भन्ने अनुमान गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्ट वर्षभरि हुने कुल आर्थिक गतिविधिको ४० प्रतिशतभन्दा बढी आर्थिक वर्षको पहिलो चार महिनामा नै हुने बताउँछन् । उनका अनुसार, तीजदेखि सुरु हुने नेपालीको पारिवारिक भेटघाट र रमझम, दशैं–तिहार हुँदै छठसम्म रहन्छ ।

राजधानीमा रहेका मानिसहरू चाडपर्व सुरु भएसँगै गाउँ जाने सिलसिला सुरु हुन्छ । गाउँतिर लाग्नुअघि राजधानीको बजारमा किनमेल हुन्छ । यसबाट अर्थतन्त्रमा योगदान दिने प्रमुख क्षेत्रमध्येको एक होलसेल तथा खुुद्रा व्यापार व्यापक रूपमा फस्टाउँछ । ‘बजारपछि क्रमिक रूपमा यातायात क्षेत्र चलायमान हुन्छ’ डा. भट्ट भन्छन्, ‘यातायातसँगै पर्यटकीय गतिविधि र होटल–रेस्टुरेन्ट चल्छन् । यो क्रम छठ पर्वसम्म रहन्छ ।’

दशैंमा नै लामो विदा हुने भएकोले नेपाली घुमघाममा निस्कन थालेका छन्, जसले आन्तरिक पर्यटन चलायमान हुने गर्छ । राष्ट्र बैंकका प्रवक्ता डा. भट्ट भन्छन्, ‘पहिला दशैं बिदा भएपछि अधिकांश मान्छे गाउँ पुग्थे, अहिले घुम्न अन्तै जान थालेका छन् ।’

विदेश घुम्ने सहरी उच्च र मध्यम वर्गले यो अवसरमा पनि रुपैयाँ विदेश नै पुर्‍याइरहेका छन् । पछिल्लो समयमा भने सरकारले भिजिट भिसामा केही कडाइ गरेर खर्चको पनि सीमा तोकेर विदेश यात्रालाई निरुत्साहित गरेको छ ।

दशैंमा नै हो, औपचारिक क्षेत्रमा कार्यरत कर्मचारीले एक महिनाको अतिरिक्त तलब पाउँछन् । यसले पनि आर्थिक गतिविधि चलायमान बनाउँछ । सबैले पैसा खर्च गर्दा हुने गतिविधिले समग्र अर्थतन्त्र चलायमान बन्छ ।

विभिन्न क्षेत्रको रकम पनि यही बेला भुक्तानी हुन्छ । यसरी जीडीपीको सबै क्षेत्रको योगदान यो बेला बढ्ने डा. भट्ट बताउँछन् । उनका अनुसार, दशैंका बेला स्वास्थ्यबाहेक सबै क्षेत्रबाट अर्थतन्त्र विस्तार हुने गर्छ । ‘चाडमा गाउँ जाने भएपछि सुरु हुने किनमेलले पहिला सहरी अर्थतन्त्र चलयमान बन्छ । त्यसको लहर गाउँघरसम्म पुग्छ’, उनी भन्छन् ।

जस्तो– अर्थतन्त्र सामान्य अवस्थामा रहेको आर्थिक वर्ष २०७३/७४ को प्रथम र दोस्रो त्रैमासमा अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदर क्रमशः ११.८ र १३.७ प्रतिशत बढेको थियो । तेस्रो र चौथो त्रैमासको आर्थिक वृद्धिदर भने ५.३ प्रतिशत र ४.४ प्रतिशत मात्र रहेको केन्द्रीय तथ्यांक विभागको विवरणमा देखिन्छ ।

आव २०७४/७५ चुनावी वर्ष थियो । आव २०७५/७६ को प्रथम त्रैमासमा १०.१ प्रतिशत र दोस्रो त्रैमासमा ७.९ प्रतिशत रहेको आर्थिक वृद्धिदर तेस्रो र चौथो त्रैमासमा क्रमश ३.२ प्रतिशत र ४.७ प्रतिशत रह्यो ।

आयातमा आधारित उपभोग

ठूला चाडबाडमा आकाशिने खर्च आयातको लागि देशबाट बाहिरिन्छ । चाडपर्वको बेला अर्थतन्त्र ह्वात्तै बढेको देखिए पनि त्यसबाट अन्ततः आयात र परनिर्भरता बढेर जान्छ ।

नेपालमा आन्तरिक उत्पादन नहुँदा अधिकांश उपभोग्य वस्तु आयात गर्नुपरेको छ । दाल–चामल र नुनदेखि सुनसम्मका वस्तु आयात हुने गरेको छ । नेपालीको उपभोग प्रवृत्तिमा आएको बदलावले विलासिताका वस्तु किन्ने चलन समेत बढ्दो छ ।

गुल्मीको मालिका गाउँपालिकास्थित सिमलटारी बजार

चाडपर्वमा सर्वत चल्ने नेपाली गाउँघरमा अहिले सफ्ट ड्रिङ्क र मदिरादेखि मासुसम्मको उपभोग बढेको छ । एकाध कृषि उत्पादनबाहेक सबै आयातमा निर्भर हुन थालेको छ । त्यसले चाडपर्वमा आर्थिक गतिविधि वृद्धिसँगै परनिर्भरता बढेको तथ्यांकहरूले देखाउँछ ।

बढ्दो तडकभडक

चाडपर्व भनेको खर्च गर्ने समय हो भन्ने मानसिकता आम रूपमा हावी हुँदै गएको छ । विगतमा विपन्न परिवारलाई कसरी मनाउने भनेर पिरोल्ने चाडपर्वलाई पछिल्लो समय सहरी मध्यमवर्गले धनाढ्य सरह खर्च गरेको देखाउने अवसर बन्न थालेको छ । आर्थिक उदारीकरणपछि सर्वसुलभ बन्दै गएको वस्तुहरूको उपलब्धता र आयस्रोतमा पहुँचका कारण चाडबाडले पहिला जस्तो ऋणको भारी बोकाउने अवस्था छैन ।

गाउँ–गाउँसम्म वित्तीय पहुँच पुगेको छ । सहकारीले गर्दा नागरिकमा बचत गर्ने बानीको विकास भएको छ । चाडपर्व मान्नकै लागि ३६ प्रतिशत ब्याजमा ऋण लिनुपर्ने बाध्यता हटेको छ । ऋण नै लिनुपरे पनि औपचारिक क्षेत्रबाट सुलभ ब्याजदरमा पाइन्छ । यी कारणहरूले गर्दा ग्रामीण नेपालीलाई पनि चाडपर्व मनाउनु ठूलो चुनौतीको विषय रहेन ।

बरु चाडपर्वमा देखासिकी बढ्दो छ । दशैंमा सहरी क्षेत्र मात्र नभई गाउँमा पनि तडकभडकपूर्ण उपभोग हुन थालेको छ । त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक दीपेश घिमिरे यसलाई चाडपर्वमा भित्रिएको नयाँ विकृति मान्छन् ।

‘पहिला चाडपर्वमा राम्रो लगाउने र राम्रो खाने भन्ने हुन्थ्यो, अहिले कसले बढी महँगो गाडी किन्ने भन्ने तहमा पुगेको देखिन्छ’ उनी भन्छन्, ‘सहर त सहर भइहाल्यो गाउँमा पनि दशैं अनावश्यक रूपमा भड्किलो बन्दै गएको छ ।’

देशको अर्थतन्त्र अत्यधिक चलायमान हुने बेलाको भड्किलो खर्चले देशको परनिर्भरता झनै बढाउने राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

‘मुख्यतः दशैं–तिहारले देशको अर्थ–व्यवस्थालाई नै हल्लाउँछ । कुल वार्षिक खपतको २० प्रतिशत यही बेला हुन्छ’ उनी भन्छन्, ‘आयात बढाउने यो खपतले देशको अर्थतन्त्रलाई भने कमजोर नै बनाउँछ । आन्तरिक उत्पादनमा आत्मनिर्भर भएको भए चाहिं चाडबाडमा हुने खर्चले अर्थतन्त्रमा टेवा नै पुर्‍याउँथ्यो ।’

डा. श्रेष्ठका अनुसार, व्यवसायीहरूले व्यापारिक प्रयोजनका लागि लिने चालु पूँजी (वर्किङ  क्यापिटल) र अधि–विकर्ष (ओभरड्राफ्ट) कर्जाको हिस्सा अहिले कुल कर्जामा ४० प्रतिशत छ ।

‘सीधै आयातसँग जोडिने यस्तो फाइनान्सको ब्यालेन्स सीटमा एलसीको हिस्सा ठूलो हुन्छ’ प्रवक्ता डा. भट्टले भने, ‘४८ खर्ब ५१ अर्बको अर्थतन्त्रमा १९ खर्ब २० अर्बको आयात छ ।’

बढ्दैछ परनिर्भरता

आर्थिक वर्ष २०५०/५१ मा नेपालको कुल वैदेशिक व्यापार ७० अर्ब ८६ करोड ४२ लाख हुँदा १९ अर्ब २९ करोड ३४ लाखको निर्यात थियो । त्यस्तै, ५१ अर्ब ५७ करोड ८ लाखको आयात थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा २७.२३ प्रतिशत हुँदा आयात ७२.७७ प्रतिशत थियो ।

२०७८/७९ मा आउँदा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.५७ प्रतिशत पुगेको छ भने निर्यात ९.४३ प्रतिशत । तीन दशकयता यसरी आयात बढ्दो र निर्यात घट्दो दरमा छ ।

‘चामल र कनिका नै वार्षिक ५० अर्बको आयात हुन्छ, आलुमै १० अर्ब गइरहेको छ’ पूर्व गभर्नर डा. तिलक रावल भन्छन्, ‘महँगा गाडी र विद्युतीय सामानदेखि विदेशी मदिरासम्मका विलासी वस्तुको प्रयोग बढेर गएको छ । यसले बढाउने भनेकै उपभोग्य वस्तुमा परनिर्भरता हो ।’

चाडबाडको बेलामा ग्रामिण भेगको तुलनामा शहरी भेगमा हुने अर्थतन्त्रको चलायमानले आयातलाई नै गतिशिल बनाउछ र नेपाली पुँजी बाहिरिन्छ । ‘चाडपर्वको समयमा विगतमा ग्रामीण अर्थतन्त्र चलायमान हुने गर्थ्यो, त्यसमा क्रमश: कमी आउँदै गएको छ,’ राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठ भन्छन्, ‘अहिले चाडपर्वमा स्थानिय उत्पादन भन्दा आयातित बस्तुकै प्रयोग हुन्छ, यसले ग्रामीण अर्थतन्त्रलाई खासै टेवा पुर्याउँदैन । उपभोग्य बस्तुको ज्यादा प्रयोगले नेपाली पूजी विदेशिने जोखिम ज्यादा हुन्छ ।’

कभर स्टोरी
लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?